बिन्दुराज सापकोटा
अध्यक्ष, प्रकृति–मानव केन्द्रित जन अभियान
१. प्रस्थान
यहि असोज १३ गते प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालबाट अध्यक्ष बिन्दु राज सापकोटा (कास्की, पोखरा) को नेतृत्वमा भागलिन जाने प्रतिनिधिमा उत्तम कँडेल (मलेखु, धादिङ), माया गिरी (गैँडाकोट, नवलपुर), डोलराज अर्याल (कोहलपुर, बाँके), किशन शर्मा (डण्डा, नवलपुर), शरला खनाल (कावासोती, नवलपुर), हरिप्रसाद सापकोटा (गैँडाकोट, नवलपुर) र लक्ष्मीकुमारी खाँण (गैँडाकोट, नवलपुर) रहनु भएको नेपाली प्रतिनिधिमण्डल अखिल भारतीय प्रकृति–मानव केन्द्रित जन आन्दोलनको अक्टोबर २ देखि ४ (अर्थात असोज १६ देखि १८) सम्म भारतको पंजाव राज्य संगरुर जिल्ला लेहरागागामा आयोजित छैठौं सम्मेलनमा सहभागीताको लागि भारत प्रस्थान गर्यो जसको प्रतिवेदन निम्नानुसार रहेको छः अखिल भारतीय प्रकृति–मानव केन्द्रित जन आन्दोलनको अक्टोबर २ देखि ४ (अर्थात असोज १६ देखि १८) सम्म भारतको पंजाव राज्य संगरुर जिल्ला लेहरागागामा आयोजित छैठौं सम्मेलनमा सहभागीताको लागि आयोजक समितिबाट प्राप्त निमन्त्रणा पत्र अनुसार यहि असोज १३ गते प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालबाट अध्यक्ष बिन्दु राज सापकोटा (कास्की, पोखरा) को नेतृत्वमा भागलिन जाने प्रतिनिधिमा उत्तम कँडेल (मलेखु, धादिङ), माया गिरी (गैँडाकोट, नवलपुर), डोलराज अर्याल (कोहलपुर, बाँके), किशन शर्मा (डण्डा, नवलपुर), शरला खनाल (कावासोती, नवलपुर), हरिप्रसाद सापकोटा (गैँडाकोट, नवलपुर) र लक्ष्मीकुमारी खाँण (गैँडाकोट, नवलपुर) रहनु भएको थियो । यस भ्रमणको प्रमुख उद्देश्य प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई केन्द्रमा राखेर पर्यावरण संरक्षण, खाद्य सुरक्षा, प्राकृतिक स्रोतको न्यायोचित उपयोग, जलवायु परिवर्तनका चुनौती तथा दक्षिण एसियाली मुलुकहरूबीच सहकार्य र एकतालाई प्रवद्र्धन गर्नु थियो । साथै, भारतमा सञ्चालित प्रकृति–मानव केन्द्रित जन आन्दोलनका अनुभवबाट सिक्ने, साझा वैचारिक धारणा निर्माण गर्ने र नेपाल–भारत बीचको संगठनात्मक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य समेत रहेको थियो ।
२. यात्रा र स्वागत
नेपाली प्रतिनिधिमण्डल असोज १४ गते अपराह्न गोरखपुर जङ्क्सनबाट सत्याग्रह एक्सप्रेस (रेल नं. १५२७३) मार्फत दिल्लीका लागि प्रस्थान ग¥यो । खलिलावाद, वस्ती, गौर, बभनान, मस्कनवा, मनकापुर जं, गोण्डा जं, कोलोनेलगञ्ज, जरवल रोड, बुर्हवाल, तहसील फत्तेपुर, महमुदावाद अव्ध, बिस्वान, सीतापुर, सीतापुर सीटी, मैकलगञ्ज, रोजा जं, शाहजहाँपुर, बिलपुर, बरेली, रामपुर, मोरादावाद, अमरोहा, गजरौला जं, ग्रहमुक्तेसार, हापुर, पिल्खुवा, गाजीयावाद, साहिबाबाद रेल स्टेसन हुँदै असोज १५ गते बिहान ९ः१५ बजे आनन्द विहार टर्मिनल पुगियो । त्यहाँबाट पुरानो दिल्ली हुँदै इन्टरसिटी एक्सप्रेसबाट जाखल जङ्क्सन पुगेर अर्को रेलमार्फत साँझ ६ः३० बजे लेहरागागा स्टेसनमा आइपुगियो । लेहरागागा स्टेसनमा स्थानीय अभियन्ताहरूले नेपाली प्रतिनिधिमण्डललाई आत्मीय स्वागत गर्नुभएको थियो । उहाँहरूको साथमा सम्मेलनस्थल जीपीएफ धर्मशालामा पुगियो, जहाँ प्रतिनिधिमण्डलको आवास व्यवस्था गरिएको थियो । यस यात्राले भौगोलिक दूरीभन्दा माथि उठेर साझा विचार, उद्देश्य र मानवीय सम्बन्धका आधारमा स्थापित नेपाल–भारत जनस्तरको आत्मीयतालाई अनुभूत गर्ने अवसर प्रदान ग¥यो ।
३. सम्मेलनको उद्घाटन तथा मुख्य विषय
अक्टोबर २ मा बिहान ११ः३० बजेदेखि सुरु भएको उद्घाटन सत्र पञ्जाब कमिटीको सहजीकरणमा दिउँसो ३ः१५ बजेसम्म सञ्चालन भयो । सत्रका प्रमुख अतिथि पञ्जाबका सिँचाइ राज्यमन्त्री वीरुन्दर गोइत हुनुहुन्थ्यो । सम्मेलनको मुख्य विषय थियो— “सामाजिक विकासको मोडेलमा सर्वोच्च प्राथमिकता कसलाई दिइनुपर्छ—राष्ट्रिय सुरक्षालाई वा पर्यावरण संरक्षण एवं खाद्य सुरक्षालाई?” प्रकृति–मानव केन्द्रित जन आन्दोलन, भारतका सचिव सुखदेव सिंह भोपालले उद्घाटन मन्तव्य सहित विषय प्रवेश गराउनुभएको थियो । प्रमुख अतिथि वीरुन्दर गोइत लगायत राजस्थानका सज्जन कुमार, घनश्याम चौहान र रिद्धकरण मेघवाल, महाराष्ट्रका शशीकान्त सोनावाणे, जम्मु–कश्मीरका दिदार सिंह, दिल्लीका कुमारी सुचिश्री र कैलाश सिंह, नेपालका बिन्दुराज सापकोटा, तथा अन्य वक्ताहरूले विषय माथि आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । छलफलमा विश्वको राजनीतिक, आर्थिक र सांस्कृतिक अवस्थासँग जोडेर राष्ट्रिय सुरक्षा, पर्यावरणीय संकट र खाद्य सुरक्षा बीचको सम्बन्धमाथि विमर्श गरियो । वक्ताहरूले हतियारको विस्तारले मात्र मानव समाजलाई वास्तविक सुरक्षा प्रदान गर्न नसक्ने धारणा राख्दै पर्यावरणीय सन्तुलन, खाद्य उपलब्धता र जनताको जीवन सुरक्षालाई सामाजिक विकासको केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनको मूल सन्देश स्पष्ट थियो—मानव समाजको दीर्घकालीन सुरक्षा प्रकृतिको सुरक्षा र जीवनका आधारभूत आवश्यकताको सुनिश्चिततासँग अभिन्न रूपमा जोडिएको छ ।
४. जनप्रदर्शन र आन्दोलनका कार्यक्रम
उद्घाटन सत्रपछि अपराह्न ३ः३० बजेदेखि सम्मेलनमा सहभागी अभियन्ता तथा स्थानीय कार्यकर्ताहरूको सहभागितामा जनप्रदर्शन आयोजना गरियो । सहभागीहरूले लेहरागागा बजार परिक्रमा गर्दै निम्न नाराहरू लगाएका थिए— विषादीमुक्त खेती सुरु गरौँ! रासायनिक खेती बन्द गरौँ! सम्पूर्ण किसान एक हौँ! किसान एकता जिन्दावाद! मजदुर एकता जिन्दावाद! ग्लोबल वार्मिङ अत्यन्त हानिकारक छ! जनप्रदर्शनले पर्यावरण संरक्षण, विषादीमुक्त कृषि, किसान–मजदुर एकता र जलवायु परिवर्तन विरुद्ध जनचेतना अभिवृद्धि गर्ने आन्दोलनको प्रतिबद्धतालाई सार्वजनिक रूपमा अभिव्यक्त गरेको थियो ।
५. संगठनात्मक प्रतिवेदन, विधान र दीर्घकालीन कार्यक्रम
अक्टोबर २ को तेस्रो सत्रमा सचिव सुखदेव सिंह भोपालले प्रकृति–मानव केन्द्रित जन आन्दोलनको कार्यक्रम, विधान, दीर्घकालीन उद्देश्य तथा विगत दुई वर्षमा सम्पन्न गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने गिरधारीराम कोकरनाले थप प्रष्ठ पार्नु भएको थियो । प्रतिवेदनअनुसार केन्द्रीय समितिले निर्धारित कार्ययोजनाका आधारमा ११ वटा बैठक सम्पन्न गरी विभिन्न निर्णय कार्यान्वयन गरेको जानकारी गराइयो । यस क्रममा सहभागीहरूले जिज्ञासा, सुझाव र टिप्पणी प्रस्तुत गरे । नेपालको तर्फबाट माया गिरीले पनि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अक्टोबर ३ को बिहान ८ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालित सत्रमा आन्दोलनको आवश्यकता, लक्ष्य, दृष्टिकोण, मूलभूत सिद्धान्त, विद्यमान विश्वव्यवस्था, पर्यावरणीय तथा जैविक संकटका कारण, संकट समाधानका उपाय, कर्पोरेट व्यवस्थाको पुनर्गठन र विकासको वैकल्पिक मोडेल लगायत विषयमा विस्तृत छलफल भयो । यसै क्रममा सुखदेव सिंह भोपालले आन्दोलनको २५ बुँदे दीर्घकालीन कार्यक्रम प्रस्तुत गर्नुभयो । नेपालको तर्फबाट अध्यक्ष बिन्दुराज सापकोटाले विधान तथा दीर्घकालीन कार्यक्रमका केही बुँदामा आवश्यक संशोधन र परिमार्जन गर्न सुझाव प्रस्तुत गर्नुभयो । छलफलले प्रकृति र मानवलाई अलग–अलग विषयका रूपमा नभई एउटै जीवन प्रणालीका परस्पर निर्भर पक्षका रूपमा बुझ्नुपर्ने मान्यतालाई थप स्पष्ट बनायो ।
६.दस्तावेजमाथि विचार–विमर्श
जल संकट, सहकार्य र जलवायु परिवर्तन अक्टोबर ३ को दिउँसो ३ बजेदेखि साँझ ६ः३० बजेसम्म “पृथ्वी जल दिवालियापनतर्फ अघि बढिरहेको छ—विश्वमा र विशेषगरी सार्क देशहरूमा सहकार्य, मानव एकता, शान्ति र जलवायु परिवर्तन रोक्ने माध्यमका रूपमा जल” शीर्षकको दस्तावेजमाथि विचार–विमर्श भयो । अरुण कुमार (बिकानेर), मनीराम पुनिया (राजस्थान), आर.के. मेघवाल (राजस्थान), कुलवन्त सिंह (जम्मु कश्मीर), बलवन्त मेहरा (हरियाणा), कुमारी सुचिश्री (दिल्ली), एम. आर. पारमर (राजस्थान), वैज्ञानिक सागरधारा (आन्ध्र प्रदेश), डा. स्मिथा पी. कुमार (केरला) र सुखदेव सिंह भोपाल (पंजाव) लगायत वक्ताहरूले जल संकटका विभिन्न पक्षमाथि विचार प्रस्तुत गर्नुभयो । नेपालको तर्फबाट बिन्दुराज सापकोटाले लिखित धारणा प्रस्तुत गर्नुभयो । छलफलमा जललाई केवल प्राकृतिक स्रोत वा आर्थिक वस्तुका रूपमा मात्र नहेरी मानव जीवन, खाद्य उत्पादन, पर्यावरणीय सन्तुलन, शान्ति र क्षेत्रीय सहकार्यको आधारका रूपमा बुझ्नुपर्ने आवश्यकतामाथि जोड दिइयो । जलस्रोतको बढ्दो दोहन, असमान वितरण, प्रदूषण, जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम तथा पानीको उपलब्धतामा देखिएको असन्तुलनले दक्षिण एसियाली मुलुकहरूलाई साझा चुनौतीको सामना गर्न बाध्य बनाएको छ । यी समस्याको समाधान कुनै एक देशको प्रयासबाट मात्र सम्भव नहुने भएकाले सूचना, प्रविधि, अनुभव र स्रोत व्यवस्थापनका क्षेत्रमा क्षेत्रीय सहकार्य अपरिहार्य छ । यस सन्दर्भमा जललाई प्रतिस्पर्धा र द्वन्द्वको विषय नभई सहकार्य, मानव एकता र शान्ति निर्माणको माध्यम बनाउने दृष्टिकोण विशेष महत्वपूर्ण रह्यो ।
७. नयाँ कार्य समिति गठन र आगामी कार्ययोजना
अक्टोबर ४ को बिहान ८ः३० बजेदेखि नयाँ कार्य समिति गठनका लागि आवश्यक मापदण्डमाथि छलफल सुरु भयो । सचिव सुखदेव सिंह भोपालले संगठनात्मक संरचना, प्रतिनिधित्व र कार्यसमितिको गठन प्रक्रियाबारे विषय प्रस्तुत गर्नुभयो । त्यसपछि आगामी कार्ययोजनामाथि छलफल गरियो । दिउँसो १ बजेदेखि २ बजेसम्म विभिन्न राज्यका प्रौढ, युवा तथा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै रिद्धकरण मेघवालको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्य समिति घोषणा गरियो । यससँगै सम्मेलनको औपचारिक समापन भयो । नयाँ कार्यसमितिमा युवाको प्रतिनिधित्वलाई महत्व दिइनुले आन्दोलनलाई थप समावेशी र जीवन्त बनाउने अपेक्षा जगाएको छ ।
८. नेपाल–भारत संयुक्त बैठक र साझा निष्कर्ष
सम्मेलनको औपचारिक समापनपछि अक्टोबर ४ को दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म नेपाल–भारत संयुक्त बैठक सम्पन्न भयो । बैठकको सुरुवातमा नेपालको तर्फबाट अध्यक्ष बिन्दुराज सापकोटाले नवगठित कार्यसमितिलाई बधाई तथा सम्मेलन आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै, हालै नेपालमा आएको रसुवा–भोटेकोशी बाढी तथा त्यसबाट उत्पन्न विपद् सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपालको भौगोलिक अवस्था, जलवायु परिवर्तनका सम्भावित प्रभाव र विपद् व्यवस्थापनका चुनौतीमाथि छलफल अघि बढाउनुभयो । नेपालका उत्तम कँडेल, माया गिरी र डोलराज अर्यालले पनि नेपालको वर्तमान भौगोलिक तथा पर्यावरणीय अवस्थाका साथै आगामी सातौँ सार्क सम्मेलनका सम्बन्धमा आफ्ना धारणा प्रस्तुत गर्नुभयो । भारतका तर्फबाट रिद्धकरण मेघवाल, सज्जन कुमार, जयनारायण मेघवाल, सागरधारा र शशीकान्त सोनावाणेले छलफलमा सहभागिता जनाउनुभयो ।
९. प्राकृतिक कृषि फार्मको अवलोकन
सम्मेलन पछि नेपाली प्रतिनिधि मण्डलले पञ्जाबको संगरुर जिल्ला स्थित गागा गाउँका प्रकट सिंहको प्राकृतिक कृषि फार्म अवलोकन ग¥यो । उहाँले विगत १५ वर्षदेखि धान, उखु, गहुँ लगायत मौसमी बाली विषादी तथा रासायनिक मलको प्रयोग नगरी खेती गर्दै आउनु भएको जानकारी गराउनुभयो । यस अवलोकनले रासायनिक पदार्थमा निर्भरता घटाउँदै प्राकृतिक स्रोत, माटोको उर्वरता र पर्यावरणीय सन्तुलनलाई महत्व दिने कृषि अभ्यासको व्यावहारिक पक्ष बुझ्ने अवसर प्रदान ग¥यो । प्राकृतिक कृषि केवल उत्पादनको एउटा विधि मात्र नभई माटो, पानी, जैविक विविधता, किसानको स्वास्थ्य र उपभोक्ताको खाद्य सुरक्षाबीच सन्तुलन कायम गर्ने महत्वपूर्ण दृष्टिकोण पनि हो । यस्ता अभ्यासका अनुभवलाई स्थानीय आवश्यकता र वैज्ञानिक प्रमाणका आधारमा नेपालमा समेत अध्ययन तथा विस्तार गर्न सकिन्छ ।
१०. स्वदेश फिर्ती
असोज १९ गते बिहान नेपाली प्रतिनिधि मण्डल लेहरागागाबाट रेलमार्फत जाखल हुँदै नागदोही पुग्यो । त्यहाँबाट दिल्लीको आनन्द विहार टर्मिनल पुगेर साँझ ५ः३५ बजे सत्याग्रह एक्सप्रेस (रेल नं. १५२७४) मार्फत आउँदाका स्टेशनहरु हुँदै गोरखपुरका लागि प्रस्थान गरियो । असोज २० गते बिहान ९ः१० बजे गोरखपुर पुगेपछि केही समय बजार अवलोकन गरी दिउँसो बस मार्फत सुनौली हुँदै नेपाल फर्कने यात्रा सुरु गरियो । साँझ काठमाडौँ जाने बसमा चढेपछि प्रतिनिधि मण्डलका सदस्यहरू आ–आफ्नो गन्तव्यतर्फ लाग्नुभयो । अध्यक्ष बिन्दुराज सापकोटा बुटवलमा ओर्लिएर भोलिपल्ट पोखरा फर्कनुभयो । यसरी प्रकृति–मानव केन्द्रित जन आन्दोलन, भारतको छैटौँ राष्ट्रिय सम्मेलनमा सहभागिता सहितको भारत भ्रमण सम्पन्न भयो ।
११. भ्रमणबाट प्राप्त प्रमुख अनुभव र सिकाइ
भ्रमणका क्रममा देखिएका अभ्यास, सम्मेलनमा भएका छलफल र नेपाल–भारत संयुक्त बैठकका आधारमा निम्न विषयहरू विशेष महत्वका देखिए । क. सानो, चुस्त र अनुशासित प्रतिनिधिमण्डल यसपटक नेपालबाट सहभागी प्रतिनिधिमण्डल सानो, व्यवस्थित र अनुशासित रह्यो । सीमित प्रतिनिधित्व भए पनि विभिन्न सत्रमा सक्रिय सहभागिता, विचार प्रस्तुति र आपसी समन्वयले भ्रमणलाई प्रभावकारी बनाएको अनुभव भयो । ख. सरल र सहभागितामूलक कार्यक्रम सञ्चालन उद्घाटन सत्रदेखि विभिन्न छलफलसम्म अनावश्यक औपचारिकता, आसनग्रहण र अध्यक्षमण्डलमा केन्द्रित नभई सामान्य तथा सहभागितामूलक शैलीमा कार्यक्रम सञ्चालन गरिएको थियो । यस्तो अभ्यासले समयको सदुपयोग, सहज संवाद र विषयवस्तुमा केन्द्रित छलफललाई प्रोत्साहित गर्ने देखियो । ग. युवा तथा महिलाको सहभागिता अघिल्ला सम्मेलनको तुलनामा यसपटक युवाको सहभागिता उल्लेखनीय देखियो । नयाँ केन्द्रीय कार्यसमितिमा युवाको प्रतिनिधित्वले आन्दोलनको भावी नेतृत्व विकास र संगठनात्मक निरन्तरताप्रति आशा जगाएको छ । यद्यपी, विगतका सम्मेलनको दाँजोमा महिलाको सहभागीतामा कमि महशुस भयो । घ. समय व्यवस्थापन र विषयगत प्राथमिकता सम्मेलनमा उठाइएका सैद्धान्तिक तथा वैचारिक विषय समसामयिक र सान्दर्भिक थिए । तथापि, समय अभावका कारण कृषि सम्बन्धी केही महत्वपूर्ण विषयमा पर्याप्त छलफल हुन सकेन । आगामी कार्यक्रमहरूमा विषयगत प्राथमिकता निर्धारण, सत्रगत समय व्यवस्थापन र छलफलको गहिराइ बीच सन्तुलन कायम गर्न आवश्यक देखियो । ङ. कृत्रिम बुद्धिमत्ता र युवा परिचालन बदलिँदो प्रविधिको युगमा कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिको उपयोगबारे आन्दोलनले स्पष्ट दृष्टिकोण विकास गर्नुपर्ने देखियो । पर्यावरण संरक्षण, कृषि, जलस्रोत व्यवस्थापन, विपद् सूचना र जनचेतनाका क्षेत्रमा प्रविधिको उपयोगसँगै यसका सामाजिक तथा पर्यावरणीय प्रभावमाथि पनि विचार गर्न आवश्यक छ । साथै, युवालाई विचार, संगठन, अनुसन्धान र व्यवहारिक अभियानसँग जोड्ने प्रभावकारी कार्यक्रम विकास गर्नुपर्छ । च. संगठनको विस्तार र स्थानीय आवश्यकतासँग सम्बन्ध आन्दोलनका एजेन्डा विश्वव्यापी महत्वका भए पनि भारतका सबै राज्यमा समान रूपमा विस्तार हुन नसक्नुका कारण पहिचान गर्नुपर्ने देखियो । स्थानीय सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यावरणीय अवस्थाअनुसार संगठनात्मक संरचना तथा कार्ययोजना निर्माण गर्नु आवश्यक छ । छ. सार्कस्तरीय सहकार्य र संगठनात्मक संरचना दक्षिण एसियाका साझा पर्यावरणीय तथा सामाजिक समस्यालाई सम्बोधन गर्न सार्कस्तरीय जनसार्क सम्मेलन र संगठनात्मक संरचनालाई प्राथमिकता दिनुपर्ने देखियो । नेपाल, भारत लगायत क्षेत्रीय मुलुकका अभियन्ताबीच नियमित संवाद, अनुभव आदानप्रदान र संयुक्त कार्यक्रमले आन्दोलनको प्रभाव विस्तार गर्न सक्छ । ज. विपद् सूचना, प्रविधि र अनुभवको आदानप्रदान हिमाली क्षेत्र, नदी प्रणाली, जलस्रोत र जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम राष्ट्रिय सीमामा सीमित हुँदैनन् । त्यसैले विपद् सम्बन्धी सूचना, वैज्ञानिक अध्ययन, पूर्वसूचना प्रणाली, प्रविधि र अनुभव आदानप्रदानलाई प्राथमिकता दिनुपर्छ । यस्तो सहकार्यले जोखिम पहिचान, पूर्वतयारी र समुदायको संरक्षणमा योगदान पु¥याउन सक्छ ।
१२. निष्कर्ष तथा आगामी कार्यदिशा
भारतको पञ्जाबमा सम्पन्न प्रकृति–मानव केन्द्रित जन आन्दोलनको छैटौँ राष्ट्रिय सम्मेलनले मानव समाजको वास्तविक सुरक्षा, विकास र समृद्धिलाई प्रकृतिको स्वास्थ्य, खाद्य सुरक्षा, पर्यावरण संरक्षण तथा सामाजिक न्यायसँग जोडेर हेर्नुपर्ने सन्देश दिएको छ । पर्यावरणीय संकट, जलवायु परिवर्तन, जल संकट, कृषि प्रणालीको असन्तुलन र जैविक विविधताको ह्रास आज कुनै एक देश वा समुदायका मात्र समस्या होइनन् । यी चुनौतीले दक्षिण एसियाका मुलुकहरूलाई साझा चिन्तन, सहकार्य र सामूहिक पहलका लागि आह्वान गरिरहेका छन् । प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालका लागि यस भ्रमणले वैचारिक स्पष्टता, संगठनात्मक सिकाइ र क्षेत्रीय सहकार्यको नयाँ सम्भावना उजागर गरेको छ । सम्मेलनमा प्रस्तुत विचार, प्राकृतिक कृषि फार्मको अवलोकन र नेपाल–भारत संयुक्त बैठकले प्रकृति र मानवबीचको सम्बन्धलाई व्यवहारमा उतार्न आवश्यक रहेको पुष्टि गरेका छन् । आगामी दिनमा अभियानले निम्न कार्यदिशालाई प्राथमिकता दिनु उपयुक्त हुनेछ— नेपालमा पर्यावरण संरक्षण, खाद्य सुरक्षा, प्राकृतिक कृषि र जलस्रोत व्यवस्थापन सम्बन्धी जनचेतनामूलक अभियान विस्तार गर्ने । नेपाल–भारत तथा सार्कस्तरीय अभियन्ता बीच नियमित संवाद, अनुभव आदानप्रदान र संयुक्त कार्यक्रम सञ्चालन गर्ने । सातौँ जन सार्क सम्मेलन नेपालमा आयोजना गर्न आवश्यक पहल, समन्वय र संगठनात्मक तयारी अघि बढाउने । युवा तथा महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्दै नयाँ नेतृत्व विकास गर्ने । जलवायु परिवर्तन, हिमाली जोखिम र विपद् व्यवस्थापन सम्बन्धी वैज्ञानिक अध्ययन तथा प्रमाणमा आधारित जनबहसलाई प्रोत्साहन गर्ने । कृषि, जलस्रोत, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिका क्षेत्रमा प्रकृति–मानव मैत्री दृष्टिकोण विकास गर्ने । अन्ततः प्रकृति र मानव बीचको सम्बन्धलाई द्वन्द्वको होइन, सहअस्तित्व र परस्पर निर्भरताको सम्बन्धका रूपमा बुझ्नु आजको प्रमुख आवश्यकता हो । मानवको दीर्घकालीन सुरक्षा र समृद्धि प्रकृतिको विनाशमा होइन, यसको संरक्षण, पुनर्जीवन र न्यायोचित उपयोगमा निर्भर छ । प्रकृतिको संरक्षण, मानवताको सम्मान, खाद्य तथा जल सुरक्षा र क्षेत्रीय एकता—यिनै आधारमा दिगो, न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माण गर्न सकिन्छ । ****