काठमाडौँ । ६ कम्युनिस्ट पार्टीहरूको निर्वाचन बहिष्कार घोषणा सभा सम्पन्न भएको छ। काठमाडौँको थापागाउँ स्थिति काठमाडौँ ब्याङ्क्विटमा पौष २५ गते सम्पन्न उक्त सभामा बहिष्कारको कार्यक्रम घोषणा गरिएको हो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव तथा केन्द्रीय संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेल गौरवले निर्वाचन बहिष्कार सम्बन्धी कार्यक्रमको तालिका वाचन गर्नुभएको थियो । घोषणासभामा वाचन गरिएको प्रेस विज्ञप्ति यसप्रकार छ –
“ १) स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको निम्ति देशव्यापी आन्दोलन अघि बढाउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमतं), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेकपा र समाजवादी कम्युनिस्ट पार्टी नेपाल सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समिति गठन गरिएको छ ।सीपी गजुरेलको संयोजकत्वमा गठित केन्द्रीय संयुक्त संघर्ष समितिमा रामसिंह श्रीस, शारदा महत, धर्मेन्द्र बास्तोला, दीपक चलाउने, रूपा बुढा, आहुति, राजेश्वरी सुवेदी, रूपा सुनार, महिन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारी, ऋषि कट्टेल, खेमनारायण ढुंगाना, शशी घिमिरे, समरजंग र समीर सिंह रहनुभएको छ।
२) देशका ७७ जिल्लामा पनि जिल्ला संयुक्त संघर्ष समिति गठन गरी संघर्षको कार्यक्रम अघि बढाइनेछ । फागुन २१ गते तोकिएको निर्वाचन बहिष्कार सम्बन्धी पहिलो चरणको संघर्षका कार्यक्रम यस प्रकार अघि बढाइनेछ ।
–पौष २५ गते संघर्षको कार्यक्रम घोषणा सभा ।
–पौष २६ र २७ प्रचारप्रसार पर्चा वितरण
– पौष २८ गते देशव्यापी मसाल जुलुस
– पौष २९ गते उपत्यका बन्द
– माघ २ गते इटहरी, जनकपुर, सिमरा, चितवन, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज र धनगढीमा निर्वाचनको औचित्य हिनताबारे अन्तरक्रिया, गोष्ठी ।
– माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने।
त्यस पछि अर्केा चरणको कार्यक्रम घोषणा गरिने छ । ”
घोषणा सभामा नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती, नेकपाका अध्यक्ष ऋषि कट्टेल र नेकपा (जनपक्ष)का केन्द्रीय सदस्य बसन्त बोगटीले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य राजेश्वरी सुवेदीले गर्नुभएको थियो।


