– रतन भण्डारी
प्रधानमन्त्री चन्द्रशमशेरले राणाकालरात्रिकै बेला नेपालमा पहिलोपटक बिजुली भित्र्याएका थिए । त्यो पनि निकोलस टेस्लाले एसी विद्युत् प्रणालीसम्बन्धी पेटेन्ट लिएको दुई दशकभित्रै । तथापि उक्त बिजुली राणाहरूको दरबारमा सीमित थियो । जनताले बिजुली बाल्न पाएको त धेरै पछि हो ।
बिजुलीको इतिहास हेर्दा, सन् १७५२ मा बेन्जामिन फ्र्याङ्कलिनले चट्याङ पनि विद्युत् नै हो भन्ने प्रयोगबाट प्रमाणित गरे । १८०० मा अलेसान्द्रो भोल्टाले पहिलो व्यावहारिक विद्युत ब्याट्री बनाए । १८३१ मा माइकल फराडेले विद्युत उत्पादनका लागि चुम्बकीय प्रेरणाको सिद्धान्त पत्ता लगाए । सन् १८७९ मा थोमस एडिसनले व्यावहारिक रूपमा लामो समय बल्न सक्ने विद्युत बल्बको विकास गरे । सन् १८७८ मा बेलायतमा विलियम जर्ज आर्मस्ट्रङले जलशक्तिबाट विद्युत उत्पादन गरी आफ्नो घरमा बाले । सन् १८८२ मा अमेरिकाको विस्कन्सिनमा फोक्स नदीमा विश्वकै पहिलो व्यावसायिक जलविद्युत केन्द्रमध्ये एक सञ्चालनमा आयो । सन् १८८८ मा निकोलस टेस्लाले एसी मोटर र बहुफेज एसी विद्युत प्रणालीसम्बन्धी पेटेन्ट पाए । टेस्लाले सन् १८८८ मा एसी अर्थात् प्रत्यावर्ती विद्युत प्रणाली सम्बन्धी पेटेन्ट लिएका थिए । चन्द्रशमशेरले त्यसको २० वर्ष भित्रै फर्पिङ जलविद्युत आयोजना निर्माण गराए । फर्पिङ आयोजना एसियाको दोस्रो तथा दक्षिण एसियाको पहिलो जलविद्युत आयोजना भनेर घोकाइए पनि वास्तवमा फर्पिङ एसियाको चौथो आयोजना हो । हामीकहाँ भारतको दार्जीलिङको सिद्रापोङ जलविद्युतआयोजनालाई एसियाको पहिलो र नेपालको फर्पिङलाई एसियाको दोस्रो जलविद्युत् आयोजना भन्ने गरेको पाइन्छ ।तर दार्जीलिङभन्दा पहिले जापानको क्योटोमा सन् १८९७ मे महिनादेखि सञ्चालनमा आएको केयगे जलविद्युत परियोजना एसियाको पहिलो आयोजना हो ।
दार्जीलिङको सिप्रापोङ जलविद्युत आयोजना जापानको केयगे जलविद्युतआयोजना सञ्चालनमा आएको ६ महिना पछि अर्थात् सन् १८९७ नोभेम्बरमा मात्रै सञ्चालनमा आएको थियो । त्यसैले एसियाको पहिलो जलविद्युत परियोजना दार्जीलिङको सिप्रापोङ नभई जापानको केयगे जलविद्युत परियोजना हो । त्यसैगरी भारतको कर्नाटक राज्यको कावेरी नदीको शिवसमुद्रम झरनामा सन् १९०७ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको जलविद्युत आयोजना एसियाको तेस्रो जलविद्युत आयोजना हो । नेपालमा फर्पिङ जलविद्युत आयोजना भने सन् १९०८ मा निर्माण सुरु भई सन् १९११ मे २२ का दिनदेखि सञ्चालनमा आएको हो । त्यसैले उल्लिखित तथ्यहरूका आधारमा नेपालको फर्पिङ एसियाको दोस्रो नभई चौथो र दक्षिण एसियाको तेस्रो जलविद्युतआयोजना हो ।

