नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर अपराध

गोविन्द बहादुर थापा •• नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना भएको, पठाउनको लागि शरणार्थी बनेका नेपालीहरूबाट लाखौँ रकम असुल भएको कुरा भुटानी शरणार्थी प्रकरण हो । यस प्रकरणमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीदेखि लिएर उनीहरूका नजिकका मानिएका व्यक्तिहरू, दलका उच्च पदस्थ नेतृत्वहरूको सहभागिता रहेको छ भन्ने कुरा हाल भइरहेका अनुसन्धान र पक्राउले जनाइरहेका छन् । यस प्रकरणमा देशको बागडोर सम्हालेका व्यक्तिहरू नै राज्यलाई ठग्न, किर्ते गर्न, छल्न अघि सरेका छन् । यसमा जोबाट कानुनको संरक्षण हुन पर्ने हो उनैबाट कानुनको उल्लङ्घन भएको छ । यस घटनाले मौका पर्दा कुनै राजनैतिक आस्था, मूल्यमान्यता, सामाजिक डर, त्रास वा नैतिकतालाई एकैचोटी भूलेर ठगी गर्न अपराध गर्न मान्छे तयार हुन्छ भन्ने पनि देखाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा यो लेख तयार पार्दासम्म गृहमन्त्री, तत्कालीन अवस्थामा राजनैतिक नेताका सल्लाहकार बसेका व्यक्तिहरू, उपयोग भएका बिचौलिया व्यक्तिहरू, उच्च पदस्थ व्यक्तिहरू, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, उपप्रधानमन्त्रीका छोरा लगायत पक्राउ परिसकेका छन् । भने उनीहरूमाथि अनुसन्धान जारी छ । यस बेलामा अझ यस प्रकरणमा नाम जोडिएका व्यक्तिहरू संचारमाध्यममा नाम जोडिएर आएका व्यक्तिहरू राजनीतिक आडमा उम्काउन खोज्ने र उम्किने हो कि भन्ने जस्तो देखिएको छ । केहीले राजनीतिक संरक्षण पाउने र चोखिने जस्ता देखिएका छन् । केही व्यक्तिहरू पीडितलाई सम्पर्क गरी रकम फिर्ता गर्न तयार भएका केही रकम फिर्ता गरिसकेको भन्ने पनि समाचार आएका छन् ।

यो भुटानी शरणार्थी प्रकरण कुनै सर्वसाधारण व्यक्तिको संलग्नतामा भएको अपराध होइन । यस अपराधमा कानुनी राज्यको उल्लङ्घन गरिएको छ । राज्यमा बसेका उच्च ओहोदाका व्यक्तिले जे गर्न पनि मिल्ने, सक्ने हुने भन्ने जस्तो देखिएको छ । आफ्नो अपराध कर्मलाई लुकाउन, आफू निर्दोष भएको देखाउनका लागि अनेक बहानाबाजीहरू शुरु भएका छन् । यस प्रकरणमा आरोपितहरूले राज्यलाई ढाँटेको छन् ।

किर्ते कागज गराएका छन् । मानव तस्करी गर्न तयार भएका छन् । मानव तस्करी गर्नुका साथै आफ्ना देशका नागरिकलाई आफ्ना देशमा नभई भुटानका शरणार्थी बनाएका छन् । यो अपराधको कारण नेपाल र नेपालीको देश विदेशमा बेइज्जत भएको छ । यस अपराधमा नेपालको कानुनको उल्लङ्घन हुनुका साथै अमेरिकी कानुुनलाई समेत ढाँट्ने काम भएको छ । नेपालस्थित अमेरिकी राजदुतावासले यस विषयमा आफूले पनि अनुसन्धान गर्ने बताएको छ । अमेरिकाको आधिकारिक धारणा हो । यस प्रकरणपछि नेपालमाथि विश्वको ध्यान खिचेको छ ।

अहिले यस विषयमा केही संलग्नहरूलाई गिरफ्तार गरी अनुसन्धान जारी छ भने केहीको खोजी भइरहेको छ । यसलार्ई गम्भीरतापूर्वक अनुसन्धान गरिनु पर्दछ र दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन यो गम्भीर प्रकारको अपराध हो । यसमा ठगी, किर्ते, जालसाजी, मानव तस्करी जस्ता गम्भीर अपराध भएको छ । अपराध पनि एकल होइन सङ्गठित अपराध भएको छ । यसलाई लुकाउन सबैले सक्दो कोशिस गर्दा गर्दै बाहिर आएको छ । बाहिर आएको कारण अपराधीलाई हिरासतमा पनि लिइएको छ । तर अपराधीहरू उम्किने सम्भावना अत्यधिक छ । अपराधीहरू उम्किन दिनु हुँदैन । पीडितले न्याय पाउनु पर्छ ।

यस घटनामा राज्यले नै न्याय पाउनु पर्छ । कानुनी राज्यको उपहास भएको छ । पद , पैसा र पहुँचको भरमा जे गर्दा पनि छुट हुनुहुँदैन । नेपाल र नेपालीले हार्नु हुँदैन, जित्नुपर्दछ । यस घटनामा अपराधीलार्ई कारवाही गरेमा देशले न्याय पाउने छ भने अपराध गरेमा कुनै पनि समयमा अपराधको सजाय भोग्नु नै पर्छ, कुनै पनि बहानामा राज्यलाई ढाँट्न छल्न हुँदैन, पाइँदैन भन्ने सन्देश दिनुपर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित