-रामबहादुर बुढा
टर्कीको कुर्दिस्तान श्रमिक पार्टी अर्थात् पि.के.के. मुख्य रुपले कुर्द जातिलाई आधार बनाएर निर्माण भएको पार्टी हो । यो पार्टी अब्दुल्ला ओजलानले १९७८ मा स्थापना गरेका थिए । यसले प्रारम्भमा कुर्दहरुको बेग्लै राज्य स्थापना गर्ने उद्देश्य राखेको थियो । कुर्द जातिको बेग्लै कुर्दिस्तान राज्य प्राप्त गर्नका लागि यस पार्टीले सशस्त्र संघर्षको नीति अख्तियार ग¥यो । तर यसले पछि टर्की भित्रै स्वायत्त शासनको स्थापना हुनुपर्ने गरी उद्देश्यमा परिवर्तन गरेको थियो । पि.के.के.ले लामो समय सम्म टर्कीका विरुद्धमा सशस्त्र संघर्ष ग¥यो । तर त्यस पार्टीले गत मई १२ मा पार्टीको महाधिवेशन गरेर सशस्त्र संघर्ष रोकेको र पार्टी पनि विघटन भएको घोषणा गरेको थियो ।
पि.के.के. लाई बुझ्नका लागि थोरै मात्रामा भए पनि टर्की र कुर्द जातिका बारेमा जानकारी राख्नु पर्दछ । टर्की यूरोप र एसियाको सिमानामा पर्ने निकै लामो इतिहास बोकेको देश हो । यसको ७ लाख ८३ हजार ५ सय ६२ वर्ग किलोमिटर क्षेत्रफल छ । त्यसरी त्यो देश नेपालभन्दा झण्डै ५ गुणा ठूलो छ ।
त्यहाँको जनसंख्या ८ करोड ५६ लाख ६४ हजार देखिन्छ । जनसंख्याका हिसावले पनि नेपालको भन्दा झण्डै साढे २ गुणाभन्दा बढी जनसंख्या टर्कीमा छ । यहाँ अधिकांश इस्लाम धर्मावलम्बी छन् । टर्कीमा करिव ७० प्रतिशत टुर्क जाति, करिव २० प्रति कुर्द जाति र १० प्रतिशत अन्य जाति रहेका छन् । टर्की त्यस्तो देश हो जहाँ संसारभरीका सबैभन्दा बढी कुर्द अर्थात् कुर्दिस जाति बस्ने देश हो ।
विश्वभरी करिब साढे ३ करोड भन्दा बढी कुर्द जातिको जनसंख्या छ । जसमा झण्डै २ करोड कुर्दिसहरु टर्कीमा मात्र बस्दछन् । त्यसपछि कुर्दहरुको दोस्रो ठूलो जनसंख्या भएको देश इरान हो, जहाँ करिव १ करोड जनसंख्या कुर्दहरुको छ । कुर्दहरुको तेस्रो ठूलो जनसंख्या भएको देश इराक हो, जहाँ झण्डै ५० लख कुर्दहरु बस्छन् । सिरियामा झण्डै २ लाख, जर्मनमा झण्डै १ लाख कुर्दहरु छन् । थोरैथोरै संख्यामा अजरवैजान, फ्रान्स, स्वीडेन, नेदरल्याण्ड, रसिया, बेल्जियम, युके, अमेरिका, स्वीडेन, डेनमार्क, जोर्डन, क्यानडा लगायत झण्डै २ दर्जन देशहरुमा कुर्दहरु फैलिएका छन् ।
टर्कीमा कुर्द जातिहरु लामो समयदेखि पीडित रहँदै आएका छन् । सन् १९२३ मा टर्की गणतन्त्र स्थापना भएदेखि उनीहरु पीडित रहँदै आएका छन् । कुर्दिस भाषी, कुर्दिस पहिरनमाथि टर्की जातिहरुको बाहुल्यता रहेको सरकारले दमन गर्दै आएको छ । १९८० देखि त्यहाँको सैनिक सत्ताले निजी जीवनमा समेत कुर्द भाषा प्रयोग गर्न समेत प्रतिबन्ध लगायो । सरकारले निजी स्कूल र सरकारी स्कूलहरुमा कुर्द भाषा प्रयोग गर्न प्रतिबन्ध लगायो । तर निजी स्कूल र सरकारी स्कूलहरुले सरकारको निर्देशनलाई स्वीकार गरेनन् । तर कतिपय गाउँका गरिब कुर्द वस्ती भएका गाउँहरुमा आर्थिक अभावका कारण कैयौं कुर्दिसभाषी स्कूलहरु बन्द पनि भए । टर्कीमा झण्डै २० प्रतिशत जनसंख्या ओगट्ने कुर्दहरुलाई सरकारी कामकाजको भाषा कुर्द प्रयोग गर्न दिइएन । टर्कीस भाषालाई जवरजस्ती लाद्ने काम गरियो । इतिहासमा उत्पीडित कुर्दहरुको पक्षमा वकालत गर्ने कैयौं पार्टीहरु अस्तित्वमा आए । तर १९७८ मा अब्दुल्ला ओजलानले गठन गरेको पि.के.के. पार्टी एउटा हार्ड लाइनर पार्टीको रुपमा उदायो । १९७९ मा ओजलान टर्की छाडेर प्यालेस्टाइनीहरुको संगतमा पुगे । उनले प्यालेस्टाइनीहरुबाट सशस्त्र युद्धकला सिके । १९८० मा उत्तरी इराकलाई आधारभूमि बनाएर सैन्य तालिम गरे । उत्तरी इराकलाई आधार बनाएर ओजलानले १९८४ मा टर्कीमाथि छापामार कार्वाही सुरु गरे । कुर्दहरुमाथि टर्की सरकारले निकै ठूलो दमन ग¥यो । १९९० को दशकको मध्यतिर ३० हजार गाउँलाई नै टर्कीको नक्साबाट हटाएर ३ लाख ७८ हजार भन्दा बढी गाउँले कुर्दिसहरुलाई गाउँ छोड्न बाध्य पारियो । १९९९ मा केन्याको नैरोवीबाट ओजलान पक्राउ परे । अमेरिका र इजरायली गुप्तचर संस्था मोसादले उनलाई गिरफ्तार गरेको थियो ।
उनलाई टर्की ल्याइयो । उनलाई मृत्युदण्ड दिने भनिएको थियो तर टर्कीले २००२ मा मृत्युदण्डको कानुन हटाएपछि ओजलानलाई आजीवन कारावासको सजाय अन्तर्गत राखियो ।
ओजलान जेलमा छँदाखेरि नै माक्र्सवाद परित्याग गरी अमेरिकी अराजकतावादी चिन्तक मुरे बुकचिनको दृष्टिकोणलाई अपनाए । उनले जेलभित्रबाटै “लोकतान्त्रिक संघवाद” भन्ने नयाँ वैचारिक दृष्टिकोण प्रस्तुत गरे । २०१३ देखि २०१५ सम्म युद्ध विराम भएको थियो । फेरि युद्ध अगाडि बढ्यो । तर गत फेबु्रअरीमा करिव २६ वर्षदेखि जेलमा रहँदै आउका अब्दुल्लाह ओजलानले जेलबाटै आफ्ना समर्थकहरुलाई हतियार त्याग्न र पि.के.के. विघटन गर्न सल्लाह दिए ।
पि.के.के.ले सुरुमा लेनिनले भन्ने गरेको छुट्टिएर जान पाइने आत्मनिर्णयको अधिकार सहितको कुर्दिस्तान राज्यको माग गरेको थियो । तर पछि त्यो पार्टीले राज्य टुक्राउने उद्देश्य छोडेर जातीय स्वशासनकको मागमा आफूलाई सीमित गरेको थियो । कालक्रममा त्यस पार्टीका नेता ओजलानले माक्र्सवाद आफ्नो मार्ग परित्याग गरेर अन्त्यमा सबै पार्टी नै विघटन गरे ।
टर्कीको संविधानले जातीयतामा आधारित पार्टीलाई प्रतिबन्धित लगाएको छ । टर्कीमा सशस्त्र संघर्षमा विश्वास गर्ने अन्य कम्युनिस्ट पार्टीहरु पनि छन् । पि.के.के.ले हतियार परित्याग गर्दैमा सधैका लागि सशस्त्र युद्ध समाप्त भयो भन्ने त्यहाँका शासकहरुले ठानेका छन् भने त्यो उनीहरुको गल्ती हो ।
संसारमा आत्मनिर्णयको अधिकार प्रयोग गरेर देश टुक्राउन खोज्दा कतिपय ठाउँमा त्यो सम्भव भएको छ भने कतिपय ठाउँमा त्यो असम्भव भएको छ । युक्रेनबाट क्रिमिया विभाजित भएर रुसमा गाभिनु, सर्वियाबाट कोसोभो अलग हुनु जस्ता देश विभाजनका उदाहरण पनि छन् । तर आत्मनिर्णयको अधिकार प्रयोग गरेर तमिलहरु श्रीलंकामा असफल भए । नेपालमा पनि सि.के. राउतले शान्तिपूर्ण तरिकाले मधेशलाई विभाजन गर्ने आत्मनिर्णयको अधिकारको नारा दिएका थिए । उनले त्यस नारालाई परित्याग गरेर संसदमा आएका छन् ।
टर्की र कुर्दिसको लडाईमा झण्डै ४० हजार जनताको ज्यान गयो । जाति र भाषाको नाममा अनावश्यक दमन गर्दा त्यसले देशमा अशान्ति, विद्रोह निम्त्याउँछ भन्ने उदाहरण कुर्दिसहरुको संघर्षले बताउँछ । जातीयता र भाषाको मामलामा राज्यले सबैलाई समान व्यवहार अपनाउनु पर्दछ ।

