‘समीक्षा र सम्झनामा जगत श्रेष्ठ’ नामक स्मृति ग्रन्थको लोकार्पण

नारायण शर्मा/चितवन
असोज ८,
चितवन जिल्ला कम्युनिस्ट पार्टीका एक संस्थापक सदस्य जगतबहादुर श्रेष्ठको सातौं स्मृति दिवस तथा ‘समीक्षा र सम्झनामा जगत श्रेष्ठ’ नामक स्मृति ग्रन्थको लोकार्पण कार्यक्रम हिजो ८ गते बिहिबार नारायणघाटमा सम्पन्न भएको छ ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव हरिभक्त कँडेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि कँडेलले जगतबहादुर श्रेष्ठसँगका राजनीतिक सहकार्य र जीवनको अन्तिम समयमा जगतसँग बिताएका पलहरूको स्मरण गर्नुभयो । सो अवसरमा उहाँले कम्युनिस्ट एकता र ध्रुवीकरण आजको आवश्यकता रहेको औंल्याउँदै मलेमाको जगमा मात्रै त्यो सम्भव हुने पनि बताउनु भयो ।

उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्यहरू चन्द्रहरी सुवेदी, अम्बिका मुडभरी, नेकपा (माओवादी) का स्थायी समिति सदस्य अनिल शर्मा ‘विरही’, अग्रज बाम नेता एवम् जगतबहादुर श्रेष्ठका साथी यमुनाप्रसाद न्यौपाने, किसान नेता भूमिश्वर कँडेल, पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष रामप्रसाद श्रेष्ठ, सहिद अनिष कुँवरका पिता खड्गबहादुर कुँवर लगायत अतिथि हुनुहुन्थ्यो ।

नेकपा (माओवादी ) का अनिल शर्मा ‘विरही’ले जगतबहादुर श्रेष्ठका साहित्य र राजनीतिमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो । विरहीले आ्रनो सम्वोधनका क्रममा बिगतमा कम्युनिस्ट पार्टीले क्रान्तिका जादुगरी हतियार पार्टी, मोर्चा र सेना भन्दै आएकोमा अब सुचना प्रविधि पनि जोड्न आवश्यक भएको बताउनु भयो । त्यसैगरी अर्का वक्ता चन्द्रहरी सुवेदीले राजनीतिमा पद र प्रतिष्ठाको लडाइँ चलिरहेको बेला जगतबहादुर श्रेष्ठका जीवन र व्यवहार एक असल कम्युनिस्ट जीवनको उदाहरण बनेको बताउनुभयो । त्यसैगरी अम्बिका मुडभरीले चितवनको कम्युनिस्ट आन्दोलनमा जगतको भूमिका अतुलनीय रहेको बताउँदै श्रेष्ठसँगका आफ्ना सहकार्यको स्मरण गर्नुभयो । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष रामप्रसाद श्रेष्ठले पञ्चाती व्यवस्थाको समयमा भूमिगत राजनीतिक छलफल चल्दा आफू जगत श्रेष्ठहरूको सेन्ट्री बसेको घटना स्मरण गर्नुभयो । यमुना न्यौपानेले २०१५ को आम निर्वाचनमा उत्तरी गोरखामा पार्टीको तर्फबाट जगतबहादुर श्रेष्ठ उम्मेदवार बन्नुभएको र महासचिव पुष्पलाल श्रेष्ठ जगत श्रेष्ठको एजेन्ट बनेको प्रसंग सुनाउनु भयो । उहाँले कम्युनिस्ट पार्टी भित्र हुने बारम्बारका फुट र विभाजनप्रति दु:ख व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जगत श्रेष्ठकी जेठी बुहारी यमुना श्रेष्ठले स्वागत मन्तव्य राख्दै जगत श्रेष्ठ र नरदेवीका असल अभिभावकत्वको चर्चा गर्नुभयो । जगतका कान्छा छोरा सुधिर श्रेष्ठले आफू बाल्यकालदेखिकै कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा हुर्किएको स्मरण गर्नुभयो । उहाँले आफ्नो बुबाको स्मरण गर्दै छोरो कुनै एनजीओ/आइएनजिओमा काम नगरोस् र विदेश पनि नजाओस् भन्ने बुबाको चाहना बमोजिम नै आफू सरकारी सेवामा गएको र हाल जुन ओहोदामा भएपनि त्यो आमा–बुबाको शिक्षाकै कारण भएको बताउनुभयो । कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सतिसाल, नेकपाका बद्री अधिकारी, बुद्धिजीवी बाबुराम पाण्डे लगायतले आफ्ना स्मरण सुनाउनु भयो ।

स्मृति दिवसका अवसरमा लोकार्पण गरिएको स्मृतिग्रन्थका बारेमा पनि उक्त कार्यक्रममा चर्चा गरिएको थियो । ‘समीक्षा र सम्झनामा जगत श्रेष्ठ’ कृति जगतबहादुर श्रेष्ठका जीवन र सिर्जनाका बारेमा विभिन्न व्यक्तिहरूले लेख्नुभएको लेखहरूको सङ्ग्रह हो । यस पुस्तक भित्र कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व मोहन वैद्य ‘किरण’, सिपि गजुरेल ‘गौरव’देखि विभिन्न लेखक, साहित्यकार, राजनीतिज्ञ सहित जगतको छोरा–बुहारी र नाति–नातिनासम्मका लेखहरू सङ्गृहीत छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, चितवन जिल्ला समितिले प्रकाशन गरेको यस पुस्तकका अतिथि सम्पादक अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष हिरामणि दु:खी रहनुभएको छ । मोदनाथ मरहट्टाले सम्पादन गर्नुभएको पुस्तकको सम्पादन सहयोगी नारायण शर्मा ‘विपिन’ रहनुभएको छ । विचार सङ्गठनका अतिरिक्त श्रेष्ठका कविता र निबन्ध पनि प्रकाशित छन् । २०१४ सालमा भएको नेकपाको दोश्रो महाधिवेशनमा उहाँ सहभागी हुनुहुन्थ्यो साथै २०१५ सालको संसदीय निर्वाचनमा उत्तरी गोरखाबाट उमेद्वार हुनुभएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका चितवन जिल्ला सचिव घननाथ सापकोटा ‘विकास’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नारायण शर्मा बिपिनले गर्नुभएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, चितवन जिल्ला समिति र मेहर सिं सन्तति परिवारको संयुक्त आयोजनामा भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक व्यक्तित्व एवम् जगतबहादुर श्रेष्ठका परिवारजन र आफन्तहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित