हैजाको प्रकोप नियन्त्रणमा ध्यान देऊ

केही दिन यतादेखि पर्साको वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप देखिएको छ । हैजाको विरामीहरुको सरकारी, निजी अस्पतालहरुमा उपचाररत छन् । विरामीहरुको संख्या ४ सय भन्दा माथि पुगेको छ । हैजाको प्रकोप बढेसंगै वीरगञ्ज महानगरले भदौ १३ गतेसम्मको लागि विद्यालयहरु बन्द गरेको छ । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखाले मंगलबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्याङक अनुसार विरामी परेका बिरामी मध्ये १७१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हैजाको संक्रमण दर फैलदो छ ।
हैजा एक सरुवा रोग हो यो । दूषित पानीको माध्यमबाट एक अर्कोमा सजिलै सर्दछ । हैजाको संक्रमण भएको केही समयदेखि पाँच दिन सम्ममा हैजाको लक्षणहरु देखा पर्ने गर्दछ । हैजाका किटाणु भिब्रियो कोलेराले मानिसको शरिरमा कुनै पनि माध्यमबाट जस्तै दूषित पानीबाट शरिरमा प्रवेश गरेपछि लगातार पखाला लाग्ने, वान्ता हुने,कमजोरी हुने,रिङगगटा लाग्ने खान मन नलागने,ज्वरो आउने, शरिरमा पानीको मात्रा कम हुने र बिरामीको अकालमै मृत्यु हुन सक्दछ । हैजाले सबै उमेर समुहमा फैलन सक्छ । अझै बच्चा,वृद्ध र अशक्तहरुलाई छिटो गाल्दछ ।
अहिले वर्षायाम छ । पानीका मुहानहरु वर्षाका कारण दूषित हुने गर्दछ । जनताको अस्वस्थकर जीवनशैली,खुलास्थानमा दिसापिसाब गर्ने बानी, ढलहरुको उचित व्यवस्थापनको अभाव ,पिउने पानीमा ढलहरुको मिसिन आउने जस्ता कारणहरुले पिउने पानी दूषित हुने गर्दछ । दूषित पानी पिउँदा हैजा,झाडापखाला,आउ पर्ने, टाइडफाइड हुने,जुकापर्ने,जस्ता रोगहरु क्षणभरमै सर्न सक्छन् ।
अहिले सूचना प्रविधिको विकास भएको छ । पानी सफा पिउनु पर्छ , व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्छ भन्ने कुराहरुको बारेमा जानकारी लिन चाहेमा जानकारी लिन सकिन्छ । जानकारीलाई व्यवहारमा प्रयोग गर्न सिकेमा हैजा ,झाडापखाला जस्ता सरुवा रोगहरु लाग्न बाट बच्न सकिन्छ ।
जनताले सफा पिउने पानी पाउनु पर्दछ । स्वस्थकर जीवन जिउन पाउनु नागरिकको अधिकार हो । आफ्नो देशको नागरिकलाई कसरी स्वस्थ राख्न सकिन्छ ? भन्ने विषयमा नीति निर्माताहरुदेखि लिएर देशको नेतृत्व गरेकाहरुले ध्यान दिन जरुरी हुन्छ । मौसम अनुसार लाग्न सक्ने रोगहरुबाट बचाउन पुरै सतर्कता अपनाउन ध्यान दिने जिम्मेवारी सरकार र त्यसका अंगहरुको हो । अहिले वर्षा याम हो । वर्षा याममा दूषित पानी पिउनु पर्ने बाध्यतामा कैयौं नागरिकहरु छन् । जनतालाई सफा पिउने पानीबाट वञ्चित हुनु परेको छ । शौचालयको अभावमा खुला स्थानमा दिशापिसाव गर्नु पर्ने बाध्यता जनताको छ । नाली तथा ढलहरुको व्यवस्थापन राम्रो सँग हुन नसकिरहेको अवस्था छ ।
नेता तथा नेतृत्वले जनस्वास्थ्यको बारेमा मसिनो गरी सोचेर सो सम्बन्धी योजनाहरुलाई लागू गर्न सकेका छैनन् । यसले गर्दा जनस्तरमा कैयौं स्वास्थ्य जटिलताहरु देखा पर्ने गर्छन् । यस्तै कारणहरुको परिणाम अहिलेको वीरगञ्जको हैजाको प्रकोप हो ।
हैजाको प्रकोप देखिएपछि त्यस स्थानमा विरामीहरुको उपचारमा पहिलो ध्यान दिनु पर्दछ । विरामीहरुलाई औषधी र स्रोत साधनको कमी हुन दिनु हुँदैन । विरामीहरुको उपचारमा सरकारले अति मिहेनत गर्नु पर्दछ । हैजाको प्रकोप थप अरुमा नसरोस् र महामारीको रुप लिन नपाओस् भनेर सतर्कता अपनाउनु पर्दछ ।
पहिले पहिले गाउँघरमा एउटा उखान थियो –“हैजा र गोटी, एकैचोटी” । यो उखानले पनि बताउँछ हैजा छिटोभन्दा छिटो फैलने गर्छ । पहिले अस्पतालहरु थिएनन् त्यतिबेला हैजाको विमारी लागेपछि अरुलाई नसरोस् भनेर विरामीलाई गाउँदेखि पर छुट्टै राख्ने चलन थियो रे । अझै विरामीलाई हेर्न समेत कसैले नहेर्ने गरिन्थ्यो रे । अहिले यस्तो गर्नु हुँदैन भनेर उपचार गर्ने,उपचारमा सहयोग गर्ने गरिन्छ र उपचार गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु छन् ।
फैलिएको हैजा नियन्त्रणकोलागि हैजा फैलिएको स्रोतको पहिचानमा ध्यान दिनु पर्दछ । बीरगञ्जमा हैजा फैलिएको त्यसको स्रोत केहो ? त्यसको पहिचान गरी फैलनबाट रोक्नु पर्छ । सफा जीवनशैली अपनाउनु पर्दछ । जनचेतना र व्यवहारमा प्रयोगको विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ । सरकार नियन्त्रणमा गम्भीर बन्नु पर्दछ ।स्वास्थ्यकर्मी,औषधीको कमी हुन दिनु हुँदैन । लक्षण देखिने वित्तिकै घरमा बसेर हुँदैन, अस्पताल आइहाल्नु पर्दछ । आवश्यकता परेमा बाहिरबाट अन्य स्वास्थ्यकर्मी पठाएर पनि उपचारलाई चुस्त दुरुस्त पार्नु पर्दछ । फैलने स्रोतको पहिचान गरी त्यसलाई स्वस्थ गर्न ध्यान दिनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित