रामबहादुर बुढा
लुइस हेनरी मोर्गनको जन्म सन् १८१८ नोभेम्बर २१ मा अमेरिकाको न्यूयोर्कमा भएको थियो । उनको मृत्यु न्यूयोर्कको रोचेस्टरमा सन् १८८१ ,डिसेम्बर १७ मा भएको थियो।पेशाका हिसाबले उनी अधिवक्ता थिए । १८४४ देखि १८६८ सम्म न्यूयोर्क राज्य सभामा सेवारत रहे र १८६८ देखि ६९ सम्म सिनेटमा रहे । कार्ल माक्र्सले लुइस हेनरी मोर्गनद्वारा लिखित पुस्तक “प्राचीन समाज” को अध्ययन गरेर त्यसको नोट तयार पारेका थिए । माक्र्स “पूँजी” को अध्ययन र लेखन मै लागिरहेकाले उनी नोट सम्म तयार पार्न सीमित रहे र एङगेल्सलाई पुस्तक लेख्न सल्लाह दिए । एङगेल्सले एक, मोर्गनको “प्राचीन समाज”को गहिरो अध्ययन गरे , दुई,उनले कार्ल माक्र्सद्वारा तयार पारेको नोटलाई पनि अध्ययन गरे र ती स्वयमले पनि थप अध्ययन गरे र माक्र्सवादी सैद्धान्तिक भण्डारमा एउटा महत्वपूर्ण कृति “ परिवार निजी सम्पत्ति र राज्यको उत्पत्ति ” थपियो । एङगेल्सले मोर्गनसित प्रत्यक्ष भेटघाट गरेका थिएनन् । सन् १८९१ मा प्रकाशित चौथो जर्मन सस्करणको भूमिकामा एङगेल्सले आफूले रोचेस्टर चुनाव क्षेत्रबाट निर्वाचित अमेरिकी काङ्ग्रेसको एक भूतपूर्व सदस्यबाट मोर्गनबारे सुनेको लेखेका छन् । एङगेल्सले भनेका छन्– “सेप्टेम्बर १८८८ मा न्यूयोर्कबाट फर्कदा मैले रोचेस्टर चुनाव क्षेत्रबाट निर्वाचित अमेरिकी कांग्रेसका एक भूतपूर्व सदस्यलाई बाटोमा भेटेको थिएँ । उनी लुइस मोर्गनसित परिचित थिए । दुर्भाग्यवश उनले मलाई मोर्गनको धेरै कुरा बताउन सकेनन् । मोर्गन एक साधारण नागरिकको हैसियतले रोचेष्टरमा बस्दथे र आफ्नो सम्पूर्ण समय वैज्ञानिक खोजमा लगाउँथे । उनका भाइ जो एक कर्नेल थिए वासिङ्टनमा रक्षा मन्त्रालयमा काम गर्दथे । भाइको मद्दतबाट उनले आफ्नो अनुसन्धान कार्यप्रति सरकारी जिज्ञासा बढाउन सफल भए र आफ्ना केही कृतिहरु सरकारी खर्चमा छपाउन लगाए । मेरा सहयात्रीको भनाई अनुसार उनले पनि आफू कांग्रेसको सदस्य रहेको बेला यस कार्यमा धेरै पटक मोर्गनलाई सहयोग पु¥याएका थिए ।” एङ्गेल्सको माथिको भनाइबाट मोर्गन आफ्नो अनुसन्धान कार्यमा गहिरोसँग लागि परेको कुरा नै स्पष्ट हुन्छ ।

लुइस हेनरी मोर्गनले लेखेको “सिस्टम अफ कन्साङगुइनिटी एण्ड एफिनिटी” पुस्तक १८७१मा प्रकाशित भएको थियो । यस पुस्तकमा उत्तरी अमेरिकाका आदिवासी इरोक्वा जातिको वंशात्मक सम्बन्ध अर्थात रक्त सम्बन्धको गहन अध्ययनबाट प्राप्त उपलब्धिलाई प्रकाशमा ल्याएका थिए । उनले लेखेको पुस्तक ‘प्राचीन समाज’ १८७७ मा प्रकाशित भयो । यस पुस्तक मार्फत उनले आफ्नो धारणाहरुलाई व्यवस्थित रुपमा स्पष्ट गर्ने काम गरे । यस कृति उनको झण्डै चालिस वर्ष सम्म उत्तर अमेरिकाको आदिवासीहरुको वंशात्मक सम्बन्धको अध्ययनको परिणाम थियो । लुइस हेनरी मोर्गनको योगदानको मूल्याङकन गर्दै एङगेल्सले लेखेका छन् “सभ्य जनजातिहरुको वंश भन्दा पहिले देखा परेको मातृसत्तामा आधारित आदिम वंश सम्बन्धी यो आविस्कार आदिम इतिहासकोलागि त्यतिकै महत्वपूर्ण छ जति डार्विनको विकासवादी सिद्धान्त र राजनीतिक अर्थशास्त्रकोलागि माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्त महत्वपूर्ण छन्।” लुइस हेनरी मोर्गनले मानव समाजको इतिहासलाई तीन भागमा बाँडेका छन्– जंगली युग, बर्बर युग र सभ्य युग । प्रकृतिमा पाइने वस्तुहरुलाई मूलतः जस्ताको त्यस्तै प्रयोग गरिने कालखण्ड जंगली युग हो ।मानिसद्वारा निर्मित वस्तु उपयोगमा आउने भएपनि ती केवल सहायक पक्ष मात्रै हुन्थयो। लुइस हेनरी मोर्गन जस्ता मानवशास्त्री र चाल्र्सडार्विन जस्ता जीवशास्त्रीहरुले मानव जातिको उत्पत्ति करिब १० लाख वर्ष पहिले भएको बताएका छन् । सामान्यतया आठ हजार वर्ष भन्दा उताको युगलाई जंगली युग भनिन्छ । मोर्गनले जंगली युग र बर्बर युगलाई तीन चरणमा बाँडेका छन् ।
जंगली युग
निम्न चरणः यो चरणमा मानिस पशु जीवनबाट मानिस जीवनमा प्रवेश गरेको थियो। चार खुट्टेबाट उभिएर दुईखुट्टे प्राणीमा परिणत भएको थियो ।यो चरण पशु समाज र मानव समाजको संक्रमण काल थियो। यो चरणको सबभन्दा ठूलो उपलब्धि मानिसले बोल्न सिक्यो । यस चरणमा मानिसले सामान्य प्रकारको ढुङ्गाको हतियार बनाउन सिक्यो।
मध्यम चरणः
घर्षणद्वारा आगोको पत्ता लगाउनु महत्वपूर्ण उपललब्धि हो। आगोमा माछा पकाएर खान थालेपछि यस चरणको शुरुवात भयो । यसै चरणमा मानिसहरु आफ्नो मूल आवास स्थलबाट निस्किएर नदीको किनारै किनार संसारको विभन्न भागहरुमा फैलिए । यस युगमा लठ्ठी र भालाको आविस्कार भयो।
उन्नत चरणः धनु वाणको प्रयोगसँगै यस चरणको शुरुवात भयो । मोर्गनले लेखेका छन् – माटोको भाँडाको आविस्कार गर्न सक्ने कलाको विकास सँगै जंगली युगको उन्नत चरणको पनि अन्त्य हुन्छ ।
बर्बर युग
मानिसले घुमन्ते जीवन छोडेर प्रारम्भिक प्रकारको खेतीपाती र पशुपालनको युग नै बर्बर युग हो।
निम्न चरणः माटोको भाँडाको आविस्कार सँगसँगै निम्न चरणको शुरुवात भएको थियो। पशु पालन पशु प्रजनन तथा खेतीपाती बर्बर युगका लाक्षणिक विशेषताहरु हुन् ।
मध्यम चरणः यो चरण भवन निर्माणकोलागि घाममा सुकाइएको कच्चा इटा र ढुङगाको प्रयोगबाट शुरु हुन्छ । एङ्गेल्सका अनुसार यो चरण पूर्वमा पशुपालनबाट र पश्चिममा सिँचाइको प्रयोसहित भोज्य बोटविरुवाको खेतीबाट शुरु हुन्छ।
उन्नत चरणः फलामको धातु गाल्ने र फलामको हतियार वा साधन प्रयोग गर्ने चलनसँगसँगै यो चरणको शुरुवात भयो । लेखन कलाको आविस्कार तथा साहित्यिक लेखाइको लागि अक्षरको प्रयोगसँगै यो चरणको पनि अन्त्य हुन्छ।
सभ्य युग
मोर्गनले लेखेका छन् –ध्वनि युक्त वर्णमालाको आविस्कार तथा लेखन कलाको उपयोग भएदेखि अहिलेसम्मको युग सभ्य युग हो। एङगेल्सले लेखेका छन् सभ्यता सामाजिक विकासको त्यो चरण हो जसमा श्रम विभाजन, त्यसबाट उत्पन्न बेग्ला बेग्लै वस्तुहरुबीचको विनिमय र यी दुवै प्रक्रियाहरुलाई एक सूत्रमा बाँध्ने वस्तु उत्पादनले पूर्ण विकास प्राप्त गर्दछन् र सम्पूर्ण पुरानो समाजमा क्रान्तिकारी परिवर्तन ल्याउँदछन् ।
लुइस हेनरी मोर्गनका अनुसार मानव समाजको विकास सँगसँगै परिवारको पनि विकास हुँदै गएको छ ।उनका अनुसार जंगली युगमा समुह विवाहमा आधारित परिवार थियो । बर्बर युगमा युगल विवाहमा आधारित परिवार थियो र सभ्य युगमा एकनिष्ठ विवाहमा आधारित परिवार अस्तित्वमा आयो ।
उनका अनुसार समुह विवाहको पहिलो चरण हाडनाता सम्बन्धमा आधारित परिवार अर्थात रक्त सम्बन्धमा आधारित परिवार थियो। यसलाई पुस्ता विवाह पनि भनिन्छ । यस चरणमा आफ्नो समुहमा बुवाले छोरी पुस्तासित विवाह गर्न नपाइने चलन बस्यो। समुह विवाह कै दोस्रो चरणलाई मोर्गनले पुनालुआ विवाहमा आधारित परिवार भनेका छन्। आफ्नै समुहका दाजु र बहिनी वा दिदी र भाइकाबीचमा यौन सम्बन्ध प्रतिबन्ध लगाइयो । विवाहकालागि अर्को समुहका साथी खोज्नु पर्ने स्थिति बन्यो । मोर्गनले हवाइदीपका बासिन्दाहरुकोबीचमा बोलचालका क्रममा नाता साइनोका निम्ति प्रयोग हुने शब्द पुनालुआलाई आफ्नो पुस्तक प्राचीन समाजमा उल्लेख गरेका छन्।पुनालुआको आधुनिक अर्थ प्रिय मित्र वा नजिकको साथी भन्ने हुन्छ । मोर्गनका अनुसार संसारका अधिकांस गोत्रहरु पुनालुआ परिवार बाटै विकास भएका हुन् । बर्बर युगमा युगल विवाहमा आधारित परिवारमा पुनालुआ विवाहमा जस्तै एउटा समुहको पुरुषले अर्को समुहको महिलासँग विवाह गर्दथे तर धेरै श्रीमतीहरु मध्ये प्रमुख श्रीमती र धेरै लोग्ने मध्ये प्रमुख लोग्नेको चलन थियो । बर्बर युग जंगली युग र सभ्य युगको बीचको संक्रमणकालीन युग भए जस्तै युगल विवाह पनि समुह विवाह र एकनिष्ठ विवाह प्रथाको बीचको संक्रमणकालीन प्रथा थियो। जंगली युगमा सामुहिक स्वामित्व समाजको प्रमुख पक्ष थियो भने सभ्य युगमा सम्पत्तिमाथि निजी स्वामित्व प्रमख पक्ष हुन्छ । बर्बर युग सामुहिक स्वामित्व र निजी स्वामित्वको संक्रमणकालीन अवस्था हो । सभ्य युगमा सम्पत्तिमा निजी स्वामित्व भएपछि परिवारमा पनि निजी लोग्ने र निजी श्रीमतीको प्रचलन आयो । एकनिष्ठ विवाह भनेको एक जनासित मात्र निष्ठावान रहने भनेको हो। तर सामन्ती युग र पुँजीवादी युगमा महिलालाई मात्र एकजना पुरुषप्रति निष्ठावान हुन बाध्य पार्ने तर पुरुषलाई त्यो नियम लागू हुन नपर्ने चलन छ ।
मोर्गनले एक ठाउँमा लेखेका छन् ,“यदि यो संसार परिवर्तशील छ भने धन लोलुपताको पनि अन्त्य हुनेछ ।” मोर्गनले समाजको भौतिक परिस्थितिमा आएको परिवर्तनले परिवारको स्वरुपमा पनि परिवर्तन हुँदै आएको उल्लेख गरेका छन् । उनको समाजमा धन लोलुपताको समेत पनि अन्त्य हुने कुरा वर्तमान धनलोलुपता युक्त पुँजीवादी र साम्राज्यवादी व्यवस्थाकालागि रुचिकर विषय होइन । विश्वका करिब सबै पुँजीवादी देशहरुका विश्वविद्यालयहरुमा मानव शास्त्र वा समाजशास्त्र अध्ययन गराइन्छ र मोर्गनको बारेमा पनि पढाइन्छ तर उनीहरुले समाज परिवर्तन सम्बन्धी मोर्गनको खास गुदी कुरा र भविष्यवाणीलाई छुपाउने गर्दछन् ।
कम्युनिष्ट सिद्धान्त निर्माणमा मोर्गनको अध्ययनले योगदान पु¥याएको छ । कम्युनिष्ट घोषणा पत्रको १८८८को अंग्रेजी संस्करणको भूमिकामा एङ्गेल्सले मोर्गनको अध्ययनको महत्वमाथि प्रकाश पार्दै लेखेका छन् ,“मोर्गनले गणहरुको सच्चा चरित्र र प्रजातिसितको त्यसको सम्बन्ध पत्ता लगाएर उक्त आदिम कम्युनिष्ट समाजको भित्री संगठनलाई प्रष्टसँग देखाईदिए । उक्त आदिम समाजको विघटन पछि समाज छुट्टाछुट्टै र अन्त्यमा विभाजित हुन थाल्छ । ‘परिवार, निजी सम्पत्ति र राज्य सत्ताको उत्पत्ति’ को दोस्रो संस्करण १८६६ मा मैले विघटनको यस प्रक्रियालाई देखाउन प्रयास गरेको छु । ”
एङ्गेल्सले मोर्गनको पुस्तक प्राचीन समाज माथि आधारित भएर ‘परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति’ लेखेका थिए । लेनिनले एङ्गेल्सको उक्त कृतिमाथि आधारित रहेर ‘राज्य र क्रान्ति’ पुस्तक लेखेका थिए । मानव समाज विकासलाई सही ढंगले बुझ्न र समाजलाई बदल्ने अभियानमा जुट्नकालागि लुइस हेनरी मोर्गन र उनको कृति पढ्न जरुरी छ ।
सन्दर्भ ः
एङगेल्स,फ्रेडरिक,(२०५६),परिवार,निजीस्वामित्व र राज्यको उत्पत्ति,प्रगति प्रकाशन डिल्लीबजार काठमाण्डौ
मार्गन, लेविस हेनरी,(२००६),प्रकाशन संस्थान नयी दिल्ली ,११०००२
श्रेष्ठ ,कृष्णदास (अनु.),(२०६३),कम्युनिष्ट पार्टीको घोषणा पत्र,पैरवी प्रकाशन रामशाहपथ काठमाण्डौ ।

