कीर्तिपुर टीयू मैदानमा क्रिकेटको रौनक :एनपीएल उत्सव

आईसीसीको मान्यता, डीआरएस प्रविधि र अन्तर्राष्ट्रिय खेलाडीको आकर्षणले तेस्रो संस्करण थप चर्चामा

कीर्तिपुर, कात्तिक ११। नेपालको व्यावसायिक क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी, अत्याधुनिक प्रविधि, स्तरोन्नति गरिएको मैदान र दर्शकको उत्साहका कारण यस संस्करणले विशेष चर्चा पाएको छ।

लामो प्रतीक्षापछि प्रतियोगिता सुरु हुन एक साताअघि मात्रै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता पाएसँगै एनपीएलको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनेको छ। यस मान्यताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको सूचीमा स्थान दिलाउनुका साथै विदेशी खेलाडीको सहभागिताका लागि पनि सहज वातावरण बनाएको छ।

सोमबार भएको उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने भए। उद्घाटन खेलका लागि बिक्री खुला गरिएको टिकट आधा घण्टामै सकिएको समाचार सार्वजनिक भएका छन्।  नेपाली क्रिकेटप्रति दर्शकको  आकर्षण बढ्दोछ।

१२ हजार दर्शक क्षमताको मैदानमा खेल सुरु हुनुअघि नै समर्थकहरू पुग्न थालेका थिए। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई छ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो उपाधि जितेको थियो। त्यसैले यस पटकको उद्घाटन खेललाई अघिल्लो फाइनलको पुनरावृत्तिका रूपमा पनि हेरिएको छ।

तेस्रो संस्करणको महत्त्वपूर्ण विशेषतामध्ये निर्णय समीक्षा प्रणाली (डीआरएस) को प्रयोग पनि एक हो। यस प्रविधिले अम्पायरको निर्णयमा शङ्का भएमा निर्धारित प्रक्रियाअनुसार समीक्षा गर्ने अवसर दिन्छ। यसले खेलको निर्णय प्रक्रियालाई थप विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

यस संस्करणमा विदेशी खेलाडीको सहभागिताले पनि प्रतियोगितालाई आकर्षक बनाएको छ। जनकपुर बोल्ट्सले इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निसमजस्ता अनुभवी खेलाडीलाई टोलीमा समावेश गरेको छ। पूर्वपाकिस्तानी कप्तान मिसबाह उल हक सुदूरपश्चिम रोयल्सका प्रशिक्षक छन् भने पूर्वभारतीय तीव्र गतिका बलर टिनु योहानन लुम्बिनी लायन्सका प्रशिक्षक छन्।

अन्तर्राष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षकको उपस्थितिले नेपाली खेलाडीलाई अनुभव आदानप्रदान गर्ने अवसर मिल्ने तथा प्रतियोगिताको प्रचारप्रसार अन्तर्राष्ट्रिय स्तरमा बढ्ने अपेक्षा गरिएको छ।

प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा समेत सुधार गरिएको छ। मैदानमा करिब दुई हजार थप सिट, छानासहितको दर्शक क्षेत्र, एलईडी स्कोरबोर्ड, डिजिटल विज्ञापन बोर्ड, खेलाडीका लागि छुट्टै विश्रामस्थल, सञ्चारकर्मीका लागि मिडिया सेन्टर तथा परिवारका लागि छुट्टै क्षेत्रको व्यवस्था गरिएको छ।

यी सुधारले खेलाडी, दर्शक, सञ्चारकर्मी र प्रायोजकलाई सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय प्रसारणका लागि आवश्यक सुविधामा गरिएको सुधारले प्रतियोगितालाई व्यावसायिक रूपमा थप व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास आयोजकको छ।

आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको यस संस्करणमा आठ टोली सहभागी छन्। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। लिग चरणपछि प्लेअफका खेल हुँदै अन्तिम प्रतिस्पर्धाबाट विजेताको टुङ्गो लाग्नेछ।

क्यानले प्रतियोगिताबाट करिब एक अर्ब ३० करोड रुपैयाँको हाराहारीमा आर्थिक कारोबार हुने अनुमान सार्वजनिक गरेको छ। यसले एनपीएललाई नेपाली खेलकुदको प्रमुख व्यावसायिक ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्यलाई थप बल दिएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित