
– दीपक श्रेष्ठ
सिन्धुली जिल्लाकाे तिनपाटन क्षेत्रकाे वास्तुकलाकाे नमुना हाे- याे घर । यस क्षेत्रमा परम्परागत घरहरू यस्तै वास्तुकलाका पाइन्छन् । अर्काे महत्त्वपूर्ण पक्षचाहिँ २०४६ सालकाे फागुन ७ गतेबाट सुरू भएको ऐतिहासिक जनआन्दोलनअघि माघ २२ गते यहि घरमा बसेकाे बैठकले शंकरनाथ शर्मा (नेकपा माले) अध्यक्ष रहेकाे संयुक्त वाम माेर्चा सिन्धुली जिल्ला कमिटी गठन गरेको थियाे । त्याे समितिकाे सचिवमा एकलाल श्रेष्ठ (नेकपा मार्क्सवादी) र सदस्यहरूमा भाेजराज सत्याल (नेकपा मार्क्सवादी), शिवहरि घिमिरे (नेकपा मार्क्सवादी), विश्वम्भर लामिछाने ( नेकपा मार्क्सवादी), प्रदिप कटुवाल (नेकपा माले) र शम्भु थापा (नेकपा माले) रहेका थिए । जनआन्दोलनमा जाने निर्णयसँगै गठन भएको बाम माेर्चाकाे पहिलाे बैठक बसेकाे घरकाे इतिहास यहि घरले संरक्षण गरिआएकाे छ । तर, याे अहिले जीर्ण अवस्थामा पुगेको रहेछ । एउटा इतिहास माटाेमा मिल्दै गरेकाे देख्दा दुःख लाग्याे ।
याे घरकाे संरक्षणले इतिहासकाे सम्मान मात्र हैन, हाम्राे रैथाने वास्तुकलाकाे पनि संरक्षण गर्छ । हाम्राे ज्ञान परम्परा, सीप, शैलीकाे जगेर्ना गर्छ । भूँइदेखि धुरीसम्म गाडिएको बलिया खाँवा, काठकै पटाहा ठाेकिएका चाेटा काेठा, झ्याल, ढाेका, भर्याङ, बार्दली हाम्राे माैलिक बास्तुकला हाे । तथापि, पछिल्लाे समय काठकाे अप्राप्यता, नीति निर्माताकाे अज्ञानता, आधुनिकताकाे रहरले हाम्रा माैलिक शैलीका घर नासिदै गएकाे छ ।
सिन्धुली-चकमके-कटारी सडकले तिनपाटनलाई सदरमुकाम सिन्धुलीमाढीसँग सहज पहुँचमा पुर्याएकाे छ । सिन्धुलीमाढीबाट २० किलोमिटर दुरीमा तिनपाटन पुग्न सकिन्छ । धान उत्पादनका हिसावले उर्वर याे क्षेत्र माझी, दनुवार जातिकाे आदि भूमि पनि हाे । मगर जातिकाे पसिनाले नै यस क्षेत्र उर्वर बनेका धेरै प्रमाण पाइन्छ ।
तिनपाटनकाे शिवलाल चाेकबाट काेटगाउँ हुँदै धापचाैकी वा सिम्लेकाे सर्वसिद्धेश्वर गुफा पनि पुग्न सकिन्छ । त्यहि सडक छेवैमा छ, याे घर । शिवलाल चाेकबाट पाँच मिनटकाे दुरीमा रहेकाे याे घर संरक्षणमा ध्यान दिने कि ?

