नेकपाका संस्थापक महासचिव पुष्पलालका योगदानबारे चर्चा

 

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानबारे बुटवलमा चर्चा गरिएको छ । मार्क्सवादी विचार मंच नेपाल ( २०५९) ले शनिबार बुटवलमा आयोजना गरेको पुष्पलालका योगदान विषयक अन्तरक्रियामा पुष्पलालको स्मरण गर्दै उनको चर्चा गरिएको हो ।
पुष्पलाल कम्युनिष्ट चरित्र बोकेका असल नेता भएको उक्त कार्यक्रममा बोल्नेहरुले बताए। नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेर मार्क्सवादको प्रचार गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाएको भन्दै उनीहरुले पुष्पलालको प्रसंसा गरे । उक्त कार्यक्रममा बोल्दै पुष्पलालसंग संगै काम गरेका पत्रकार तथा लेखक मदनलाल पौडेलले दरभङा प्लेनममा भएको भेट अन्तिम भेट भएको सुनाए । २०२३ सालदेखि २०३५ सालसम्म पुष्पलाल संगसंगै १२ वर्ष काम गर्ने मौका पाएको अनुभव सुनाउंदै पुष्पलालबारे मदनलाल पौडेलले भने – पुष्पलाल व्यवहारिक कम्युनिष्ट नेता हुन् । कम्युनिष्ट नेतामा हुने सबै गुण थिए । अहिलेका नामका कम्युनिष्ट नेता भन्दा धेरै आदर्श र व्यवहारिक थिए ।
यो दलाल पूंजीबादले पुष्पलालको योगदानलाई बुझ्न नसकेको बताउंदै नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरेर देशभर माक्र्सवादको प्रचार गरेका माइलदाई साच्चिकै कम्युनिष्ट भएको पत्रकार तथा लेखक मदनलाल पौडेलले बताए । पुष्पलालले गणतन्त्र भन्थे विपीले संवैधानिक राजतन्त्र भनेको सुनाउंदै उनले भने – आफुलाई कम्युनिष्ट नेता भन्ने पांच पांचजना प्रधानमन्त्री भएपनि यिनी झोले र दासमात्रै भए यिनले केही गर्न सकेनन्, त्यो बेला पनि पुष्पलालले धेरै काम गरेका थिए । पुष्पलालले अरुका कुरा मसिनरी बुझ्ने गरेको स्मरण गर्दै उनले पूर्व झापालीहरुको केही विश्वास नलाग्ने बताए ।
वरिष्ठ अधिवक्ता तथा लेखक तेजप्रसाद कडेलले पुष्पलाल व्यवहारवादी थिएनन् तर व्यवहारिक नेता थिए भने । उनले पुष्पलाललाई उपयोगवादी वस्तुको रुपमा उपयोग गरिएको बताउंदै परिपक्क नेता पुष्पलाललाई विचार र आदर्शको रुपमा मान्नुपर्ने बताए ।
अधिवक्ता कडेलले माधव नेपालको विषयमा बोल्दै भने माधव नेपाल आफैमा त्यती खराब होइनन् जस्तो लाग्छ, उनी प्रधानमन्त्री हुंदापनि नीतिगत निर्णय गर्दा गलत ढंगले गरे जस्तो लाग्दैन । तर देशी विदेशी मालिकहरुलाई रिझाउंदा यस्तो भएको हुन सक्छ । माधव नेपाललाई हिजोका आफ्नै भन्नेहरुले पनि फसाएको देखिन्छ ।
साहित्यकार तथा लेखक दिल साहानीले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको ठूलो योगदान रहेको चर्चा गर्दै पुष्पलालका मोदनाथ पश्रितदेखि धेरै बिरोधी भएपनि उनी कम्युनिष्ट आन्दोलनप्रति विचलित भएनन् ।पुष्पलालले तीन सको सिद्वान्त लिएको बताउंदै मोदनाथ पश्रितले पुष्पलाल ठिक छैन । यसलाई सहयोग गर्न हुन् भन्दापनि मैले पुष्पलाललाई नछोडेपछि मलाई पुष्पलालको पुच्छर हो भनेर आरोप लगाउने गरेको उनले त्यसबेलाको स्मरण गरे ।
सहप्रधाध्यापक तथा वामपन्थी विश्लेषक लिलाबहादुर केसीले नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पालका राम्रा र कमजोर पक्ष औल्याए । पुष्पलाल कम्युनिष्ट आन्दोलनका सर्वमान्य नेता भएको स्वीकार गर्दै नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेर कम्युनिष्ट घोषणा पत्र नेपालीमा उल्था गरेर धेरै कम्युनिष्ट जन्माउनु पुष्पलालको सकरात्मक तथा राम्रो पक्ष भएको बताए ।
२०१० सालमा चिनको लम्बे अभियानको झल्को दिने गरी कार्यक्रम ल्याउनु, केशरजङ रायमाझीविरुद्व पार्टी भित्र दुई लाइनको अन्तरपार्टी संघर्ष गर्नु र तुल्सीलालको राष्ट्रिय प्रजातान्त्रिक आन्दोलन विरुद्वमा जनवादी अधिनायकत्व सहितको नयां जनवादी कार्यक्रम ल्याउनु पुष्पलालको सवल र सकरात्मक पक्ष रहेको बताउंदै पुष्पलालका यि योगदान कसैले भुल्न नहुने बताए ।
पुष्पलालका कमजोर पक्ष औल्याउंदै सहप्रध्यपाक तथा वाम विश्लेषक लिलाबहादुर केसीले भने – नेपाली कांगे्रसलाई राष्ट्रिय पूंजीपती वर्गको पार्टी भन्नु, मित्रशक्ति, जनतान्त्रिक शक्तिको रुपमा हेर्नु र विश्व कम्युनिष्ट आन्दोलनमा दिग्भ्रमित हुनु पुष्पलालका कमजोर पक्ष भएको थिए ।
कार्यक्रममा मार्क्सबादी बिचार मंचकि उपाध्यक्ष गोमादेवी आचार्य, पत्रकार तथा लेखक चर्तुभुज आत्रेय, रामचन्द्र श्रेष्ठ, अधिवक्ता ज्ञानु केसी लगायतले पुष्पालका योगदान उच्च रहेका बताए ।
कार्यक्रममा आधार पत्र प्रस्तुत गर्दै मार्क्सवादी विचार मंचका अध्यक्ष युबराज पन्थीले नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएका स्व। पुष्पलालका योगदानलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए । मार्क्सवादी विचार मंचका उपाध्यक्ष विनबहादुर कुंवरको अध्यक्षता र सचिव खोमा तरामुको सञ्चालनमा यो कार्यक्रम भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित