जनसम्बन्ध विस्तार र भ्रष्टाचार विरुद्ध अभियान

-कृष्णराज पौडेल
हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जन सम्बन्ध विस्तार अभियान पछि भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान संचालन गर्ने निर्णय गरेको छ । गत २०८२ जेष्ठ ६ देखि ९ गते सम्म सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिट ब्युरोको बैठकले संघर्ष सन्चालन गर्ने निर्णय गरेकोथियो । उक्त निर्णय अनुसार पार्टीको स्थायी समितिले भ्रष्टाचार विरुद्ध अभियान सन्चलन गर्ने निर्णय गरेको हो ।
२०८१ साल चैत्र ४ गते पाँचथर जिल्लाको चिवा भञ्ज्याङ झापा जिल्लाको काँकडभिट्टा , कञ्चनपुर जिल्लाको गड्डाचौकी र बैतडी जिल्लाको झुलाघाटबाट एक साथ उद्घाटन गरेर तराई र मध्य पहाडी क्षेत्रका जिल्लामा ४ वटा केन्द्रीय टोलीद्वारा जनसम्बन्धविस्तार अभियान संचालन गरी २०८२ साल वैशाख १८ गते अन्तर्राष्ट्रिय मई दिवसको अवसरमा काठमाडौंमा समापन गरिएको थियो । जनसम्बन्ध विस्तार अभियानको समीक्षा सहित आगामी कार्यक्रमबारे विचार गर्न बसेको गत जेष्ठको पि बि र स्थायी समितिको बैठकले जनसम्बन्ध विस्तार अभियानको विस्तृत रुपले सरीक्षा ग¥यो । ४५ दिनसम्म लगातार संचालन गरिएको उक्त अभियानमा जनभेटघाट, कोणसभा, भित्तेलेखन, पत्रकारहरुसँग भेटघाट, अन्तरवार्ता, श्रम शिविर, अन्तरकृया कार्यक्रम , शहिद तथा बेपत्ता, परिवारसँग भेटघाट, घाइते, अपांग योद्दाहरुसँग भेटघाट, मिटरव्याजी, लद्युवित्त, सहकारी र बैंक पीडितहरुको बीचमा भेटघाट र अन्तरक्रिया , भूमिहीन तथा सुकुम्बासी वस्ती तथा गाउँ, नगरपालिकाका प्रमुख,उपप्रमुख, वडा अध्यक्ष, सदस्य कर्मचारीहरु प्रमुख जिल्ला अधिकारी लगायत अन्य कर्मचारीहरू, विभिन्न राजनीतिक दलहरुका नेता तथा कार्यकर्ताहरु सँग भेटघाट, छलफल, अन्तरकृया आदि कार्यक्रमहरु संचालन गरिएको थियो । यसैगरी शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट र बर्दिया राष्ट्रिय निकुञ्जबाट पीडित, सुकुम्बासी, भूमिहीन, मुक्त कमैया, किसान, महिला, युवा, बुद्धिजीवी, सबै तह र तप्काका जनसमुदायहरु सँग भेटघाट, छलफलहरु भएका थिए । चैत्र महिना परेकोले स्कूलहरुमा परीक्षा चल्दै रहेकाले शिक्षक, विद्यार्थीहरुसँग भने भेटघाट गर्न सकिएन । स्कूल जाँदा वा घर फर्कंदा बाटो घाटोमा भेट भएका युवा विद्यार्थीहरुले राजनीतिक विषयमा कुरा सुन्नै चाहेनन ,यो तहले जेनतेन प्लस टु पास गर्ने र बैदेशिक रोजगारीमा जानको लागि प्रक्रिया शुरु गर्ने योजनामा लागेको पाइयो । फुर्सदको समयमा मोबाइल फोनको स्किनमा आँखा गाडेको छ, कसैको कुरा सुन्नै नचाहाने अवस्थामा युवा , विद्यार्थी पुगेका छन् ।
देशमा सबै क्षेत्रमा व्यापक निराशा छ । आम मानिसले अब यो देशमा केही हुँदैन । राजनीतिक दलका नेताले देश खाए । केही गर्न र पैसा कमाउन विदेश जानुपर्छ भन्ने मनोविज्ञान आम रुपमा पाइन्छ । राजनीतिक दलका तल्लो तहका कार्यकर्ताहरु जो सत्ताको पहुँचभन्दा बाहिर परेका छन् , उनीहरु अरु बढी निराश भएका छन् । कर्मचारीहरुमा अफ्नो कामप्रति कुनै जिम्मेवारीबोध छैन । केही अपवादलाई छाडेर जननिर्वाचित प्रतिनिधिहरु कमाउ धन्दामा लागेका छन् । देशको अर्थतन्त्र उकास्ने र सामाजिक सुधारद्वारा जनताका आधारभूत समस्याहरु समाधान गर्न कुनै योजना उनीहरुसँग छैन । जनताको निजी सम्पत्तिदेखि दैनिक उपभोग्य वस्तुमा अचाक्ली कर लगाइएको छ । साना उद्योगपतिहरुले विदेशमा उत्पादित वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर तवाह हुँदै गइरहेका छन् । साना व्यापारी व्यवसायीहरु आफ्नो पेशा, व्यवसाय नचलेर हैरान छन् । देशमा भएका प्राकृतिक बस्तुः गिटी, ढुंगा, वालुवा, वन पैदावार लगायतमा विचौलियाको ?कहालीमुहाली छ। विदेशी वस्तुले बजार ओगटेको छ । स्वदेशी उत्पादन पूरै समाप्त पारिएको छ । गाउँघर पाखा पखेरा बाँझो परेका छन् । गाउँघर खाली हुँदै गएका छन् । त्यहाँ बुढाबुढी र अशक्त नागरिक मात्र देखिन्छन् । शिक्षा, स्वास्थ्य र प्राकृतिक वस्तुहरु जमिन, जंगल, नदिनाला, विचौलिया र माफियाहरुको कब्जामा छन् । यसप्रकारका अनेकौं दुर्गतीहरु देश र जनताले बेहोर्नु परेको छ ।
यी सबै हुनुको पछाडिको मूल कारण भ्रष्टाचार नै हो । भ्रष्टाचार सम्पूर्ण क्षेत्रमा व्याप्त छ । भ्रष्टाचार र अनियमिततालाई रोक्ने र नियमन गर्ने निकाय भनेको सरकार र त्यसका विभिन्न अंगहरु नै हुन् । नेपाली सेना, प्रहरी, कर्मचारीतन्त्र, जननिर्वाचित इकाईहरु, अख्तियार, व्यवस्थापिका, न्यायालय, वैदेशिक व्यापार सम्बन्ध, यातायात, निर्माण, रोजगारी,शिक्षा, स्वास्थ्य लगायत यावत क्षेत्रमा डरलाग्दो भ्रष्टाचार छ । नेपालमा सरकार र प्रतिपक्ष मिलेर सेटिङमा भ्रष्टाचार गरिरहेका छन् । बहुदलीय व्यवस्था स्थापना हुनु भन्दा पहिले पंचायतीकालमा पनि ठूला ठूला भ्रष्टाचारका काण्डहरु हुने गर्दथे । धेरै जसो त भित्रभित्रै हुन्थे । कहिलेकाही सेटिङ नमिंलेर बाहिर आउथे । अहिले संचारमाध्यमहरूले भ्रष्टाचारका घटनाहरूलाई बाहिर ल्याउने गरेका छन् । भुटानी शरणार्थी प्रकरण, सुनकाण्ड, वाइडवडी जहाज काण्ड, गिरीबन्धु टी स्टेट, ललिता निवासकाण्ड, पतञ्जली प्रकरण लगायत दर्जनौं काण्डहरुबारे संचारमाध्यमहरुले बाहिर ल्याएका छन् । सरकारी कार्यालयहरुमा घुस र कमिशन यति व्यापक छ कि केही १–२ वटा घटना बाहिर आए पनि आम रुपमा दिनदिनै भित्रभित्रै सेटिङमा संस्थगतरूपले भ्रष्टाचार भैरहन्छ ।
जनसम्बन्ध विस्तार अभियानको सिलसिलामा देशभरि सबै तह र तप्काका जनसमुदायहरुबाट भ्रष्टाचारले सबैतिर वर्वाद भयो भन्ने आवाज सशक्त रुपले उठेको पाइयो । अभियानको समापन पछि समिक्षा बैठकमा यसविषयमा विस्तृत रुपले छलफल भयो । त्यसपछि पार्टी भ्रष्टाचार विरुद्धको अभियान संचालन गर्ने निश्कर्षमा पुगेर २०८२ साल असार ५ गते देशभरका जिल्लाहरुमा एकैदिन “भ्रष्टाचार विरुद्धको अभियान उद्घाटन गरियो । यो अभियानले भ्रष्टाचार हुने क्षेत्र, भ्रष्टाचारमा संलग्न व्यक्ति, संस्था, समूहहरुको पहिचान गरेर तथ्यपरक ढंगले छानवीन गर्ने छ । भ्रष्टाचारमा संलग्न भएको प्रमाणित भएमा त्यस्ता व्यक्ति, संस्था र समूहबारे जनसमुदायको बीचमा जानकारी गराइनेछ । आम रुपमा जनतालाई जागरुक बनाउन पर्चा, पोष्टर, भित्तेलेखन, पत्रपत्रिका, जनभेटघाट, कोणसभा र सभाको माध्यमबाट जनतलाई सुसूचित, जागरुक गराई जनकार्वाहीको प्रक्रिया अगाडि बढाइनेछ । तर यो काम त्यति सजिलो छैन । अहिले भ्रष्टाचार संस्थागत भएको छ । सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचारमा हाकिमदेखि पियनसम्म सबैले कानुनी प्रक्रिया पूरा गरेर र कानुन छलेर भ्रष्टाचार गर्दछन् । जनताका सानातिना कामहरु पनि अल्झाइदिएर, हैरान पारेर कार्यालय भन्दा बाहिरका लेखनदास र विचौलियासम्मले सेटिङमा भ्रष्टाचार गर्दछन् । गाउँपालिका,नगरपालिकाहरुमा त्यो भन्दा डरलाग्दो छ ।
मन्त्रालयहरुमा प्रायसः जनताको पहुँच नै हुँदैन । यी यावत समस्याहरु सतहमा देखिएका छन् । अहिले जनताको आन्दोलन कमजोर भएको बेला हो । ठूला राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी संयन्त्र, सेना, प्रहरी न्यायालय,अख्तियार सबैको मिलिभगतमा तस्कर, माफिया, विचौलिया, ठेकेदार लगायत भ्रष्ट तत्वहरु मिलेर सेटिङमा भ्रष्टाचार भइरहेको छ ।यो दलाल, नोकरशाह र सामन्तहरुको वर्चश्व भएको दलाल संसदीय व्यवस्थाको मूल चरित्र नै भ्रष्टाचार हो । भ्रष्टाचार खाली आर्थिक लेनदेन मात्र होइन । भ्रष्टाचार अर्थात् सबै अनैतिक र गर्नै नहुने कामहरु गर्नु, गराउनु , प्रोत्साहन गर्नु सबै भ्रष्टाचार हो । सत्ता राजनीतिको सम्पूर्ण चरित्र नै भ्रष्ट भएपछि यसका विरुद्ध जनतालाई जागृत गरेर यसलाई नियन्त्रण गर्नु नै आजको राष्ट्रिय आवश्यकता हो । नेपाली समाजको भ्रष्ट चरित्र र राज्य सत्ता र शासन सत्ताबाट हुने सबै भ्रष्टाचारका विरुद्ध सबै देशभक्त र जनवादी शक्तिहरु एकजुट हुन आजको राष्ट्रिय आबश्यकता बनेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित