-रामबहादुर बुढा
शुसीला थापा नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा योगदान पु¥याउनु भएकी एक संघर्षशील सांस्कृतिक योद्धा हुनुहुन्छ । अर्को शब्दमा भन्नु पर्दा जनयुद्धले जन्माएकी एक इमान्दार, निष्ठावान कलाकार हुनुहुन्छ । अहिले कास्कीको पोखरालाई कार्यक्षेत्र बनाउनु भएकी थापाले आफ्नो कलाकारिताको प्रारम्भ आफ्नै जन्मभूमि गोर्खाबाट गर्नु भएको थियो । जनयुद्धकालको उथपुथलकारी समयमा जनयुद्धको पक्षपोषण गर्ने कलाकार बन्न अत्यन्त कठिन कार्य थियो । शुसीलाले केवल गीत, संगीतको मात्र अनुभव गर्नु भएको छैन, युद्धकालमा मृत्यु कति भयावह हुन्छ भन्ने कुरा नजिकैबाट महसुस गर्नु भएको छ ।

नेकपा (माओवादी) ले २०५२ साल फागुन १गते जनयुद्ध सुरु गर्नुभन्दा पहिले विभिन्न ठाउँमा सांस्कृतिक अभियान संचालन गरेको थियो । गुल्मीमा धु–री अभियान (धुर्कोटदेखि रिडी सम्म) अभियान चलेको थियो । यो लेखका लेखक गुल्मी जिल्लाको तम्घासको चिदीचौरमा सम्पन्न सांस्कृतिक कार्यक्रमको दर्शक बन्ने अवसर पाएको थियो । रोल्पा र रुकुममा सि–ज अभियान (सिस्नेदेखि जलजला अभियान) संचालन गरिएको थियो । गोर्खा जिल्लामा पनि त्यस्तै सांस्कृतिक अभियान चलाइएको थियो । जनतासित माक्र्सवाद–लेनिनवाद–माओवादलाई जोड्ने, स्थानीय संस्कृतिलाई समेत प्रयोगमा ल्याउँदै जनतासित पार्टीको सम्बन्ध जोड्ने उद्देश्यले जनयुद्ध भन्दा पहिले सांस्कृतिक अभियान संचालन गरिएका थिए । गोर्खामा त्यो सांस्कृतिक अभियान चलाउनु भन्दा पहिले गोर्खाको नामजुङ गाविसको देवेन्द्र भण्डारीको घरमा सेल्टर बनाएर सांस्कृतिक अभियानको तयारी गरिएको थियो । त्यतिबेला शुसीला थापा कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो । सांस्कृतिक टोलीलाई खाना पकाउन मद्दत गरेर शुसीला सबैभन्दा पहिले सांस्कृतिक टोलीसँग जोडिनु भएको थियो ।
सांस्कृतिक टोलीसित जोडिएको त्यो समय सम्झँदै शुसीला भन्नुहुन्छ, “स्कूलको कक्षासम्म छाडेर मैले सांस्कृतिक टोलीको रिहल्सनमा लागेका कामरेडहरुलाई खाना पकाइदिन पुगेकी थिएँ । सांस्कृतिक टोलीमा खुशीराम पाख्रिन, शिव श्रेष्ठ, अन्जान विरही, कौशिला तमु, ज्ञानु श्रेष्ठ, पम्फा कुमाल लगायत हुनुहुन्थ्यो । रिहल्सनको काम सकिएपछि जिल्ला व्यापी सांस्कृतिक प्रस्तुति भएको थियो । त्यतिबेला श्रीनाथ अधिकारी (का. श्याम) राजनीतिक नेतृत्वमा हुनुहुन्थ्यो । त्यस अभियानमा राजनीतिक नेतृत्व र कलाकार टीम गरी १७ जनाको टीम थियो । खाटैखाट जोडेर मञ्च बनाइएको थियो । पेट्रोल मेक्सको उज्यालोमा बेलुकी पख कलाकारहरु ड्रेसमा सजिएर नाँचेको गाएको देख्दा हामी युवायुवतीहरुलाई धेरै प्रभाव पारेको थियो । खुशीराम पाख्रिन दाइको गीतले हामी मन्त्रमुग्ध हुन्थ्यौं । ती कलाकारहरुलाई देखेर हामी पनि त्यस्तै कलाकार बन्न पाए हुन्थ्यो भन्ने लाग्दथ्यो । स्कूल जाँदा आउँदा होस् वा वनपाखा जाँदा हामी तिनै प्रगतिशील गीतहरु गाउँदै, गुनगुनाउँदै हिंड्दथ्यौं । त्यतिबेलाका “गाउँघर उज्यालो हुन्छ, विहान उदाउने घामले” , “बाबा तिम्रो छोरालाई युद्धमा पठाइदेऊ”, “निस्कन झट्ट निस्क” , “भेटेर तिमीलाई….” बोलका गीतहरु हामीलाई कष्ठस्थ थिए । गाउँदै हिंडिन्थ्यो ।”
शुसीला थापाको बुबा लालबहादुर थापा (क्षेत्री) नेपाल प्रहरीका निवृत्त (पेन्सनर) हुनुहुन्थ्यो । दुईटी आमातिरका उहाँहरु ९ भाई बहिनी हुनुहुन्थ्यो । आफ्नी आमातिरका ४ छोरी र ३ छोरा अर्की आमातिरका २ छोरा गरी उहाँहरु जम्मा ९ जना हुनुहुन्थ्यो । हाम्रो बुबालाई सामान्य प्रहरीको पेन्सन, गाउँको खेतीपातीले झण्डै दर्जन संख्याको परिवारमा खान, लाउन र केटाकेटी पढाउन अप्ठ्यारै थियो । तैपनि दुःखम सुखम शुसीला गोर्खाको शिक्षा क्याम्पसमा भर्ना हुनुभयो, २०५४ सालमा, एसएलसी उत्तीर्ण गरेपछि । २०५४ सालबाटै उहाँ पार्टीको पूर्णकालीन कार्यकर्ता भएर काम गर्न थाल्नुभयो । २०५२ मा कलाकारहरुलाई खाना पकाउनमा सहयोग गर्नु भएकी शुसीला २०५५ मा आफै कलाकारको नेतृत्व सम्हाल्न थाल्नुभयो ।
पारिवारिक अवस्था आर्थिक रुपले कमजोर भएकाले उहाँका बुबाले मैले धेरै पढाउन लेखाउन सक्दैन भन्नुहुन्थ्यो । समाजको वर्गीय खाडल, विभेद सबैलाई शुसीलाले भोगिरहनु भएकै थियो । त्यस्तै जटिलताका बीचमा जेनतेन क्याम्पस भर्ना भएर एकातिर पढ्दै र अर्कोतिर पार्टी संगठनमा काम गर्दै उहाँ अगाडि बढ्नु भयो ।
२०५५ सालमा “अभियान सांस्कृतिक परिवारको पुनर्गठन गरिएको थियो । जसको संयोजक सुशीला थापा, सहसंयोजक हरिशरण आचार्य बन्नु भयो । गोर्खा लमजुङको त्यो संयुक्त सांस्कृतिक परिवार थियो । त्यसबेला नेकपा (माओवादी) गोर्खा–लमजुङको जिल्ला पार्टी थियो । त्यस सांस्कृतिक परिवारलाई तालिम दिन कलाकार शारदा श्रेष्ठ पुग्नु भएको थियो । त्यस सांस्कृतिक परिवारलाई २०५६ सालको भदौतिर १६ दिने शिविर सम्पन्न गराई तालिम स्थलबाटै सांस्कृतिक अभियान थालनी गरिएको थियो । सीमित साधनस्रोत मादल, मुर्चुङगा, सारंगी लिएर त्यस टोलीले गोर्खा र लमजुङ गाउँगाउँमा जनता जगाउँदै हिंड्यो । तर तत्कालीन सरकारले किलो शेरा टु अपरेशन चलाएपछि सांस्कृतिक कार्यक्रम लिएर गाउँ गाउँमा हिंड्न गाह्रो भयो । २०५८ पछि दमन निकै चर्को भयो । सांस्कृतिक टोली लिएर हिंड्न सम्भव भएन । त्यसपछि सांस्कृतिक परिवारका कलाकारहरु टीम टुक्राएर गाउँ गाउँमा पार्टी काममा लागे ।
०५९ मा गण्डकी व्यूरोस्तरको अर्को सांस्कृतिक संगठन गठन भयो–“चुनु–शिल्पा सांस्कृतिक परिवार” तनहुँ, गोर्खा, कास्की, लमजुङका कलाकारहरुलाई जोडेर त्यो अभियान गठन गरिएको थियो । राजनीतिकरुपले त्यो अभियानलाई नेतृत्व गर्ने काम नेकपा (माओवादी) को गण्डक व्यूरोले गरेको थियो । ०५९ देखि ०६२ सम्म गण्डक क्षेत्रमा “चुनु–शिल्पा सांस्कृतिक परिवार” ले काम गरेको थियो । उता डि.वि. थापाको नेतृत्वमा नवलपरासी, कपिलवस्तु, रुपन्देही लगायतका ठाउँका कलाकारहरुको संयोजन गरेर क्षितिज सांस्कृतिक परिवार क्रियाशील थियो ।
“चुनु–शिल्पा सांस्कृतिक परिवार” र “क्षितिज सांस्कृतिक परिवार” को कलाकारहरुलाई मर्ज गरी क्षितिज सांस्कृतिक परिवार बनाइएको थियो । क्षितिज सांस्कृतिक परिवारले “युद्धको मैदानमा (भाग १)” “युगको आह्वान–(भाग२)” एल्वम प्रकाशनमा ल्याएको थियो । ती एल्वमहरुमा शुसीला थापाले स्वर दिनु भएको छ । “युद्धको मैदानमा – भाग १” मा दिलिप श्रेष्ठको “दुश्मनका खुनीतिर छातीमा” बोलको गीतलाई शुसीला थापाले एकल स्वर दिनु भएको छ । डि.वी. थापाले रचना गरेको “धानको बाला झुलेर आलीमा लपक्कै” भन्ने बोलको गीतमा चुनु गुरुङ, कमला वि.क., डिवि. थापा, किशोर सहितले संयुक्त रुपमा स्वर दिनुभएको छ । “देउरालीले उठ भन्दैछ” बोलको गीतमा शुसीला थापा र कमला विकले स्वर दिनुभएको छ ।
द्वन्द्वकालका अनेकौं स्मरणीय घटना छन् । लमजुङको विचौरमा प्रहरी चौकी रेड गर्दाको घटना स्मरणीय छ । चौकी भन्दा ६/७ घर तल मेडिकल टिम राखिएको थियो । रातिको समय थियो । दुई जना कामरेडहरुको घटनास्थलमै सहादत प्राप्त गर्नुभयो । एकजना कामरेडको ग्रिनेटले पूरै टाउको नै उडाएको थियो । चक्र कुमाल भन्ने कामरेड डे«सिङ गर्दा गर्दै बित्नु भयो ।“त्यो विर्सनै नसकिने घटना हो । हामीले उपचार गर्दागर्दै प्रहरी आक्रमणमा आइपुग्यो । प्रहरी हामीतिर निशाना सोझ्याउँदै आइरहेको रहेछ । घेरा तोडेर भाग्ने बेलामा औषधि समेत समात्न सकिएन । अँध्यारोमा छामछुम गर्दै भागे । नदीमा रहभित्र परिएछ । घुमाउने रह रहेछ । कसो कसो गरेर दबदबेको रुख समाउन भ्याएछु । रुख समाएर पारी पाखा पुगे । उज्यालो हुँदा गुरुङ गाउँ काहुले पुगें । अव त बाँचियो भन्ने लाग्यो ।” “लमजुङको छैलुङ्गको घटना पनि मेरा लागि सधै स्मरणीय छ । सांस्कृतिक कार्यक्रमको सिलसिलामा हामी चुनुशी सांस्कृतिक परिवारका हामी छैलुङ्गमा राति बास बसेका थियौं । कसैले सुराकी गरेछ । घेराबन्दी गरेर हामीमाथि आक्रमण भयो । म क्वायरलिङ्ग गर्दै भाग्दा बन्दुक तेर्साएर बसेको दुश्मनको टाउको समाउन पुगेछु । एउटा हातले उसको टाउको र हतियार पन्छाएर भागेको थिएँ ।
“०६१ सालमा मलाई सामना सांस्कृतिक परिवारको टीममा हिंड्नु प¥यो, खुशीराम पाख्रिन, सीता आचार्य, मोहित श्रेष्ठ, शंकर वि.क., केशरी घर्ती सहित रोल्पा, रुकुम, सुर्खेत लगायतका ठाउँमा अभियान चलाएका थियौं ।”
०६३ सालमा खुला परिवेशमा आएपछि फिल्म हलहरुमा पनि सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।”
शुसीला थापाको २०५७ सालफागुन ३० गते गोर्खाकै अर्का कमरेड नारायण अधिकारी सित प्रगतिशील जनवादी विवाह भएको थियो । जिल्ला पार्टीले एकै चोटी ५ जोडीको विवाह गराइदिने भनेकोमा एक जोडीको कुरा टुंगो नलागेकाले ४ जोडीको एकैचोटी विवाह भएको थियो त्यसैबेला शुशीला नारायणको पनि विवाह भएको थियो । अहिले शुशीला र नारायणबाट एक छोरी छिन् “स्नेहा अधिकारी,जन्म मिति०६३ साल चैत्र ४ गते ” ।
नारायण र शुसीला दुवै जना अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा आबद्ध रही पार्टीगत जिम्मेवारी पूरा गरिरहनु भएको छ । माओवादी धारमा अनेकौं टुटफुट विभाजन चलिरहेको बखत उहाँहरुले सधै क्रान्तिकारी धारलाई पछ्याउँदै र त्यही धारको सुदृढीकरणमा लाग्नु भएको छ ।

