काठमाण्डौ । क्रान्तिकारी युवा संघ नेपालको आयोजनामा जनवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा २० भदौ २०८३ मा प्रदर्शन गरेको छ । क्रान्तिकारी युवा संघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । “हिमालको पीडा बुझौं, भोटेकोशीको चित्कार सुनौं, जलवायु न्याय लागू गरौं ।” भन्ने मूल नाराका साथ जलवायु संकट समाधानका लागि जनचेतना तथा सन्देश मूलक कार्यक्रम सम्पन्न गरिएको हो । प्रदर्शन मार्फत क्रान्तिकारी युवा संघ नेपालले जलवायु संकट विरुद्ध विश्वभरका युवा एकजुट हुन संसारभरका युवाहरुलाई आह्वान गरेको छ ।
हिमाल बचाऔं, प्राकृतिक प्रकोप घटाऔं, जीवन बचाऔं, सेभ द अर्थ, जलवायुको क्षतिपूर्ति दे लगायतका नारासहित गरिएको प्रदर्शनमा सयौं युवाहरु सहभागी भएका थिए । कार्यक्रमको सञ्चालन क्रान्तिकारी युवा संगठनका नेता झनक श्रेष्ठले गर्नुभएको थियो भने सम्बोधन संगठनका संयोजक दोर्जी शेर्पा र सचिवालय सदस्य गोविन्द काफ्लेले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा वक्ताहरुले नेपाल विश्वका पूँजीवादी देशहरुले गरेको कार्बन उत्सर्जनका कारण हिमालयहरुमा गम्भीर असर परेको जनाउँदै त्यसैको प्रभावस्वरुप रसुवाको भोटेकोशीमा बाढी आएको र त्यसले ठूलो विपत्ति निम्त्याएको बताउनु भयो । नेपालले जलवायु न्यायको विषयमा अन्र्राष्ट्रियस्तरमा माग राख्नुका साथै नेपालले न्याय पाउनु पर्ने दोहो¥याउनु भएको थियो । नेपालले भोग्नु परेको जनधनको क्षतिको जवाफदेही अन्तर्राष्ट्रिय जगत हुनुपर्ने बताउँदै हिमालहरु बचाउन संसार नै लाग्नु पर्ने धारणा वक्ताहरुको रहेको थियो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस, पिविएम गंगा पौडेल लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

