काठमाण्डौ । राष्ट्रिय जनमोर्चा कोषाध्यक्ष मधु कुमार क्षेत्रीको २०८३ असोज १४ गते भएको असामयिक निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले पार्टीको तर्फबाट वक्तव्य जारी गर्दै मधु कुमार क्षेत्रीको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ र शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गर्नु भएको छ । “अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–१० निवासी कामरेड मधु कुमार क्षेत्री का(राहुल) को आज २०८३ असोज १४ गते मृत्यु भएको छ । कामरेड मधु कुमार क्षेत्री गत केही वर्ष अगाडिबाट ब्लड क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको उपचारको लागि भएका सबै प्रयासहरूका बाबजुद पनि उहाँको जीवनलाई बचाउन सम्भव भएन । उहाँको मृत्युप्रति हामीले गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजन र समस्त पार्टी सदस्यहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”वक्तव्यमा भनिएको छ ।
उहाँले आफ्नो राजनीतिक जीवनमा प्रवास र स्वदेशमा विभिन्न समयमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँले इमान्दार, कर्मनिष्ठ, प्रतिवद्ध, जुझारु र अनुशासित रुपले पार्टीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको मृत्युबाट नेपालको जनतान्त्रिक तथा परिवर्तनको आन्दोलनमा गम्भीर क्षति पुगेको छ । मधु कुमार क्षेत्री प्रति हाँक साप्ताहिकको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ।
राजमो कोषाध्यक्ष मधु कुमार क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली
Comments

