अहिले नेपालमा भिजिट भिषा प्रकरणले निकै चर्चा पाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागमा कार्यरत कर्मचारीहरुले भिजिट भिसामा मानव तस्करी गर्ने गिरोहसँग मिलेर विदेश जान हिँडेकाहरुबाट मोटो रकम असुल्ने र विदेश जान छुट दिने गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालय अन्तर्गतका कर्मचारीप्रशासन महाशाखा, अध्यागमन विभाग, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका केही कर्मचारीलाई अनुसन्धानको घेरामा राखेको छ ।
यो प्रकरणमा ट्राभल एजेन्सी एयरलायन्स ,कर्मचारी ,प्रहरी र विचौलियाको बीचमा रकम लेनदेन गरेर सेटिङ मिलाउने गरेको अख्तियारको अधिकारीहरुको भनाइ रहेको छ । सेटिङमा विदेश पठाउने क्रममा युरोप जानेहरुबाट तीनलाखसम्म र अन्य मुलुक जानेहरुबाट ३० हजारदेखि ५० हजारसम्म लिने गरेको भन्ने छ । दैनिक रुपमा ४ सय जनाको हाराहारीमा भिजिट भिषामा विदेश जाने गर्दछन् । सेटिङमा कर्मचारीहरु खटाउने संजाल गठन गर्ने र उनीहरुले कोड भाषा समेत प्रयोग गरी भिजिट भिसामा विदेश पठाउने गरिएको कारण त्यहाँ कार्यरत कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याएको छ । नेपालमा भूटानी शरणार्थी काण्ड जस्ता काण्ड सजिलै हुने गर्दछन् । अहिले भिजिट भिसामा नागरिक विदेश पठाएको आरोपमा विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेको छ ।
राज्यको कर्मचारीले राज्यलाई नै ढाँट्ने गरी काम भइरहेको कुरा नयाँ होइन । सत्ताधारीहरुले उनीहरुलाई संरक्षण गर्ने र उनीहरु कारबाहीको दायरामा नआउने गर्दछन् । भिजिट भिसामा मन्त्रालयले कर्मचारीको मात्रै दोष रहेको भनेको छ । को कर्मचारी दोषी हो ? को कर्मचारीको कस्तो पृष्ठभूमि हो भन्ने कुरा आफ्ना कर्मचारीकोबारेमा मन्त्रालयलाई जानकारी नहुने कुरा भएन । मन्त्री तथा मन्त्रीका आफ्ना मान्छेहरुलाई जानकारी नहुने कुरा भएन । तर घटनालाई तोड मरोड गर्दै फलानाको संलग्नता छैन । मन्त्रीको संलग्नता छैन भन्दै पन्छिन खोज्नु अपराधलाई लुकाउन खोज्नु र संलग्नलाई कारबाहीको दायराबाट उन्मुक्ति दिन खोज्नु हो । विज्ञहरुले यो प्रकरणमा संगठित अपराध,सम्पत्ति शुद्धीकरण, मानव तस्करी अध्यागमन कसुरमा अनुसन्धान आवश्यक रहेको बताएका छन् ।
भिजिट भिसा प्रकरण यो हाम्रो देशको व्यवस्थाको दोष हो । यो व्यवस्था भनेको अर्कालाई ठगी खाने व्यवस्था हो । अर्कालाई लुटेर आफू धनी वा आफ्नो आर्थिक ,सामाजिक सबै हैसियत राम्रो पार्ने व्यवस्था हो । यो व्यवस्थाले कानुनी रुप मै नीतिगत रुप मै छुट दिएर लुट्न सिकाउँछ । यो व्यवस्थामा जसरी हुन्छ अर्कालाई ठगेर बाँच्ने चलन हुन्छ । तलदेखि माथिसम्म मिलाएर खाने चलनलाई यो व्यवस्थाले प्राथमिकता दिन्छ । जो ,जसले जति बढी लुट्न सक्छ उही नै माथिल्लो मा गनिने यो व्यवस्था हो । जसरी हुन्छ ,भ्रष्टाचार कुकर्म गर्न यो व्यवस्थाले सिकाउँदछ ।
भिजिट भिसा प्रकरणका दोषीहरु पत्ता लगाउनु पर्दछ । राज्यलाई ढाँट्दै गैरकानुनी ढंगबाट रकम असुलेर नागरिकलाई सेटिङमा मानव तस्करी गर्दै आएका छन् , कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । यो वा त्यो बहानामा या यो वा त्यो को संरक्षणमा अपराधीले संरक्षण पाउनु हुँदैन । उनीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ । अपराध कर्मको निष्पक्ष छानविन हुनु पर्दछ ।
भिजिट भिसा प्रकरण
Comments

