‘नारसिज्म’ को पराजय र ‘पपुलिजम’ को विजय

 

–शशिधर भण्डारी

नारसिज्म (Narcissism) भन्ने शब्दलाई नेपाली र हिन्दीमा आत्ममुग्धता भनेर लेखेको पाइन्छ । यसको पारिभाषिक शाब्दिक अर्थ आफ्नो काम, आफ्नो क्षमताप्रति सीमाहीन रुपमा मोहित हुनु । आफूले प्राप्त गरेको सफलता, आफ्नो सुन्दरता, आफ्नो गुणको आफै प्रशंसक र अभिमानी बन्नु हो । त्यसका साथै आफ्नो तारिफ मन पराउनु तथा आफूलाई सर्वज्ञ ठान्नु हो । आफ्ना आलोचकलाई मात्र होइन सल्लाहकारलाई समेत मन नपरेमा ठेगान लगाइ हाल्ने मनोरोग वा मनोवृत्ति हो । विश्वका केही लेखकहरुले नारसिस्टहरुलाई मानव सभ्यता विरोधी मनोरोगीको संज्ञा दिएका छन् । यसलाई सिग्मन फ्रायडले विषद व्याख्या गरेका छन् । नारसिज्म एउटा व्यक्तिको निजी जीवनदेखि लिएर साहित्य, कला, गीत, संगीत, सार्वजनिक जीवन र राजनीतिको गगनमा विचरण गर्दछ । राजनीतिज्ञहरुको मस्तिष्कमा नारसिज्म वा आत्ममुग्धताले घर बनाउन थाल्यो भने त्यसले राज्यको सामाजिक, आर्थिक तथा सांस्कृतिक लयलाई नै बिर्गाछ । म मात्र ठीक म नभए चल्दैन भन्ने र कुर्सी नछोड्ने मनोवृत्ति पनि नारसिज्म हो । नेपालको राजनीति लामो समयदेखि नारसिज्म मनोवृत्तिबाट ग्रस्त हुँदै आयो । पार्टी र सरकारको सत्तामा रहेका केही नेताहरुमा म पनि सरदर मनुष्य हुँ भन्ने हेक्का नै भएन । यस्तै गर्दै जाँदा एक दिन खसिन्छ भन्ने आत्मचेत नै पलाउन सकेन । शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड मात्र होइन मोहन विक्रम सिंह पनि नारसिज्मका मनोरोगी हुनुहुन्छ । त्यसमा माधव नेपालजीको नाम पनि आउँछ उहाँको ‘म नेता हुँ नेता’ भन्ने अभिव्यक्ति कम्ति रोमाञ्चक छैन । नारसिस्टहरुले आफ्नो कमजोरीले निस्केका दुष्परिणामलाई अर्काको थाप्लोमा थुपार्छन् । त्यसो त धेरै पराजयबाट पनि आफूलाई सर्वज्ञको मञ्चबाट अलिकति पनि तल झार्न चाहन्नन् । ९२ वर्षमा पनि कमरेड मोहन विक्रमलाई पार्टी सत्ताभन्दा तल बस्न मन लागेन । शेरबहादुर देउवा र कमरेड केपी ओलीलाई जति पटक प्रधानमन्त्री भए पनि धित मरेन, मानांै अरु उहाँहरु जस्तो जन्मेकै छैन ।

नारसिज्म (Narcissism) समकालीन शब्द होइन । यो शब्दको इतिहास दुई हजार वर्ष पुरानो छ । यसको ऐतिहासिक जरो ग्रीक माइथोलजीमा जोडिन पुग्छ । नारसिज्म शब्दको विषयमा ग्रीक माइथोलजीमा लामो कथा छ । त्यसको छोटो सार यस प्रकार छ– नारसी सस (Narcissus) नदीहरुको देवता मानिने सिसिपस र लिरी ओपेको नामकी अप्सराको पुत्र थियो । रोमन साहित्यका प्रसिद्ध कवि ओविडले आफ्नो महाकाव्य मेटामोफोर्सिसमा यसको कहानी उल्लेख गरेका छन् । नदीका देवता र अप्सराको पुत्र भएको कारण नारसी सस साह्रै सुन्दर थियो । उसका सुन्दरताका पछाडि जवान युवतीहरु मोहित भएर पछि लाग्थे । समाज उनको सुन्दरताको बयान गर्दथ्यो । उसमा आत्मप्रशंसाको भोक जाग्दै गयो । नारसि सस आफूभन्दा सर्वज्ञ अर्को छैन भन्ने निष्कर्षमा पुग्यो । कसैलाई गन्न छोड्यो । सायद त्यतिबेला ऐनाको आविष्कार भएको थिएन । एउटा तलाउमा गएर आफ्नो अनुहार हेरिरहन थाल्यो । कसैले भनेको मानेन । उ आफ्नो सर्वज्ञताको बखान र अनुहार हेराइमा मग्न हुँदाहुँदै तलाउमा हाम फालेर मृत्युवरण ग¥यो । त्यहाँ एउटा राम्रो विरुवा उम्रियो । जसलाई नारसिस भनियो । त्यो शब्द परिमार्जित हुँदै अंग्रेजी साहित्यमा नारसिज्म बन्न गयो । यसलाई विश्वका मनोवैज्ञानिक तथा लेखक साहित्यकारहरुले एउटा मनोरोग, प्रवृत्ति र आचरणका रुपमा सैद्धान्तिकीकरण गरे ।

राजनीति भनेको नीतिहरुको पनि नीति हो । त्यसकारण अरु क्षेत्रमा भन्दा राजनीतिक नेतृत्वमा घर गर्ने नारसिज्मले निकै डरलाग्दा दुःखद् परिणाम ल्याएको छ । । फ्रान्समा राजा लुई चौधांैले म नै राज्य हु‘, म नै सर्वज्ञ हुँ, म नै भगवान हुँ भन्ने अभिव्यक्ति दिन्थे । सन् १७८९ मा भएको क्रान्तिले उनको वंश विनाश भयो । प्रथम विश्वयुद्धपछि लोकप्रियतावादको बतासले जर्मनीमा हिटलर, इटलीमा मुसोलिनी र स्पेनमा फ्रान्कोको उदय भयो । तिनीहरुको रगतमा उम्लेको नारसिज्मले द्वितीय विश्वयुद्धको वातावरण निर्माण ग¥यो । नेपालमा आफूलाई विष्णुको अवतार ठान्ने राजतन्त्र हाम्रै अगाडि ढल्यो । जनताको भीड निराशाको समुन्द्रमा डुब्यो भने अचम्मले बहकिन्छ । सन् १७९३ मा लुईवंशलाई गिलोटिन मेसिनमा राखेर दुई टुक्रा पारेका फ्रान्सका जनता १८०४ मा जाँदा नेपोलियन वोनापार्टलाई सम्राट बनाउन लाखांैले सडक तताए । जनताको मत राजनीतिक असन्तुष्टिको कारण कति भावनामा बहकिन्छ भन्ने पाठ फ्रान्सको इतिहासले राम्ररी पढाउँछ । सन् १८४८ मा फ्रान्समा गणतन्त्र आयो । त्यसै वर्ष डिसेम्वरमा भएको निर्वाचनमा नेपोलियन तृतीयले ८० लाख मत प्राप्त गरे । निर्वाचनमा उनको प्रस्ताव आफू सम्राट हुने भन्ने थियो । नेपोलियनको विपक्षमा परेको सम्पूर्ण मत जम्मा २० लाख थियो । केही महिना अगाडि मात्र गणतन्त्रका लागि जीवनमरणको संघर्ष गरेका जनताको भीड सम्राटको प्रस्तावको पक्षमा उर्लियो । यो नेपोलियन तृतीयको लोकप्रियतावादको परिणाम थियो । विश्व इतिहासमा चरम लोकप्रियतावादको परिणति पनि नारसिज्ममा पुगेर समाप्त भएको पाइन्छ । नेपोलियन तृतीय सम्राट भएपछि उनको मस्तिष्कमा सवार भएको नारसिज्म वा आत्ममुग्धताले पुनः १८७० को क्रान्तिलाई आमन्त्रण गरेको थियो । आफूमा मात्र केन्द्रित हुनु, अरुको कुरा नसुन्नु, सत्ता अहंकार अत्यधिक चर्को हुनु, अत्यन्त धेरै आत्मविश्वासी हुनु, आफ्नो कुर्सीमा अर्को आउनु हुँदैन म मात्र सर्वज्ञ छु भन्ने ठान्नु, अरुप्रति संवेदना र सहानुभूति नहुनु राजनीतिमा देखापर्ने नारसिज्मका मुख्य विशेषता हुन् । विश्वका धेरै नेताहरुलाई यसैले निलेको छ । नारसिज्मबाट बचेका नेताहरु मात्र युग पुरुष भएको देखिन्छ । पछिल्लो नेपाली राजनीतिमा शेरबहादुर देउवा र केपी शर्मा ओलीको रगतमा यो नारसिज्मको मनोरोग निकै बग्यो । त्यसको तुलनामा पुष्पकमल दाहाल प्रचण्डमा कम बग्यो । किनभने उहाँले आफूहरुले गल्ती गरिरहेको स्वीकार्नु हुन्थ्यो । तर आज इतिहासले पछार्दा पनि उहाँको अभिमान घटेको देखिएन । यो पनि आत्ममुग्धताकै परिणाम हो । इतिहासका घटनाक्रमहरुले यो देखाएका छन् कि नेताहरुमा आत्मविश्वास र परियोजना जरुर चाहिन्छ तर आत्ममुग्धता र परियोजनाविहिनता होइन । आत्मविश्वास र आत्ममुग्धतामा आधारभूत रुपमा नै अन्तर छ । नेपालको राजनीतिक इतिहासको दुर्भाग्य यो भयो कि यो देशले परियोजनाविहिन नारसिस्ट नेताहरु पाइरहयो । परियोजना सहितका आत्मविश्वासी नेताहरु पाएन । सुशासन कायम हुनै सकेन । कुशासन यो मुलुकको संस्कारै भयो । विचार र परिवर्तनका योजनाका कुरा गर्नेहरुलाई नारसिस्टहरुले झल्ला बनाए र सडकतिर मिल्काए । यो प्रवृत्ति राज्यसत्ता र पार्टी सत्तामा विचरण गरिरह्यो । त्यसैको जगमा आज यो मुलुकमा लोकप्रियतावाद मौलायो । जसलाई अस्वाभाविक मान्न सकिन्न ।

आज हाम्रो देशको विशाल जनमतले लोकप्रियतावादको पक्ष लिएको छ । तदनुरुप परिणाम आएको छ । लोकप्रियतावादले पनि विश्वका कैयांै देशमा नारसिज्मले जस्तै दुष्परिणाम ल्याएका छन् । नेपालको लोकप्रियतावादी धारसँग टेक्नोलोजी छ तर आइडियोलजी छैन । देश चलाउन टेक्नोलोजी भन्दा पहिले आइडिलोजी चाहिन्छ । अघि अघि टेक्नोलोजी पछि पछि आइडोलोजी भयो भने त्यसका दुष्परिणाम धेरै नराम्रा हुनेछन् । टेक्नोलोजी आजको युगमा अपरिहार्य छ तर देश चलाउँदा आइडिलोजीले टेक्नोलोजी चलाउनुपर्छ । विश्वका विकसित मुलुकहरु यसै गरेर समृद्ध भएका हुन् । आज मुलुक भूराजनीतिक दाउपेचको चपेटामा परेको छ । पुराना नारसिज्महरुले जस्तै लोकप्रियतावादीहरुले पनि जनताका अगाडि स्वप्निल वाचा गरेका छन् । तर ती बाचा पूरा गर्ने आइडयोलजी देखिन्न । विना आइडोलोजीको स्वप्निल नाराहरु उभिने आधारभूमि भएन भने ती नारालाई पनि समयले लफ्फाजी करार गर्ने देखिन्छ । नेपाल भूराजनीतिक दाउपेचमा परेको अवस्थामा हाम्रो देशको भविष्य सरकारले अगाडि सार्ने कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध र नीतिमा धेरै निर्भर हुन्छ । नेपाल जस्तो भूसंवेदनशील अवस्थामा रहेको मुलुकले कूटनीति र परराष्ट्र सम्बन्धको गोटीलाई एक वा अर्को ‘पावर सेन्टर’ को वरिपरि घुमायो भने देशले भयानक क्षतिको सामना गर्नुपर्ने देखिन्छ । विश्व इतिहासमा लोकप्रियतावादले यस्ता कुरामा अनाडीपन देखाएको पाइन्छ । किनभने लोकप्रियतावादका पछाडि कुनै न कुनै परियोजना वा डिपस्टेटले काम गरेको हुन्छ । अहिलेको निर्वाचनमा भारी सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले धर्मनिरपेक्षतामा प्रश्न उठाउन थालेको संकेत पाइन्छ । यसले मुलुक दक्षिणपन्थी संसदीय वा कानुनी फासीवादको दिशामा जाने त होइन भन्ने सन्देह पैदा भइहालेको छ । नेपालको प्रश्नमा मात्र होइन विश्वमा नै आधुनिक फासीवाद हिटलर मुसोलिनीको जस्तो शास्त्रीय धारबाट होइन कानुनी ढंग पु¥याएर आउने गरेको देखिन्छ ।

पुराना नारसिज्म दलहरुले नेपालको सदनबाट एमसिसि पास गराएका छन् । अब यो सरकारले संसदबाटै एसपिपि पनि पास गरायो भने त्यसले मुलुकमा जटिल समस्या ल्याउने मात्र होइन राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता नै संकटमा पर्ने खतरा छ । अब यो निर्वाचनबाट बन्ने सरकारका आन्तरिक र वाह्य कूटनीति तथा परराष्ट्र सम्बन्धका आयामहरु कसरी अगाडि बढ्छन् त्यसमा मुलुकको भविष्य निर्भर रहने छ । यिनीहरु विचारको प्रश्नमा अनाडी छन् भन्ने बुझाइ धेरैको छ । टेक्नोलोजीका पोख्तहरुले आइडोलोजीको घण्टी कुन तालमा बजाउँछन् भन्ने कुरा समयले बताउँदै जानेछ । यो निर्वाचनमा जनताले परिवर्तन चाहन्छन् भन्ने सन्देश दिएका छन् । जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको लोकप्रियता ‘नारसिज्म’ मै परिणत भयो भने देशले थप संकटको सामना गर्नपर्ने देखिन्छ । कामना छ त्यस्तो नहोस् ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित