रामसिङ वि.क.
युग परिवर्तन भयो भन्थे,
व्यवस्था फेरियो भन्थे,
तर मान्छेको कथा उस्तै रहेछ—
नाम फेरियो, रूप फेरियो,
भित्रको भोक उस्तै रहेछ।
आदिम साम्यवादी युगमा
कपडा थिएन, नाङ्गै हिँड्थे रे,
आज सभ्यताको शिखर चढ्यौँ भन्छौँ,
तर बजारको चमकमा
अर्धनग्न शरीर बेचिँदै गरेको देख्छु।
त्यतिबेला अभावले नाङ्गो बनायो,
आज चाहनाले नाङ्गो बनाउँछः
त्यतिबेला प्रकृतिसँग हार्थे मान्छे,
आज आफ्नै बजारसँग हार्छ।
औजार फेरिए,
महल फेरिए,
शासनका नाम फेरिए,
तर मान्छेको नियति—
कतै उही पुरानो पानामा
नयाँ अक्षरले लेखिएको जस्तो लाग्छ।
दाययुग फेरियो भन्थे,
अझै नौकर चाकर पनि राख्न छोडेन,
सामन्तवादी युग फेरियो भन्थे,
गरिबलाई जमिन छैन
अहिले पनि भोकै प्यासैछ।
पुँजीवादी युगमा छौ भन्छौ
मजदुरले काम पाएको छैन
दाम पाएको छैन ।
युग परिवर्तन भयो भन्छन्,
म ऐनामा हेर्छु—
मान्छे त उही छ,
केवल उसको शरीरमा
लुगा थपिएको छ,
तर चेतनामा
कति परिवर्तन भयो?

