दमौली । राष्ट्रिय जनमोर्चा तनहुँको सामयिक प्रकाशन “आवाज” विमोचन गरिएको छ । राजमो केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेलले तनहुँको सदरमुकाम दमौलीमा २०७९ वैशाख ३ गतेका दिन एक विशेष समारोहका बीच “आवाज” को विमोचन गरेका थिए ।“आवाज” विमोचन समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष पौडेलले राजमो तनहुँको सामयिक प्रकाशन “आवाज” लाई तनहुँमा कम्युनिस्ट आन्दोलनलाई जोड्ने एक कडीको संज्ञा दिए । ‘यस किसिमका प्रकासनहरुले तनहुँ जिल्लामा छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकीकृत गर्न मद्दत पुग्ने विश्वास मैले लिएको छु ।” अध्यक्ष पौडेलले भने –“राजमो तनहुँको सामयिक प्रकाशन “आवाज” कम्युनिस्ट आन्दोलनलाई जोड्ने एक कडी बन्न सकोस ! म यो प्रकासन गर्ने राजमो तनहुँलाई हार्दिक धन्यवाद दिंदै यसको निरन्तरताको कामना गर्दछु ।” सम्बोधनका क्रममा प्रमुख अतिथि पौडेलले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन फेरि मजबुत बनेर जाने विश्वास व्यक्त गरे । “नेपालको सच्चा कम्युनिस्ट आन्दोलन यतिबेला क्षतविक्षत अवस्थामा छ ।

कम्युनिस्ट नाम गरेका त धेरै पार्टी छन् तर खास कम्युनिस्ट पार्टी केही पनि छैन ।”–प्रमुख अतिथि अध्यक्ष पौडेलले भने–“क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अहिले कमजोर जस्तो अवस्थामा देखिए पनि यो अस्थायी कुरा हो । तपाई हामी सबै लाग्यौं भने यो कम्युनिस्ट आन्दोलनलाई हामीले शक्तिशाली बनाउन सक्नेछौं । इतिहासले छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकत्रित गर्ने जिम्मेवारी तपाई हाम्रो काँधमा सुम्पिएको छ । हामी सबै निर्भिक ढंगले अघि बढौं र इतिहासले सुम्पिएको उक्त जिम्मेवारी पूरा गरौं ।”समारोहलाई नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज विक्रम थापा, नेकपा (मसाल) जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता भरत केसी, कास्कीका प्रवक्ता अर्जुन शर्मा, नेकपा (क्रान्तिकारी–माओवादी) का बाबुराम सुवेदी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, गण्डकी प्रदेशका अध्यक्ष नेत्र रानाभाट, नेकपा (माओवादी केन्द्र) का गण्डकी प्रदेश सदस्य मदन आले, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रकाश शर्मा, एकदेव आले चिन्तन प्रतिष्ठानका अध्यक्ष रामचन्द्र सापकोटा र प्रगतिशील लेखक संघ तनहुँका अध्यक्ष कल्पना पौडेल लगायतका अतिथिहरुले सम्बोधन गर्दै सामयिक प्रकाशन “आवाज” प्रकाशित गरेर राजमो तनहुँले सह्रानीय काम गरेको बताए ।
राजमो तनहुँ जिल्ला समन्वय समितिका अध्यक्ष पुष्पलाल श्रेष्ठको अध्यक्षता, सचिव श्रीकुमार श्रेष्ठको संचालन र सदस्य नरबहादुर थापाको स्वागत मन्तव्यबाट समारोहको कार्यक्रम अघि बढेको थियो । राजमो तनहुँ जिल्ला समन्वय समितिद्वारा प्रकाशन गरिएको “आवाज” मा तनहुँ जिल्लामा कम्युनिस्ट आन्दोलनको इतिहास, महत्वपूर्ण विषयमा विशेष व्यक्तित्वहरुद्वारा लेखिएका आलेखहरु, राजमो तनहुँका प्रेस वक्तव्य र गतिविधिहरु लगायतका विषयहरु समेटिएका छन् । २२८ पृष्ठको यस पुस्तकको मूल्य पाँच ससय राखिएको छ । कम्युनिस्ट आन्दोलनप्रति चिन्ता, चासो र अभिरुची राख्ने हरेक व्यक्तिका लागि “आवाज” एक उपयोगी पुस्तकका रुपमा आएको छ ।
चुनाबी भेला सम्पन्न
यसैबीच राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय तनहुँले आसन्न स्थानीय निर्बाचनको बिषयमा निर्णय लिन चुनाबी भेला सम्पन्न गरेको छ । २०७९ बैशाख ३ गते दमौलिमै सम्पन्न उक्त भेलाले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।भेलाले जिल्लाको भिमाद र ब्यास नगरपालिका र म्याग्दे गाउँपालिकामामा आफ्ना उम्मेदवारीहरु टुङ्गाएको छ भने अन्य पालिकाहरुमा पनि आफ्नो उपस्थिति जनाउने निर्णय गरेको छ ।
नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चामा क्रान्तिकारी पक्ष र दक्षिणपन्थी पक्षका बीचमा बिगत केही समयदेखि तीब्र्र अन्तरसंघर्ष चलिरहेको छ । राजमो तनहुँले सोही अन्तरसंघर्षको सिलसिलामा क्रान्तिकारी धार राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिलाई समर्थन गरेको छ । राजमो तनहुँले यो पटक स्वतन्त्र चिन्हबाट स्थानीय निर्बाचनमा जाने निर्णय गरेको छ । भेलाले राजमो समन्वय समिति तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठको संयोजनमा ५१ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । भेलामा राजमो केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेल, गण्डकी प्रदेश इन्चार्ज बिक्रम थापा लगायतको आतिथ्यता रहेको अध्यक्ष पुष्पलाल श्रेष्ठले बताए ।

