हेमन्तप्रकाश ओली ‘सुदर्शन
“लुतो एउटा पीडादायी रोग हो । जब मानिसहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित हुन्छन् तब यो रोग देख्नेबित्तिकै असह्य पीडा हुन्छ”– लेनिन, लुतो– १९१८, प्रगति प्रकाशन मास्कोद्वारा १९६५ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २७, पृ.३६
लेनिनले ब्रेष्टलितोभ्स्तक सन्धिका सन्दर्भमा ट्राट्स्कीपंथीहरुलाई लागेको क्रान्तिकारी लफ्फाजीको लुतोबारे चर्चा गर्दा माथि उद्धृत उद्धरण संश्लेषण गर्नुभएको थियो । ट्राट्स्की र बुखारिन रुपमा त क्रान्तिकारी तथा रुसको एक इन्च जमिन पनि जर्मनीलाई नदिएर सन्धि गर्न चाहने राष्ट्रवादी थिए भने सारमा जर्मनेली शासकहरुसँग मिलेर वैज्ञानिक समाजवादको शिशु हत्या गर्न चाहन्थे । लेनिन र स्टालिन सारमा क्रान्तिकारी हुनुहुन्थ्यो भने रुपमा तत्काल रुसको केही भू–भाग गुमाएर पनि जर्मनीसँग सम्झौता गरी वैज्ञानिक समाजवाद जोगाउन चाहनुहुन्थ्यो । आखिर खतरनाक कार्यनीतिक खेल नखेलिकन राजनीतिक रणनीति प्राप्त हुन सक्तैन ।
नेपाली सर्वहारा तथा उत्पीडित जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा रहेका केही जिम्मेवार कमरेडहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित भए । कन्याउँदा–कन्याउँदा औडाहाले असह्य भएर “एकता असफल” भएको घोषणा गरे । लुतोको औडाहाले प्रकट भएको यो वाक्यांशलाई “दुरदर्शी संश्लेषण” भनी आफ्नो विस्तारित बैठकमा आत्मप्रशंसा गरेका छन् । यसभित्र जनतामाझ एकता विरोधी भइने डर छिपाइएको छ । सार र रुप नमिलेको नाम राखेका कन्चनले यो क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रस्त लुते गुटको नेतृत्व गरेका छन् । आफूलाई वैज्ञानिक समाजवादी, क्रान्तिकारी, रुपान्तरणकारी र माक्र्सवादको पण्डित ठान्ने “सृजनशील माक्र्सवादी” ले आफूले बोलेको कुरालाई ब्रह्म वाक्य ठान्दै कहिल्यै पनि टसको मस गर्न नयार हुँदैनन् । उनले क. किरणलाई जडसूत्रवादी, संसदवादी, पुरातनपंथी, संकीर्णतावादी आदि आरोप लगाएर ‘अह्राई बुद्धि, सिधाई सामल कति होला फारो’ भन्ने नेपाली उखानलाई पुस्टि गरेका छन् । सारमा केही सहमति गरेर भएपनि क. किरण नेतृत्वको पार्टीले एकतालाई जोगाउन चाहन्थ्यो भने कञ्चन मण्डलीले एकतालाई भाँड्न चाहन्थ्यो भन्ने कुरा उनीहरुको व्यवहारले पुष्टि ग¥यो ।
कन्चन गुट फुटवादी नै हो । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएको केही दिनपछि कन्चनले पूर्व बहुमतको कार्यालयको अलग बैठकलाई निरन्तरता दिने प्रस्ताव ल्याएका थिए । मैले आवश्यकता प¥यो भने नेतृत्वको स्वीकृतिमा बसौंला, तर निरन्तर बस्नु एकताविरोधी क्रियाकलाप हुन्छ भनेको थिएँ । कन्चनले केहीलाई लिएर अलग बस्ने र गुटबन्दीजन्य क्रियाकलापमा संलग्न भइरहेको पनि पुष्टि भएको छ । विभिन्न जनवर्गीय संगठनहरुमा रहेका, पार्टी एकता मन नपराएका र वाध्यात्मक अवस्थामा संगठनमा रहेकाहरुबाट ‘अह्रराई बुद्धि सिधाई सामल’ को नीति अनुसार फुटको बीउ छर्ने काम भइरहेको प्रस्ट देखिएको थियो । यसबाट पार्टी र जवसका केही व्यक्तिहरु प्रभावित त छँदै थिए, त्यसमा बाह्य तत्वको पनि मिसावट भयो । दोस्रो पटक कन्चन म कहाँ आएर बैठक बस्ने प्रस्ताव ल्याए । उनले ‘किरणजीहरु आफ्नो पूर्व पार्टीको बैठक बसिरहनुभएको छ । हामी पनि बसांै, केही फरक पर्दैन भनी प्रस्ताव राखे । मैले ‘अब कसैले पनि यसरी पूर्व समूहको बैठकलाई निरन्तरता दिनु गुटबन्दी हुन्छ भनिदिएँ । यसले उनको गुटवादी चिन्तनमाथि ठक्कर दिएको थियो । त्यतिबेलासम्म उनी नेतृत्वको महत्वकाङक्षाले ग्रस्त भइसकेका थिए । यसपछि उनले अपारदर्शी भेटघाट, पूर्वसमुहको बैठक, अराजक दौडधुप र पार्टीको संस्थागत निर्णय विरुद्धका वक्तव्यबाजी गर्न थाले । भर्खरै विद्रोह गरेको पूर्व पार्टी नेकपाका नेताहरुसँग नियमित सम्पर्कमा रहे । एकता पछि नेतृत्वको सल्लाहविना नै यो सबै भइरहेको थियो । पूर्ब (बहुमत) को भेलामा अस्वीकृत भइसकेको ‘कार्यकारी राष्ट्रपतिको चुनाव’ जस्तो संसदवादी नारा पनि उनले भट्याई नै रहे । माओवादी केन्द्र निकट ‘ज्ञान केन्द्र’ ले आयोजना गरेको एक अन्तरक्रियामा ‘म पनि राष्ट्रपतिको उम्मेद्वार हुँ’ भन्ने संसदवादी उद्घोष गरे । यसले माधव र प्रचण्डहरुलाई खुशी तुल्याएको थियो किनभने उनीहरुको समर्थक बढ्यो । उनीसहितको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्य सम्पादन मण्डलको पछिल्लो बैठकमा समेत प्रचण्डप्रति नतमस्तक हुँदै ‘हिजो सदनमा प्रचण्डले कार्यकारी राष्ट्रपतिको नारा उठाए’ भन्दै खुशी प्रकट गरिरहेका थिए । प्रवक्ताको हैसियतले दिएको एउटा वक्तव्यमा उनले भनेका थिए–‘एमसीसी सम्झौता संसदले पारित गरेको होइन, शेरबहादुर देउवा र प्रचण्ड पनि यसका विरोधी हुन्’ भन्ने कुरा लेखी दिउसै रात पार्ने काम गरेका थिए । जसले गर्दा उनी ठाउँ ठाउँमा पङ्गु भएका थिए । उनी वास्तवमा वैज्ञानिक समाजवादको क्रान्तिकारी लफ्फाजीभित्र लुकेका दक्षिणपंथी संशोधनवाद परस्त प्रवृत्तिका प्रतिनिधि हुन् ।
श्री कन्चन वैज्ञानिक समाजवादको विषयमा कुनै ज्ञान भएका व्यक्ति होइनन् । यो उनले प्रस्तुत गरेको वैज्ञानिक समाजवाद सम्बन्धी प्रस्तावबाट पुष्टी हुन्छ । एङ्गेल्सले हामीलाई मार्गदर्शन गर्दै आफ्नो प्रसिद्ध कृति ‘ड्युहरिङ मतखण्डन’ मा भन्नुभएको छ–“सामाजिक परिवर्तन र राजनीतिक क्रान्तिका अन्तिम कारणहरु मानिसको दिमागमा, मानिसको साश्वत सत्य र न्याय सम्बन्धी अन्तरदृष्टिमा खोज्नु हुँदैन, बरु उत्पादन प्रणाली र विनिमयका परिवर्तनहरुमा खोज्नुपर्दछ । तिनलाई दर्शनशास्त्रमा होइन, बरु हरेक विशिष्ट युगको अर्थशास्त्रमा खोज्नुपर्दछ” –प्रगति प्रकाशन मस्कोद्वारा १९८७ मा प्रकाशित माक्र्स–एंगेल्स संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २५, पृ.२५४ । यो माक्र्सवादी सश्लेषण अनुसार राजनीतिक कार्यदिशा वा सामाजिक परिवर्तनको कार्यदिशा श्री कन्चन वा क. किरणको दिमागमा खोजेर पाइदैन । ती चीज दर्शनशास्त्रमा पनि भेटिनैनन् । क्रान्तिको कार्यदिशा उत्पादन प्रणाली र विनिमयका परिवर्तनहरुमा खोज्नुपर्दछ, हरेक विशिष्ट युगको अर्थशास्त्रमा खोज्नुपर्दछ । हाम्रो पार्टीको अनुसन्धान टोलीले अनुसन्धान गरेको र पार्टीले हासिल गरेको ज्ञान भनेको नेपालको अर्थ सामाजिक स्थिति नव औपनिवेशिक रहेको छ । यसरी नै नेपालको अर्थ राजनीतिको विश्लेषण गर्दा, अर्थात् वर्गविश्लेषण गर्दा दलाल तथा नोकरशाही पूँजीपतिवर्ग र नेपाली श्रमजीवी तथा शोषित उत्पीडितवर्गविचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हो । यो कुरा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा एकताबद्ध पूर्व तीन पार्टीले नै स्वीकृत गरेका छन् । ऐतिहासिक जनयुद्ध र जनान्दोलनबाट आएको मात्रात्मक परिवर्तन; भूमण्डलीकृत साम्राज्यवादको अति केन्द्रीकरण तथा अति एकाधिकारवाद; विकेन्द्रीत उत्पादन र केन्द्रीकृत वितरण, उत्पादन प्रणालीमा विज्ञान र प्रविधिको संयोजन; अर्थ निर्देशित राजनीतिको कारणले वैज्ञानिक समाजवाद सन्निकट छ । प्रधान अन्तरविरोध नेपाली श्रमजीवी तथा शोषित–उत्पीडित जनता र दलाल तथा नोकरशाही पूँजीवादका बीच हो भन्ने कुरामा विवाद छैन भने क्रान्तिको प्रक्रिया त दलाल पूँजीवादलाई कब्जा गर्नेतिरबाट शुरु हुन्छ । दलाल पूँजीवादलाई कब्जा गरेर राष्ट्रिय पुँजीमा परिणत गर्ने भनेकै नयाँ जनवादी क्रान्तिको खुड्किलो हो । यसो गर्ने भनेको फेरि लेनिन र स्टालिनले रुसको वैज्ञानिक समाजवादी क्रान्तिका सन्दर्भमा भने जस्तै फेरि ‘नयाँ आर्थिक नीति’ मा फर्कनुपर्ने स्थिति नआओस् भनेको हो । दलाल तथा नोकरशाही पूँजी र यसको केन्द्रीय अभिव्यक्ति दलाल संसदीय व्यवस्था कब्जा गरिसकेपछि हामी नयाँ जनवाद (पुँजीवाद) मा बस्दैनौं । हामी समाजवादमा संक्रमण गर्दछौं ।
कन्चन मण्डलीले नयाँ जनवाद र वैज्ञानिक समाजवादलाई अलग–अलग रुपमा बुझनु र बुझाउन खोज्नु नै फुटवादको बिउ रोप्नु हो । नेपालमा नेपाली काँग्रेसले भन्ने गरेको प्रजातान्त्रिक समाजवाद दलाल पूँजीवादी समाजवाद हो । यो स्पस्ट नै छ । नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ जनवाद होइन, अब समाजवाद भन्नुपर्दछ र यो कार्यक्रम अघि बढाउनु पर्छ भन्ने रोहित नेतृत्वमा रहेको नेमकिपाले वि.स. २०४७ देखि समाजवाद भन्दै आएको छ । त्यसपछि चैतन्य मिश्र र घनश्याम भुसालले नेपालमा पूजीवाद आइसकेको हुनाले समाजवादी क्रान्तिको कार्यक्रम हुनुपर्दछ भन्ने निस्कर्ष निकाले । यो समाजवादको बाटो एमाले र एकिकृत समाजवादीले लिएका छन् । यो कार्यदिशा घनश्याम भुसालको हो । तर यो वास्तवमा वर्गसमन्वयमा आधारित हिजडा समाजवाद हो । प्रचण्डले घनश्यामबाट यही कार्यदिशा सापट लिएका छन् ।
क. किरणको नेतृत्वमा प्रचण्ड नेतृत्वको एनेकपा(माओवादी)बाट विद्रोह भइसकेपछि हामी केही साथीहरु मिलेर वि.सं.२०६९ को हेटौडा महाधिवेशनका क्रममा वैज्ञानिक समाजवादको विषयमा वहस गर्न थाल्यौं । ‘अहिले वैज्ञानिक समाजवाद भन्दा साम्राज्यवादीहरुले ठूला– ठूला आँखाले हेर्न थाल्छन् । अर्कोतिर संविधानसँग तालमेल मिलाउनुपर्दछ’ भन्ने तर्क प्रचण्डले गरे । हामीले थप बहस ग¥यौं । महाधिवेशनमा हाम्रो मत राख्न दिइएन । २०७२ को चैत्रमा हामी क्रान्तिकारीहरुले ‘कम्युनिस्ट न्युक्लियस नेपाल’ गठन गरेको घोषणा ग¥यौं र २०७३ को असारमा पहिलो भेला काठमाडौँमै गरियो । वैज्ञानिक समाजवादको कार्यदिशा पहिलो पटक हामीले संश्लेषण गरेका हौं । तर त्यसमा संगति मिलेको थिएन । त्यो राजनैतिक कार्यदिशा र कार्यक्रमको एक प्रती क. किरणलाई पनि दिएका थियौं । २०७३ को भाद्र ७ गते विप्लव नेतृत्वको नेकपा माओवादीसँग हाम्रो एकता भयो । त्यहाँ लामो बहसपछि एकीकृत जनक्रान्तिलाई सामरिक कार्यदिशा र वैज्ञानिक समाजवादलाई राजनीतिक कार्यदिशा निर्धारण गर्ने सहमति भयो र त्यसपछि नयाँ जनवादको पूलसहितको वैज्ञानिक समाजवाद आठौँ महाधिवेशनबाट पारित भएको हो । २०७८ को चैत्रमा हामीले विप्लव नेतृत्वको नेकपाबाट विद्रोह ग¥यौं र २०७९ बैशाख २१ गते देखि २३ गतेसम्म सम्पन्न विशेष राष्ट्रिय भेलाबाट नयाँ जनवादी क्रान्तिको कार्यभार सहितको वैज्ञानिक समाजवाद पारित ग¥यौं । २०८० को बैशाख १७ गते नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत)को एकता अधिवेशनबाट नयाँ जनवादी क्रान्तिको खुड्किलो सहितको वैज्ञानिक समाजवाद पारित भयो । एक वर्षपछि १८ बैशाख २०८१ मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) को एकता अधिवेशनबाट पनि यही कार्यदिशा पारित भयो । यहाँसम्म पनि हामीले नयाँ जनवादलाई वैज्ञानिक समाजवादबाट अलग गरेका छैनौं किनभने नयाँ जनवाद वैज्ञानिक समाजवादको अङ्ग हो । दोस्रो, कन्चन मण्डलीले नयाँ जनवादलाई पश्चगामी र पुरातनपंथी भनेको छ । यो सरासर गलत हो । यसलाई पश्चगामी भन्न त नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति भइसकेको हुनुपर्दछ । वैज्ञानिक समाजवादी क्रान्तिका लागि नयाँ जनवादको खुड्किलो पार गर्नैपर्दछ । नयाँ जनवादी क्रान्ति भनेको पुँजीवादी क्रान्ति हो । पुरानो जनवादी क्रान्ति पूजीपतिवर्गको नेतृत्वमा हुन्थ्यो । १९१७ को रुसी अक्टोबर क्रान्तिपछि पूँजीपति वर्ग र सामन्तीवर्ग मिल्न थाले । त्यसपछि चीनमा माओले अब कम्युनिस्ट पार्टीको नेतृत्वमा पुँजीवादी क्रान्ति गर्नुपर्ने विचार प्रतिपादन गर्नुभयो जसलाई नयाँ जनवादी क्रान्ति भनियो ।
तेस्रो, कन्चनले एकता महाधिवेशनका लागि तयार पारेको ‘समानान्तर प्रस्ताव’मा समाजवादी क्रान्ति सम्पन्न भएपछि जनताको जनवादी अधिनायकत्व लागू हुन्छ भनेका छन् । यो वैज्ञानिक समाजवादी क्रान्ति अनुरुप छैन, यो त नयाँ जनवाद अनुरुपको शासन सत्ता हो । माक्र्सले भने झैं यो उनको अज्ञानताको त्रासदी नै हो । उनले यतिसम्म अज्ञानता प्रकट गरेका छन् कि ‘चीनमा बाकुनिनले सर्वहारा अधिनायकत्व लागू हुँदैन भनी सल्लाह दिएका थिए’ । १८७६ मै मरिसकेका बाकुनिनले चीनमा आएर कसरी सल्लाह दिए, ताजुब लाग्दो कुरा छ ।
चौथो, श्री कन्चन यस्ता माक्र्सवादी सर्जक हुन् जसले एक पार्टी दुई कार्यनीतिको सिद्धान्त सिर्जना गरेका छन् । त्यसमा उनले जनवादी केन्द्रीयताको संगठन परिचालन पद्धतिले विचारहरुको निषेध गर्ने भएकोले एक पार्टी दुई कार्यनीति लागू गर्ने बताएका छन् । जनवाद भनेकै सयौँ विचारहरु फूल्न दिने स्वतन्त्रता र केन्द्रियता भनेको अराजकताको झारपात मौलाउने स्थितिलाई नियन्त्रण गर्नु हो । एक पार्टी दुई कार्यनीति चिनियाँ संशोधनवादीहरुको एक देश दुई व्यवस्थाबाट प्रेरित भएको छ । यसमा पनि उनी पूँजीवादी विचारहरुलाई निस्फिक्री चलखेल गर्न दिने पक्षमा छन् । सारमा पुँजीवादी चिनियाँ नेतृत्वले समाजवादी भनिएको चीनमा हङकङ र ताइवान अटाउनु आश्चार्यको कुरा होइन । तर एउटा क्रान्तिकारी पार्टीमा पुँजीवादी विचार र समाजवादी विचार, पूँजीवादी कार्यदिशा र वैज्ञानिक समाजवादी कार्यदिशा जस्ता शत्रुतापूर्ण विचारहरु चलखेल गर्न दिनुपर्दछ भन्नु भनेको नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र हाम्रो पार्टी एउटै बनाउँ भन्नु हो । यसले विषयलाई वर्गसमन्वयतिर लैजान्छ । बृहद् छलफल हुनुपर्दछ, तर जनवादी केन्द्रीयताको मान्यताबाट बाहिर जाँदा एमाले र माकेको के हालत भएको छ, त्यो त हाम्रै आँखा अगाडि रहेको छ । त्यसकारण ‘एक पार्टी दुई कार्यनीति’ संसदिय झ्याउकिरीको घ्याम्पो बाहेक अरु केही होइन ।
वैज्ञानिक समाजवादबारे कन्चन मण्डलीसँग सैद्धान्तिक कुरा गर्न जरुरी छ, जसको पछि यस सम्बन्धी अल्पज्ञानी साथीहरु भ्रमवस लागेका छन् । कम्युनिस्ट सिद्धान्तका प्रतिपादक र विश्व कम्युनिस्ट आन्दोलनका संस्थापक नेताहरु कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले डिसेम्बर १८४७ देखि जनवरी १८४८ सम्म तयार पारेको र फ्रवरी १८४८ मा लण्डनबाट प्रकाशित विश्वप्रसिद्ध घोषणा पत्रमा लेख्नुभएको छः
कम्युनिस्ट क्रान्ति परपम्परागत सम्पत्ति सम्बन्धहरुसँग सबभन्दा बढी क्रान्तिकारी क्रमभंगता हो । यो पनि आश्चर्यको कुरा होइन कि यस क्रान्तिको विकासको अर्थ समाजको परम्परागत विचारसँग क्रान्तिकारी सम्बन्ध विच्छेद हो” –प्रगति प्रकाशन मास्कोद्वारा १९७६ मा प्रकाशित माक्र्स–एंगेल्स संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ ६, पृ.५०४ ।
यसमा माक्र्सले समाज रुपान्तरणका लागि सुधार र आलटालको होइन, बरु तत्काल दुखे पनि चिरफारको बाटो लिनुपर्ने बताउनु भएको छ । परम्परागत सम्पत्ति सम्बन्धलाई पनि उहाँहरुले सैद्धान्तिकरुपले स्पस्ट पार्नुभएको छ । कम्युनिस्ट पार्टीको घोषणापत्रमा नै यसरी स्पस्ट पारिएको छ ।
“…कम्युनिस्ट सिद्धान्तलाई एउटै वाक्यमा नै यसरी भन्न सकिन्छ ः निजी सम्पत्तिको अन्त गर्नु”–उही, पृ.४९८ ।
क्रान्तिमा हामी कसरी अघि बढ्छौ त ? माक्र्स–एङगेल्स अझ अघि बढेर भन्नुहुन्छ ः
“….मजदुर वर्गीय क्रान्तिको पहिलो कदममा सर्वहारा वर्गलाई उठाएर शासक वर्गको आसनमा राख्नुपर्दछ र जनवादको लडाई जित्नुपर्छ”–उही,पृ.५०४ ।
यो लडाई कसरी लड्ने उहाँले सिकाउनु भएको छ ः
“सर्वहारावर्गले आफ्नो राजनीतिक प्रभुत्व पूँजीपतिवर्गबाट विस्तारै सम्पूर्ण पूँजी खोस्न, उत्पादनका सम्पूर्ण साधनहरु सर्वहारा राज्यको हातमा केन्द्रीत गर्न र सम्भव भएसम्म तीव्रतापूर्वक समग्र उत्पादक शक्तिलाई बृद्धि गर्न प्रयोग गर्नेछ ।
“बास्तवमा, प्रारम्भमा यो कार्य सम्पत्तिको अधिकार र पूँजीवादी उत्पादनको अवस्थामाथि निर्मम हमला नगरीकन प्रभावकारी हुँदैन, त्यसकारण यस्तो उपायविना यो आर्थिक रुपमा नै अपर्याप्त र अव्यावहारिक हुन्छ, तर आन्दोलनको प्रक्रियामा यसले आफ्नो सिमा नाघ्नेछ, पुरानो समाज व्यवस्थामाथि अझ गहिरो भेदन अपरिहार्य हुनेछ र समग्र रुपले क्रान्तिकरण हुँदै गएको उत्पादन प्रणालीका साधनहरु अपरिहार्य हुनेछन् ।
“निश्चय नै यी उपायहरु भिन्न–भिन्न देशहरुमा भिन्न–भिन्नै हुनेछन”–उही, पृ.५०४–५०५ ।
पछिल्लो वाक्यले हरेक देशमा हुने क्रान्ति एउटै तरिकाले हुँदैनन् भन्ने माक्र्सको परिपक्व विचारलाई प्रदर्शन गर्दछ ।
अन्तमा घोषणापत्र सुन्दर ढंगले घोषणा गर्दछ ः
“कम्युनिस्टहरुले आफ्नो दृष्टिकोण र उद्देश्य लुकाउनु आफ्नो सानको विपरित ठान्दछन् । उनीहरु खुलेआम के घोषणा गर्दछन् भने तिनका उद्देश्यहरु सम्पूर्ण विद्यमान सामाजिक अवस्थालाई बलपूर्वक भत्काएपछि मात्र पूरा हुनसक्छन् । शासकवर्गलाई कम्युनिस्ट क्रान्तिको भयले काँप्छन् भने काँप्न दिनुस् । सर्वहारा वर्गसँग गुमाउनका लागि हत्कडी बाहेक केही छैन । उनीहरुसँग जित्नका लागि सारा संसार छ”–उही, पृ.५१९।

