– लोकनारायण सुवेदी
ब्राजिलमा गएको अक्टोबर २५ भन्दा अघिको साता निकै उथलपुथलकारी रहेको थियो । त्यो देशका २० करोडभन्दा बढी नागरिकमध्ये प्रत्येकजसोले राष्ट्रपतीय निर्वाचनबारे आ–आफ्नो राजनीतिक धारणा राखिरहेको चर्चा हुन्थ्यो । त्यतिबेला ब्राजिल निकै गहिरो किसिमले ध्रुवीकृत भइरहेको विश्लेषण भइरहेको थियो । जनमत सर्वेक्षणहरूले पनि निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखाएका र अधिकांश सर्वेक्षणमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारो अगाडि देखिएका थिए । फ्लाभियो एक विशिष्ट किसिमको अतिदक्षिणपन्थी धारका प्रतिनिधि पात्रको रुपमा चिनिदै आएका थिए ।
यद्यपि सन् २००३ देखि २०११ सम्म र त्यसपछि सन् २०२३ देखियता पुनः ब्राजिलको राष्ट्रपति रहेका लुइज इनासियो लुला दा सिल्भा, जसलाई लुला भनेर चिनिन्छ, त्यो जनमत सर्वेक्षणकै कारणले मात्र पछि हट्न तयार थिएनन् । त्यसैले उनी देशका विभिन्न भागमा पुगे र मानिसहरूलाई मतदान गर्न प्रेरित गर्ने उद्देश्यले विशाल र उत्साहपूर्ण चुनावी सभाहरू आयोजना गर्न थाले । हुन पनि पहिलो चरणको निर्वाचनमा २१ प्रतिशत मतदाता मतदानमा सहभागी भएका थिएनन्, जबकि ब्राजिलमा मतदान गर्नु अनिवार्य छ । मतदान गरेका मतदातामध्ये पनि ठूलो हिस्साले राष्ट्रपतिको पदका लागि रहेको मतपत्रमा कुनै छाप लगाएनन् वा मतपत्रलाई बदर हुने गरी मतदान गरेका थिए ।
त्यसैले पहिलो चरणमा १५ करोड ८७ लाख दर्ता भएका मतदातामध्ये बोल्सोनारोले ४७ प्रतिशत मत प्राप्त गरेका थिए । उनी र लुलाबीचको मतान्तर केवल २२ लाख मात्र थियो । अक्टोबर ४ मा भएको पहिलो चरण र अक्टोबर २५ मा भएको दोस्रो चरणबीचको अवधिमा विजय हासिल गर्न लुलाले या त बोल्सोनारोलाई मतदान गरेका मतदातालाई आफ्नो पक्षमा ल्याउनुपथ्र्यो या मतदान नगरेका अथवा मतपत्र बदर गराएका मतदातालाई मतदानमा सहभागी गराउनुपथ्र्यो । ब्राजिलको आधुनिक इतिहासमा यसअघि कुनै पनि उम्मेदवारले यति ठूलो मतान्तर उल्ट्याएको थिएन । तर लुलाले त्यसो गरेर देखाए ।
पहिलो र दोस्रो चरणबीचका तीन सातामा लुला र उनको टोलीले ब्राजिलका ठूला सहरहरूमा मात्र होइन, साना तर महत्वपूर्ण शहरहरूमा पनि लाखौं मानिसलाई सडकमा उतार्न र परिचालन गर्न सफल देखिएका थिए । यी विशाल जनपरिचालनले पहिलो चरणको मतदानपछि देखिएको गणितीय प्रतिकूलतालाई लुलाले पार गर्नेछन् भन्ने भावना सिर्जना ग¥यो । यद्यपि तत्कालका निर्वाचनसम्बन्धी सबैजसो तथ्याङ्कीय विश्लेषणले दोस्रो चरणमा बोल्सोनारो सहजरूपमा विजयी हुने देखाएका थिए, जसले लुलाका लागि विजय असम्भवजस्तै रहेको संकेत गथ्र्यो । तर वामपन्थी शक्तिहरूले यो प्रतिकूलतालाई स्वीकार गरेर निस्क्रिय बस्नुको सट्टा निकै आक्रामकरूपमा आफ्नो अभियान अघि बढाए ।
पहिलो चरणमा बोल्सोनारो लुलाभन्दा २२ लाख २० हजार मतले अगाडि थिए । तर दोस्रो चरणमा लुलाले बोल्सोनारोलाई ४४ लाख ३० हजार मतले पछाडि पारे । यसरी दुबै उम्मेदवारबीचको मतान्तरमा ६६ लाख ६० हजार मतको निकै ठूलो फरक या परिवर्तन आयो । ती मतहरू मूलतः ब्राजिलका ठूला शहरहरूबाट आएका थिए । एक लाखभन्दा बढी जनसंख्या भएका तीन सय १९ शहरमा ब्राजिलको कुल जनसंख्याको ५७ प्रतिशत मानिस बसोबास गर्छन् । ती शहरहरूले मतान्तर उल्ट्याउन योगदान दिएका कुल ६६ लाख ६० हजार मतमध्ये ३८ लाख ९० हजार मत प्रदान गरेको देखियो ।
अर्को उल्लेखनीय कुरा के छ भने इभान्जेलिकल अर्थात् इभान्जेलिकल इसाईहरूको प्रभाव बढी भएका, तुलनात्मक रूपमा धनी, गोरा जनसंख्या बढी भएका, शिक्षाको स्तर उच्च भएका र बढी शहरीकरण भएका नगरपालिकाहरूमा लुलाको मत अझ बढी बढ्यो । यसको अर्थ हो कि उनले बोल्सोनारोको परम्परागत मताधार क्षेत्रभित्र पनि उल्लेखनीयरूपमा प्रवेश गरे । यो कुरा लुलाको आफ्नै चुनावी टोलीका लागि समेत आश्चर्यजनक मानिएको थियो । भनिन्छ कि त्यो मतपरिवर्तनको मुख्य कारण सामाजिक आन्दोलनहरूले सञ्चालन गरेको विशाल जनपरिचालन थियो । त्यस अभियानको अग्रपङ्क्तिमा भूमिहीन ग्रामीण श्रमिक आन्दोलन रहेको उल्लेख गरिन्छ ।
लुलाले आफ्नो यस अघिका तीन कार्यकालका क्रममा ब्राजिलका जनताको सामाजिक अवस्थामा असाधारण सुधार ल्याउने प्रक्रियाको नेतृत्व गरेका थिए । बोल्सा फामिलिया नामक सामाजिक सहायता कार्यक्रम, न्यूनतम ज्यालामा वृद्धि, सार्वजनिक विश्वविद्यालयहरूको विस्तार र पारिवारिक खेतीपातीलाई दिइएको सहयोगले त्यस्ता परिवारका घर–घरमा खाद्यान्न, आम्दानी र अवसर पु¥यायो, जसलाई पहिलेका शासक वर्गले लामो समयदेखि महत्वहीन ठान्दै आएको थियो । ती उपलब्धिहरूले लाखांै मानिसको जीवन परिवर्तन गरे र सार्वजनिक नीतिमार्फत गरिबीको सामना गर्न सकिन्छ भन्ने कुरा स्थापित गरे । तर यी उपलब्धिहरू सम्भव बनाउने राजनीतिक सूत्र अब आफ्नो सीमामा पुगेको छ । त्यसले गर्दा लुलाले गरिब जनताको जीवनस्तर सुधार्ने प्रयास गर्दै वित्तीय क्षेत्र, कृषि व्यवसाय र ब्राजिलको पुँजीका प्रभावशाली हिस्साहरूको शक्तिसँग पनि सम्झौता गर्ने नीति अपनाए ।
लुलाका पहिलो दुई कार्यकालमा अनुकूल अन्तर्राष्ट्रिय परिस्थितिले यस्तो सम्झौताको नीतिलाई अघि बढाउन पर्याप्त ठाउँ प्रदान गरेको थियो । तर आर्थिक शक्तिको संरचनामा समानान्तर परिवर्तन नगरी केवल स्रोतको पुनर्वितरण गर्दा असमानताका आधारहरू जस्ताको तस्तै रहे । यसले पुरानो व्यवस्थाबाट लाभ उठाउने वर्गलाई परिवर्तन रोक्ने र हासिल गरिएका उपलब्धिहरू उल्ट्याउने साधनहरू आफ्नो हातमा कायम राख्न मद्दत ग¥यो । लुलाको तेस्रो कार्यकालमा बजेटसम्बन्धी प्रतिबन्ध, महंगो ऋण र संसदमा रहेका रूढिवादी शक्तिहरूमाथिको निर्भरताले सुधारका सम्भावनाहरूलाई साँघुरो बनाएको देखिन्छ । सामाजिक कार्यक्रमहरू अझै पनि अपरिहार्य छन् । तर तिनले मात्र असुरक्षित रोजगारी, घरपरिवारको बढ्दो ऋणभार, अपर्याप्त सार्वजनिक सेवाहरू वा जमिन र सम्पत्तिको केन्द्रीकरणजस्ता समस्याहरू समाधान गर्न सक्दैनन् ।
समस्या यस्तो शासनको रणनीतिमा देखिएको थकान हो, जसमा गरिएका सम्झौताहरूले क्रमशः आफ्नै वाचाहरू पूरा गर्ने बाटोमा अवरोध सिर्जना गरिरहेका छन् । लुलाको व्यक्तिगत राजनीतिक प्रभावले जनताका अपेक्षा र शक्तिशाली वर्गले माग गर्ने सहुलियतहरूबीचको दूरीलाई अनिश्चितकालसम्म पूर्ति गर्न सक्दैन भन्ने कुरा स्पष्ट नै छ । नयाँ र पुनर्जीवित राजनीतिक परियोजनाका लागि मजदुर, किसान र शहरी क्षेत्रका सीमान्तकृत बस्तीका बासिन्दाहरूको संगठित शक्ति आवश्यक हुनेछ । तिनै समुदाय वास्तवमा लुलाको मुख्य जनाधार हुन् । ब्राजिलको वस्तुस्थिति र शक्ति संरचना हेर्दा र केलाउँदा जानकारहरु तल उल्लिखित कदमहरु दृढतापूर्वक चाल्नुपर्ने सुझाव दिन्छन् ।
भूमिसुधार ः जमिनको स्वामित्वमा रहेको असमानता घटाउने र भूमिहीन तथा साना किसानको पहुँच बढाउने ।
सार्वजनिक लगानी ः जनताको आवश्यकता पूरा गर्ने सेवाहरू र पूर्वाधारमा सरकारी लगानी विस्तार गर्ने ।
औद्योगिक विकास ः उत्पादनमूलक क्षेत्रको विकास र रोजगारी सिर्जना गर्ने ।
वित्तीय क्षेत्रमाथि लोकतान्त्रिक नियन्त्रण ः वित्तीय शक्तिलाई सार्वजनिक हित र जनताको आवश्यकताअनुरूप उत्तरदायी बनाउने ।
अनि सडकमा उत्रिएका ब्राजिलका सामाजिक आन्दोलनहरूले अब सरकारको दिशा निर्धारण गर्ने प्रक्रियामा अझ बढी शक्ति हासिल गर्नुपर्छ भन्ने सुझाव पनि परेको छ । अहिले अतिदक्षिणपन्थी शक्तिलाई पराजित गर्नुले यस्तो सम्भावनाको ढोका खोलेको छ । तर लुलाको शासनकालमा हासिल गरिएका सामाजिक उपलब्धिहरूलाई सुरक्षित राख्न तिनलाई निरन्तर खतरामा पारिरहने संरचनाहरूको सामना गर्न आवश्यक कदम चाल्नुपर्ने देखिएको औंल्याइन्छ ।
वास्तवमा ब्राजिलको यो निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उनका उपराष्ट्रपति जेडी भान्स र मियामीमा बसोबास गर्ने ब्राजिलियाली मूलका समुदायका सदस्यहरूले लुलालाई पराजित गर्न ठूलो प्रयास गरेका थिए । दक्षिण अमेरिकाको कुल भूभागको आधा हिस्सा ओगट्ने र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको ब्राजिल अहिले अमेरिकी महादेशका धेरै देशमा हाबी हुँदै गएको अतिदक्षिणपन्थी सरकारहरूको लहरभन्दा फरक स्थानमा उभिएको देखिदै आएको छ । ब्राजिलको निर्वाचनमा बाह्य हस्तक्षेप भएको कुरा अहिले स्वीकार गरिएको तथ्य बनेको छ । निर्वाचनको अत्यन्तै महत्वपूर्ण चरणमा मेटाले लुलाका खाताहरू बन्द गरेको थियो । यसबाहेक आर्थिक सहयोग र सामाजिक सञ्जालमार्फत हस्तक्षेप गरिएको सम्बन्धमा अन्य विवरणहरू पनि यस सम्वन्धमा सार्वजनिक भएका छन् ।
ट्रम्पले ब्राजिलमा बोल्सोनारो विजयी हुने आशा गरेका थिए । त्यसो भएको भए उनले सन् २०२६ को मार्चमा मियामीबाट शुरु गरेको ‘अमेरिकाको सुरक्षा कवच’ (सिल्ड अफ अमेरिका) को प्रक्रियालाई थप सुदृढ बनाउन सक्थे । ट्रम्पले यस प्रक्रियालाई सुरक्षा समन्वय गर्ने संस्थागत संरचनाका रूपमा प्रस्तुत गरेका पनि थिए । तर खासगरी यसको उद्देश्य जनआन्दोलनहरू र वामपन्थी शक्तिहरूलाई दबाउनु पनि रहेको थियो ।
निश्चय नै यस चुनावमा लुलाको विजयले ट्रम्पलाई आफ्नो प्रभुत्व विस्तार गर्न ‘मुनरो सिद्धान्त’ प्रयोग गर्ने बाटोमा अवरोध खडा गरेको छ । यसले ब्राजिलका महत्वपूर्ण खनिज स्रोतहरूमा सहज पहुँच प्राप्त गर्ने वा अमेजन नदीको डेल्टा क्षेत्रमा फेला परेको नयाँ तेल भण्डारमाथि प्रभुत्व जमाउने ट्रम्पको सम्भावनालाई पनि सीमित बनाइदिएको छ । यसरी लुलाले अनेकौं अवरोधको सामना गर्नुपरे पनि उनको विजयले अतिदक्षिणपन्थी शक्तिहरूलाई पराजित गर्न सकिदैन भन्ने धारणा गलत रहेको सन्देश दिएको छ । लगातारको अमेरिकी दबदबा तथा आफ्नो देशको अर्थ–सामाजिक सामथ्र्य र सीमा दुबै जोखिमलाई बुझेका ८० वर्षीय अनुभवी लुलाले आगामी ५ जनवरीदेखि कार्यभार सम्हाल्ने छन् ।

