हैदरावाद । एघार वर्षीया आकर्षणा सतिसले हैदराबादमा तीन वटा बाल पुस्तकालय स्थापना गरेकी छन् । आफ्ना छिमेकी, सहपाठी र परिवारका सदस्यहरूबाट चार हजार आठ सय ३४ वटा पुस्तक सङ्कलन गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् ।
एमएनजे बाल क्यान्सर अस्पताललाई एक हजार ३६ वटा, सनतनगर प्रहरी कार्यालयलाई आठ सय २९ र किशोरी बालगृहलाई छ सय २५ पुस्तक प्रदान गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् । गत बुधबारदेखि ती पुस्तकालयहरु सञ्चालनमा आएका छन् । प्रान्त सरकारका प्रशासन र प्रहरीका उच्च अधिकारीबाट ती पुस्तकालयहरुको उद्घाटन भएको थियो ।
कोरोना महामारीका बेला आफूले आफन्त, छिमेकी र विद्यालयका सहपाठीबाट पुस्तक सङ्कलन गरेको आकर्षणाले बताएकी छन् । उनले स्थापना गरेका पुस्तकालयमा अधिकांश तेलगु भाषाका पुस्तक छन् भने अङ्ग्रेजी र हिन्दीका पुस्तक पनि त्यहाँ राखिएका छन् । आफ्ना पिताको प्रेरणाबाट आफूले पुस्तकालय स्थापना गरेको उनले एएनआईलाई बताइन् । खाजा खर्च जोगाएर उनले स्यानेटरी प्याड पनि कन्या सुधार गृहलाई प्रदान गरेकी छन् ।
एघार वर्षीया बालिकाद्वारा हैदराबादमा तीन बाल पुस्तकालय स्थापना
Comments

