संसदीय चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न  आह्वान : सी.पी. गजुरेल 

काठमाडौं । केन्द्रीय संयुक्त संघर्ष समिति संयोजक सी.पी.गजुरेलले संसदीय चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न  आह्वान गर्नु भएको छ । २०८२ फागुन १८ गते प्रेस–वक्तव्य जारी गर्दै केन्द्रीय संयुक्त संघर्ष समिति संयोजक सी.पी.गजुरेलले भन्नु भएको छ –
“हामी चारओटा कम्युनिस्ट पार्टीहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले जेनजी विद्रोह पश्चात् बनेको कठपुतली प्रतिक्रियावादी सरकारले घोषणा गरेको प्रहसनकारी संसदीय निर्वाचनले नेपाली समाज र आम जनताका समस्याहरूको समाधान गर्न नसक्ने निष्कर्षसहित निर्वाचन बहिष्कार गर्न शान्तिपूर्ण रूपमा संघर्षका कार्यक्रमहरू गर्दै आइरहेका छौँ । हामीले संकटको निकाससहित अग्रगामी परिवर्तनका लागि जनसंविधानसम्म पुग्न स्वाधीन संयुक्त जनसरकार’ हुँदै अघि जानु पर्ने विकल्पको खाकासमेत प्रस्तुत गरेका छौं ।
देशैभरि उत्साहका साथ सञ्चालन भएका हाम्रा कार्यक्रमहरूमा नेपाली समाजको अन्तर्विरोधलाई यो संसदीय चुनावले समाधान गर्न नसक्ने र संसदीय व्यवस्थाको विकल्प निर्माण गर्नुपर्ने निष्कर्षमा व्यापक जनमत आकर्षित भएको पाएका छौँ । उक्त जनमतलाई निर्णायक संघर्षमा रूपान्तरण गर्दै देशलाई अग्रगामी निकास दिनु आजको मुख्य आवश्यकता हो ।
यसैबीच, आफ्नो असफलता जनताबीच उदाङ्गो हुने डरले आतङ्कित वर्तमान कठपुतली सरकारले हाम्रा कार्यक्रमहरूमाथि दमन चलाइरहेको छ । सरकारले हाम्रा दर्जनौं कमरेडहरूलाई कार्यक्रममा मात्र नभई घर घरमा पसेर गैरकानुनी र तानाशाही शैलीमा धरपकड गरिरहेको छ । राज्य आतङ्कको यो सिलसिला अझै जारी छ । हामी जेनजी विद्रोहलाई अपहरण गरी निर्माण गरिएको कठपुतली सरकारद्वारा गिरफ्तार गरिएका कमरेडहरूलाई यथाशीघ्र रिहा गर्न र राज्य आतङ्क तत्काल बन्द गर्न चेतावनी दिन चाहन्छौँ ।
चुनावको औचित्यहीनता झन् झन् पुष्टि हुँदै गएको आजको स्थितिमा आम नेपाली जनताबीच फागुन २१ गते हुने भनिएको कथित संसदीय चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न पुनः हार्दिक आह्वान गर्दछौँ । साथै जनताको विरोध र सेनाको घेराबन्दीका बीच चुनाव गराइए पनि त्यसपछि बन्ने सरकार समेत साम्राज्यवादको कठपुतली बन्ने र त्यसले देशको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविका झन गहिरो संकटमा धकेल्ने भएकोले हामी देश र जनताका समस्या समाधान नहोन्जेल निरन्तर संघर्षमा रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित