मनु वि.क.
नेपाली महिला आन्दोलनले ७८ वर्ष पार गरेको छ । नेपालको लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता रहँदै आएको छ । नेपालको राजनैतिक इतिहासमा महिलाहरुको उच्च वलिदान,त्याग,तपस्या र लगाव रहेको छ । चाहे भूमिगत रुपमा होस् या खुला रुपमा चाहे हतियार बद्ध रुपमा होस या शान्तिपूर्ण रुपमा भएका सबै परिवर्तनको आन्दोलनमा उच्च स्तरको सहभागिता महिलाहरुको रहेको छ । महिलाहरुको सहभागिता र उपस्थितिको कारण नै सत्ता परिवर्तन हुन सम्भव भएको छ । महिलाहरुले केही मात्रामा भएपनि सचेत भएका छन् । पढाई लेखाईमा विगतको जस्तो अवस्था रहेको छैन । छोरीहरुलाई शिक्षामा केही मात्रामा भएपनि लगाउने चलनको विकास भएको छ । उनीहरुको चेतना विकास हुँदै गईरहेको छ । रोजगारी,आय आर्जनमा अगाडि जाँदै छन् । जति नै अभाव वा समाजमा चेतनास्तर कम भएका अविभावक भएपनि उनीहरुले छोरीलाई अक्षर चिनाउने र पढाई लेखाईमा ध्यान दिने पनि गरेका छन् । जसको कारण महिलाहरु आफैमा आत्मविश्वास बढिरहेको छ । सरकारी तथा अन्य रोजगारीमा महिलाहरुको केही मात्रामा भएपनि उपस्थिति छ, हुँदै छ । महिलाहरु व्यापार, व्यवसाय,उद्योगमाहरुमा पनि महिलाहरु उदाउँदै छन् । महिलाहरुले वैदेशिक रोजगारीमा पनि जाने गरेका छन् । उनीहरुले विदेशमा जति नै भएपनि दुःख झेलेर पैसा आर्जन गर्न सक्ने भएका छन् । विदेशमा पराइबाट हुने शोषण उत्पीडन जे जे सहेर पनि उनीहरुले रोजगारीलाई निरन्तरता दिएकै छन् । दक्ष रुपमा होस या अदक्ष रुपमा जे जसरी भएपनि विदेशी भूमिमा रगत पसिना बगाउन पनि पछि परेका छैनन् । परि आएको अवस्थामा महिलाले जस्तोसुकै काम पनि गरिहेका छन् ।
महिलाले यो गर्न हुँदैन ,त्यो गर्न हुुँदैन भन्ने परम्परागत मूल्य मान्यताहरुलाई चुनौती दिइरहेका छन् । महिलालाई हेर्ने दृष्टिकोण, परम्परागत चालचलन,सम्पत्तिबाट वञ्चित गर्ने चलन,महिलाहरु कमजोर हुन्छन् । उनीहरु घरबाहिर केही गर्न सक्दैनन् भन्ने व्यवहार,चलनले महिलाहरु सदियौंदेखि पछाडि पर्दै आए । २००७ सालदेखि २०६२–०६३ सम्मको समयलाई हेर्ने हो भने महिलाले निकै सचेततापूर्वक राजनीतिमा सहभागी भएका छन् । नेपालको राजनीतिक परिवर्तनमा महिलाको सक्रिय सहभागिता रहेको थियो । परिवर्तनमा महिलाले जस्तोसुकै यातना,सहेर वा जीउको वलिदान गरेर भएपनि सहभागिता जनाएका हुन् । अथकरुपमा महिलाहरुले दुःख समस्याहरु झेलेर,घरायसी काम छोराछोरी हुर्काउने काम सबै आफ्नो काँधमा बोकेर आफ्ना श्रीमानलाई वा आफ्ना सन्तानलाई राजनीति र संघर्षमा पठाएर वा आफै संघर्षमा सहभागी भएर आन्दोलनलाई उचाइमा पु¥याएका हुन् । नेपालमा चाहे २००७ सालको परिवर्तनमा होस चाहे ०४६ सालको परिवर्तनमा होस या १० वर्षे जनयुद्धको समयमा होस या २०६२ –०६३को परिवर्तनको आन्दोलनमा होस सबैमा महिलाहरुको अत्यन्तै ठूलो योगदान रहेको छ ।
त्यो अनुसार महिलाहरुलाई केही मात्रामा भएपनि अधिकार स्वतन्त्रता प्राप्त भएको छ । महिलालाई हेर्ने परम्परागत धारणामा परिवर्तन आएको छ । राजनीतिक रुपमा महिलाहरु विगतको तुलनामा निकै सचेत पनि भएका छन्। महिलालाई प्रतिनिधित्वको सवालमा पनि केही मात्रामा भएपनि व्यवस्था भएको छ ।
अहिलेको अवस्थामा क्रान्तिकारी परिवर्तनको आन्दोलनमा महिलाको निकै ठूलो माग रहेको छ । नेपालको राजनीतिमा महिलाहरु जो क्रान्तिकारी आन्दोलनमा क्रियाशील थिए उनीहरु पनि राजनीतिबाट टाढा हुन खोजेको वा परिस्थितिले आन्दोलनबाट टाढा जानु परेको अवस्था छ । महिलाहरु अहिले उत्पादनको काममा मात्रै लाग्ने राजनीति संघर्ष र आन्दोलनबाट टाढा हुने अवस्था आएको छ । अहिले पनि के को क्रान्तिकारी आन्दोलन ? के को परिवर्तनको आन्दोलन ? भनेर क्रान्तिकारी आन्दोलनको कुरा गर्ने,संघर्ष गर्नु पर्छ भन्ने र नेपाली जनताको वास्तविक रुपमा मुक्ति भएको छैन भनेर राजनैतिक कुरा गर्दा व्यक्ति,पार्टी र संगठन र राजनीतिमाथि प्रहार गर्ने काम भइरहेको छ । यसरी प्रहार गर्ने कार्य विगतमा आफुलाई क्रान्तिकारी भनिएकाहरु ,यथास्थितिवादीहरु र प्रतिगामीहरुबाट भएको भए पनि यस्तै सुनिँदै र भोगिँदै आइएको छ । महिलाहरुले अधिकार पाइसके अब कुनै पनि अधिकारको आवश्यकता छैन भन्ने पनि गरिन्छ । अहिले महिलाका मुद्दाहरु उठाउने विचार र संगठनको अभाव छ । वैचारिक स्पष्टता नभए पछि आन्दोलन र क्रान्तिको कुरा हुने कुरा भएन ।
नेपालमा महिला संगठनहरु यथास्थितिमा रमाउने प्रकारका छन् । परिवर्तनको पक्षमा आन्दोलन संघर्षलाई केन्द्रित गर्नु पर्छ भन्ने खालका महिला संगठनहरुको अहिले खडेरी परेको छ । अहिले देशमा कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा छ । कम्युनिष्ट भन्नेहरु धेरै संख्यामा भएको जस्तो देखिए पनि सच्चा क्रान्तिकारी आन्दोलनको पक्षमा,परिवर्तनको पक्षमा रहेका कम्युनिष्ट पार्टीहरु र महिला संगठनहरु छैनन् ।
अहिले महिलाहरुलाई जति नै कर बल लगाए पनि राजनीतिक कार्यक्रममा सहभागी गराउन मुस्किल परिरहेको हुन्छ । महिलाहरुले पहिले जो जसले लामो समय क्रान्तिकारी आन्दोलनमा सहभागिता जनाए,जो जसले आफ्ना छोराछोरीलाई परिवर्तनको पक्षमा लाग्न अह्राए उनीहरु अहिले गुमनाम भएर रहेका छन् । परिवर्तनको पक्षमा लागेको जो जो थिए उनीहरु अहिले आफ्नो व्यक्तिगत पेसा व्यवसायमा लागिरहेका छन् । सके देश मै सके विदेशमा रोजगारीमा लागेका छन् । समाज परिवर्तनको पक्षमा लागेका केही महिलाहरु पनि निकै कठिनतापूर्वक जीवन चलाईरहेका छन् । अहिले महिलाहरु क्रान्तिकारी आन्दोलनमा लागेका परिवर्तनको आन्दोलनमा सक्रिय भैरहेका पाउन निकै मुश्किल परिरहेको छ । क्रान्तिकारी आन्दोलनमा लागेका महिलाहरु पनि अहिले धार्मिक अन्धविश्वासमा लिप्त रहेको देखिन्छन् । अहिले नेपालको जतासुकै मन्दिर नै मन्दिर बनिरहेको छ । आमा समुह बनाई उनीहरुको हक हितको पक्षमा लाग्नु पर्ने अवस्थामा आमा समुहबाट पनि उनीहरुले रकम जम्मा गरी मन्दिर नै बनाउने,उनीहरुको नाममा उनीहरु कै हक हितकोलागि भनेर रकम विनियोजन भएपनि मन्दिर नै बनाउने होड चलिरहेको छ । महिलाको समग्र विकासमा रकम लगानी हुन पाएको छैन । महिलाहरुले जम्मा पारेको वा स्थानीय तह अथवा जसरी भएपनि जम्मा पारेको रकम महिलाको मानसिक विकास,सीप,क्षमता,दक्षता विकासमा प्रयोग हुन पाएको छैन । महिलाहरुको अहिलेको आवश्यकता सचेतताको विकास ,दक्षताको विकास तथा सीप क्षमताको विकासको हो । तर समाजका महिला पुरुषले त्यो सोच्न सकेका छैनन् । अन्धविश्वासी कुराहरुमा महिलाहरुले किन विश्वास गरिरहेका छन् ? मन्दिर,मठ वा चर्च वा मस्जिद जे सुकै बने पनि महिलामुक्तिको कुरा त्यो ठाउँमा उठ्दैन तर पनि त्यही नै महिलाहरुको लगाव अत्यधिक रहेको छ ।
अहिले कुनै राजनीतिक कार्यक्रम हुँदैछ,जाउँ भन्ने हो भने महिलाले घर फुर्सद पाउँदैनन् वा नपाएको बहाना बनाउँछन् । तर धार्मिक कार्यक्रम हुँदैछ भन्ने हो भने भन्न नै नपाई थाहा पाउँछन् । थाहा मात्र पाउँदैनन् जान पनि सक्छन् । घर व्यवहार सबै मिलाउँछन् , जसरी भएपनि त्यहाँ पुग्छन् ।
पूँजीपतिहरुले आयोजना गरेका विभिन्न महोत्सवहरुमा पनि महिलाको निकै चासो भएको पाईन्छ । तर राजनीतिक आन्दोलन परिवर्तनको कुरा गर्दा खासै वास्ता गर्दैनन् । पहिले समाज परिवर्तनको आन्दोलनमा लागेका महिलाहरु पनि यस्तै भैरहेका छन् । एउटा कार्यक्रममा एक जना पूर्व माओवादी जनयुद्धमा हिडेकी महिलाले महिलाको राजनीति तथा समाज प्रतिको अवस्था देखेर अचम्म हुँदै आफ्ना अभिव्यक्ति यसरी राखिन् –“हामीले के परिवर्तनको पक्षमा लडिएछ । हामीले ल्याएको परिवर्तनले सांस्कृतिक रुपमा के गर्न सक्यो ? महिलाहरु यति धेरै अन्धविश्वासी भएर मन्दिर धाएका हुन्छन् । यस्तो हो भन्ने त सोचिएको थिएन ।”उनको यो भनाइ निकै मार्मिक रहेको छ । उनले जुन कुरा प्रकट गरिन अहिले त्यो भन्दा बढि मात्रामा महिलाहरु मन्दिर धाउने त्यसैमा रमाउने गरेका छन् । क्रान्तिकारी आन्दोलनमा खोज्ने हो भने महिला पाउन निकै मुस्किल छ तर मन्दिर भजन, कृतन, कोटीहोम, होम,यज्ञ महायज्ञमा महिलाहरु निकै उल्लासका साथ सहभागी भैरहेका हुन्छन् ।
अहिले क्रान्तिकारी आन्दोलनमा महिलाहरुका यति धेरै खडेरी रहेको छ । आँैलामा गन्न सक्ने महिलाहरु पनि आन्दोलनमा रहेका छैनन् । महिलाहरु क्रान्तिकारी आन्दोलनमा हिँडेका जो थिए उनीहरु अहिले घर व्यवहार चलाउने र चुलो चौकोमा सिमित हुन थालेका छन् । अहिले पढेलेखेका महिलाहरुले आफ्नो बाहेक समाजको कुरा सोच्न सकिरहेका छैनन् । आफ्नो व्यक्तिगत कुरा, जागिर ,पेसा व्यवसाय आर्थिक समृद्धि,व्यक्तिगत सुख सयल भन्दा माथि सोच्न भ्याईरहेका छैनन् महिलाहरुलाई यो व्यवस्थाले यो नै सबैभन्दा उत्कृष्ट व्यवस्था हो भन्ने पारिरहेको छ । यो संसदीय व्यवस्था नै उत्तम व्यवस्था हो भन्ने जस्तो गरिरहेको छ । शिक्षा दिक्षा त्यही किसिमको दिइरहेको छ । अहिलेको यो व्यवस्था भनेको शोषणमूलक व्यवस्था हो यो व्यवस्थाले आफूले लगानी गरेर आफ्नो लगानी उठाउने शिक्षा दिने गर्दछ । शिक्षक बन्न निकै खर्च गरेर पढ्ने र आफुले पनि सक्दो शोषण गरेर कमाउने । धेरै भन्दा धेरै खर्च गरेर डाक्टरी पढ्ने र त्यो पढिसकेपछि जतिसक्दो शोषण गरेर कमाउने, चुनावमा जतसिक्दो खर्च गरेर,लाखौं करोडौं खर्च गरेर चुनाव जित्ने जितिसकेपछि जतिसक्दो तलब लिने, भ्रष्टाचार गर्ने, अवैध सम्पत्तिलाई वैध बनाउने । जनसेवा अथवा जनहित भन्दा पनि आफूले लुटने । सबैको शोषण गरेर जतिसक्दो पैसा कमाउने र आफ्नो मात्रै यश आरामको जिन्दगी जिउने । आफ्नो नाममा सम्पत्ति जोडने र पुस्तौंलाई पु¥याउने । आफ्ना छोराछोरीलाई युरोप,अमेरिका पुग्ने र विदेशीको दासी बन्ने सपना देखाउने ।
वर्तमान शिक्षाले यही कुरालाई मलजल गर्दछ । अहिले महिलाहरुले पनि यी कुरा सिकिरहेका छन् । जसले गर्दा महिलाहरुले आफनो मात्रै सोच्ने नितान्त व्यक्तिवादी बन्न पुगिरहेका छन् । त्यसको कारण पढेलेखेका महिलाहरु ,आफूलाई जान्ने सुन्ने भन्ने महिलाहरुले आफ्नो मात्रै ध्यान दिने भएका छन् । उनीहरु कर्मचारी बन्नलाई मरिहत्ते गर्दछन् । डाक्टर बन्नलाई वा यस्तै लाभको पदलिनलाई निकै मरिहत्ते गर्दछन् । एनजीओ आई.एन.जी.ओ.हरुमा पनि महिलाहरुको निकै राम्रो उपस्थिति रहेको हुन्छ । सरकारी सेवा,पुलिस, सेनामा शिक्षक डाक्टर इञ्जिनियर सबैमा उनीहरुको राम्रो रुचि हुन्छ । जेमा रुचि हुन्छ फल त त्यही नै प्राप्त हुने हो ।
दलहरुमा पनि जुन दल राष्ट्रिय मान्यता प्राप्त गरेको छ । जुन दलले यो व्यवस्थाबाट निकै लाभ दिन र लिन सक्दछ वा लुटलाई प्राथमिकता दिने गर्दछ । त्यही दलमा महिलाहरुको निकै चाख रहेको हुन्छ । यही नै राम्रो काम हो भन्ने जस्तो सिकाईरहेका हुन्छन् र सिकिरहेका छन् । तर क्रान्तिकारी आन्दोलनमा उनीहरुलाई पाउन कठिन हुन्छ । हुनत पुरुषहरु पनि क्रान्तिकारी आन्दोलनमा पाउन कठिन छ । क्रान्तिकारी आन्दोलनको आवरणमा पनि कैयौं दलहरुले महिलाहरुलाई भ्रममा राख्न सफल भैरहेका छन् । भन्दा १ नम्बर क्रान्तिकारी गर्दा कुनै वर्जुवा भन्दा तलको व्यवहार गर्ने चरित्र पनि क्रान्तिकारी आन्दोलनमा देखिएको प्रवृति हो । यो सबभन्दा खतरनाक प्रवृति हो यो । यसको शिकार पनि महिलाहरु भैरहेका छन् ।
अहिले क्रान्तिकारी आन्दोलन उठ्न सकिरहेको छैन । समाजमा तमाम खालका शोषण दमन कायम छ । व्यक्तिले सक्यो व्यक्तिले,राज्यले सक्यो राज्यले शोषण गरिरहेका छन् । नीति बनाएर,नीति बनाईकन भए सोझै भ्रष्टाचार गरिरहेका छन् । राज्य भनेको शोषणकोलागि निर्माण भएको एक अंग हो । राज्य जोगाउन चाहिने सेना, पुलिस,कर्मचारी शासनसत्ता सञ्चालन गर्ने व्यक्तिहरु सबै पाल्न एक गरिब किसान,मजदुरले निकै पसिना बगाउन पर्ने बाध्यता रहेको हुन्छ । उनीहरुकै पसिनाबाट नै राज्यका संयन्त्रहरु बाँचेका हुन्छन् ।
यसको साथ साथै अहिले हाम्रो देशमा दलाल व्यवस्था विकास भैरहेको छ । जेमा पनि दलालतन्त्र हावी रहेको छ । अर्काले सामान उत्पादन गर्छ त्यो ल्यायो बेच्यो नाफा कमायो गर्ने,आम्दानीको धेरै भाग अर्कैलाई बुझायो गर्न परिरहेको छ । देशमा चाहिने साधन स्रोतको सही सदुपयोग हुन सकिरहेको छैन । भैरहेका साधन स्रोत पनि नासिँदै,माँसिदै गैरहेका छन् । अर्कालाई जोगाउन आवश्यक छैन जसलाई जोगाउन आवश्यक छ,उसले जोगाउँदैन त्यसले गर्दा देश झनै परनिर्भर बन्दै गइरहेको छ ।
यस्तो अवस्थामा देशमा क्रान्तिकारी आन्दोलनको अति आवश्यकता रहेको छ । तर क्रान्तिकारी आन्दोलनमा अगाडि बढ्ने जनशक्तिको भने निकै खडेरी परेको छ । क्रान्तिकारी आन्दोलनमा देखिएका गलत प्रवृतिहरुको विरोध गर्नु पर्ने छ । क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु परेको छ । क्रान्तिकालागि चाहिने प्रमुख संगठन महिला संगठन हो । देशमा जति नै नीति नियम परिवर्तन भनिएको भएपनि गाउँघर शून्य हुँदैछन् । रोजगारीकोलागि विदेशिन बाध्य नेपालीको अवस्था कारुणिक छ । देशमा महंगी भ्रष्टाचारको बिगबिगी छ । सक्नेले लुट्ने काम भैरहेको छ । देशको प्राकृतिक स्रोतमाथि विदेशीको लुट जारी छ । सत्तामा रहेका नेता तथा नेतृत्व विदेशीहरुको प्रभावमा परेका छन् । देश झन पछि झन कंगाल बन्दैछ । नेपालीको टाउकामा ऋणको भारी बढ्दैछ । थामी नसक्नु ऋणको भार नेपालीले जति तिरे पनि कहिल्यै नसकिने अवस्थामा छ । जो जसले जे जे नाममा शासन गरेपनि ऋण हट्न सकेको छैन । समाजमा वित्तीय शोषण अत्यधिक रहेको छ । सहकारी ठगी,लघुवित्तहरुको ठगी बैंकहरुको अत्यधिक व्याज र घरजग्गा लिलामीको अवस्था निकै भयावह रहेको छ । देशमा पर्यावरणीय संकटको प्रभाव र जोखिम बढिरहेको छ ।
देशमा जनता यस्तो व्यवस्थाको खातिर लडेका थिएनन् । जनताको त्याग र तपस्या देशमा यही हुनकोलागि थिएन । जनताले काम,दाम र माम चाहेका हुन् तर जनताले काम पाउन सकेका छैनन् । दाम नपाएपछि माम हुने कुरा भएन । जनतालाई साँझ बिहान हात मुख जोर्न धौ धौ छ । यस्तो अवस्थाको निकास देशले खोजेको छ । चानचुने आन्दोलनले यी समस्या समाधान हुन सक्ने छैनन् त्यसकोलागि दृष्टिकोण सहितको आन्दोलनको आवश्यकता पर्दछ । त्यो क्रान्तिकारी आन्दोलन बिना असम्भव छ । क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने शक्तिहरु वैचारिक,राजनैतिकरुपमा स्पष्ट हुनु पर्दछ । क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने शक्ति भनेको मजदुर तथा किसान संगठन हो तर महिलाहरु भने निकै कम मात्रामा आन्दोलनमा आउने गरेका छन् । आए पनि टिक्ने सन्दर्भमा निकै कमरहेका छन् वा पलायन भैरहेका छन् । क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने महिला शक्तिको निकै खडेरी परेको छ । महिला जगतबिना क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन ।
देशमा यस्तो अवस्था सिर्जना भएको अवस्थामा महिला संगठनको भूमिका कमजोर अवस्थामा छ । विगतमा संघर्षमा लागेका महिलाहरु पनि आफ्नो जीविकोपार्जनको लागि जानु पर्ने अवस्था सिर्जना भएको छ । विगतमा क्रान्तिकारी आन्दोलन परिवर्तन र संघर्षमा लागेका महिलाहरु पनि आफ्नो घरायसी व्यवस्थापनकोलागि लाग्नु पर्ने अवस्था सिर्जना भएको छ । नयाँ महिला सदस्यहरु उत्पादन हुन सकेका छैनन् । मैदान पुरै खाली छ । क्रान्तिकारी आन्दोलनमा लाग्ने महिलाहरु पनि निकै दुःखकष्टको साथ हिँडिरहनु परेको छ । संगठनमा निरन्तरता दिन र दैनिक जसो हुने सांगठनिक काम,संघर्षको कामका खटिँदा पनि महिलाहरुले आफ्नो खर्च आफै जोहो गर्नु पर्ने अवस्था छ । जनतामा रहेको जनाधार गुम्दा र जनतासँग सम्पर्क छुट्दा आर्थिक व्यवस्थापनको पाटो कमजोर बन्न पुगेको छ । यो अवस्थामा हाम्रो दुई संगठनहरु क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघ केन्द्रीय संगठन समितिकोबीचमा एकता भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट महिला संगठन क्रान्तिकारी महिला संगठन र नेकपा (मशाल) निकट रहेको अखिल नेपाल महिला संघ केन्द्रीय संगठन समितिको बीचमा २०८१ असार १८ गते कुपोण्डलमा एकता भइ “क्रान्तिकारी महिला संगठन नेपाल”को निर्माण भएको छ । यो महिला संगठन नेपालको क्रान्तिकारी महिला संगठन हो । दुवै महिला संगठनहरु विद्रोहबाट आएको महिला संगठन हो । यो व्यवस्थाबाट परिवर्तन सम्भव छैन भनेर यो व्यवस्थामा आमूल परिवर्तनको आवश्यकता छ भन्ने मान्यता यो संगठनले राख्दछ ।
एकता अधिवेशनबाट केन्द्रमा समिति निर्माण भए पनि जिल्ला जिल्लामा समितिहरु गठन, पुर्नगठन,भेला सम्मेलन गर्न ध्यान दिनु पर्ने छ । संगठनको स्थानीय स्तरमा संगठन निर्माण हुन सकेको छैन । संगठन निर्माण गर्नकार्यकर्ताहरु खटिनु पर्ने अवस्था छ । संगठन व्यवस्थित गर्ने भनेको संगठनमा कार्यालय व्यवस्थापनदेखि लिएर कामहरुलाई अगाडि बढाउनु पर्ने अवस्था छ ।
स्थानीय स्तरदेखि संगठनलाई व्यवस्थित गर्न सदस्यता वितरणलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेछ । अहिले क्रान्तिकारी आन्दोलन परिवर्तनको कुरा गर्दा टाउको बटार्ने अवस्था सिर्जना भएको छ । विगतमा राजनीतिक क्रान्तिकारी आन्दोलनमा हिडेका र परिवर्तनको पक्षमा रहेको भनेर जनतालाई क्रान्ति र परिवर्तनको पक्षमा रहेको आश्वासन बाँडेका दल हरुको व्यवहारका कारण जनतामा व्यापक निराशा छाएको छ । राजनीति प्रति जनताको वितृष्णा पैदा हुन पुगेको छ । एक हिसाबले भन्दा देशमा राजनीतिक,साँस्कृतिक रुपमा प्रतिगमन भएको छ ।
२०८२ भदौ २३ र २४ गतेको जेनजी विद्रोह पछि त झनै राजनीतिक परिवर्तनको पक्षमा लागेका,क्रान्ति, आन्दोलनको पक्षमा लागेर जीवन बिताएका नेता कार्यकर्ताहरुलाई गालीगलौज गर्ने,झोले भन्दै अपमानित गर्ने वा समाज, स्थानीय स्तरबाट बहिस्कार गर्ने जस्ता गलत राजनीतिक संस्कारको विकास गरिँदैछ । सामाजिक संजालहरुमा गालीगलौज गर्ने र नेताहरुलाई खुइल्याउने क्रान्तिकारी विचार र दर्शनबाट जनतालाई अलग्याउन गलत प्रचार प्रसार गर्ने,समाज रुपान्तरणको विषयलाई गहिरो अध्ययन नगरी सतही रुपमा हल्का फुल्का रुपमा सोच्ने गरिएको छ । वैचारिक विचलन र वैचारिक रुपमा अराजकतावादको विकास हुँदैछ ।
यो अवस्थामा अहिले हामी एकता राष्ट्रिय सम्मेलनको तयारीमा छौं । सम्मेलनको तयारीकोलागि हामीले सबैले जोडदार रुपले लाग्नुपर्ने छ । त्यस्तै जिल्ला,भेला, सम्मेलनहरुको तयारी गर्नु पर्नेछ । जिल्ला भेलासम्मेलनको तयारीकोलागि व्यापक संगठन विस्तार गर्ने अभियान चलाउनु पर्ने छ । हाम्रो सम्मेलन ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा गर्ने भनिएको एकता सम्मेलन सरेको छ । सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको कारण एकता सम्मेलन सरेको छ । महिला संगठनको राष्ट्रिय एकता सम्मेलन आगामी मंसीर २६ – २७ गते काठमाण्डौमा गर्ने निर्णय भएको छ ।सम्मेलन सफल पार्नु कम चुनौतीको विषय छैन ।
क्रान्तिकारी महिला संगठनका नेता कार्यकर्ताहरु सबै चुनौतीहरुलाई पार गर्दै अगाडि बढ्नु पर्ने छ । महिलाहरुलाई,आम जनतालाई वास्तविक मुक्तिको बारेमा चेतना छर्नु,संगठित गर्नु र वैचारिक रुपले स्पष्ट पार्दै मुक्ति यात्रामा लामबद्ध पार्नु छ । क्रान्तिकारी महिला संगठनका नेता कार्यकर्ताहरु जनताको घर दैलोमा पुग्ने,आधुनिक सूचना प्रविधिसँग जोडिने, महिलाहरुलाई वैचारिक रुपमा स्पष्ट गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता छ ।
वर्तमान अवस्थामा क्रान्तिकारी महिला संगठनको भूमिका
Comments

