हिन्दु संस्कार कति वैज्ञानिक कति अवैज्ञानिक ?

-दिपक पौडेल
समाजमा धर्म, परम्परा, संस्कार, संस्कृतिलाई गोलमटोल रुपमा बुझ्ने र ग्रहण गर्ने गरिन्छ । यसमा रहेका समानता र फरकलाई सही तरिकाले नबुझ्दा कतिपय समस्या समेत उत्पन्न हुने गर्दछ । यहाँ धर्म, परम्परा, संस्कृतिका विषयमा चर्चा नगरेर हिन्दु संस्कारका १६ कर्मका बैज्ञानिक पक्ष र अबैज्ञानिक पक्षका बारेमा चर्चा गरिने छ । संस्कार देश काल परिस्थिति अनुसार कुसंस्कारमा परिणत हुन्छ । हिन्दु संस्कार भित्रका कतिपय उपसंस्कार अहिले कुसंस्कारमा परिणत भइसकेका छन् । महिला महिनावारी हुँदा छाउगोठमा बस्ने संस्कार मूलतः अहिले कुसंस्कार भइसकेको छ । त्यसैगरी अहिले हामीले भन्दै र मान्दै आएका संस्कारहरु बदलिँदो भौतिक परिस्थिति र चेतनाको विकास संगै कुसंस्कारमा परिणत हुनेछन् । हामीले संस्कारमा रहेका बैज्ञानिक पक्षलाई ठिक तरिकाले ग्रहणगर्ने र अबैज्ञानिक पक्षलाई त्याग्ने गर्नुपर्दछ अथवा संस्कारलाई द्वन्द्वात्मक तरिकाले बुझ्न पर्दछ । अहिले कतिपय हिन्दु धर्मका एजेन्टहरुले अवैज्ञानिक, विभेदकारी संस्कारलाई समेत विज्ञानसँग जोडेर भ्रम पार्ने प्रयत्न गरेको देखिन्छ , त्यसको भन्डाफोर गर्नु पर्दछ । आफ्नो कर्मकाण्डीय रोजगारलाई टिकाउन विज्ञानको सहारा लिनुले मानिसहरुको वैज्ञानिक चेतमा क्रमशः विकास भएको बुझ्न पर्दछ ।

हिन्दु धर्मका १६ संस्कारहरु
१– गर्भाधान – हिन्दु संस्कार अनुसार गर्भाधान गर्दा उपयुक्त समय छनौट गरेर गर्नुपर्ने कुरामा जोड दिइएको पाइन्छ । महिला महिनावारी भएको चौधौं दिनमा संभोग भयो भने बच्चा रहने प्रवल सम्भावना रहन्छ र यो दिनमा गर्भ रहेमा छोरा जन्मने सम्भावना बढी हुन्छ भन्ने बैज्ञानिक तथ्य र मान्यताका आधारमा गर्भाधानको समयलाई उपयुक्त मान्दछ । छोरो जन्मने मान्यताका आधारमा गरिने गर्भाधान विभेदकारी छ । बैज्ञानिक दृष्टिले गर्भाधानको निम्ति उपयुक्त उमेर , उपयुक्त समय , स्वास्थ्य अवस्था ठीक, ठीक स्थान र फ्रेस माइन्ड हुनुपर्छ । आपसी समझदारी हुनुपर्छ । यसलाई ख्याल गरेर गर्भाधान भएमा सन्तान राम्रो हुन्छ ।

२– पुम्सवन ( पुरुस्वत्त प्रदानगर्ने ) – गर्भको बच्चा ३ महिना पुगेपछि गर्भमा रहेको बच्चामा पुरुस्वत्त प्रदान गर्ने कार्यलाई पुम्सवन कार्य भनिन्छ । यस शब्दले लैंगिक विभेदको शुरुआत गरेको छ । यो कार्य छोराको अपेक्षा सहित गरिने कार्य हो , वैज्ञानिक दृष्टिले पुजा पाठ र अग्नि स्थापनाले पुरुस्वत्त प्रदान गर्न सकिने कुरालाई अस्वीकार गर्दछ । खानपानको राम्रो व्यवस्थाले गर्भभित्र रहेको बच्चा र आमाको अवस्था र स्वास्थ्य ठीक हुन्छ , त्यसमा ध्यान दिनपर्दछ ।

३– सीमन्तोनयन ( कपाल कोर्ने ) कार्य – पेटभित्र रहेको बच्चाको कपाल कोरेको महशुस गर्ने कार्यलाई सीमन्तोनयन भनिन्छ । यसमा कुनै वैज्ञानिक तथ्य छैन । आगोको कोइलामा कुशले कपाल कोरेजस्तै गरेर पेटको बच्चाको कपाल कोरिने कुरापनि भएन , यसको कुनै अर्थ छैन ।

४– जात कर्म – बच्चा जन्मने अवस्थामा गरिने कार्यलाई जात कर्म भनिन्छ । अहिले बच्चा जन्मने अवस्थामा अस्पताल लैजानु पर्दछ र स्वास्थ्यकर्मीको निगरानीमा राखेर डाक्टरको सल्लाह अनुसारका कार्य गर्नुपर्दछ । अग्नी स्थापना ( आगो फुकेर ) गरेर बत्ती बालेर केही हुनेवाला छैन ।

५– षष्ठी कर्म ( छैठी) – बच्चा जन्मिएको छ दिनमा बच्चाको भाग्य चम्किलो पार्न गरिने कार्यलाई छैठी वा षष्ठी कार्य भनिन्छ । यो कार्य छोरा जन्मिए मात्रै गर्ने गरिन्थ्यो । पछिल्लो समयमा छोरी जन्मदा समेत गर्ने गरिन्छ । यो कार्यले बच्चाको जीवनमा कुनै प्रभाव पार्दैन । विभेद सहितको अवैज्ञानिक कार्यको कुनै अर्थ छैन ।

६– नामाकरण कार्य – पृथ्वीमा रहेका वा पत्ता लागेका सबै बस्तुको नाम आवश्यक परेको हुनाले सबैको नाम छ । नयाँ बच्चाको नाम पनि आवश्यक पर्दछ । नाम ११ दिनमा नै राख्नुपर्छ भन्ने केही छैन । नाम राख्दा पुजापाठको खेलो पनि आवश्यक छैन । सबै सुत्केरी महिलाको ११ दिनको अवस्था एउटै नहुनपनि सक्छ , त्यसकारण आवश्यकता अनुसार बच्चाको नाम राख्दा हुन्छ । कुनै पुरोहितको आवश्यक पर्दैन । ज्योतिष विज्ञानसंग सम्बन्धित कार्य आवश्यक ठानेमा अस्पतालले दिएको जन्मेको समयले पनि काम गर्छ ।

७– निष्क्रमण कार्य – बच्चा जन्मिएको ११ दिनमा सुर्यलाई देखाउने कार्यलाई निष्क्रमण कार्य भनिन्छ । वैज्ञानिक दृष्टिले बच्चालाई विहानको सुर्यमा एकछिन राख्दा भिटामिन “ डि “ को कमीले लाग्ने जेन्डिस रोग नलाग्ने र लागेको भए सन्चो हुने बताइन्छ । रोगको संक्रमणलाई रोक्न सकेसम्म आमा र बच्चालाई धेरैले नछोएको राम्रो हुन्छ । नियमित विहानको सुर्यमा राख्ने कार्यलाई स्वास्थ्यको हिसाबले समेत राम्रो मानिन्छ । एकदिन सूर्यलाई मात्रै देखाएर पुग्दैन ।

८– अन्नप्रासन ( भातखुवाइ )– बच्चाको पाचन प्रक्रियालाई ध्यानमा राखेर छ महिनासम्म तरल पदार्थ खुवाउने गरिन्छ । बच्चा छ महिना पुगेपछि ठोस पदार्थ समेत क्रमशः खुवाउन पर्ने हुन्छ , दिनै हेर्न पर्दैन ।

९– चुणाकर्म – पहिलोपटक कपाल काट्ने कार्यलाई चुणाकर्म भनिन्छ । बच्चाको कपाल ठूलो भयो भने काट्नु पर्दछ । सबै बच्चाको कपाल एकैनासले बढ्दैन । कसैको छिटो बढ्छ , कसैको ढिलो बढ्छ । आवश्यकता अनुसार कपाल काट्नु पर्दछ । यसको निम्ति कुनै दिन हेर्न र कुर्न पर्दैन ।

१० –कार्णवेद – वालकको नाक कान छेड्ने कार्यलाई कर्णवेद कार्य भनिन्छ । यसमा कुनै बैज्ञानिक तथ्य भेटिन्न । यो किन आवश्यक पर्यो ? नाककान नछेडे के हुन्छ ? कुनै वैज्ञानिक कारण भेटिन्न ।

११– उपनयन कार्य – जनै लगाउने कार्यलाई उपनयन कार्य वा ब्रतबन्ध भनिन्छ । यो संस्कार हिन्दु धर्म मान्नेहरु सबैको लागि होइन, ब्राह्मण र क्षत्रीका लागि मात्रै हो र महिलाका लागि होइन, पुरुषका लागि मात्रै हो । यो संस्कारले जातीय विभेद कायम राख्न बल पुर्याएको छ । लैंगिक विभेद समेत गरेको छ । कतिपय व्यक्तिले यसलाई विज्ञानसँग जोड्न खोजेको पाइन्छ तर तथ्यले त्यसो भन्दैन भन्ने गरिन्छ जनैले रक्तसञ्चारलाई नियमित राख्न, मुटुको ढड्कनलाई एकैनाश राख्न काम गर्छ । यदि त्यसो हो भने, महिलाले जनै किन नलगाउने ? ब्राह्मण क्षत्रीले मात्रै किन लगाउने ? यसमा बैज्ञानिक तर्क छैन । विभेदकारी संस्कारलाई कुसंस्कारका रुपमा बुझ्न र बुझाउन पर्दछ ।

१२– गायत्री मन्त्र सुनाउने कार्य – यो कार्य ब्राह्मण क्षेत्री भित्रका पुरुषलाई सुनाउने गरिन्छ । महिला र अन्यजातिले सुनेभने पागल हुन्छन् भनिन्थ्यो । यसमा सत्यता छैन ।

१३ – देशान्तर – पढ्न विदेश जाने कार्य । पहिले अहिले जस्तो शैक्षिक वातावरण थिएन । पढ्न टाढा पठाउनु पर्ने स्थिति थियो । शैक्षिक संस्था अहिले जस्तै थिएनन् । गुरु पुरोहित कहाँ संस्कृत तथा कर्मकाण्ड पढाउन पठाउने गर्दथे । ब्राह्मणका छोराहरू मात्रै पढ्न जान्थे । यो कार्यले महिला र अन्य जातिलाई पढाइमा पछाडि पार्न ठूलो भूमिका खेल्यो ।
ब्राह्मणवाद चलाउन सहयोग पु¥यायो । पढ्ने कुरालाई हामीले संस्कार मान्नु पर्दछ र अन्यजाति र महिलालाई पढ्न प्रतिबन्ध लागाउने कार्यलाई कुसंस्कार मान्न पर्दछ । समय परिस्थिति अनुसार पढाइको तरिकामा परिवर्तन आएको ।

१४– समावर्तन कार्य – वेद पढिसके पछि घरमा आएरभित्र प्रवेश गर्ने कार्य हो । यसको कुनै अर्थ छैन ।

१५ – विवाह कार्य – हिन्दु संस्कारमा विवाह सम्बन्धी विभिन्न प्रकारका विवाहको व्याख्या गरेको पाइन्छ । मागी विवाह , भागी विवाह , परिस्थितिजन्य विवाह आदि । अदालतीय विवाहको कल्पना गरिएको छैन । प्रगतिशील विवाहको कुरा धेरै टाढाको कुरा भयो । सगोत्रीय विवाहलाई अस्वीकार गरेको छ तर अन्तरजातीय विवाहलाई मान्यता दिइएको छैन । विज्ञानले अन्तरजातीय विवाह मार्फत जन्मने सन्तान तुलनात्मक रुपमा सबल रहने कुरामा जोड दिन्छ , तर हिन्दु संस्कारले त्यसलाई गलत मान्दछ। विवाह आपसी समझदारीमा हुने कार्य हो । समझदारी कायम रहेसम्म विवाह रहन्छ , समझदारी कायम नरहे सम्बन्ध विच्छेद हुन्छ । पूजापाठले सम्बन्ध कायम गर्न सक्दैन र वैवाहिक जीवन सुखद राख्न सक्दैन । विवाहलाई सरल, सहज र वैज्ञानिक बनाउन पर्दछ ।

१६ – मृत्यु कार्य – मानिस जन्मेपछि मृत्यु अनिवार्य छ । लाशलाई व्यवस्थापन गर्नेकार्य मृत्यु कार्य हो । ठाउँ , परिस्थिति , अभ्यास अनुसार लाशको व्यवस्थापन गर्ने गरिन्छ । कतै जलाउने गरिन्छ , कतै खाल्डोमा पुर्ने गरिन्छ । मुख्य कुरा लाशवाट प्रदुषण नहुनेगरि लाशको व्यवस्थापन गर्नु पर्दछ । मृत्युको सन्दर्भमा गरिने अन्य सबै कार्य अवैज्ञानिक छन् । दान दक्षिणा , दुना टपरी जनतालाई भयभीत गराउने र पुरोहित मोटाउने काम बाहेक केही होइन । त्यसवाट टाढा रहनु पर्दछ ।

यसरी हिन्दु संस्कार भित्रका १६ वटा मुख्य संस्कार र अन्य उपसंस्कारहरुले जातीय तथा लैंगिक विभेद कायम गर्न मद्दत गरिरहेको देखिन्छ । जातीय तथा लैंगिक विभेद गर्ने संस्कारलाई कुसंस्कार मानेर कुसंस्कार त्याग्नु पर्दछ । संस्कारमा रहेका वैज्ञानिक पक्षलाई वैज्ञानिक दृष्टिकोणका आधारमा ग्रहण गर्नुपर्दछ ।
विश्वको बदलिँदो परिस्थितिमा अहिले अन्य कतिपय धर्मले हिन्दु संस्कार भित्र रहेका विभेदलाई देखाएर आफ्नो धार्मिक मिसन पुरागर्ने अभिष्ट राखेको देखिन्छ । यसरी एउटा खाडलवाट निकालेर अर्को खाडलमा खसाल्ने कार्यलाई सही मान्न सकिन्न । जनताको कमजोर चेतना र आर्थिक स्थितिको दुरुपयोग गरेर अन्धविश्वासमा लठ्याउने तत्वको समयमै पहिचान र निराकरण गरेर मात्रै समुन्नत समाजको कल्कना गर्न सकिन्छ ।

सामन्ती व्यवस्था अन्तर्गत निर्धारण गरिएका संस्कारहरुले सामन्ती मानसिकता निर्माण गर्दछ ।
देशमा सामन्ती व्यवस्थाको अन्त्य भएपनि सामन्ती मानसिकताको अन्त्य भएको छैन । अर्कोतिर बिश्वब्यापी पुँजीवाद हाबी भएको अवस्थामा संस्कारलाई पूँजीवादले हस्तक्षेप गरेको छ । विवाहमा के गर्ने ? जन्मदिनमा के गर्ने ? दशै , तिहार , तिजमा के लगाउने ? के खाने ? पूँजीबजारले निर्धारण गरेको देखिन्छ ।
पूँजीवजारले संस्कारलाई महंगो र भड्किलो बनाएको छ । नाफामा अडिएको पूँजीवादले मानिसको मृत्युमा समेत नाफा कमाउन कस्सिएर लाग्दछ । सामन्ती चिन्तन र पुँजीवादको प्रभावको अन्त्य गर्न संस्कृतिक क्रान्तिलाई अगाडि बढाउन पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित