–सूर्या थापा
राजाले २०५९साल असोज १८मा प्रतिगमन गरेपछि हाम्रो पार्टीले त्यसको विरुद्धमा निरन्तर रुपमा आवाज उठाउँदै आएको हो । हामीले प्रतिगमन सच्चिनु पर्छ भनेर आन्दोलन गरेका थियौं । आन्दोलन एकल या संयुक्त रुपमा हुने गर्दथ्यो । त्यसमा महिला पुरुष सबै नै सहभागी हुन्थ्यौं । त्यतिबेला म काठमाण्डौको आन्दोलनमा सक्रिय थिएँ । प्रतिगमन विरोधी आन्दोलन निरन्तर रुपमा २०६३ साल बैशाख ११ गतेसम्म चलेको आन्दोलन हो । आन्दोलनमा व्यापक दमन धरपक्कड र गिरफ्तार हुने गर्दथ्यो ।
२०५९ को आठ मार्चको दिन प्रतिगमनका विरुद्ध संयुक्त महिलासंघले काठमाण्डौको चोक चोकमा पर्चा फाल्ने भन्ने निर्णय गरेको थियो । कार्यक्रम भूमिगत रुपमा आयोजना भएको थियो । पर्चा फाल्न कति चोकमा त सफल भए साथीहरु । चारैतिरबाट पर्चा फाल्ने र सम्भव भएमा कोण सभागर्ने निर्णय रहेको थियो । हामी भोटाहिटीबाट असनतिर जाँदै थियौं । प्रहरीले सबैलाई गिरफ्तार गरिहाल्यो । मैले म हाँकको पत्रकार हुँ मलाई किन गिरफ्तार गरेको ? भन्दा पनि प्रहरीले हामीले तपाइँलाई चिनेका छौं । तपाइँ नेता हो हामीलाई माथिको आदेश छ भन्दै गिरफ्तार गरिहाल्यो ।
त्यो कार्यक्रममा महिला नेताहरु सबैलाई गिरफ्तार ग¥यो । म सूर्या थापा , विद्यादेवी भण्डारी, गंगा वेलवासे, अंजना विसंखे, फूलकुमारी शर्मा,सीता शर्मा, सुजाता कोईराला लगायत थुप्रै नेता कार्यकर्ता गिरफ्तार भएका थियौं । प्रहरीले हामीलाई गिरफ्तार गरेर शुरुमा महेन्द्र पुलिश क्लव लग्यो । तीन दिन त्यहाँ राखेर थुनुवा पूर्जी दिएर जावलाखेलतिर प्रशिक्षण भवनमा लग्यो । अरु ठाउँबाट पनि आन्दोलनकारीहरुलाई गिरफ्तार गरेर लग्यो ।
त्यो प्रशिक्षण भवनमा हामीलाई खाना राम्रो दिएन । हामीले खानामा गुणस्तर नभएको भन्दै खाना बहिस्कार गर्ने निर्णय ग¥यौं । जेलमा राम्रो खानाको माग गर्दै एक दिन नारावाजी गरियो । पछि केही सुधार भयो । तर हामी राजनीतिक बन्दीहरुलाई ३१ दिन त्यहाँ राखेर घर खाली गराएर भक्तपुरको बोडेमा रहेको कृषि तालिम केन्द्रमा लगेर राख्यो । बाबु १० वर्षको थियो उ होस्टेलका थियो । नेकपा माक्र्सवादी पार्टीका शरणबिक्रम मल्ल पनि गिरफ्तार भएका थिए । उनको होस्टेलमा बाबुलाई राखेको थिएँ । शरणबिक्रम मल्ललाई भेट्न उनकी श्रीमती जावलाखेलमा जाँदा बाबुलाई पनि लिएर जान्थिइन । मैले बाबुलाई त्यतिबेला भेटन पाउँथें । मैले बाबुलाई भित्र लगेर एकछिन् राख्थें । गंगाको पनि छोरीहरु साना थिए उनीहरुपनि आमालाई भेटन आउँथे । हामी दुवैले बच्चाहरुलाई एक छिन् भेटने गर्दथ्यौं ।
बोडेमा ठूलो ठाउँ थियो । भवन भित्र घुम्न मिल्ने खालको खुला वातावरण थियो । हावापानी पनि राम्रो थियो । त्यहाँ रहँदा अरु ठूला पार्टीका नेताकार्यकर्ता भेटन गइरहन्थे । हाम्रो पार्टीका साथीहरु खासै भेटन गएनन् । गिरफ्तारीको डरले होला । घरबाट भेटन जान मेरो श्रीमान गोविन्दसिंह थापालाई वारेन्ट थियो । वहाँ इण्डिया हुनुहुन्थ्यो ।
त्यस समयमा कतिपयले आत्मसमर्पण गरेर निस्किए । तर मैले गंगा बेलवासेले आत्म समर्पण गरेनौं । गंगालाई अलि पहिले नै छोडिदियो । त्यो तालिम केन्द्रमा मलाई ५५ दिन राख्यो । ५५ दिन पछि म एक्लै रिहा भएँ । विद्या भण्डारी म रिहा हुँदा थुनामै थिईन । रिहा हुँदा राती भईसकेको थियो । भक्तपुरमा साथीको घरमा आई बास बसें । भोलिपल्ट घर घर आँए घरमा कोही हुने कुरा भएन चावी लगाएको थियो ।