–कर्ण थापा, केन्द्रीय सदस्य
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल
० रसुवाको बाढीले यहाँ तपाईको छरछिमेकमा केही दुःखद घटना भयो कि ?
–भएन ।
० भोटेकोशी–त्रिशुली बाढी गएको एक महिना भयो यसबारेमा के भन्नुहुन्छ ?
–बाढी प्राकृतिक विपत्ति हो। सरकारले बेलैमा ध्यान दिन सकेको भए यति धेरै जनको क्षति हुने थिएन होला । सरकारको लापरवाही भयो भन्ने लाग्छ । हाइड्रो पावरमा बेलैमा टनेलभित्र, स्वयं विद्युत प्राधिकरणको प्राविधिकहरुलाई पनि जान दिएको वा देशी तथा विदेशी विज्ञहरुलाई पनि जान दिएको भए सुरुङभित्र थुनिएका व्यक्तिहरु बाँच्न सक्थे । जस्तै २०७२ को भुकम्पमा विदेशी उद्दार कर्ताहरुलाई प्रभावित क्षेत्रमा पहुँच दिंदा धेरैको ज्यान बचेको थियो । त्यसरी नै सहज पहुँच दिएको भए , धेरैको ज्यान बाँच्ने थियो । देश विदेशबाट आएका राहतहरु सेनाको क्याम्पमा विदुरमा थन्किएका छन् । उद्धार, राहत वितरणको काम ठीक ढंगले भएको छैन । व्यवहारमा जिम्मेवारीपूर्वक काम गर्ने भन्दा पनि सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जाल रंगाउने काम सरकारका मानिसहरुले गरिरहेका छन् । त्यसकारण मर्ने मरेर गए तर बाँच्नेहरुका लागि आवास, जीविकोपार्जन र उनीहरुका शिक्षा, स्वास्थ्यको व्यवस्थाका लागि राज्यले ठोस पहलकदमी लिनु पर्दछ ।
० जेनजी विद्रोह भएको पनि एकवर्ष पूरा भयो । बारा, यस क्षेत्रमा जेनजी “विद्रोह” को असर कस्तो रहेको थियो ?
–भाद्र २३ गते खासै त्यस्तो प्रभाव रहेन । २३ गते सानो गाडी ल्याएर माइक र नेपालको झण्डा राखेर हिंडेका थिए । रास्वपाका कार्यकर्ताहरु भिडियो बनाउँदै जेनजिसँग मिसिएर माईक बोकेको गाडीमा देखिन्थे । भाद्र २३ गते नै ओलीको पुत्ला जलाउने आदि काम गरे । बाराका कलैया उपमहानगरपालिका, जितपुर–सिमरा नगरपालिका कार्यालय, वडा कार्यालयहरु, आन्तरिक राजस्व कार्यालय जलाउने, लुटपाट गर्ने काम भाद्र २४ गते गरे । इलाका प्रशासन कार्यालय जलाउँदै थिए, गाडीहरु जलाए । इलाका प्रशासन कार्यालयका कागजात हामी स्थानीयहरु गएर जोगाउने काम गरियो । ती जलाउन आएकाहरु स्थानीय थिएनन् । बारा ३ नं. को प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साहको घर जलाए । ४ नं. क्षेत्रको प्रतिनिधि सभा सदस्यको गाडी र पाहुनाहरुको गाडी समेत जलाए । भाद्र २४को वितण्डाको यहाँ भनेरै सम्भव छैन ।
० रुस र युक्रेनको लडाईमा कतिपय नेपाली मरेका छन् । यहाँ बारातिरका कुनै त्यस्तो घटनामा त परेका छैनन् ?
–यहाँ कै स्थानीय कोही परेको थाहा छैन ।
० अमेरिका–इजरायल र इरान बीचको युद्धमा यो क्षेत्रको व्यक्ति दुर्घटनामा परेको कोही छन् कि?
–त्यस्तो घटनामा यहाँ परेको थाहा छैन ।
० पर्साको वीरगन्ज नेपालको सबभन्दा ठूलो भन्सार नाका हो । के कस्ता समस्या छन् ?
–बालेन सरकार आउँदा वित्तिकै नाकामा सामान्य जनताले २÷४ किलो घरायसी प्रयोजनका लागि ल्याउने सामान खोस्ने हैरान गर्ने गरेका थिए । अहिले पनि त्यो समस्या छ । तर थोरै खुुकुलो भएको छ त्यो पनि अदालतको कारणले । किसानलाई राज्यले मलखाद्य दिन सकेको छैन । बोर्डरका किसानलाई पारीबाट किनेर ल्याउन दिएको छैन । अहिले पनि किसान र सर्वसाधारण जनताले ठूलो कहर भोग्नु परेको छ । तस्करहरुले माथिल्लो सेटिङमा हुने कार्य त भइरहेका होलान् ।
० बारा जिल्लालाई पर्सा राष्ट्रिय निकुञ्जले छोएको छ । यहाँ केही समस्या पारेको छ कि ?
–विगतमा हात्तीले समस्या पार्ने गथ्र्यो । अहिले पनि मानव वस्तीमा रर महेन्द्रराजमार्गमा हात्तीले दुःख दिने, आतंकित पार्ने, किसानको बाली खाइदिने गर्दछ । वन्यजन्तुले बालीनाली नोक्सान पु¥याउने काम बेलाबखतमा भइरहेका छन्।
० तपाईहरुको परिवार पहाड ओखलढुंगाबाट २०३४ सालमा यहाँ बारा झर्दा यहाँ कस्तो थियो र आज के फरक भयो ?
–पहिले हाम्रो परिवारको बडहरुवामा आएर खेती किसानी गरेर बसेको हो । पछि २०५८ सालमा हाम्रो परिवार सिमरा आयो । सिमरामा वीरगन्ज,पथलैया राजमार्ग थियो । शाखा बाटाहरु व्यवस्थित थिएनन् । बजारको व्यवस्था थिएन । जीतपुर र वीरगन्ज किनमेल गर्न जानु पर्दथ्यो । २०५८ सम्म बाटो घाटा थिएन । सिमारामा पहिलेदेखि नै राणाहरुले शिकार खेल्न आउने र जाडो छल्न आउने ठाउँ रहेछ । धेरै राणाहरु र ठकुरीहरुको जमीन थियो । मैले थाहा पाउँदासम्म पछि सम्म पनि शान्ति सिंह (राजा महेन्द्रकी छोरी) को प्रशस्त जग्गा थियो । अहिले उनका छोराहरुले यहाँको जग्गा बेचेर गए । राणा र राजाहरुको सुविधाकै लागि होला यहाँ पहिलेदेखि नै फोन, अहिले वस्ती विस्तार भयो, उद्योग, कलाकारखाना भए । जगदम्बा स्टिलको कारखानाले प्रदुषण फैलाएकाले ठूला ठूला आन्दोलनपनि भएका हुन् । कतिपय सहमति अहिले पनि कार्यान्वयन गरेको छैन । सूर्य नेपालको उद्योगले गर्दा पनि यहाँको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरेको देखिन्छ । उद्योग र मानव वस्ती एकै ठाउँमा राख्न नहुने देखिन्छ।
० सबैभन्दा सुरुमा तपाई राजनीति र संगठन प्रति कसरी आकर्षित हुनुभयो ?
– मैले माइस्थान विद्यापीठ वीरगन्जमा पढें तर विद्यालयमा पढ्दा ठाकुरराम बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने अवसर भयो । कलेजको होस्टेलमा बस्दा आफू भन्दा सिनियर विद्यार्थीहरुको संगत गर्न पुगियो । कलेजका विद्यार्थीहरु स्ववियु चुनाव लड्ने, राजनीतिक गतिविधि गर्ने गर्थे । सुरुमा म अखिल (पाँचौं) को संगतमा परे। तर म संगठनमा चाहि आबद्ध भएन । बेलुकी खाना खाएपछि विद्यार्थीहरु जनवादी गीत गाउने, रमाइलो गर्ने गर्थे । त्यो माहोलमा ममा पनि राजनीतिक चेतना प्रवेश भएको हो भन्ने लाग्छ । हामीले पनि ९ कक्षामा पढ्दा विद्यालय सुधार, चर्पी सरसफाई जस्ता मुद्दा उठाएर आन्दोलन गर्ने, विद्यालय प्रशासन सित वार्ता गर्ने, विद्यार्थीहरुलाई आन्दोलन लिएर हिड्नेतिर लागियो । अखिल (छैठौं) का हिमालचन्द्र गौतम, अच्यूत खतिवडा, कुमार रुपाखेती, निर्मल क्षेत्री, बालकृष्ण बस्नेतले म लगायतलाई ख्याल गर्नु भएको रहेछ। २०४२ मा शिक्षक आन्दोलन भयो । त्यो आन्दोलनलाई सहयोग गरियो । २०४३ मा ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्न थालियो । अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष हिमालचन्द्र गौतमहरुको प्रत्यक्ष सम्पर्कमा आइयो । कता कताबाट म कहाँ अ.ने.रा.स्व.वि.यु.को रसिद प्राप्त भयो । छैठौंको राष्ट्रिय भेलामा जान खर्च थिएन । त्यसकारण रसिदमा छैठौं थपेर सहयोग रसिदमा पैसा संकलन गरियो । उक्त सहयोग रकमले म काठमाडौं राष्ट्रिय भेलामा भाग लिन गएँ । उताबाट फर्केपछि मैले बारा र पर्सामा छैठौैंको काम गर्ने जिम्मा पाएको थिएँ । सरहरुलाई पैसा उठाउन थालेको हरि वैद्य, मुक्ति धमला लगायतका सरहरुबाट पैसा उठाइयो । उहाँहरु खुशी हुनु भयो, पैसा दिनुभयो । संयोगले उहाँहरु हाम्रै पार्टी नजिकका हुनुहुँदो रहेछ। २०४३ सालमा अखिल (छैठौं) ठाकुरराम बहुमुखी क्याम्पसको इकाई अध्यक्ष भएँ । समिति गठनको समाचार पृष्ठभूमि पत्रिकामा हिमालचन्द्र गौतमले छपाईदिनुभएछ । अनि बाले त्यो समाचार पढेपछि –“तँलाई पढ्न पठाएको हो कि राजनीति गर्न पठाएको ?” भनेर खर्च रोकिदिनुभयो । त्यसरी मेरो राजनीति र संगठनको यात्रा सुरु भयो ।
० त्यस्तो अप्ठ्यारोमा कसरी संगठनमा काम गर्नुभयो ?
–त्यो अप्ठ्यारो स्थिति केही समय मात्र रह्यो । मेरो आफ्नो दाई रामहरी थापा नेपाल बैंक लिमिटेडमा वीरगन्ज काम गर्न हुन्थ्यो । कोठामा दाइसित सँगै बस्न थालें । कलेजको पढाई निरन्तर अगाडि बढ्यो ।संगठनको कामलाई पनि अगाडि बढाइयो । अखिल (छैठौं) को क्याम्पसमा “राँको” भित्ते पत्रिका चलाइयो । अखिल (पाँचौं) सित मिलेर हामीले ठाकुरराम बहुमुखी क्याम्पसमा ३ जना छैठौंका सदस्यहरुले स्ववियु जिते–दीर्घ भट्टराई, विनोद पराजुली र भरत धरेल । त्यो २०४४ तिरको कुरा थियो । मण्डले र नेविसंघहरुले चुनाव हारे ।
० २०४६ को जनआन्दोलनमा के कस्तो भूमिका रह्यो ?
– हामी पातलो मसाल समर्थकहरु अर्जुन प्याकुरेल, रमेश भट्टराई, दीवाकर न्यौपाने , म कर्ण थापा लगायत अर्जुन प्याकुरेलको सिमरास्थित बजिनी टोलमा बसेर आन्दोलनमा जानेबारे सल्लाह ग¥यौं । सबैले गिरफ्तारी नदिने, आवश्यकता परे केहीले गिरफ्तारी दिने भन्ने सल्लाह भयो र हामी कलैया गयौं । २०४६ फागुन ७ गते रमेश भट्टराई, म कर्ण थापा, सुरेश थापा, बैकुण्ठ पौडेल लगायत करिब ७ जना गिरफ्तार भयौं । कुटपिटमा प¥यौं । म २२ दिन हिरासत बसें । रमेशलाई पछि मात्र छाड्यो । म निस्कँदा दाजु रामहरि थापा जिम्मा हुनुभएको थियो । सिमरा अर्जुन प्याकुरेल र मेरो दाई रामहरीले हामीलाई आन्दोलनका लागि पार्टीको झण्डा, कालो झण्डा, पर्चा पठाइदिनु हुन्थ्यो । बाराको डुमर्वाना, बडरुवा, मधुवन, कोल्वी, कलैयातिर रुख, चौतारा, मुख्य चोकहरुमा गाडिन्थ्यो । दाई रामहरी र अर्जुन र प्याकुरेलले उहाँहरु कर्मचारी भएपनि रातिमा लुकिछीपी सिमरामा भित्तेलेखन,पर्चा वितरण गर्ने र गराउने गर्नु हुन्थ्यो । हिरासतबाट छुटेपछि हामीलाई संयुक्त राष्ट्रिय जनआन्दोलन बनेको जानकारी पाएका थियौं । हिरासतबाट निस्किए पछि नै हामीले पर्चाहरु पाएका हुन्थ्यो । आन्दोलनको उत्साहपूर्ण वातावरण थियो ।
० अन्य मोर्चाहरुमा पनि काम गर्नु भयो कि ?
– २०४३ तिर अखिल (छैठौं) ठाकुरराम बहुमुखी क्याम्पस पर्सामा, इकाई अध्यक्ष भएर काम गरें । २०४६ सालमा अखिल (छैठौं) बाराको सहसचिव भएर काम गरें । त्यसबेला छैठौंकै नारायणी उपकेन्द्रको सदस्य भएर काम गरियो । म छैठौंको एघारौं राष्ट्रिय सम्मेलन काठमाडौंमा गएको सम्झना छ । युवकको बाराको अध्यक्ष भएर काम गरियो । वैधानिक मोर्चागतहिसावले लामो समय राजमो बाराको अध्यक्ष भएर काम गरें ।
० राज्य–माओवादी द्वन्द्वको बेलाको कुनै स्मरणीय घटना छ कि ?
–२०५५ साल श्रावण महिनाको कुरा हो । कसैले हामीलाई माओवादीसँग जोडेर सुराकी गरेछ । म दाइको उपचारको लागि काठमाडौं गएका बेला बाराको बडरुवा घरमा प्रहरीहरु गएर घर खानतलासी गरेर बोरा, भाँडाको पिठो सबै पोखेछन् । कितावहरु सबै लिएर गएछन् । घरमा आतंकित बनाएछन् । संसदमा नवराजजीहरुले कुरा उठाउनु भएछ । काठमाडौंबाट फर्किएपछि इन्स्पेक्टरलाई भेटें । गल्ती भयो भनेर इन्स्पेक्टरले स्वीकार गरे । मेरा कितावहरु फिर्ता गरे । केही पछि बारा जनमोर्चाका साथी दिपक चौधरीजी, कमला पौडेलजीलाई बारामा पक्राउ गरेपछि यहाँ नारा, जुलुश विरोध कार्यक्रम गरेका थियौं ।
० प्रतिगमन विरुद्धको सङ्घर्षको केही स्मरण ?
– राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भनेर प्रधानमन्त्री पदबाट बर्खास्त गरी प्रधानमन्त्रीको दरखास्त आह्वान गरेका थिए। त्यसलाई तत्कालीन नेकपा (एकताकेन्द्र ––मसाल) र जनमोर्चा नेपालले प्रतिगामी कदम भनेको थियो र त्यसका विरुद्धमा सबैभन्दा पहिले हामी सडकमा निस्किएका थियौं । मलाई सम्झना छ हाम्रो बारा जिल्लाको साथीहरू र पर्सा जिल्लाका साथीहरूलाई समेत सहभागितामा सबैभन्दा पहिला बीरगञ्जमा हामीले विरोध कार्यक्रम गरेका थियौं। हामी रमेश भट्टराई, मणि पौडेल, धर्मानन्द सुवेदी, मिन केसी, दीपक चौधरी, म लगायतका साथीहरु बीरगञ्ज घण्टाघर चोकमा गएर विरोध सभा गरेका थिए। पछि बिस्तारै कांग्रेस, एमाले लगायतका पार्टीहरूसँग पनि पाँच दलीय प्रतिगमन विरोधी संघर्षको मोर्चा बन्यो । एमालेले प्रतिगमन आधा सच्चियो भनेर ज्ञानेन्द्रको सरकारमा पनि गयो। त्यतिबेला हामी चारदलीय गठबन्धन भएर आन्दोलनमा सहभागी भयौ ।२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले पुनः प्रतिगामी कदम चालेर देशमा पुरै निरङ्कुशतन्त्र लाद्न खोजे । त्यतिबेला अन्य राजनीतिक दलका बारा, पर्साका नेताहरु सिमाना काटेर रक्सोल पुगेका थिए । हामीले लुकी छिपी पर्चा बनायौ र लुकेछिपी बारा, पर्सा, रौतहटमा पर्चा वितरण ग¥यौ । पर्चा बोकेर बोर्डर पारी रक्सोल जाँदा अरु पार्टीका नेताहरू त्यहाँ भेटिएका थिए। २०६२ साल माघ २६ गते राजाको नगर निर्वाचन बहिष्कार विरुद्ध पनि हामी सशक्त ढंगले नै लाग्यौँ। ०६२ मङ्सिर ५ गते ७ दल र माओवादीका बीचमा १२ बुँदे समझदारी भएपछि माओवादीले पनि प्रतिगमन विरुद्धको आन्दोलनमा सहयोग गर्ने काम गर्यो । २०६२ चैत्र २४ बाट प्रतिगमन विरुद्धको निर्णायक आन्दोलन सुरु भयो र त्यो आन्दोलनमा हामी सक्रियतापूर्वक लाग्यौँ। १९ दिने जनआन्दोलनबाट विघगटित संसदको पुनस्र्थापना भयो। त्यही जनआन्दोलनको जगमा संविधानसभाको निर्वाचन भयो र संविधानसभाबाट गणतन्त्र नेपालको घोषणा पनि भयो।
० संविधानसभाको निर्वाचनपछि राष्ट्रिय जनमोर्चाले संविधानको निर्माण ,गणतन्त्रको सुनिश्चितता, संघीयताको विरोध जस्ता कार्यक्रम गरेको थियो । त्यसमा तपाईं घाइते पनि हुनुभए कि ?
–हो म सिमरामा नेपाल बन्दको क्रममा प्रहरीसँगको झडपमा मेरो खुट्टा भाचिएको थियो।
० निर्वाचन लडेको अनुभव पनि छ कि ?
– २०५४ सालको स्थानीय निर्वाचनमा म बाराको मनरहवा गाविसको अध्यक्ष पदमा उम्मेदवार बनेको थिएँ। २०६४ को संविधानसभाको निर्वाचनमा हामीले बारा जिल्लामा ६ वटै निर्वाचन क्षेत्रमा र पर्सा जिल्लामा पाँचवटा निर्वाचन क्षेत्रमध्ये चारवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थियौ । राष्ट्रिय जनमोर्चाको तर्फबाट म बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेको थिएँ। पछि २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा दिपक चौधरी लगायतका साथीहरू प्रत्यक्ष तर्फका उम्मेदवार बन्नुभएको थियो भने म चाहिँ समानुपातिक तर्फको उम्मेदवार बनेको थिएँ।
० कम्युनिस्ट आन्दोलन निकै नै कमजोर भएको छ । अब कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन के गर्नुपर्छ भन्ने लाग्छ ?
–हो तपाईँले भनेजस्तै अहिले नेपालको कम्युनिष्ट आन्दोलन निकै नै कमजोर भएको छ। विश्व कम्युनिष्ट आन्दोलनमा आएको निराशा र रक्षात्मक अवस्थाको प्रभाव पनि नेपालको कम्युनिष्ट आन्दोलनमा अवश्य परेको छ। आफूलाई कम्युनिस्ट बताएर यहाँको प्रतिक्रियावादी सत्तामा गएका कम्युनिस्टहरूले कम्युनिष्ट आन्दोलनको बारेमा निकै भ्रम छरे र निकै बदनाम गरे । जनतामाअहिले पनि चुनाव जितेर सरकारमा गएपछि कम्युनिस्ट पार्टीको नीति कार्यक्रम लागू गर्न सकिन्छ भन्ने भ्रम दिइरहेका छन् । बुर्जुवा निर्वाचन जितेर कम्युनिष्ट पार्टीको कार्यक्रम लागुु गर्न सकिन्छ भन्ने भ्रम साफ नगर्दा सम्म सच्चा कम्युनिष्ट आन्दोलन अगाडि बढ्दैन । वर्ग संघर्षबाट नयाँ जनवाद र समाजवादको स्थापना नगरिकन कम्युनिस्ट व्यवस्था आउन सक्दैन र वास्तविक जनताको कार्यक्रम आउन सक्दैन भन्ने कुरा जनतालाई बुझाउन आवश्यक छ। कम्युनिस्ट आन्दोलनप्रति प्रतिक्रियावादी र अवसरवादीहरुले निकै ठूलो भ्रम फैलाएका छन्। नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्नका लागि विश्वभरिका साम्राज्यवादी शक्तिहरू लागेका छन्। कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट उठाउनुपर्ने जरुरी छ । त्यसका लागि हामीले धेरै नै मेहनत गर्न आवश्यक छ। त्यसका निम्ति पहिलो कुरा कम्युनिस्ट आन्दोलन भित्रका कार्यकर्ताहरूले आफ्नै आचरण जीवनशैली र संघर्ष गर्ने चरित्रलाई विकास गर्नु पर्नेछ । आफूलाई क्रान्तिकारी भन्ने शक्तिहरु छरिएर रहेका छन् उनीहरुलाई पनि कसरी एकताबद्ध गरेर अगाडि बढ्न सकिन्छ त्यसप्रति पनि हामीले सोच्नु पर्दछ ।
० हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि ?
–भोटेकोशी –त्रिशुली बाढीबाट १३०० भन्दा बढी मानिसहरूको मृत्यु भयो। ५ हजारभन्दा बढी मानिसहरु बेपत्ता भएका छन्। हजारौं मानिसहरू घाइते भएका छन् । हजारौं बच्चाहरू त्यस घटनाबाट टुहुरा भएका छन्। घरबारविहीन भएका छन्। देश शोकमा डुबेको छ।असोज ८ गतेदेखि ११ गतेसम्म फेरि नेपालमा आएको अविरल वर्षाका कारण धन,जन र भौतिक संरचनाको क्षति भएको छ । सिङ्गो देशको दुःखद अवस्थामा हामी सबै एकजुट भएर समस्यालाई सामना गर्ने हिम्मत जुटाउनुपर्ने अवस्था छ । अन्त्यमा, हाँक साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

