तीनकुने घटनामा पूर्व राजा ज्ञानेन्द्रलाई छानवीन प्रक्रियामा ल्याइयोस्

चैत्र १५ गते काठमाडौं, कोटेश्वरको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक आक्रमणमा परिणत भयो । आन्दोलनकारीहरु अराजक शैलीमा प्रस्तुत भए । उनीहरुले एभी न्यूजका पत्रकार सुरेश रजकलाई समाचार संकलन कै क्रममा आगो लगाएर मारे । आन्दोलनका क्रममा अर्का एक जना सर्वसाधारण सविन महर्जनको ज्यान गएको छ भने घाइतेहरु अस्पतालमा उपचाररत छन् ।
आन्दोलन निकै भयावह भयो । उनीहरुले पत्रकारका क्यामेरा खोसे । मिडिया हाउसहरुमाथि आक्रमण गरे । व्यक्तिगत घर, सम्पत्तिमा आक्रमण,तोडफोड, आगजनी गरे । व्यापारिक केन्द्रहरुमा पसेर लुटपाट ,तोडफोड गरे । उनीहरुले एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी गरे । माओवादी केन्द्रको कार्यालयमा पनि आक्रमण प्रयास गरे । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा समेत आगजनी गरेर करोडौंको सम्पत्ति खरानी बनाए ।
यो घटना एका एक कुनै योजना वेगर भएको थिएन । राजावादीहरुको लामो समयसम्मको तयारी र पूर्व राजाको निर्देशनमा गरेका थिए । नेपालको इतिहासमा राजतन्त्रको अन्त्य नेपाली जनताको लामो समयसम्मको त्याग, बलिदान र संघर्षस्वरुप २०६५ जेठ १५ गते गणतन्त्र नेपालको घोषणा भएको थियो । गणतन्त्रलाई संवैधानिक रुपमा संस्थागत गर्ने कार्य संविधान सभाद्वारा निर्मित नेपालको संविधान २०७२ ले गरेको थियो । नेपालीहरुको संघर्षको परिणामस्वरुप पूर्वराजा ज्ञानेन्द्रले राजगद्दी र नारायणहिटी राजदरबार छोडेर निर्मल निवासमा राज्यले दिएको सुविधा सहित बसेका छन् । नेपालको इतिहासमा २४० वर्षीय शाह वंशीय शासनको अन्त्य भएको थियो। नेपालमा गणतन्त्र आए पछि नेपालको संविधानले देशको प्रमुख राष्ट्रपति हुने र जननिर्वाचित संसदबाट निर्वाचित जनताको छोराछोरी राष्ट्रपति हुने व्यवस्था गरेको छ । नेपाली जनता सार्वभौम भएका छन् । पूर्व राजालाई नेपाली जनता सार्वभौम भएको मन परेको छैन । निर्मल निवासमा गएर बसे पनि जनतालाई सदावहार रैती बनाएर राख्ने उनको सामन्ती सोचमा परिवर्तन आएको छैन ।
उनले अहिले पुनः गुमेको सत्ता प्राप्ति गर्ने सपना बोकेर कथित स्वागत ,अभिनन्दन,देश जोगाउने नाटक मञ्चन गर्दै हिँडेका छन् । उनले केही पूर्व पञ्चहरु, जोगी,सन्यासीहरुको साथ लिएर देशको परिस्थितिलाई भड्काउने कोसिस गरेका छन् ।उनका समर्थकहरुले देश बनाउन भन्दै देशमा राजतन्त्र फर्काउने आन्दोलन समिति बनाएर आन्दोलन जारी राखेका छन् । राजतन्त्र पुनस्र्थापनाको निर्णायक आन्दोलन गर्ने भन्दै शुरु गरिएको चैत्र १५ गतेको प्रदर्शन नेपाली राजनीतिको इतिहासमा निकै आततायी घटना बनेको छ । पूर्व राजाले इतिहासको पाङग्रालाई पछाडि फर्काउने सपना बोकेर बसेका छन् । चैत्र १५ गतेको घटनाले सम्पूर्ण नेपाली जनतालाई २०५९ साल असोज १८, २०६१ साल माघ १९ को घटनालाई पुनः सम्झन बाध्य बनाएको छ ।
सरकारले यो आन्दोलनमा संलग्न केहीलाई गिरफ्तार गरेको छ । सरकारले आन्दोलनको नाममा जनधनको क्षति गराउने ,लुटपाट मच्चाउने ,आगजनी , तोडफोड गर्नेलाई कुनै पनि हालतमा नछोडिने र कारवाहीको दायरामा ल्याउने बताएको छ । सो घटनामा मृत्युवरण गर्नु हुने ,पीडितहरु पीडितका परिवार सबैलाई तत्काल उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्नु पर्दछ ।
झापा लगायत देशका विभिन्न ठाउँमा पूर्व राजा ज्ञानेन्द्रलाई अभिनन्दन कार्यक्रममा दुर्गा प्रसाईको संलग्नता, गत फागुन २५ गते पोखराबाट काठमाडौं आउँदा पूर्व राजा ज्ञानेन्द्रको स्वागतमा प्रसाईको विशेष सक्रियता र निर्मल निवासमा ज्ञानेन्द्रसित प्रसाईको भेटघाट, त्यसपछि राजतन्त्र पुनस्र्थापनाका कमाण्डर घोषित प्रसाईद्वारा चैत्र १५ गते वितण्डता –यी सबै सिलसिलेवार घटनाबाट तीनकुने घटनामा ज्ञानेन्द्रको संलग्नता देखिन्छ । तसर्थ पूर्व राजा ज्ञानेन्द्रूलाई त्यस घटनाका सम्बन्धमा छानवीन प्रक्रियामा ल्याइनु पर्दछ । यदि उनी दोषी ठहरिन्छन् भने उनलाई कानुन अनुसार कार्वाही गर्नुपर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित