समाज परिवर्तनको सपना

 

किसनबहादुर वि.क.

मैले जीवनमा भोगेका, देखेका र अनुभव गरेका घटनाहरूले मेरो मनमा एउटा गम्भीर प्रश्न जन्माएको छ—समाज परिवर्तनको नारा दिने राजनीतिक संगठनहरू आफैं भित्र कति परिवर्तन भएका छन्।

यो प्रश्न कुनै व्यक्ति, कुनै विशेष पार्टी वा कुनै संगठनलाई लक्षित गरेर गरिएको आरोप होइन। यो लामो राजनीतिक यात्राका क्रममा देखिएका, भोगिएका र महसुस गरिएका अनुभवहरूको आधारमा गरिएको एउटा आत्मसमीक्षा हो। मेरो उद्देश्य कसैको निन्दा गर्नु होइन, बरु हामीले बोकेको विचार र हाम्रो व्यवहारबीचको दूरीलाई इमानदारीपूर्वक हेर्नु हो।
किनकि समाज परिवर्तनको कुरा गर्नेहरूले सबैभन्दा पहिले आफूले निर्माण गरेको संगठन, आफ्नो राजनीतिक संस्कार र आफ्नो व्यवहारलाई परिवर्तन गर्न सक्नुपर्छ।
१. परिवर्तनको सपना किन देख्यौँ ?

सामन्तवादी समाजमा सत्ता, सम्पत्ति र अवसर सीमित व्यक्तिको हातमा केन्द्रित हुन्छ। आम जनता निर्णय प्रक्रियाबाट टाढा राखिन्छन। मानिसको अधिकार जन्म, जात, सम्पत्ति, पद र सामाजिक हैसियतका आधारमा निर्धारण हुने अवस्था रहन्छ।
यस्तो व्यवस्थाले मानिसलाई स्वतन्त्र नागरिकभन्दा बढी अधीनस्थ बनाउँछ।
यही असमानता, शोषण, विभेद र अन्यायको अन्त्यका लागि संसारभर विभिन्न राजनीतिक आन्दोलनहरू जन्मिए। नेपालमा पनि समानता, स्वतन्त्रता, सामाजिक न्याय र शोषणमुक्त समाज निर्माणको सपना बोकेर हजारौँ मानिस राजनीतिक आन्दोलनमा जोडिए।
हामी पनि त्यही सपनाबाट प्रभावित भयौँ।
हामीले सोच्यौँ—
अब मानिस ठूलो–सानो हुने छैन।
अब श्रमको सम्मान हुनेछ।
अब जनताको शासन हुनेछ।
अब शोषणको अन्त्य हुनेछ।
अब निर्णय केही व्यक्तिको इच्छाले होइन, सामूहिक निर्णयबाट हुनेछ।
तर समय बित्दै जाँदा एउटा प्रश्न फेरि हाम्रो अगाडि उभिएको छ—
हामीले बाहिर परिवर्तन गर्न खोजेको संस्कार हाम्रो आफ्नै संगठनभित्र कति परिवर्तन गर्‍यौँ
२. विचारमा मार्क्सवाद, व्यवहारमा सामन्ती संस्कार।
सबैभन्दा ठूलो विरोधाभास यहीँ देखिन्छ।
भाषणमा मार्क्सवाद।
दस्तावेजमा जनवाद।
नारामा समानता।
कार्यक्रममा सामूहिकता।
तर व्यवहारमा—
व्यक्तिपूजा, गुटबन्दी, पदको मोह, आर्थिक अपारदर्शिता, आलोचना सहन नसक्ने प्रवृत्ति, आफ्नालाई बचाउने संस्कार र फरक विचार राख्नेलाई शत्रु ठान्ने प्रवृत्ति देखियो भने हामीले गम्भीर आत्मसमीक्षा गर्नैपर्छ।
मार्क्सवाद केवल किताबमा पढिने सिद्धान्त होइन।
यो समाजलाई बुझ्ने र परिवर्तन गर्ने वैज्ञानिक दृष्टिकोण हो।
यदि हामीले मार्क्सवाद पढ्यौँ तर आफ्नो व्यवहार परिवर्तन गरेनौँ भने त्यो ज्ञानको प्रदर्शन मात्र बन्न सक्छ।
जनवादको भाषण गरेर संगठनभित्र अल्पमतको आवाज दबाइन्छ भने त्यो जनवाद होइन।
समानताको कुरा गरेर पदका आधारमा मानिसको मूल्य निर्धारण गरिन्छ भने त्यो समानता होइन।
सामन्तवादको विरोध गरेर आफूलाई संगठनभित्र मालिकजस्तो प्रस्तुत गरिन्छ भने त्यो सामन्तवादविरोधी राजनीति होइन।
३. जनवादको वास्तविक परीक्षा कहाँ हुन्छ?
जनवादको परीक्षा भाषणको मञ्चमा हुँदैन।
जनवादको वास्तविक परीक्षा त्यतिबेला हुन्छ, जब आफ्नो विचार अल्पमतमा पर्छ।
आफूले समर्थन गरेको प्रस्ताव बहुमतबाट अस्वीकार हुँदा हामी त्यसलाई स्वीकार गर्न सक्छौँ कि सक्दैनौँ ?
आफ्नो पक्षको व्यक्ति जिम्मेवारीबाट हट्दा हामी संस्थागत निर्णयलाई सम्मान गर्छौँ कि व्यक्तिगत सम्बन्धका आधारमा विद्रोह गर्छौँ।
आफूले चुनाव वा निर्णयमा बहुमत नपाउँदा हामी अर्को बैठकको प्रतीक्षा गर्छौँ कि संगठन नै विभाजन गर्ने बाटो रोज्छौँ ?
यहीँबाट जनवाद र व्यक्तिगत अहंकारबीचको अन्तर देखिन्छ।
बहुमतको निर्णय स्वीकार गर्न नसक्ने तर आफूलाई जनवादी भन्ने प्रवृत्तिमाथि प्रश्न उठाउन आवश्यक छ।
जनवादको अर्थ सबै निर्णय आफूले चाहेजस्तो हुनु होइन।
जनवादको अर्थ—
आफ्नो कुरा राख्ने अधिकार, अरूको कुरा सुन्ने संस्कार, सामूहिक रूपमा निर्णय गर्ने प्रक्रिया र निर्णय भइसकेपछि संस्थागत रूपमा त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी हो।
४. संगठन फुट्नुको पीडा
राजनीतिक संगठन फुट्नु केवल एउटा कार्यालयमा अर्को कार्यालय खोलिनु होइन।
यसको असर कार्यकर्ताको मनोविज्ञानमा पर्छ।
हिजोसम्म एउटै झण्डामुनि हिँडेका साथीहरू आज एकअर्कालाई शत्रुका रूपमा हेर्न थाल्छन।
हिजोसम्म एउटै विचारका लागि जेल, आन्दोलन, संघर्ष र दुःख भोगेका कार्यकर्ताहरू आज सामाजिक सञ्जालमा एकअर्कालाई गाली गर्न थाल्छन।
कार्यकर्ताको समय, श्रम, आर्थिक योगदान र वर्षौँको राजनीतिक अनुभव नयाँ विवादमा खेर जान्छ।
सबैभन्दा दुःखद कुरा—
संगठन फुटेपछि विचारको बहस कम र व्यक्तिको बचाउ तथा विरोध बढी हुन थाल्छ।
त्यसपछि प्रश्न उठ्छ—
हामी समाज बदल्न आएका थियौँ कि एकअर्कालाई हराउन ?
५. ‘उहाँहरूको आफ्नै विचार हो’ भन्ने सुविधाजनक तर्क
संगठन विभाजन हुँदा प्रायः एउटा तर्क सुनिन्छ—
त्यो उहाँहरूको आफ्नै विचार हो।”
निश्चय नै प्रत्येक व्यक्तिलाई विचार राख्ने अधिकार छ।
तर प्रश्न विचार राख्ने अधिकारको होइन।
प्रश्न हो—
विचारको मतभेदलाई संगठनात्मक विधि र जनवादी प्रक्रियाबाट समाधान गर्ने प्रयास गरियो कि गरिएनरु
यदि हरेक असहमति संगठन विभाजनको कारण बन्न थाल्यो भने संगठनको सामूहिकता कहाँ रहन्छ।
यदि हरेक नेताले आफूअनुकूल संरचना निर्माण गर्न थाले भने संगठनात्मक अनुशासन कहाँ रहन्छरु
यदि आफूले बहुमत नपाएपछि नयाँ संगठन बनाउनु नै समाधान बन्न थाल्यो भने जनवादको संस्थागत अभ्यास कसरी विकास हुन्छरु
मतभेद स्वाभाविक हो।
विभाजन अनिवार्य होइन।
मतभेदलाई छलफल, बहस,‌ आलोचना–आत्मालोचना र जनवादी प्रक्रियाबाट समाधान गर्ने संस्कार विकास गर्नुपर्छ।
६. गुरु र शिष्यको त्यो उदाहरण
मलाई एउटा पुरानो उखानजस्तो लाग्ने उदाहरण यहाँ सम्झना हुन्छ।
एक सभामा एक गुरुले आफ्ना शिष्यहरूलाई धार्मिक तथा वैदिक प्रशिक्षण दिँदै भने—
मासु, लसुन, प्याज, अन्डा, माछा आदि इत्यादि खानुहुँदैन।”
शिष्यहरूले गुरुको शिक्षा ग्रहण गरे।
तर घर फर्किएपछि गुरुले आफ्नी श्रीमतीलाई मासु पकाउन सल्लाह दिए। श्रीमतीले प्रश्न गरिन्—
भर्खरै त तपाईंले आफ्ना शिष्यहरूलाई मासु खानु हुँदैन भन्नुभयो। अहिले घरमा मासु किन ल्याउनेरु” गुरुले जवाफ दिए—त्यो त उनीहरूका लागि भनेको हो।”
यो एउटा व्यङ्ज्ञात्मक कथा हो। तर यसको राजनीतिक अर्थ गम्भीर छ।
कतै हामी पनि यस्तै त गरिरहेका छैनौँ ?
कार्यकर्ताका लागि एउटा नियम, नेतृत्वका लागि अर्को नियमरु जनताका लागि एउटा सिद्धान्त, आफ्ना लागि अर्को व्यवहार ?
सामूहिकताको कुरा कार्यकर्तालाई, तर निर्णय आफ्नो समूहसँग मात्ररुआर्थिक पारदर्शिताको कुरा जनतासँग, तर आफ्नै आर्थिक व्यवहारमा प्रश्न उठाउँदा असहजता ?
यदि यस्तो दोहोरो मापदण्ड विकसित भयो भने संगठनभित्र विश्वास कमजोर हुन्छ।
७. मार्क्सवादलाई साधन बनाउने कि जीवनदृष्टिरु मार्क्सवादको नाम लिन सजिलो छ।
मार्क्सका किताब उद्धृत गर्न सजिलो छ।
वर्ग संघर्षको भाषण गर्न सजिलो छ।
तर आफ्नो व्यवहारमा वर्गीय दृष्टिकोण लागू गर्न कठिन छ।
मार्क्सवादले हामीलाई समाजका सम्बन्धहरूलाई आलोचनात्मक रूपमा हेर्न सिकाउँछ। त्यसैले मार्क्सवादको अध्ययनको पहिलो परिणाम अरूलाई दोष लगाउनु होइन, आफ्नै व्यवहारको समीक्षा गर्ने क्षमता पनि हुनुपर्छ।
यदि कुनै व्यक्तिले मार्क्सवादलाई आफ्नो नेतृत्व, पद, प्रतिष्ठा र गुट जोगाउने औजारका रूपमा प्रयोग गर्छ भने त्यो विचारको आत्मालाई कमजोर पार्ने काम हो।
विचार व्यक्तिको सम्पत्ति होइन।
कुनै नेता मार्क्सवादी विचारको मालिक होइन।
कुनै व्यक्ति संगठनभन्दा माथि हुँदैन।
कुनै पद स्थायी निजी सम्पत्ति होइन।
८. पद अधिकार होइन, जिम्मेवारी हो
राजनीतिक संगठनमा पद प्राप्त गर्नु सम्मान भन्दा पहिले जिम्मेवारी हो।
सचिव, अध्यक्ष, संयोजक, सदस्य वा अन्य कुनै जिम्मेवारी प्राप्त गर्नु भनेको अरूमाथि शासन गर्ने अधिकार प्राप्त गर्नु होइन।
त्यो त संगठनले दिएको विश्वासको जिम्मेवारी हो।
त्यसैले नेतृत्वले समय–समयमा आफैँलाई सोध्नुपर्छ—
मैले पदलाई सेवा बनाएँ कि प्रतिष्ठा ?
मैले कार्यकर्ताको आवाज सुनेँ कि आफ्नै समूहको मात्र ?
मैले निर्णय सामूहिक बनाएँ कि व्यक्तिगत ?
मैले नयाँ पुस्तालाई अगाडि ल्याएँ कि आफ्नै वरिपरि राखेँ ?
यी प्रश्नको उत्तर दिन सक्ने नेतृत्व मात्र दीर्घकालीन रूपमा विश्वासिलो बन्न सक्छ।
९. आलोचना शत्रुता होइन
हाम्रो राजनीतिक संस्कारमा अर्को ठूलो कमजोरी छ—
आलोचना गर्नेलाई शत्रु ठान्ने।
कुनै कार्यकर्ताले प्रश्न उठायो भने उसलाई अनुशासनहीन भनिन्छ।
कुनै सदस्यले नेतृत्वको निर्णयमा असहमति जनायो भने उसलाई विरोधी भनिन्छ।
कसैले आर्थिक पारदर्शिताको प्रश्न उठायो भने उसलाई संगठनविरोधी ठानिन्छ।
तर प्रश्न सोध्ने अधिकार नभएको संगठनमा जनवाद कसरी हुन्छ ?
आलोचना सुन्न नसक्ने नेतृत्व कसरी सुधारिन्छ?
आत्मालोचना गर्न नसक्ने संगठन कसरी अगाडि बढ्छ ?
आलोचना संगठन तोड्ने हतियार होइनस सही ढंगले गरिएमा संगठन सुधार्ने ऐना हो।
१०. गुटबन्दीले विचारलाई कमजोर बनाउँछ
गुट निर्माण प्रायः विचारबाट सुरु भएको जस्तो देखिन्छ।
तर विस्तारै त्यो व्यक्ति, पद र स्वार्थमा केन्द्रित हुन सक्छ। र भएका उदाहरण हाम्रो अगाडि थुप्रै छन् स्थान काल देखि मृत्युको मुखमा पुगेका नेता कार्यकर्ता नेपाली समाजमा बिरालै देख्न सकिन्छ।
त्यसपछि—मेरो समूह।”“तिम्रो समूह।”“हाम्रो नेता।”तिम्रो नेता।”
यस्ता विभाजनले संगठनलाई विचारको आधारमा होइन, व्यक्तिको आधारमा विभाजित गर्छ।
यसको सबैभन्दा ठूलो फाइदा कसलाई हुन्छ ?
प्रतिक्रियावादी शक्तिहरूलाई।
जब प्रगतिशील शक्तिहरू आपसमा कमजोर हुन्छन् प्रतिक्रियावादी शक्तिहरूलाई आफ्नो प्रभाव विस्तार गर्न सजिलो हुन्छ।
त्यसैले हामीले बुझ्नुपर्छ—
एकअर्काको खुट्टा तान्नु क्रान्तिकारीपनको प्रमाण होइन।
क्रान्तिकारीपन भनेको गलत कुराको विरुद्ध संघर्ष गर्नु हो, तर संघर्षको उद्देश्य संगठन र आन्दोलनलाई सुधार्नु तथा जनताको हितलाई अगाडि बढाउनु हुनुपर्छ।
११. मित्र–शत्रुको राजनीतिक मापदण्ड
राजनीतिमा मतभेद हुन सक्छ।
तर मतभेद हुँदैमा हिजोको सहयात्री आजको शत्रु बन्नुपर्छ भन्ने चाहीँ होइन।
दुःखद कुरा के देखिन्छ भने कहिलेकाहीँ विचारको सामान्य मतभेद पछि आफ्नै सहकर्मीलाई शत्रु ठानिन्छ, तर राजनीतिक स्वार्थका कारण प्रतिक्रियावादी शक्तिसँग सम्झौता गर्न भने कुनै समस्या नदेखिने अवस्था आउँछ।
यस्तो अवस्थामा हाम्रो मनमा गम्भीर प्रश्न उठ्छहाम्रो राजनीतिक प्राथमिकता के हो ?
सत्ता पद व्यक्तिगत प्रतिष्ठा ? गुटको विजय ?
वा जनताको मुक्ति ?
यदि सत्तामा पुग्नका लागि जुनसुकै राजनीतिक सम्झौता गर्न तयार हुने तर आफ्नै विचारका सहयात्री लाई समाप्त पार्न खोज्ने प्रवृत्ति विकास भयो भने त्यसले आन्दोलनलाई कहाँ पुर्‍याउँछ ?
देशभक्ति केवल भाषणको शब्द होइन।
राष्ट्रवाद केवल नाराको विषय होइन।
देशभक्ति जनताको जीवन, श्रम, अधिकार र सम्मानसँग जोडिनुपर्छ।
१२. पुस्तान्तरणको प्रश्न कुनै पनि आन्दोलन एउटा पुस्ताको निजी सम्पत्ति होइन।
आजको पुस्ताले हिजोको संघर्षबाट सिक्नुपर्छ।
भोलिको पुस्तालाई आजको अनुभव हस्तान्तरण गर्नुपर्छ।
पुराना पुस्ताले नयाँ पुस्तालाई अवसर नदिने र नयाँ पुस्ताले पुरानो अनुभवलाई पूर्ण रूपमा अस्वीकार गर्ने हो भने संगठनमा निरन्तरता कमजोर हुन्छ।
इतिहास केवल विजयको कथा होइन।
इतिहासमा गल्ती पनि हुन्छन। विभाजन पनि हुन्छन।
असफलता पनि हुन्छ। गलत निर्णय पनि हुन्छन।
तर ती कमजोरीहरू लुकाएर होइन, अध्ययन गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।
गल्ती लुकाउने संगठनले इतिहास दोहोर्याउँछ।
गल्ती स्वीकार्ने संगठनले इतिहासबाट सिक्छ।
१३. संगठनभित्र आर्थिक पारदर्शिता किन आवश्यक छ ?
राजनीतिक संगठनमा आर्थिक प्रश्न अत्यन्त संवेदनशील विषय हो।
जनताको सहयोगबाट चलेको संगठनमा आर्थिक हिसाब स्पष्ट हुनुपर्छ। कहाँबाट पैसा आयो ?
कसरी खर्च भयो कसले खर्च गर्‍यो ?
कति बाँकी छ।
यी प्रश्नको उत्तर दिन सक्ने प्रणाली हुनुपर्छ।
आर्थिक पारदर्शिता माग्नु कसैलाई आरोप लगाउनु होइन।
बरु संगठनप्रति विश्वास कायम गर्ने माध्यम हो।
जहाँ आर्थिक हिसाब पारदर्शी हुन्छ, त्यहाँ शंका कम हुन्छ।
जहाँ हिसाब लुकाइन्छ, त्यहाँ अविश्वास बढ्छ।
१४. अब कस्तो संगठन चाहिन्छ ?
अब हामीले नारामात्र होइन, व्यवहारिक सुधारको कार्यक्रम पनि बनाउनुपर्छ।
पहिलो—सामूहिक निर्णय
महत्वपूर्ण निर्णय व्यक्तिगत रूपमा होइन, सम्बन्धित समितिको छलफल र संस्थागत प्रक्रियाबाट हुनुपर्छ। दोस्रो—लिखित निर्णय
बैठकमा भएका निर्णयहरू लिखित रूपमा राखिनुपर्छ। यसले पछि हुने भ्रम र विवाद कम गर्छ।
तेस्रो—आर्थिक पारदर्शिता
नियमित आय–व्यय प्रस्तुत गर्ने व्यवस्था हुनुपर्छ।
चौथो—जिम्मेवारीको मूल्याङ्कन
पदमा बसेपछि अनन्तकालसम्म त्यही पदमा बस्ने होइन। जिम्मेवारीको समय–समयमा समीक्षा हुनुपर्छ।
पाँचौँ—आलोचना–आत्मालोचना
आलोचना व्यक्तिगत अपमान होइन र आत्मालोचना कमजोरी होइन।
छैटौँ—नेतृत्वको पुस्तान्तरण
नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ। पुरानो पुस्ताले अनुभव हस्तान्तरण गर्नुपर्छ।
सातौँ—बहुमतको निर्णय स्वीकार
आफ्नो प्रस्ताव असफल भए पनि संस्थागत निर्णय स्वीकार गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्छ।
आठौँ—व्यक्तिपूजाको अन्त्य‌ कुनै पनि नेता संगठन भन्दा माथि हुँदैन।
१५.समाज परिवर्तनको पहिलो प्रयोगशाला संगठन हो हामी समाजवादको कुरा गर्छौँ।
समानताको कुरा गर्छौँ। श्रमिकको अधिकारको कुरा गर्छौँ। जनताको शासनको कुरा गर्छौँ।
तर यी सबै कुराको पहिलो अभ्यास कहाँ हुन्छ ?
हाम्रो आफ्नै संगठनमा।
यदि संगठनभित्र एउटा व्यक्तिले सबै निर्णय गर्छ भने बाहिर जनताको शासनको कुरा गर्नु विरोधाभास हुन्छ।
यदि कार्यकर्ताको आवाज सुन्न सकिँदैन भने जनताको आवाज सुन्ने दाबी कमजोर हुन्छ।
यदि आर्थिक हिसाब पारदर्शी छैन भने सार्वजनिक सम्पत्तिको संरक्षणको कुरा कमजोर हुन्छ।
यदि आलोचना सहन सकिँदैन भने प्रतिक्रियावादको विरोध गर्ने नैतिक आधार कमजोर हुन्छ।
त्यसैले—समाज परिवर्तनको पहिलो प्रयोगशाला हाम्रो आफ्नै संगठन हो।
१६. मेरो अनुभवले सिकाएको एउटा निष्कर्ष
२०४६ सालदेखि आजसम्मका विभिन्न राजनीतिक घटनाक्रम, आन्दोलन, संगठनात्मक उतारचढाव र आफ्नै अनुभवलाई हेर्दा मैले एउटा कुरा बुझेको छु—
राजनीतिक विचार जति महत्वपूर्ण छ, राजनीतिक संस्कार पनि त्यति नै महत्वपूर्ण छ।
सही विचार बोकेको गलत संस्कारले आन्दोलनलाई कमजोर बनाउन सक्छ।
ठूला–ठूला सिद्धान्त बोल्ने तर सानो व्यवहारमा असमानता देखाउने नेतृत्वले जनताको विश्वास गुमाउन सक्छ।
त्यसैले हामीले अब केवल सोध्नु हुँदैन—
तपाईं कुन विचारको हुनुहुन्छरु”सँगै अर्को प्रश्न पनि सोध्नुपर्छ—तपाईं आफ्नो विचारलाई व्यवहारमा कसरी लागू गर्नुहुन्छ ?”
१७.व्यक्तिपूजा होइन, विचारको सम्मान गरौँ
मेरो विचारमा अब एउटा संस्कार तोड्न आवश्यक छ—व्यक्ति पूजा। नेता आवश्यक हुन्छ। तर नेता देवता होइन। कार्यकर्ता आवश्यक हुन्छ। तर कार्यकर्ता अन्धभक्त होइन।
विचार आवश्यक हुन्छ।
तर विचारलाई व्यक्तिको निजी सम्पत्ति बनाउनु हुँदैन।

हामीले भन्न सक्नुपर्छ—व्यक्तिभन्दा विचार ठूलो। पदभन्दा जिम्मेवारी ठूलो।गुट भन्दा संगठन ठूलो। संगठनभन्दा जनता ठूलो।
र व्यक्तिगत स्वार्थभन्दा सामाजिक हित ठूलो।
१८. अन्तिम प्रश्न—गरीबको मुक्ति कसरी सम्भव हुन्छ ?
हामीले वर्षौँदेखि गरीब, मजदुर, किसान, श्रमिक र उत्पीडित जनताको मुक्तिको कुरा गर्दै आएका छौँ।
तर यदि उनीहरूको नाममा राजनीति गर्ने संगठनहरू नै गुट, पद, व्यक्तिगत स्वार्थ र नेतृत्वको संघर्षमा अल्झिए भने गरीबको मुक्ति कसरी सम्भव हुन्छ ?
यदि श्रमिकको नाममा राजनीति गर्नेहरू श्रमिककै आवाज सुन्दैनन भने श्रमिकले विश्वास कसरी गर्ने ?
यदि समानताको नारा दिनेहरू आफ्नै संगठनमा समान व्यवहार गर्दैनन भने जनताले समान समाजमाथि कसरी विश्वास गर्ने?
यदि समाजवादको सपना देख्नेहरू आफैँभित्र सामन्ती संस्कारबाट मुक्त हुन सकेनन भने समाजवादको बाटो कसरी खुल्छ ?
त्यसैले समाजवादको कुरा गर्नु अघि समाजवादी संस्कार निर्माण गर्न आवश्यक छ।
१९. मेरो अपिल
यो लेख कसैको आलोचना गर्न लेखिएको होइन।
कसैलाई होच्याउन लेखिएको होइन।
कसैको राजनीतिक योगदान अस्वीकार गर्न लेखिएको होइन।
यो त मैले लामो समयदेखि देखेको, भोगेको र बुझेको राजनीतिक यथार्थबारे एउटा सामान्य कार्यकर्ताको आत्मसमीक्षा हो।
म जुनसुकै संगठनमा रहेका साथीहरूलाई एउटै कुरा भन्न चाहन्छु—
व्यक्तिको पूजा नगरौँ। प्रश्न गर्न डराउनु हुँदैन।
आलोचनालाई शत्रुता नठानौँ।
आत्मालोचनालाई कमजोरी नठानौँ।
पदलाई अधिकार होइन, जिम्मेवारी मानौँ।
संगठनलाई निजी सम्पत्ति नबनाऔँ।
बहुमतको निर्णयलाई सम्मान गरौँ।
अल्पमतको अधिकार सुरक्षित गरौँ।
पुरानो पुस्ताको अनुभव संरक्षण गरौँ।
नयाँ पुस्तालाई जिम्मेवारी दिऔँ।
आर्थिक तथा राजनीतिक गतिविधिमा पारदर्शिता कायम गरौँ। र सबैभन्दा महत्वपूर्ण—
एकअर्काको खुट्टा तान्नुभन्दा जनताको समस्या समाधान गर्न प्रतिस्पर्धा गरौँ।

निष्कर्ष परिवर्तन बाहिरबाट होइन, आफैँबाट सुरु गरौँ हामीले सामन्तवादको विरोध गर्‍यौँ।
शोषणको विरोध गर्‍यौँ। असमानताको विरोध गर्‍यौँ।
अधिनायकवादको विरोध गर्‍यौँ।
तर अब एउटा नयाँ प्रश्नको सामना गर्नुपर्छ—
हामीले आफ्नै व्यवहारमा यी प्रवृत्तिहरूबाट कति मुक्ति पायौँ ?
समाज परिवर्तन गर्न चाहने मानिसले आफूलाई पनि परिवर्तन गर्न तयार हुनुपर्छ।
संगठन परिवर्तन गर्न चाहने कार्यकर्ताले संगठनभित्रको संस्कार परिवर्तन गर्न संघर्ष गर्नुपर्छ।
नेतृत्व परिवर्तन चाहनेहरूले नेतृत्वको शैली परिवर्तन गर्नुपर्छ।
जनवाद चाहनेहरूले जनवाद अभ्यास गर्नुपर्छ।
समानता चाहनेहरूले समान व्यवहार गर्नुपर्छ।
समाजवाद चाहनेहरूले सामूहिकताको संस्कार निर्माण गर्नुपर्छ।
त्यसैले अब हाम्रो राजनीतिक यात्रा यस्तो बनोस् व्यक्तिपूजाबाट विचारपूजातर्फ, गुटबन्दीबाट एकतातर्फ,अहंकारबाट आत्मसमीक्षातर्फ,
अपारदर्शिताबाट पारदर्शितातर्फ,
पदको मोहबाट जिम्मेवारीतर्फ,
विभाजनबाट संगठनात्मक एकतातर्फ,
र नाराबाट व्यवहारतर्फ।
हामीले अरूलाई बदल्नुअघि आफूलाई बदलौँ।
आफ्नो संगठनलाई बदलौँ।
आफ्नो राजनीतिक संस्कारलाई बदलौँ।
किनकि— समाज परिवर्तनको पहिलो कदम सत्ता परिवर्तन मात्र होइन,
मानिसको चेतना र व्यवहारको परिवर्तन पनि हो।
आउनुहोस्—
ठूलाको सम्मान गरौँ, सानाको आदर गरौँ।
विचारमा बहस गरौँ, व्यक्तिमाथि आक्रमण नगरौँ।
मतभेद राखौँ, तर शत्रुता नबढाऔँ।
आलोचना गरौँ, तर सुधारको उद्देश्यले।
संगठन बनाऔँ, तर कसैको निजी सम्पत्ति नबनाऔँ।
र अन्ततः— व्यक्तिभन्दा विचार माथि,
गुट भन्दा संगठन माथि,
संगठनभन्दा जनता माथि,
र व्यक्तिगत स्वार्थभन्दा समाजको हित माथि राख्ने राजनीतिक संस्कार निर्माण गरौँ।यही संस्कारबाट मात्र हामीले कल्पना गरेको न्यायपूर्ण, समानतामूलक र सभ्य समाज निर्माणको बाटो बलियो बन्न सक्छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित