न्यायको भाषा विनाशको हात

 

–डा .चूडाप्रसाद ढकाल

संयुक्त राष्ट्रसंघको महासभा संसारको त्यस्तो ठाउँ हो जहाँ मानवजातिले आफ्ना सबैभन्दा ठूला आदर्शहरू उच्चारण गर्छ। शान्ति, न्याय, मानवअधिकार, समानता, सार्वभौमिकता, जलवायु न्याय, विकास र मानव मर्यादा। यस वर्षको ८१औँ महासभाको मूल विषय पनि विश्वास पुनर्स्थापना, परिवर्तन व्यवस्थापन र सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ बनाउने प्रतिबद्धतासँग जोडिएको छ। तर यही मञ्चलाई केही दिन ध्यान दिएर हेर्दा एउटा असहज दृश्य देखिन्छ। न्यायको भाषा र शक्तिको भाषा एउटै ठाउँमा बोलिरहेका छन्। एकातिर संसारलाई युद्धबाट जोगाउने प्रतिज्ञा सुनिन्छ, अर्कोतिर एउटा शक्तिशाली राष्ट्रका नेताले सम्झौता नभए इरानलाई “Annihilate ” गर्न सक्ने चेतावनी दिन्छन्। त्यसको भोलिपल्ट इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकी हमलामा मारिएका बालिकाहरूका तस्वीर देखाउँदै आफ्नो पक्षको पीडा सुनाउँछन्। एउटै सभाहलमा शान्तिको शब्द र विनाशको सम्भावना यसरी आमनेसामने उभिन्छन्। प्रश्न कुन भाषण सही थियो भन्ने होइन। प्रश्न यो हो, यस्तो संसारमा न्याय भन्ने शब्दको वास्तविक अर्थ कहाँ बाँकी छ ?

त्यही महासभामा अर्को दृश्य देखिन्छ। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई लगातार दोस्रो वर्ष अमेरिकाले भिसा नदिएपछि महासभाले उनलाई भिडियोमार्फत सम्बोधन गर्न अनुमति दिनुपर्‍यो। एउटा यस्तो संस्थामा, जहाँ सबै सदस्य राष्ट्रलाई औपचारिक रूपमा समान मताधिकार प्राप्त छ, कसैले बोल्ने ठाउँमा प्रत्यक्ष उपस्थित हुन पाउने वा नपाउने कुरा पनि शक्तिको भौगोलिक संरचनासँग जोडिन पुग्छ। यस घटनालाई विभिन्न पक्षले फरक ढंगले व्याख्या गर्छन्। अमेरिकाले आफ्नो निर्णयका सुरक्षा र राजनीतिक कारणहरू प्रस्तुत गरेको छ भने प्यालेस्टिनी पक्षले त्यसलाई अन्यायपूर्ण अवरोध मानेको छ। तर ती विवादित व्याख्याभन्दा पर एउटा दृश्य आफैं बोलिरहेको छ। “सबैका लागि” भनिएको मञ्चमा सबैको पहुँच समान छैन।

अझ विचित्र दृश्य भेनेजुएलाबाट आउँछ। निकोलास मादुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको करिब नौ महिनापछि संयुक्त राष्ट्रसंघको त्यही सभामा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले डोनाल्ड ट्रम्पलाई आफ्नो सरकारसँग सहकार्य नवीकरण गरेकोमा धन्यवाद दिइन्। यसलाई कूटनीतिक व्यवहारका रूपमा बुझ्न सकिन्छ। तर यो दृश्यले एउटा गहिरो प्रश्न जन्माउँछ। हिजो जसको सैन्य शक्तिले एउटा राष्ट्रको राजनीतिक यथार्थ नै बदल्न सक्ने क्षमता देखायो, आज त्यही शक्तिसँग नयाँ सम्बन्ध बनाउनुपर्ने बाध्यता किन उत्पन्न हुन्छरु यहाँ कसैको नियतमाथि फैसला गर्न आवश्यक छैन। शक्तिले कसरी सम्बन्धको व्याकरण बदल्छ भन्ने देख्न मात्र पर्याप्त छ।

त्यही मञ्चमा नेपालको अनुभवले पनि यही प्रश्नलाई अर्को कोणबाट देखायो। प्रधानमन्त्री बालेन्द्र शाहले हिमाली बाढी, जलवायु संकट र जलवायु न्यायबारे बोल्दै भने, “घर बलिरहेको बेला परिवारलाई पचासवटा फारम भर्न भनिँदैन। हामी काम गर्छौं।” यो वाक्यमा एउटा साधारण परिवारको अनुभव र विश्वव्यापी शासनको संरचनाबीचको दूरी देखिन्छ। संकटको बेला मानिसलाई तत्काल निर्णय चाहिन्छ, तर संस्थाहरूले प्रायः प्रक्रिया माग्छन्। गरीब देशले क्षति भोग्छ, अनि सहायता पाउन प्रमाण, प्रस्ताव, प्रक्रिया र स्वीकृतिको अर्को लामो बाटो पार गर्नुपर्छ। यसैबीच संसारका युद्ध मेसिनहरू भने असाधारण गतिमा काम गर्छन्। मिसाइलहरू समयमै पुग्छन्। हतियारको आपूर्ति रोकिन्न। तर किसानलाई मल, परिवारलाई ऊर्जा र विपत्तिमा परेको देशलाई तत्काल राहत पुर्‍याउने प्रणाली त्यति सक्षम देखिँदैन। त्यसैले समस्या केवल स्रोतको अभावमा छैन। संसारले कुन कामलाई प्राथमिकता दिन्छ भन्ने प्रश्नमा बढि छ।

यस्ता दृश्यहरूलाई एकै ठाउँमा राखेर हेर्दा नीत्शेको प्रश्न हाम्रो सामु आउँछ। न्याय, सुरक्षा, सभ्यता, शान्ति र मानवता जस्ता शब्दहरू शक्तिको संसारबाट अलग हुँदैनन्। कसले ती शब्दहरू उच्चारण गर्छ, कुन अवस्थामा गर्छ र तिनको अर्थ कसले निर्धारण गर्छ भन्ने कुराले तिनको वास्तविक राजनीतिक शक्ति तय गर्छ। तर शक्ति शब्दको अर्थ बदल्ने ठाउँमा मात्र रोकिँदैन। सिमोन वेलले देखाएको बलको भयावहता यहीँ अझ स्पष्ट हुन्छ। बलले मानिसलाई मानिसबाट वस्तुमा बदल्न सक्छ। युद्धमा यो परिवर्तन गोली चल्दा मात्र हुँदैन, भाषा बदलिँदा पनि हुन्छ। मानिस “क्षति” बन्छ, बच्चा “सहायक क्षति” बन्छ, विस्थापित परिवार “समस्या” बन्छ, मरेका मानिस “तथ्याङ्क” बन्छन्। जब यस्तो भाषा सामान्य हुन थाल्छ, हिंसा आँखाबाट हराउँछ तर त्यसको परिणाम संसारमा बाँकी रहन्छ। सबैभन्दा डरलाग्दो अवस्था त्यतिबेला आउँछ, जब पीडितले आफ्नो पीडा प्रमाणित गर्नुपर्छ, जबकि शक्ति आफ्नो हिंसालाई व्याख्या गर्न पनि बाध्य हुँदैन।

त्यसपछि प्रश्न अझ गहिरो हुन्छ। यस्तो संसारमा मानिसले अर्थ कहाँ खोज्नेरु कामुको संसारमा जीवनको एउटा मूल समस्या अर्थको अभावसँग जुध्नु हो। तर आजको संसारको त्रासदी केवल अर्थहीनता होइन। यहाँ हामीले अर्थका महान शब्दहरू बनाएका छौँ र तिनकै छायामा अर्थविहीन मृत्यु पनि स्वीकार गर्न थालेका छौँ। कामुको सिसिफसले ढुङ्गा फेरि उचाल्न सक्छ। उसको श्रम दोहोरिन्छ, तर संसारसँग विद्रोह गर्ने सम्भावना बाँकी रहन्छ। युद्धमा मारिएको बालकको अवस्था त झन् त्यस्तो मात्रै पनि हैन। उसको जीवनलाई पुनः सुरु गर्न सकिँदैन। त्यसैले यहाँ प्रश्न केवल निरर्थक संसारमा कसरी बाँच्ने भन्ने मात्रै होइन। प्रश्न यो पनि हो कि अरूको मृत्यु देखेर हामी आफ्नो सामान्य जीवनलाई कति सजिलै सामान्य मानिरहनेरु यही प्रश्नबाट फ्रान्कलको विचार अर्थपूर्ण हुन्छ। मानिससँग संसारको सबै कुरा नियन्त्रण गर्ने शक्ति नहुन सक्छ, तर परिस्थितिप्रति आफ्नो नैतिक प्रतिक्रिया रोज्ने ठाउँ पूर्णतः समाप्त हुँदैन। यसको अर्थ पीडालाई सहनु नै जीवनको अर्थ हो भन्ने होइन, अन्यायलाई स्वीकार गर्नु पनि होइन। बरु अर्थ कहिलेकाहीँ त्यहीँबाट सुरु हुन्छ जहाँ मानिसले संसारले आफ्नो विवेक खोस्न खोज्दा त्यसलाई जोगाइराख्छ। संसार निर्दयी हुँदै गएको छ भनेर आफू पनि संवेदनहीन बन्नु आवश्यक छैन। संसारले मानिसलाई संख्यामा बदल्दैछ भनेर आफूले मानिसलाई संख्या नमान्ने निर्णय गर्न सकिन्छ।

सायद यही कारणले महासभाका यी दृश्यहरू केवल टाढाका राष्ट्रहरूका कथा होइनन्। तिनले हामी प्रत्येकलाई एउटा असहज प्रश्नतर्फ धकेल्छन्। यदि न्यायको भाषा बोल्ने संस्थामै शक्तिको असमानता यति बिघ्न देखिन्छ भने न्यायको अर्थ के होरु यदि संसार युद्धका लागि असाधारण रूपमा संगठित हुन सक्छ तर जीवन बचाउन बारम्बार प्रक्रिया र स्रोतको अभाव देखाउँछ भने हाम्रो सभ्यताको प्राथमिकता के होरु यदि एउटा बालकको मृत्यु कुनै शक्तिशाली देशको रणनीतिक वाक्यमा केवल एउटा तथ्य बन्न सक्छ भने मानिसको जीवनको मूल्य कहाँबाट निर्धारण हुन्छरु

यी प्रश्नको उत्तर तुरुन्तै भेटिँदैन। तर प्रश्नलाई मार्नु हुँदैन। सामान्य मानिससँग संसारको शक्ति–सन्तुलन बदल्ने सामर्थ्य नहुन सक्छ। तर अन्यायलाई सामान्य नमान्नु, पीडितलाई केवल तथ्याङ्क नठान्नु र शक्तिशालीको भाषालाई सत्यको अन्तिम भाषा नमान्नु उसको नैतिक जिम्मेवारी हुन सक्छ। संसार तुरुन्त बदलिँदैन। तर संसारलाई हेर्ने हाम्रो आँखा बदलिन सक्छ। आफ्नो विवेकलाई शक्तिको सुविधाअनुसार बदल्न नदिनु पनि एउटा प्रकारको प्रतिरोध हो।

अन्ततः समस्या यो मात्र होइन कि संसार अन्यायपूर्ण छ। अझ गम्भीर समस्या त तब सुरु हुन्छ, जब अन्यायलाई देखिरहँदा पनि हामी त्यसलाई संसारको स्वाभाविक रूप ठान्न थाल्छौँ। त्यसैले प्रश्न “यस्तो संसार किन छरु” बाट विस्तारै “यस्तो संसारमा म कस्तो मानिस भएर बाँच्नेरु” भन्ने प्रश्नमा पुग्छ। शायद यही प्रश्नले निराशालाई प्रतिरोधमा, उदासीनतालाई विवेकमा र असहायताको भावलाई जिम्मेवारीमा बदल्न सक्छ। संसारलाई तुरुन्त बदल्न नसक्ने मानिससँग पनि एउटा अधिकार बाँकी रहन्छ। उसले केलाई सामान्य मान्ने र केलाई अस्वीकार गर्ने भन्ने अधिकार। र न्याय शायद त्यतिबेला मात्र जीवित रहन्छ, जब मानिसले विनाशलाई न्यायको भाषाले ढाकिएको देखेर पनि त्यसलाई विनाशकै रूपमा देख्न छोड्दैन।
000

११ असोज २०८३ (२७ सेप्टेम्बर २०२६०, काठमाडौँ )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित