नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड पुष्पलालको योगदानः एक संक्षिप्त परिचर्चा

-परि थापा
माक्र्सवादका सह–संस्थापकहरु कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स द्वारा संयुक्त रुपमा लिखित र सन १८४८ सालमा प्रकाशित भएको कम्युनिस्ट घोषणापत्र देखि विश्व कम्युनिस्ट आन्दोलनकको लिखित एवम् औपचारिक रुपमा आम घोषणा भएको मान्न सकिन्छ । त्यसरी कम्युनिस्ट घोषणापत्रको प्रकाशन पश्चात युरोपीय महादेशमा कम्युनिस्ट आन्दोलनले उन्नाईशौं शताब्दीको मघ्य देखिनै जोड पक्डेको थियो । तर एशिया महादेशमा कम्युनिस्ट आन्दोलनको प्रभाव भने लेनिनको नेतृत्वमा सन १९१७ मा सम्पन्न भएको महान अक्टोबर समाजवादी क्रान्ति भएपछि नै परेको थियो ।
त्यसक्रममा कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको ७ दशक पछि नेपालका दुई छिमेकि देशहरु चीनमा सन १९२१ मा र भारतमा सन १९२५ कम्युनिस्ट पार्टी स्थापना भएका थिए । नेपालमा भने कम्युनिस्ट घोषणापत्र प्रकाशमा आएको पूरै एक शताब्दी पूरा भएपछि मात्र कम्युनिस्ट पार्टीको स्थापना भएको थियो र त्यस प्रयोजनका लागि प्रमुख पहलकदमी कमरेड पुष्पलाल श्रेष्ठ द्वारा भएको थियो । यस बर्ष नेपाल क्म्युनिस्ट पार्टीले आफ्नो हीरक जयन्ती (७५ बर्ष) पूरा गरेकोछ। कमरेड पुष्पलालको जन्म भएको एक शताब्दी (१०० बर्ष) र देहावसान भएको अर्धशताब्दी भन्दा (५५ बर्ष) बढी समय पूरा भएकोछ । त्यस सन्दर्भमा यहां कमरेड पुष्पलालले नेपालको कम्युनिस्ट आन्दोलनमा दिएको योगदान लगायतका विषयहरुका बारेमा संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएकोछ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक
नेपाल कम्युनिष्ट पार्टीको स्थापना कमरेड पुष्पलालको पहल र नेतृत्वमा सोभियत संघको कम्युनिस्ट पार्टीका नेता तथा महान अक्टोबर समाजवादी क्रान्तिका नायक भ्लादिमिर लेनिनको ८०औं जन्म दिवसको अवसरमा २२ अप्रिल, १९४९ तदनुसार वि.सं. २००६ साल बैशाख १० गतेका दिन भारतको पश्चिम बङ्गाल राज्यको राजधानी शहर कलकत्ता (कोलकाता) मा भएको थियो । यद्यपि नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा प्रकाशन भएको दिन अप्रिल २२ वा पार्टीको घोषणापत्र प्रकाशित भएको दिन १५ सेप्टेम्बर मध्ये कुनलाई पार्टी स्थापना दिवस मान्ने भन्ने विषयमा भने मतान्तर रहंदै आएकोछ ।
ने. क. पा. को संस्थापन दिवस सम्बन्धि विवाद भन्ने शिर्षकमा कृण्णदास श्रेष्ठले यसरी उल्लेख गर्नु भएकोछः
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएपछि धेरै बर्षसम्म (करिब २५ बर्षसम्म) कम्युनिस्ट आन्दोलनमा यो विवाद उठेको थिएन । पार्टीका संस्थापकहरुले १५ सेप्टेम्बरको दिनलाई पार्टी दिवस मनाउने निर्णय गरेका थिए । तदनुसार, २०३१ सालसम्म नेपाली कम्युनिस्टहरुले १५ सेप्टेम्बरका दिन पार्टी दिवस मनाउंदै आएका थिए । त्यसपछि आएर २२ अप्रिलका दिन पार्टी दिवस मनाउनु पर्छ भन्ने आवाज उठाइयो । चौथो महाधिवेशनबाट यो आवाज उठेको पाइन्छ । (कृष्णदास श्रेष्ठ, संकलित रचनाहरु भाग १, पृष्ठ १४७)।
पार्टी स्थापना पश्चात कमरेड पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव चयन हुनुभएको थियो । कमरेड पुष्पलाललाई नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्ने ऐतिहासिक कार्यमा साथ–सहयोग दिनेमा अन्य तीनजना सहयोद्धा संस्थापक कमरेडहरु मध्येमा कमरेड निरन्जन गोविन्द वैध, कमरेड नर बहादुर कर्मचार्य र कमरेड नारायण विलाश जोशी रहेका थिए । अर्का एकजना कमरेड मोति देवी पनि पार्टी संस्थापक सदस्य रहेको विषय भने विवादित रहेकोछ । त्यसरी कम्युनिस्ट घोषणा–पत्र प्रकाशमा आएको एक शताब्दी पछि मात्र नेपालमा कम्युनिस्ट पार्टी स्थापना गरेर विश्व कम्युनिस्ट आन्दोलनको अङ्गको रुपमा थप योगदान दिने कामको प्रमुख श्रेय कमरेड पुष्पलाललाई नै जान्छ । यसरी जम्मा चार, पांचजना कमरेडहरुको पहलमा नेपाल कम्युनिस्ट पार्टीको गठन तथा निर्माण भएको थियो ।
जम्मा चारजना व्यक्तिहरु मिलेर कम्युनिस्ट पार्टीको स्थापना स्वदेश भित्रै बसेर स्थापना नगरी विदेशी भूमिमा जानु कारण त्यसबेला पश्चिम बङ्गालको राजधानी कोलकातामा कम्युनिस्ट पार्टी र आन्दोलनको प्रभाव बढी रहेको र त्यसबेला देशमा कायम रहेको निरङ्कुश जहानीयां राणा शासनको क्रुरतम दमनचक्रबाट जोगिनका लागि थियो भनेर बुझ्न सकिन्छ । किनभने त्यसभन्दा अगाडी राणा शासनका विरुद्धमा आवाज उठाउने एवम् संगठन गर्ने अगुवाहरुलाई झुन्ड्याएर र गोलीहानेर निरशंस तरिकाले हत्या गरिएको जगजाहेर थियो । ती मध्ये शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई रुखमा झुन्ड्याएर मारिएको थियो भने दशरथ चन्द र गङ्गालाल श्रेष्ठ–कमरेड पुष्पलालका सहदोर दाजू थिए–लाई गोली हानेर हत्या गरिएको थियो । टंक प्रसाद आचार्य र रामहरि शर्मालाई भने चारपाटा मुडेर सजाय दिईएको थियो, किभने त्यसताका ब्रहमाणका लागि चारपाटा मुडेर सजाय दिनु भनेको मृत्युदण्ड दिनु समान मानिने प्रचलन रहेको थियो भनिन्छ।
आधारभूत दस्तावेजहरुको प्रकाशन
नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेपछि पार्टी कामलाई अगाडी बढाउन आवश्यक पर्ने आधारभूत दस्तावेजहरु प्रकाशित गर्ने महत्वपूर्ण काम अगाडी बढेको थियो । कमरेड पुष्पलालको नेतृत्वमा २२ अप्रिल, १९४९ तदनुसार २००६ साल वैशाख १२ गतेका दिन “नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता–अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाउ” नामक शिर्षकमा नेपाल कम्युनिष्ट पार्टीको सबभन्दा पहिलो पर्चा प्रकाशित गरेको थियो । (कृष्णदास फाउन्डेशन–२०७५) । त्यसैगरि वहांकै नेतृत्वमा १५ सेप्टेम्बर १९४९ तदनुसार २००६ साल भदौ ३० गतेका दिनमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणा–पत्र प्रकाशित भएको थियो । (उही) ।
त्यस दिनमा पार्टीको घोषणापत्र सहित एउटा पाक्षिक प्रकाशन पनि भएको कुरा कृष्णदास श्रेष्ठले यसरी उल्लेख गर्नु भएकोछः
मोहनध्वज गुरुङद्वारा लिखित “नेपालमा कम्युनिस्ट आन्दोलनबारे टिप्पणीहरु” (अंग्रेजीमा) शिर्षकको एउटा लेखमा १५ सेप्टेम्बर १९४९ मा नेपालमा “कम्युनिस्ट पाक्षिक प्रचारपक्ष” पहिलो पटक प्रकाशित भएको” समेत उल्लेख गर्दै भनिएकोछः “ने. क. पा. को घोषणापत्रको प्रकाशन सहित उक्त पत्रिका १५ सेप्टेम्बर, १९४९ मा छापिएको थियो । त्यो त्यस्तो पहिलो दस्तावेज हो, जसले ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट नेपाली इतिहासको अध्ययन गर्यो । उक्त दिन ज्यादै प्रतिकात्मक छ र ठूलो ऐतिहासिक महत्वको छ ।(कृष्णदास श्रेष्ठ, संकलित रचनाहरु भाग १, पृष्ठ १४७)।
कमरेड पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्न माक्र्स–एंगेल्स द्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्र को नेपाली भाषामा अनुवाद गर्नु भएको थियो । सम्भवतः नेपाली भाषामा प्रकाशित भएको सबभन्दा पहिलो साम्यवादी विचारधारा सित सम्बंधित साहित्य यही नै थियो भन्दा अत्युक्ति हुंदैन । लेनिने “यो सानो पुस्तिका धेरै पुस्तकहरूको बराबर हो, यस पुस्तकले सभ्य संसारका सबै संगठित र संघर्षरत सर्वहाराहरूलाई प्रेरणा र मार्गनिर्देशन गर्दछ” भनेर भनेर कम्युनिस्ट घोषणापत्रको प्रसंशा गर्नु भएकोछ ।
नया“ जनवादको पक्षपोषण र संशोधनवादको विरोध
नेपाल कम्युनिस्ट पार्टीको वि.सं. २००८ मा सम्पन्न भएको प्रथम सम्मेलनले आफ्नो कार्यक्रम नयां जनवाद पारित गरेको थियो। नेपाल कम्युनिष्ट पार्टीको २०१० सालमा सम्पन्न प्रथम महाधिवेशन देखि नै सच्चा क्रान्तिकारी कम्युनिस्टहरु र कम्युनिस्ट आन्दोलनमा घुस्न सफल भएका दक्षिणपन्थी, संशोधनवादी एवं अवसरवादी तत्वहरुका बीचमा गम्भिर मतभेत सुरु भैसकेको थियो । त्यसको ज्वलन्त उदाहरणका रुपामा महाधिवेशन द्वारा पार्टीको महासचिव जस्तो सर्वोच्च नेतृत्वमा दरबारीया केशरजङ्ग रायमाझी चयन हुनुलाई लिन सकिन्छ । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीको २०१९ सालमा सम्पन्न भएको तेस्रो महाधिवेसन द्वारा तुलसीलाल अमात्य महासचिव चयन भएसंगै “राष्ट्रिय प्रजातन्त्र” को कार्यक्रम पारित गरेपछि सैद्धान्तिक, राजनितिक र संगठनात्मक सबै दृष्टिकोण बाट छिन्नभिन्न भएको थियो । त्यसैले पार्टीको पुनः पुनर्गठनको प्रक्रियाको शुरुवात भएको थियो ।
त्यसै दौरानमा कमरेड पुष्पलालको पहल र नेतृत्वमा २०२५ सालमा सम्पन्न गोरखपुर सम्मेलनले माक्र्सवाद–लेनिनवाद र माओ–त्सेतुङ विचारधाराको पक्षमा र तत्कालीन सोभियत संघको कम्युनिस्ट पार्टीका नेता निकिता खुश्चेभ र तत्कालीन युगोस्लाभियाका नेता जोसिप ब्रज टिटो द्वारा पारित “राष्ट्रिय प्रजातन्त्र“ को संशोधनवादी कार्यक्रमलाई अस्वीकार गर्दै नयां जनवादी क्रान्तिको कार्यक्रम अगाडि सार्ने काम गरेको थियो । त्यो सम्मेलनले सामन्तवाद, विशेष गरेर राजतन्त्र र नेपाली जनता विचको अन्तरविरोधलाई मुख्य अन्तरविरोध ठहर गर्दै राजतन्त्र विरोधी राजनीतिक शक्तीहरुका बीच संयुक्त मोर्चा वा सहकार्यको नीतिमा जोड दिएको थियो । र चीनमा कमरेड माओ–त्सेतुङको नेतृत्व एवम् निर्देशनमा सन्चालन भएको महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई समर्थन गर्ने नीति लिएको थियो । गोरखपुर सम्मेलनले तत्कालिन सोभियत संशोधनवादको विरोध गरेता पनि त्यसलाई सामाजिक साम्राज्यवाद भन्ने प्रश्नमा तटस्थ र अस्पष्ट रहेको र नेपाली कंग्रेसको वर्ग चरित्रको विश्लेषण गर्ने कुरामा कमजोरी रहेको भएता पनि कमरेड पुष्पलाल आफ्नो जीवन पर्यन्त क्रान्ति र परिवर्तन प्रति अविचलित रुपमा दृढतापूर्वक संघर्षमा डटिरहनु भयो ।
संयुक्त आन्दोलन सम्बन्धी दृष्टिकोण
अहिले हामीले नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनका सन्दर्भमा कमरेड पुष्पलाललाई स्मरण गरिरहंदा राजनीतिक र सामाजिक परिवर्तनलाई सफल तुल्याउनका लागि उहांले अपनाउनु भएको साझा शत्रुका विरुद्ध मुद्दा मिल्ने शक्तिहरुका बीचमा सहकार्यलाई जोडदिनु पर्ने नीतिको अत्यन्त ठुलो महत्व रहेकोछ । वहांले अपनाएको नीति माक्र्सवाद, लेलिनवाद र माओ–त्सेतुङ विचारधारामा आधारित थियो। जस्तो कि लेलिनले रुसमा जारशाहीलाई समाप्त गर्नका लागि सामाजिक क्रान्तिकारीहरु संग समेत मिलेर संघर्ष गर्नुभएको थियो ।
वि. सं. २०१५ सालमा भएको संसदीय आम चुनावमा नेपाली कंग्रेस पार्टीले दुई तिहाई निर्वाचन क्षेत्रमा बहुमत हासिल गरेको थियो र उक्त पार्टीका नेता विश्वेश्वर प्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा सरकार गठन भएको थियो । तर राजा महेन्द्रले वि. सं. २०१७ पौष १ गतेका दिन उक्त जननिर्वाचित सरकारलाई अपदस्त गरेर साथै संसदीय व्यवस्थालाई विघटन गरेर कथित निर्दलीय निरङकुश तानाशाही पञ्चायती व्यवस्था लादेका थिए । कमरेड पुष्पलालले नेपालको तत्कालिन राजनीतिक अवस्थालाई मध्यनजर गर्दै निरङ्कुश तानाशाही पन्चायती व्यवस्थाको अन्त्य गर्नका लागि कम्युनिस्ट र कंग्रेस मिलेर संघर्ष गर्नु पर्दछ भनेर प्रस्तुत गरेका संयुक्त आन्दोलन सम्बन्धी दृष्टिकोण महत्वपूर्ण रहेकोछः
पञ्चायती व्यवस्था कायम भएमा देशका समस्त सामन्तहरु जो अहिले धेरै मात्रामा असंगठित भएकाछन संगठित हुने मौका पाउंदछन र देशमा फेरी केही बर्षसम्म सामन्ती दबदबा कायम रहनेछ । नेपाल कम्युनिस्ट पार्टीलाई यस कुरामा पूर्ण विस्वास छ कि जुन देशवासीहरुले सामन्त शाहीको विरुद्ध कैयौं वर्षदेखि कठिन संघर्ष गर्दैआए र प्रजातान्त्रिक व्यवस्था कायम भएको बेलामा पनि प्रजातन्त्रको पूर्ण समृद्धिको निम्ति संघर्ष गर्दै आए ती आज पनि संघर्षमा पछि हट्ने छैनन् । वास्तवमा पछि हटेका पनि छैनन् । विभक्त भएमा हामी विफल र संयुक्त भएमा हामी सफल हुनेछौं । राजाको आश्वासन तथा संसदीय प्रजातन्त्र भन्दा तल्लो कुनै पनि स्तरको राजनीतिक व्यबस्था आजको संकटको समाधन हुन सक्दैन । यस कुरालाई समस्त देशवासीहरुले मनन गर्नु परेकोछ । अतः अन्तमा फेरी एकचोटि नेपाल कम्युनिस्ट पार्टी जोडदार रुपमा समस्त प्रजातान्त्रिक शक्तिसंग संयुक्त भई राजा महेन्द्र र सामन्ती व्यवस्थाको विरुद्ध संसदीय प्रजातान्त्रिक व्यवस्थाको पूर्ण स्थापनाको निम्ति संघर्ष गर्न अपिल गर्दछु । (पुष्पलाल, छानिएका रचनाहरु, भाग २, पृष्ठ १३) ।
वामपन्थि एकताको सम्बन्धमा
कमरेड पुष्पलालले वामपन्थी शक्तिहरु र तीनिहरुका बीचको एकताको विषयका सम्बन्धमा पनि स्पष्ट पार्दै त्यसबारे आफ्नो दृष्टिकोण यसरी प्रस्तुत गर्नु भएकोछ, जसले अहिलेको अवस्थामा पनि निकै महत्व राख्दछ। जुन यसप्रकार रहेकोछः
वामपन्थी एकताको अर्थ जसरी अरुअरु देशमा व्यापक अर्थमा उठेको हुन्छ। सो अर्थमा हाम्रो देशमा उठेको छैन। हाम्रो बीच यो प्रश्न एक संकीर्ण अर्थमा उठाएईएकोछ । एक कुनै ऐतिहासिक तर पुरानो भएको सामाजिक व्यबस्थामा आमूल परिवर्तन चाहने तत्व या शक्तिलाई वामपन्थी शक्ति भनिन्छ र यस्ता शक्तिहरुको बीचको एकतालाई वास्तविक अर्थमा वामपन्थी एकता भनिन्छ। यस अर्थमा वामपन्थी एकता भने देशका कम्युनिस्ट शक्तिहरुको अतिरिक्त अन्य राजनीतिक शक्तिहरु पनि वामपन्थी शक्ती भित्र पर्न आउंछन्। हाम्रो देशमा वामपन्थी एकताको प्रश्न उठाउने व्यक्तिहरुले यस अर्थमा यो प्रश्न उठाएका छैनन् । देशमा माक्र्सवाद, लेनिनवाद र माओ–त्सेतुङ्ग विचारधारालाई मान्ने कम्युनिस्टहरु बीचको एकतालाई वामपन्थी एकताको एक रुपमा उठाएकाछन् । अब प्रश्न उठ्दछ, यदि कसैले माओ विचारधाराको घुम्टोमा गद्दार माझिले अपनाउंददै आएको राजनीति अपनाउंछ भने के हामी त्यो राजनीतिको समर्थन गर्न सक्छौ? अवश्य पनि सक्दैनौ । (पुष्पलाल, छानिएका रचनाहरु, भाग २, पृष्ठ ७७)।
महासचिवबाट पदच्युति तथा “गद्दार” घोषणा
वि. सं. २००८ सालमा भएको नेपाल कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले कमरेड पुष्पलालाई पुनः पार्टीको महासचिवमा निर्वाचित गरेको थियो । तर वहांलाई महासचिव निर्वाचित भएको ६ महिना पछि नै पार्टीको केन्द्रीय समितिको बैठक समेत नबोलाएर पोलिटब्युरोको बैठकद्वारा महासचिव पदबाट पनि अपमानजनक तरिकाले हटाएर मनमोहन अधिकारीलई महासचिव बनाईएको थियो ।
मनमोहन अधिकारी पार्टीको महासचिव चयन भएपछि चीनको कम्युनिस्ट पार्टीको निमन्त्रणा अनुसार सन १९५६ मा सम्पन्न भएको चीनीयां कम्युनिस्ट पारेटीको आठौं महाधिवेशनमा सहभागीहुन चीन भ्रमणमा जानुभएको थियो र स्वास्थोपचारकोलागी लामो समयसम्म चीनमै बस्नुभएको थियो । परिणामस्वरूप वि. सं. २०१४ सालमा सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा केशरजङ्ग रायमाझी जस्ता दरबारीया तत्वले महासचिव निर्वाचित भएर पार्टी नेतृत्व कब्जागर्न सफल भएका थिए ।
कमरेड पुष्षलालले प्रस्तुत गरेका विचारलाई आधार बनाएर तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (मशाल) ले “गद्दार” घोषणा गरेको थियो । त्यसैको परिणामस्वरुप वहांको मरोपरान्त कमरेड निर्मल लामाले पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाललाई “कमरेड” भनेर सम्बोधन गर्दै शोक वक्तव्य दिएकोमा आपत्ति जनाउंदै आलोचना र खण्डन समेत गरिएको थियो । उक्त “गद्दार” घोषणाको प्रमुख आधार भने कमरेड मोहन विक्रम सिंह द्वारा लिखित पुस्क “गद्दार पुष्पलाल” रहेको थियो ।
वि. सं. २०४२ मा नेपाल कम्युनिस्ट पार्टी (मशाल) मा विभाजन भएपछि छुट्टै नेपाल कम्युनिस्ट पार्टी (मसाल) को गठन भयो । कालान्तरमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले त्यसरी संस्थापक महासचिव कमरेड पुष्पलाललाई “गद्दार” घोषणा गर्नु सर्वथा गलत थियो भन्ने निष्कर्षमा पुगेर त्यसलाई खारेज गरेको थियो । तर कमरेड मोहन विक्रम सिंहले चाहिं पुस्तकको शिर्षक नै “गद्दार पुष्पलाल” राख्नु गलत थियो तर त्यसमा व्यक्त गरिएका विचार भने सहिछन् भन्ने दृष्टिकोण राख्नु भएको थियो । पछि वहांले “गद्दार पुष्पलाल” भन्ने शिर्षक हटाएर त्यसको सट्टामा पुस्तकको शिर्षक “क्रान्ति वा भ्रान्ति” राखेर प्रकाशित गर्नुभयो ।
उक्त पुस्तकको मिति २०५२ चैत्र १९ गते लेखिएको भूमिकामा कमरेड मोहन विक्रम सिंहले यसरी उल्लेख गर्नु भएकोछः
“नेपालको कम्युनिस्ट आन्दोलनमा पी. एल. ले प्रशस्त भ्रम दिएकाछन् र ती भ्रमहरु अहिलेपनि दक्षिणपन्थी अवसरवादका वैचारिक आधार बनेकाछन् । खास गरेर कांग्रेस परस्त पुंजीवादी संसदीय प्रजातन्त्र, विभिन्न देशी वा विदेशी दुश्मन शक्तिहरुको विश्लेषण सम्बन्धि प्रश्नहरुमा पी. एल. ले प्रशस्त भ्रम दिएकाछन् र त्यसैले दक्षिणपन्थि अवसरवादीहरुकालागि पी. एल. अहिले पनि ‘आदर्श कम्युनिस्ट’ मानिन्छन् । त्यसकारण आजको कम्युनिस्ट आन्दोलन वा राष्ट्रिय तथा जनतान्त्रिक आन्दोलनलाई सही दिशामा अगाडी बढाउन पी. एल. का वैचारिक भ्रान्तिहरुका विरुद्धको संघर्षले आज पनि महत्व राख्दछ । त्यसैले यो पुस्तकलाई यद्यपि शीर्षक बदलेर, पुनः प्रकाशित गर्ने निर्णय गरिएकोछ र त्यो पुस्तकको पुरानो शिर्षकलाई यो भूमिकामा उल्लेख पनि गरिएको छैन ।” (मोहन विक्रम सिंह, क्रान्ति वा भ्रान्ति) ।
कमरेड पुष्पलाललाई कंग्रेस परस्त आरोप लगाएर “गद्दार” घोषणा गरेका कमरेड मोहन विक्रम सिंह र वहांले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल) को संसदीय निर्वाचन र राज्यका अन्य निकाय तथा संयन्त्रहरुमा स्थान प्राप्तगर्न नेपाली कंग्रेस पार्टीसंगको आपसी सम्बन्ध, सहकार्य र लेनदेन कस्तो रहेकोछ भन्ने कुरा स्वतः स्पष्ट रहेकोछ । र त्यसबारे यहां थप व्याख्या गर्नुपर्ने आवश्यकता पर्दछ जस्तो लाग्दैन । यसरी नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने प्रमुख पहलकर्ता र पार्टीको संस्थापक महासचिवलाई “गद्दार” घोषणा गरेर तेजोवध गर्न खोज्नु लज्जास्पद एवम् हास्यास्पद कार्य थियो ।
उपरोक्त यावत परिघटनाहरुका वाबजुद पनि नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा पार्टीको संस्थापक महासचिवको हैसियतले कमरेड पुष्पलालको सम्मान शिर्षस्थानमा नै अवस्थित रहेको छ र रहनेछ।
अन्त्यमा केहि थपकुराहरु
कमरेड पुष्पलालले जहानीयां राणा शासनको विरुद्धमा गतिविधि गरेको आरोपमा वि. सं. १९९७ सालमा बन्दी अवस्थामा रहेका आफ्ना दाजू शहीद गङ्गालाल श्रेष्ठलाई गोली हानेर हत्या गर्ने ठीक एकदिन अगाडी भद्रगोल जेलमा सपरिवार भेट्न जानु भएको रहेछ। त्यतिखेर गङ्गालालले पुष्पलाललाई यसरी सम्बोधन गरेका रहेछन्, “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैंले प्रज्वलित पार्नेछस् ।” दाजूको यही भनाई नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बनेको थियो ।
कमरेड पुष्पलाललाई नेपालको साम्यवादी आन्दोलनको जनक मान्नु पर्दछ भन्नेमा दुईमत हुन सक्दैन। नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिवको हैसियतले कमरेड पुष्पलाललाई नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेर सम्पुर्ण शोषित, पिडित वर्गको हितको पक्षमा संघर्ष र आन्दोलनको थालनी गर्ने श्रेय स्वतः जान्छ नै त्यसका अतिरिक्त वहांको जीवनबाट नेपालका कम्युनिस्टहरु र कम्युनिस्ट पार्टीहरुले सिक्नु पर्ने कुरा भनेको त्याग, लगनशिलता, सादगी र जस्तोसुकै अभाव र समस्याका वाबजूद पनि क्रान्ति र परिर्तनका लागि उत्साहपूर्वक निर्भिकताका साथ संघर्षमा अगाडि बढीरहनु नै हो भन्ने प्रष्ट हुन्छ ।
आज हामीले प्रष्टसंग भन्नु पर्दछ कि आफूलाई क्रान्ति र परिवर्तनको वाहक बताउने कतिपय कम्युनिस्ट पार्टीका अगुवा नेताहरु नै कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनको लक्ष्य, उद्देश्य र आदर्शबाट बिचलित भै हदैसम्म पतनको दिशामा अगाडी बढिरहेकाछन् । कम्युनिस्टको नाममा कम्युनिस्ट आन्दोलनलाई नै विकृति र भड्कावका दिशामा लैजान चाहने र खोज्ने त्यस प्रकारका तत्वहरुका विरुद्ध सच्चा क्रान्तिहारीहरुले अथक र निरन्तर संघर्ष कायम राख्नु पर्दछ। त्यसो गरेर मात्र हामीले कमरेड पुष्पलाल प्रति सच्चा आदर र सम्मान व्यक्त गर्न सक्ने छौं र उहांलाई स्मरण गर्नुको औचित्य रहनेछ ।
नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन सम्म मात्र जनतन एकीकृत अवस्थामा रह्यो। त्यसपछि अविभाजित रुपमा आफ्नो अर्को अधिवेशन सम्पन्न गर्न सकेन र कम्युनिस्ट आन्दोलनमा टुट–फुट र विभाजनको श्रृङ्खलाको क्रम एक पछि अर्को गर्दै बढ्दै गयो र त्यो सिलसिला यद्यापि कायम रहेकोछ । त्यति मात्र होईन यसरी विभिन्न कालखण्डमा विभाजन र एकताको प्रकृया बाट गुज्रदै आएको नेपालको कम्युनिस्ट आन्दोलनका घटकहरु मध्ये माक्र्सबाद, लेनिनबाद माओवाद तथा माओ–त्सेतुङ विचारधारालाई मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार गर्ने र बल प्रयोगको सिद्धान्तलई स्वीकार गर्ने पार्टीहरु समेत विभाजित अवस्थामा अलग–अलग भएर रहेका छन् ।
अहिले देशमा राजतन्त्रको अन्त्य भएको र लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि करिब दुई दशक भइसकेकोछ। संविधानमा संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातीक प्रतिनिधित्वको प्रावधान र व्यबस्था राखिएको भएतापनि आन्दोलनबाट हासिल गरिएका ती उपलब्धीहरुलाई आम नेपाली जनसमुदायहरुको व्यापक हितका पक्षमा कार्यान्वयनगर्ने काम भएकोछैन। त्यसका विपरीत आफूलाई वामपन्थी र लोकतान्त्रीक बताउने पार्टी र शक्तीहरुले नै राष्ट्रघाती, जनघाती काम गरिरहेकाछन् भने भ्रष्टचारमा लिप्त भएर द्रव्य पिचासमा परिणत भएकाछन् । समग्र राज्यसत्ता दलाल र विचौलियाहरुको पृष्ठपोषक बन्न पुगेकोछ र वास्तवमा यस्तो स्थितिको सिर्जना हुनपुग्नु भनेको बिडम्बनापूर्ण अबस्था नै हो । यो व्यबस्था छोटो समयमा नै जनविरोधि एवम् प्रतिकृयावादमा पतनहुन पुगेकोछ ।
यस्तो अवस्थामा विगतका आन्दोलन र संघर्षका केही उपलब्धिहरु जस्तैः संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक प्रतिनिधित्वको व्यवस्था र लोकतान्त्रिक गणतन्त्रलाई मात्रात्मक रुपमा प्रगतिशिल परिवर्तन मान्दै उत्पीडित वर्ग, मजदुर, किसान, दलित, महिला, आदिवासी जनजाति, तराईवासी मधेसी समुदाय, दुर्गम र दुरवर्ति क्षेत्रका हकहितलाई प्रत्याभूत गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, र सामाजिक सुरक्षा एवम् न्यायलाई जनताको हक र राज्यको दायित्वभित्र पार्ने जस्ता सुधारात्मक परिवर्तनका कामलाई पुरागर्ने जस्ता जिम्मेवारी समेत क्रान्तिकारी पार्टी र शक्तीहरुको कांधमा आईपुगेकोछ ।
त्यसकालागि माक्र्सवाद, लेनिनवाद र माओववाद तथा माओ–त्सेतुङ विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने र बल प्रयोगको सिद्धान्तलाई अंगीकार गर्दै नयां जनवादी क्रान्तीको चरण सम्पन्न गरि वैज्ञानिक समाजवाद र साम्यवादको बाटोमा अगाडी बढ्ने क्रान्तिकारी कम्युनिस्टहरुको बीचमा सहकार्य र संयुक्त मोर्चा मात्र होईन एकीकरण र ध्रुविकरणको दिशामा अगाडी बढ्नु पर्दछ । साथसाथै ती मुद्दाहरुमा संघर्ष र आन्दोलनमा आउन सक्ने र चाहने सबै पक्षहरुसंग व्यापक सहकार्य र कार्यगत एकता गरेर अगाडि बढ्नु पर्दछ ।
त्यसरी नै हामीले नेपालमा नयां जनवादी क्रान्ति सम्पन्न गर्ने दायित्व पूरा गर्दै विश्व क्रान्तिको दिशालाई अगाडी बढाउनमा समेत थप योगदान दिन समर्थ हुनेछौं। त्यसो गरेर नै हामीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले लिएका उदेश्य र विचारबाट शिक्षालिन सक्नेछौं । र सही अर्थमा वहां प्रति सम्मान प्रकटगर्न सक्नेछौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित