सामुहिक उत्पादनको आवश्यकता

आदिम कालमा सामूूहिक परिश्रम र सामूहिक उपभोग गर्नु मानिसको जीवनशैली थियो । उत्पादनको साधन परिस्कृत हुँदै जाँदा उत्पादनमा वृद्धि भयो । उत्पादन वृद्धिले समाजमा अतिरिक्त उत्पादनलाई जन्मायो । उपभोग गरेर बाँकी रहेको अतिरिक्त उत्पादन कसले राख्ने भन्ने प्रश्न आयो । खास टाठाबाठा व्यक्तिले अतिरिक्त उत्पादनलाई आफ्नो स्वामित्वमा राख्न थाले । त्यसरी अतिरिक्त उत्पादनले निजी स्वामित्वलाई जन्म दिएको थियो ।
समाजमा निजी स्वामित्वको जन्म र विकास भए पनि सामूहिकता र सामाजिक कार्य पनि समाजमा जीवित नै रहँदै आएको छ । नेपाली समाजमा जतिसुकै निजी स्वामित्व, व्यक्तिवाद, निजी स्वार्थ हावी हुँदै गएको भएपनि सामूहिक स्वामित्व र सामूहिक कार्यको प्रचलन हराएको छैन । नेपाली समाजमा निजी जमिनको प्रचलन निकै पुरानो भए पनि सार्वजनिक गौचरण, अर्म–पर्म, ढुकुटी, जस्ता सामूहिकताको प्रचलन रहँदै आएको छ ।
हाम्रो समाजमा सामुहिकताको भन्दा पनि व्यक्तिगत उत्पादनमा जोड दिने चलन छ । सामुहिकतामा भएका व्यवसाय, साझेदारीमा चलाउन खोजिएका उत्पादनका फर्महरु चल्न नसक्ने तर व्यक्तिगत भने चल्ने गरेका छन् ।
सामुहिकतामा सञ्चालन गर्न खोजिएका व्यवसाय केही समय चले पनि ती विस्तारै चल्न नसकेर यात सकिने यात व्यक्तिगतरुपमा सञ्चालन गर्नु परेका छन् । सम्पत्तिमाथि निजी स्वामित्व र सामूहिक स्वामित्व दुवै समाजमा अहिले प्रचलनमा छन् तर निजी प्रचलन समाजमा हावी भएको छ । निजी र सामूहिकता विपरीत सैद्धान्तिक मान्यताका रुपमा समाजमा अस्तित्वमा छन् । निजीत्वको सिद्धान्तले उत्पादनको दायित्व व्यक्तिगत गर्ने,मुनाफा पनि व्यक्तिगतरुपमा उपभोग गर्न प्रश्रय दिन्छ । व्यक्तिगत रुपमा उत्पादन गर्ने भने पनि उत्पादनको काम सबै एक्लै हुँदैन । उत्पादन प्रक्रियामा विभिन्न कच्चा पदार्थ उत्पादनदेखि लिएर सामान उत्पादन भएर बजारमा जाँदा सम्म होस या उत्पादित समानलाई उपभोग योग्य बनाउँदा सम्म कार्य सामूहिक रुपमै गर्नुपर्दछ । उपभोग योग्य भएर मात्रै भएन त्यसको उचित बजार व्यवस्थापनको पनि आवश्यकता हुन्छ । यस अवस्थामा विभिन्न कामदार,प्रविधि, सामानहरुको प्रयोग भएको हुन्छ । प्रयोग हुने समानहरु एक्लै उत्पादन गरेर केही पनि सम्भव हुँदैन । उत्पादन प्रक्रियामा सबैको मिहेनत ,पसिना प्रयोग भएर उत्पादन भएको हुन्छ र बिक्री वितरणबाट मुनाफा आउँछ त्यो मुनाफामा अहिले एकल स्वामित्व रहने गरेको छ । एकल लगानी, एकल स्वामित्व प्राप्त मुनाफा पनि एकल रुपमा उपभोग गर्दै आएको हुनाले केहीले उत्पादनबाट मनग्यै फाइदा लिने र केहीले फाइदाबाट बञ्चित रहने अवस्था अहिले रहेको छ । जो जसको उत्पादन र उपभोगमा एकल स्वामित्व रहेको छ उनीहरुको जीवन धनी ,सुखी र जो जसको छैन उनीहरु गरिब ,दुःखी हुने गरेको छ । अहिलेको पुँजीवादी व्यवस्थाले त्यही सिकाएको छ । पुँजीवादले निजी प्रचलनलाई बढी जोड दिन्छ भने समाजवादले सामूहिकतालाई बढी जोड दिन्छ– सामूहिक परिश्रम, सामूहिक उत्पादन र सामूहिक स्वामित्व कम्युनिस्टहरुले सामूहिकताको प्रचलनलाई व्यवहारमा जोड दिन आवश्यक छ । उत्पादनमा सामुहिक प्रणालीको विकास गरी त्यसबाट जेजति आउँछ त्यो पनि सामुहिक तरिकाले नै मुनाफा सबैले उपभोग गर्न पाउने अवस्था निकै उत्तम हो । व्यक्तिगत रुपमा नाफा लिने भन्दा वा व्यक्तिगत रुपमा उपभोग गर्ने भन्दा सामुहिक रुपमा उत्पादन र सामुहिक रुपमा मुनाफाको उपभोग कता हो कता सुन्दर कार्य हो । अहिले दुःखको मुख्य कारण स्वामित्व र वितरणमा असमानता रहेको कारण हो ।
अब सामुहिक उत्पादन प्रणाली र सामुहिक स्वामित्वको विषयमा सोच्नु र व्यवहारमा प्रयोगमा ल्याउनु पर्दछ । नेपालमा अहिले उत्पादन गरेर उपभोग गर्नु भन्दा पनि आयात गरेर उपभोग गर्ने,विचौलिया बनेर आफ्नो गर्जो टार्ने, अर्काको देशको मुख ताक्ने प्रवृति मौलाउँदो छ । उत्पादन गरेर अर्थतन्त्र चलाउने भन्दा पनि सामान आयात गर्दा लगाएको करबाट राजस्व संकलन गरेर देशको अर्थतन्त्र चलाउने, कमिसन र नाफा खाएर देश र घर चलाउने प्रवृति छ । सामुहिकतामा यही देशमा उत्पादन गरेर देश चलाउनु पर्दछ भन्ने देश चलाउनेले सोच्न सकेका छैनन् ।
नेपालमा सामुहिकतामा जोड दिएर नै सहकारीको अवधारणा विकास भएको थियो तर सहकारीको रकम व्यक्तिगत रुपमा अपचलन हुने ,चर्को व्याजदर र सहकारीमा कार्यरतहरुको उच्चस्तरको तलवले गर्दा सामुहिकताको भावना र मर्म विपरीत बन्न पुगेको छ । यसबाट नकरात्मक रुपमा शिक्षा लिँदै उच्च स्तरको सामुहिकतामा जोड दिनु पर्दछ । सामुहिक उत्पादनमा सबै लाग्नु पर्दछ । चाहे त्यो कृषि उत्पादन होस चाहे त्यो औद्योगिक उत्पादन होस ,जुनसुकैको उत्पादन भए पनि त्यसमा सामुहिक कर्म र सामुहिक फलको उपभोग गर्न पाउने वातावरण बनाउनु पर्दछ । सामुहिक उत्पादनमा केही मात्रामा भए पनि शुरुवाती भएका पनि छन् । देशमा कतै कतै सामूहिक कृषि फर्महरुको माध्यमबाट अगाडि बढ्न खोजेको पनि देखिन्छ । त्यो निकै सह्रानीय छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित