काठमाडौ। काठमाडौंका सुकुम्वासी वस्तीमा आतंक श्रृजना भएको छ । नवनिर्वाचित प्रधानमन्त्री बालेन साहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरुलाई काठमाडौंका सुकुम्वासी वस्तीहरु खाली गर्न निर्देशन दिए पछि वस्तीमा आतंक श्रृजना भएको हो । सुकुम्वासी वस्तीहरुहरुमा जनताहरु रातभरी दिाएका छैनन् । देशभरी करिब १२ लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी छन् ।
९ भदौ ०७९ मा काठमाडौं महानगरपालिकाका तात्कालीन मेयर बालेन शाह र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाबीच भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत संकलन र प्रमाणीकरणको प्रबन्ध गर्ने सहमति भएको थियो । तर प्रमाणिकरणको काम भएन । २०७९ मंसिर १२ गते काठमाडौं महानगरले थापाथली क्षेत्रको सुकुमवासी बस्तीमा डोजर लगायो । त्यसक्रममा बस्ती खाली गराउन गएका सुरक्षाकर्मीसँग स्थानीयको झडप भयो ।उच्च अदालत पाटनले २०८० सालमै सुकुम्वासी हुन् वा होइनन् प्रमाणिकरण नगरी सुकुमवासी बस्ती नहटाउन निर्देशन दिएको थियो ।अदालतको आदेशको विपरीत बस्ती खाली गर्नु भनेको संविधान, मानव अधिकार र अदालतको आदेश सबैको उल्लंघन हो ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सुकुम्वासी वस्ती विस्थापन बारे प्र.म. बालेन साहको निर्देशन सम्बन्धमा आफ्नो फेस बुक वालमा लेखेका छन् –“ सुकुम्बासी अर्थात् आवासविहीन शहरी गरीबहरूको समस्यालाई अमानवीय र असंवेदनशील ढंगले कसैले पनि नहेरौं,नबोलौं झन् एकैचोटि डोजर चलाउने कुरा र फलानाले नसकेको ढिस्कानाले सक्ने भनेर उराल्ने कुरा नगरौं !
म आफैं आर्किटेक्चर र शहरी तथा क्षेत्रीय विकास योजनाको विद्यार्थी हुनुको नाताले आफ्नो छोटो प्रमकालमा देशभर व्यवस्थित शहरीकरण र वस्तिविकासको निम्ति केही महत्वपूर्ण पहल गरेको सर्वविदितै छ। तीमध्ये दीर्घकालीन ढंगले समस्या समाधाननिम्ति शहरी विकास मन्त्रालय, काठमाण्डौ उपत्यका विकास प्राधिकरण लगायतका संरचनाहरूको निर्माण र तत्कालीन रूपमा काठमाण्डौका वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर तिनको पुनर्स्थापनानिम्ति बालाजु इचंगुनारायणमा सामुहिक आवास निर्माणका विषय विशेष उल्लेखनीय छन्।
नयाँ सरकारले ती अनुभवमा समेत टेकेर विधिसम्मत र न्यायपूर्ण ढगले वास्तविक सुकुम्वासीहरूको पहिचान गरी सम्मानजनक रूपमा उनीहरूको पुनर्स्थापना गरोस्। हतारिएर गल्ती गर्नु सट्टा ‘ दशचोटि नाप्नू, एकचोटि काट्नू ’ भन्ने लोकोक्ति अनुशरण गरोस् । ”
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङले २०७९ मा बालेन काठमाडौं महानगरपालिकाको मेयर भएका बेला थापाथलीको सुकुम्वासी वस्ती हटाउन खोज्दा गरेको संघर्ष स्मरण गर्दै भने , “ हामीले त्यति बेला प्रमाणिकरण नगरी ,वैकल्पिक व्यवस्था नगरी जवरजस्ती वस्ती उठाउन पाइँदैन भनेर संघर्ष गरेका थियौं । अहिले पनि कुरा त्यही हो । ”
अहिले संयुक्त राष्टिय सुकुम्बासी मोर्चा, नेपालले संसदमा प्रतिनिधित्व गरेका राजनीतिक पार्टीहरु, संसद बाहिर रहेका राजनीतिक पार्टीहरु, नागरिक समाज, पत्रकार र राष्टिय मानव अधिकार लगायत विभिन्न संघसंस्थाहरुसँग पनि आफ्नो बासको सुरक्षाको लागि आवाज उठाइदिन उनीहरुले सार्वजनिक रुपमा अपिल जारी गरेका छन् ।

