जनसम्बन्ध विस्तार अभियानलाई शुभकामना

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी चैत्र ४ गते देखि वैशाख १८ गते सम्म जनसम्बन्ध विस्तार अभियान सन्चालन गर्दैछ । २०८१ माघ २६ देखि फागुन १ सम्म बसेको पार्टीको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले सो अभियान सन्चालन गर्ने निर्णय गरेको थियो ।
यस अभियान अन्तर्गत केन्द्रबाट ४ टोली निर्माण गरिएकोछ । पूर्व झापाबाट स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतिक ,पूर्व पाँचथरबाट स्थायी समिति सदस्य राम सिंह श्रीस, पश्चिम बैतडीबाट स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन र पश्चिम कन्चनपुरबाट स्थायी समिति सदस्य कृष्णराज पौडेलले नेतृत्व गर्नु हुनेछ । देश भित्रका १६ वटा क्षेत्रीय ब्युरोहरूले आफना जिल्ला अन्तर्गतका कार्यक्रमहरूको संयोजन गर्नेछन । केन्द्रबाट आएको टोलीको कार्यक्रमलाई बढी भन्दा बढी सृजनात्मक र प्रभावकारी बनाउन जिल्ला पार्टीहरूले आ आफ्नो जिल्लाको संगठनको सापेक्षतामा भूमिका खेल्ने छन् । क्षेत्रीय ब्युरो र जिल्ला पार्टीहरूले भित्तेलेखन, पर्चा वितरण, कोणसभा, जनभेटघाट, शहीद–वेपत्ता परिवार र घाइते÷अपाङ्ग योद्धाहरुसँग भेटघाट, जनसभा, संगठन निर्माण, सांस्कृतिक कार्यक्रम र जनसेवाका कार्यक्रम गर्ने छन् ।
पार्टीलाई जनतासँग जोड्ने,जनसंगठन निर्माण गर्ने र पार्टी संगठनलाई सुदृढ गर्ने , राष्ट्रिय एकता महाधिवेशनबाट पारित विचारधारात्मक राजनीतिक कार्यदिशालाई जनताबीच पुरयाउने ,जनतालाई पार्टी एकताको महत्वबोध गराउने , संघर्षका मुद्दाहरु संकलन गरी सूत्रबद्ध गर्ने , वर्गविश्लेषणका ठोस आधारहरु खोज्ने र दलाल तथा नोकरशाही पूँजीवाद प्रमुख दुश्मन हो भन्ने कुरा स्थापित गर्ने,शहीद तथा वेपत्ता परिवारजन, घाइते तथा अपाङ्ग योद्धाहरुसँग भेटघाट गरी मूर्त जानकारी तयार पार्ने यस अभियानले उद्देश्य राखेको छ ।
अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवादी हावाको वेग चलिरहेको, आफूलाई कम्युनिस्ट बताउने दल र तिनका नेताहरूले जनता माथि विश्वासघात गरिरहेको बेला यस अभियानले जनताको कम्युनिष्ट आन्दोलनप्रति विश्वास जगाउन योगदान पुर्याउने छ भन्ने आशा गर्न सकिन्छ । देशमा साम्राज्यवादी र विस्तारवादी शक्तिले नेपालको राष्ट्रिय स्वाधीनता माथि हस्तक्षेप बढाइरहेका छन् । संसदवादी पार्टीहरू दलाल पुँजीवादको असल भरिया बन्ने होड्बाजी गरिरहेका छन् । देश झन पछि झन खोक्रो हुँदै गएकोछ । देशको बिग्रदो स्थितिमा धमिलो पानीमा माछा मार्ने दाउमा राजावादी – प्रतिगामी शक्तिहरू लागेको छन् । यस स्थितिमा सच्चा कम्युनिस्ट आन्दोलनलाई सुदृढ गरेर जानु पर्ने आबश्यकता छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको यस अभियानले क्रान्तिकारी कम्युनिस्ट आन्दोललाई सबलीकरण गर्न योगदान पुर्याउने छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ११ महिना पहिले तीन पार्टीहरू नेकपा( क्रान्तिकारी माओवादी ), नेकपा( मशाल) र नेकपा (बहुमत) का बीचमा एकीकरण गरी निर्माण भएको पार्टी हो । जसले गत मंसिर १३ देखि २३ सम्म राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गरेको थियो । राष्ट्रिय एकता महाधिवेशन पछि यो पार्टी पहिलो पटक अभियान लिएर जनताको बीचमा जाँदैछ । अवश्य पनि यसअभियानले जनतामा सकारात्मक प्रभाब छाड्ने छ । झण्डै ६० वटा जिल्लामा पुग्ने यस अभियानले अहिले नै ठूलो परिवर्तन नल्याए पनि आगामी सशक्त क्रान्तिकारी आन्दोलनको लागि जग बसाउने काम गर्न सक्ने छ । अहिलेको नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल क्रान्तिकारी धाराको मुख्य खम्बा हो । यसले सन्चालन गर्न थालेको जन सम्बन्ध विस्तार अभियानलाई हाँक साप्ताहिक भब्य सफलताको शुभकामना ब्यक्त गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित