पेट्रोलियम तथा खनिज पदार्थको उत्खनन्

नेपाल प्राकृतिक साधन स्रोतले भरिपूर्ण देश हो । यहाँ पानी मात्रै होइन, बहुमुल्य जडिबुटी,जंगल , खानी तथा खनिज र धातुजन्य पदार्थहरु छन् । नेपालको हिमाल, पहाड,तराइँमा रहेका प्राकृतिक साधन स्रोतको उत्खनन् तथा सदुपयोग हुन सकेको छैन । यी साधन स्रोतको सदुपयोग हुन पाएमा नेपाल समृद्धिको दिशामा अगाडि बढ्ने छ ।
नवलपुरको हुप्सेकोटस्थित धौवादी फलाम खानी पत्ता लागेको छ । हुप्सेकोटको ४१ वर्ग किलोमिटरमा फैलिएको क्षेत्रमा फलाम खानी रहेको बताइएको छ । फलाम खानीमा ९ करोड ९० लाख टन फलाम रहेको र ९ करोड ६० लाख टन उत्खनन् गर्न मिल्ने भूगर्भविदहरुले बताएका छन् । यो फलाम खानीबाट दैनिक १५ सय टन फलाम उत्पादन गर्न सकिने बताइन्छ । नेपाल सरकारले धौवादी फलाम खानी लिमिटेड २०७६ मा स्थापना गरेको थियो । फलाम खानी सन्चालनमा आएपछि २५ सयले प्रत्यक्ष र २५ हजारदेखि ३० हजारले अप्रत्यक्ष रोजगारी प्राप्त गर्न सक्ने,फलाम तथा स्टिल आयातको २५ प्रतिशत भन्दा बढी माग पूरा गर्न सकिने, वार्षिक डेढ अर्ब रुपैया बराबरको फलाम आयातलाई प्रतिस्थापन गर्न सक्ने बताइएको छ । यो फलाम खानी सञ्चालनकोलागि सरकारी नेतृत्वमा निजी क्षेत्रको सहभगितामा सञ्चालनमा ल्याउनु पर्दछ भनेर छलफलहरु पनि चल्ने गरेको छ ।
त्यस्तै नेपालको दैलेख जिल्लाको भैरवी गाउँपालिका १ जलजलेमा १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको पत्ता लागेको छ । दैलेखको जलजलामा ४ सय ३० अर्ब घनमिटर ग्यास हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । सो ग्यासले ५० वर्ष सम्मकोलागि धान्न सक्ने बताइएको छ । सो ग्यास अन्वेषणकोलागि २०७२ को चैत्रमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्मा सहकार्य गर्ने सहमति भएको थियो ।२०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनी बीचमा दैलेखमा रहेका पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न सहमति भएको थियो । ग्यासको गुणस्तर ,व्यवसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांसका विषयमा विस्तृत परीक्षण बाँकी नै छ । अन्वेषणमा संलग्न कम्पनीले अन्तिम प्रतिवेदन २०२५ डिसेम्बरमा नेपाल सरकालाई बुझाउँदैछ ।
दैलेखमा मिथेन ग्याँस भण्डार पत्ता लागेपछि प्रधानमन्त्री के.पी. शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका छन् ।
त्यस्तै धौवादी फलाम खानीबाट २०८५ साल अघि नै फलाम÷स्टिल उत्पादान गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न पनि निर्देशन दिएका छन् । यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारले सहयोग गर्ने पनि प्रधानमन्त्रीले बताएका छन् । नेपालमा मिथेन ग्यासको भण्डार रहेको कुरा ,फलाम खानी सञ्चालन योग्य फलाम खानी रहेको कुरा नेपाल र नेपालीहरुको लागि निकै खुशीको कुरा हो । नेपालको भौगर्भिक अवस्था यहाँको प्रकृति हेर्दा अझै उत्खनन् हुन ,खोज अनुसन्धान गर्न धेरै बाँकी छ ।
अहिले पत्ता लागेका खानीहरु चाँडो भन्दा चाँडो उत्खनन् गरी प्रयोगमा ल्याउनु पर्दछ । पत्ता लाग्न बाँकी खानी तथा खनिजहरुकोे खोज अनुसन्धानमा लाग्नु पर्दछ । नेपालमा भएका साधन स्रोतहरुको बढीभन्दा बढी उपयोगमा ल्याउन सबैले जोड दिनु पर्दछ ।त्यसकोलागि सबै प्रकारको सहयोग संरक्षणको आवश्यकता पर्दछ । त्यसकोलागि सरकारले निकै ध्यान दिनु पर्दछ । नेपालको सन्दर्भमा एउटा उखान प्रचलनमा छ । “सुनको कटौरा लिएर माग्न बसेको छ नेपाल” यहाँको साधन स्रोतहरु ,यहाँको सुन्दरता, यहाँको मौसम ,यहाँको हावापानी, यहाँ उत्पादन हुन सक्ने विद्युत, माटोको उर्वराशीलता सबै कुरा राम्रो हुँदा हुँदै पनि रोजगारीको खोजीमा नेपालीहरु विदेशी भूमिमा,रोजगारीको खोजीमा हिँड्नु परेको छ । यहाँको सरकार र नेपाली जनताले जान्ने हो भने यहाँको साधन स्रोतको सदुपयोग गरेर उद्योगहरु सञ्चालन गर्ने हो भने नेपालीहरु कामको खोजीमा हिँड्नु पर्ने छैन । स्वदेशी स्रोत साधनलाई उत्खनन् तथा विकासमा जोड दिउँ । उत्खनन्मा ढिलाढालापन नदेखाऔं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित