काठमाडैँ। भारत भ्रमणका क्रममा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत कार्तिक ६गते भारतीय एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युगको अन्त्य भएको ’ बताएका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव हरिभक्त कडेलले वाग्लेको अभिव्यक्ति भारतीय विस्तारवादको दलालीको पराकाष्ठा हो भन्नुभएको छ । कार्यवाहक महासचिव हरिभक्त कडेलले हाँक टुडे सँग कुरा गर्दै भन्नुभयो “ भारत देश र भारतीय जनताको नेपालमा कसैले पनि विरोध गरेको छैन। भारतको हेपाहा विस्तारवादी मिचाहा प्रवृत्तिको नेपाली जनताले विरोध गर्दै आइरहेका हुन् ।”
महासचिव कँडेलले त्यस बारेमा अझ थप स्पष्ट गर्नुभयो ,“ प्रधानमन्त्री बालेनले संसदमा उभिएर नेपालले पनि भारतको जमिन मिचिएको छ भन्नु र अर्थमन्त्री वाग्लेले ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युगको अन्त्य भएको ’ भन्नु दुवैको भनाइमा एकरूपता देखिन्छ । दुवैको भनाइले भारतीय विस्तारवादी शासकहरूको दलाली गरेको देखिन्छ। यो सामान्य कुरा होइन । देशभक्त जनताहरूको निम्ति यो गम्भीर आपत्तिजनक कुरा हो। नेपाली जनताहरुले वर्षौं वर्षदेखि भारतीय विस्तारवादको विस्तारवादी, हैकमवादी र थिचोमिचो गर्ने प्रवृत्तिको विरोध गर्दै आइरहेका छन् र त्यही सङ्घर्षले नेपालको राष्ट्रिय स्वाधीनता बचेको छ, नेपाली जनताहरूको त्यही देशभक्तिपूर्ण आन्दोलनले नेपाल बचेको छ। त्यसकारणले गर्दा वाग्लेले नेपाली जनताको त्यस प्रकारको देशभक्तिपूर्ण संघर्षको इतिहासलाई अपमान गर्ने काम गरेका छन् ्। कालापानीमा भारतीय विस्तारवादले वर्षौंदेखि सेना राखिरहेको छ । अनाधिकृत रुपमा लिपुलेकको बाटो भएर भारतले चीनसित व्यापार गर्न थालेको छ । ् भारतका वर्तमान प्रधानमन्त्री मोदीले प्रबुद्ध व्यक्तिहरुको समूहले तयार पारेको प्रतिवेदनसम्म बुझ्न मानिरहेको छैनन्। यस्तो अवस्थामा वाग्लेले भारतको विरोध गर्ने युगको अन्त्य भयो भन्नु साँच्चिकै एउटा स्वाभिमानी नेपालीका लागि लज्जास्पद कुरा हो। ”
वाग्लेले त्यस प्रकारको अभिव्यक्ति दिनुको पछाडिको कारणबारे स्पष्ट गर्दै कडेलले भन्नुभयो, “वर्तमान बालेन सरकार झन् पछि झन् फासीवादी बन्दै गइरहेको छ । यो सरकार जनताको नजरमा बदनामित हुँदै गइरहेको छ ।आफ्नो फासीवादी सरकारको आयु लम्बाउनको निमित्त भारतीय शासकहरुले सहयोग गरिदिउन, उनीहरूको समर्थन होस् भन्ने हेतुले वाग्लेले भारतको दलाली गरेका हुन् ।”
यस स्थितिमा देशभक्त तथा वामपन्थीहरूले के गर्नुपर्छ भन्ने बारेमा आफ्नो भनाइ राख्दै कार्यवाहक महासचिव कँडेलले भन्नुभयो , “अर्थमन्त्री वाग्लेको यो भनाइ राष्टघातको एउटा पाटो मात्र हो। अर्थमन्त्री वाग्लेको भनाइले समग्र देशको राष्ट्रिय स्वाधीनता कति गम्भीर खतरामा छ भन्ने कुरा बुझ्न सकिन्छ । यस स्थितिमा राष्ट्रिय स्वाधीनताका विरुद्धमा आइरहेका चुनौतीहरुलाई सामना गर्न सम्पूर्ण देशभक्त तथा बाम शक्तिहरु एउटै मञ्चमा उभिने र संघर्ष अगाडि बढाउने वातावरण बनाउनुपर्छ । ”
्सुस्ता बचाउ अभियानका सल्लाहकार किसन शर्मा गैरेले हाँकसित भन्नुभयो, “अर्थमन्त्री वाग्ले कुन पृष्ठभूमिका हुन् ? उनको दृष्टिकोण कस्तो छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो। हामी नेपाल र हामी नेपाली जनताको निमित्त भर्खरै भारतीय टेलिभिजनमा उनले दिएको अन्तर्वार्ता अत्यन्त आपत्तिजनक छ। एकातिर बालेनले नेपाल सरकारले नेपालले पनि भारतको जग्गा मिचेको छ भन्नु अर्कोतिर वाग्लेले भारतको विरोध गर्ने युगको अन्त्य भएको भन्नु जस्ता कुराले हामी स्वाभिमानी नेपालीहरुलाई आक्रोशित बनाएको छ । हामीले कसैले पनि भारत र भारतीय जनताको विरोध गरेका छैनौँ। पर्यावरणीय संकट प्राकृतिक विपत्ति लगायतका कैयौं विषयहरुमा भारत र नेपालका जनताहरू मिलेर सँगसँगै काम गर्नुपर्ने हुन्छ। हामीले कसैले पनि भारत र भारतीय जनताको विरोध गरेका छैनौ भारतीय शासकहरुको हेपा प्रवृत्तिको हामीले विरोध गरेका हौ र अर्थमन्त्री वाग्लेले अहिले भारतमा जुन किसिमको अभिव्यक्ति दिएका छन् उनले त्यो अभिव्यक्ति फिर्ता गर्नुपर्छ । ”
भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा बोल्दै वाग्लेले नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पार्दै नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढेको बताएका थिए ्। तर नेपालको आर्थिक सूचकहरुलाई हेर्दा वाग्लेले भने जस्तो अवस्था छैन । वाग्लेले विगतमा दशकौंसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारत–विरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको भन्दै उनले भने , ‘तर, हाम्रो पुस्ता फरक छ। हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन्। हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ,. त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो।‘
लेखक रतन भण्डारीले वाग्लेको भनाइमा असहमति राख्दै आफ्नो फेस बुक पेजमा लेख्नुभएको छ – “मनरो डक्ट्रिनवादी अर्थमन्त्री वाग्लेजी फेरि दिल्ली पुगेर भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो भन्नुभएछ। वाग्लेजी, एउटा गम्भीर प्रश्न छ, भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भनेर कसले भनेको छ? कृपया राष्ट्रवादको गलत व्याख्या गरेर नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौम अधिकारको पक्षमा उठ्ने आवाजलाई अवमूल्यन नगर्नुहोस्।
नेपालको अहितमा कुनै पनि मुलुकबाट हुने थिचोमिचो, बलमिच्याइँ, हैकम, दादागिरी, हस्तक्षेप, सीमा अतिक्रमण र नदीनालामाथिको कब्जाको विरोध गर्नु राष्ट्रवादको संकीर्ण परिभाषा होइन, राष्ट्रिय स्वाभिमान र सार्वभौम अधिकारको रक्षा हो। यो कुनै देशप्रतिको शत्रुता होइन, अन्यायपूर्ण व्यवहार र प्रभुत्ववादी प्रवृत्तिविरुद्धको आवाज हो। देशको विरोध र देशका शासकहरूको गलत नीतिको विरोधबीचको भिन्नता बुझ्नु आवश्यक छ।
फेरि स्पष्ट पारौँ, यो भारत देशको विरोध होइन। भारतीय जनताको विरोध पनि होइन। यो नेपालमाथि भारतीय शासकहरूले अवलम्बन गर्ने अन्यायपूर्ण नीति, हैकमवादी रवैया, बलमिच्याइँ, सीमा अतिक्रमण र नदीनालामाथिको कब्जाविरुद्धको आवाज हो। मित्रता भनेको अन्याय सहनु होइन, र कूटनीति भनेको राष्ट्रिय हितमा सम्झौता गर्नु होइन।
जबसम्म नेपालले सीमा अतिक्रमण, अनुचित हस्तक्षेप र प्रभुत्ववादी व्यवहारबाट उन्मुक्ति पाउँदैन, तबसम्म देशभक्त नेपालीले यी प्रश्न उठाइरहनेछन्। व्यक्ति र पद परिवर्तन हुन सक्छन्, सरकारहरू आउन र जान सक्छन्, तर नेपालको सार्वभौम अधिकार र राष्ट्रिय स्वाभिमानको पक्षमा उठ्ने आवाज निरन्तर उठिरहनेछ । ”
ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समिति कार्यालय सदस्य/ सङ्गठन विभाग प्रमुख कृष्णहरि भट्टले हाँकसित भन्नुभयो, “नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा विभिन्न शीर्षकका कार्यक्रम र भेटघाटमा दिएका अभिव्यक्तिलाई लिएर प्रतिक्रियाहरू आइरहेका छन् । यस मामिलामा भन्नुपर्दा भारतीय सत्ताले नेपालमाथि गर्दै आइरहेको व्यवहारले उ नेपालको कस्तो शुभचिन्तक, सहयोगी र छिमेकी हो भन्ने यथार्थ बुझ्न सकिन्छ । नेपालमा नेपालीको प्रगतिको मुख्य बाधक भारतीय सत्ताको ओैपनिवेशिक सम्बन्धको निरन्तरतालाई मानेका छन् । साँचो कुरा त नेपालमा भारतीय सत्ता विरोधी जनमत छ । यो यथार्थलाई बुझेर उनीहरू सच्चिनु पर्दथ्यो त्यस्तो पनि भइरहेको छैन । सिद्धान्ततः कुनै देशको हामीहरू विरोधी भएर हाम्रो देश बन्ने हैन । हाम्रो देश बन्न त हाम्रो हातहरू, हाम्रा मनहरू, हाम्रा विचारहरू, हाम्रा योजनाहरू र हाम्रा सम्बन्धहरू हाम्रो हातमा हुनुपर्छ, हाम्रो नियन्त्रणमा हुनुपर्छ, हाम्रो निर्णयमा हुनुपर्छ तव हाम्रो समृद्धिको मार्ग खुल्छ । जुनसुकै रूपमा यसमा तगारो बन्नेहरू हाम्रा शुभचिन्तक वा मित्र हुन सक्दैन । चाहे छिमेकी हुन वा परका । जतिनै झगडा परेपनि आपतविपदमा काम आउने भनेको छिमेकी नै हो । भारतीय सत्तासीनहरूले ओैपनिवेशिक मानसिकताबाट माथि उठ्न जरूरी छ । नेपालमा भारत विरोधी नारामा भारतीय सत्ताको सेवा गर्नेहरू आफै निस्तेज हुन्छन । यस मामिलामा मन्त्रीले जत्तिको हैसियत राखेर बोलि व्यवहार गरिदिएको भए राम्रो हुन्थ्यो । हामी कसैको विरोधी भन्दा पनि नेपालको हितमा दृढ हुन जरूरी छ ।”

