–चुडामणि गिरी
मेरी आमा भीममाया गिरी (१९८४–२०६०यही २०६० साल वैशाख ६ गते अपरान्ह ३ बजे बित्नुभयो । उहाँ विगत ५ वर्षदेखि पक्षघातबाट पीडित हुनुहुन्थ्यो । उपचार गर्न लैजाने स्थिति उहाँको थिएन ।
हाम्रो धार्मिक परम्पराअनुसार दाह संस्कारका लागि घाटमा तुरुन्तै लैजाने निर्णय भयो । घाटमा लैजानका लागि कात्रो र किरियापुत्रीले लगाउने कपडा ल्याउनका लागि मैले एकजना छिमेकीलाई आग्रह गरें । हामी तीन जना छोरामध्ये मलाई छापो (टालाको कपडा) नल्याउनु भने । उसले आश्चर्य प्रकट गर्दै भने “तपाईलाई किन नल्याउनु भन्नुभएको ?” मैले भनें, “म किरियापुत्री बस्दिनँ ।” ऊ एकछिन अक्क न बक्क भएर टुलुटुलु मेरो मुखमा एक टकले हेरिरहेको थियो । मैले जोड दिंदै फेरि उसलाई जान आग्रह गरें । तर उसले जान अस्वीकार गर्दै भन्यो, “मैले तपाईलाई कपडा नल्याउँदा अरुले मलाई मार्दैनन् ?” मैले भनें, “किरियापुत्री बस्ने नबस्ने कुरा मेरो हो, तपाईलाई किन मार्दछन् ?” यसरी हामी बीचमा “जानु” र “जान्न” को विवाद बढ्दै गयो । अरुहरु पनि हामी भएका ठाउँमा आए र हाम्रो कुराको चुरो थाहा पाए ।
शंख बज्यो । शंखको आवाजले छरछिमेकीहरुलाई मेरो घरतिर दगुरायो । घरमा एउटा ठूलो भीड जम्मा भयो । दिदीबहिनी र भाउजु–बुहारीहरु डाँको छाडेर रोइरहेका थिए । केही छर छिमेकीहरुका आँखाहरु पनि आँसुले टिलपिल टिलपिल देखिन्थे । आमाको शव आँगनको तुलसीको मोठनेर राखिएको थियो र भीडले घेरिएको थियो ।
एक कान दुई कान मैदान भने झैं मेरो कुरो मेरा आफन्तहरुले पनि प्रष्ट रुपमा थाहा पाए र थाहा नपाउन् भन्ने मेरो अभीष्ट पनि थिएन । मेरो कुरा सुनेर प्रायः सबैले आश्चर्य प्रकटगरे मानौं कि एउटा ठूलै प्रलय भयो । कोही भन्दै थिए “कत्रो आश्चर्यको कुरा सुन्न र देख्नु प¥यो । आमाको किरिया छोराले नगर्ने रे ” कोही भन्दै थिए, “यस्तो त कहिल्यै सुन्नु र देख्नु नपरोस् जीवनमा ।” कोही भन्दै थिए “उसले एम.ए. पढेको के काम लाग्यो ।” कोही भन्दै थिए, “आफ्नो धर्म र परम्परा नमान्ने यो त नास्तिक पो रहेछ ।” केहीले असहयोग गर्ने उद्घोष गरे । उनीहरुले लास पनि नउठाउने र मलामी पनि नजाने घोषणा गरे । मेरी ठूली दिदी पनि भन्दै हुनुहुन्थ्यो, “तँ त क्रिश्चियन भएर हिंड् । तैंले अब उप्रान्त हामीलाई दिदीबहिनी पनि भन्नु पर्दैन, हाम्रा घरमा पनि आउनु पर्दैन र हामी पनि तेरा घरमा आउँदैनौं ।” उहाँ आमा बित्नु भएको शोकमा भन्दा मैले किरियापुत्री बस्दिनँ भनेको कुरामा बढी रोइरहनु भएको आभास झल्किन्थ्यो । यसरी ममाथि आफन्त र गाउँलेहरुबाट एक साथ दोहोरो दबाब परिरहेको थियो । म आफ्नो कुरामा दृढ थिएँ । मैले आफ्नो कुरालाई पुष्टि गर्न केही तर्कहरु अगाडि सारें । मैले भने, “प्रथमतः गरुडपुराण (किरिया–विधिशास्त्र) मा लेखिएका धेरै कुराहरु कपोलकल्पित र विरोधाभासपूर्ण छन् । दोस्रो, गरुड पुराणमा लेखिएका कुराहरुलाई मान्ने हो भने समाजमा असमानता तीब्र रुपमा पैदा हुन्छ र वर्तमान र भविष्य (अति निकट ) को समाजमा विखण्डन र संघर्ष जस्ता कुराहरु उत्पन्न हुन्छन् अनि त्यसले ठूलो क्षति मानवीय समाजलाई पु¥याउँछ । तेस्रो, यसले (वर्तमान किरिया पद्धतिले) धर्मका नाममा तीब्र मानवीय शोषण गरेको छ । चौथो, यसले मृत्युअघिको सेवा र सत्कारलाई गौण र वैकल्पिक (अर्थात् ऐच्छिक) को रुपमा लिएको छ भने मृत्युपछिको तेह्रौं दिनसम्मको काजकिरियालाई प्रधान र अनिवार्य मानेको छ । यसले गर्दा मृत्युअघिको सेवा र सत्कारजस्ता कुरालाई भावी पिंढीले हल्काफुल्का रुपमा लिन सक्ने र त्यसको परिणाम ज्यादै घातक हुन सक्ने स्पष्ट छ । पाँचौं, सबै छोराहरुले किरियापुत्री बस्नैपर्ने कुरा आजको समयमा अव्यवहारिक छ किन भने कोही विदेशमा हुन सक्छन्, कोही विरामी हुन सक्छन् । तसर्थ गरुडपुराणमा उल्लेख भएको जेठा छोराले किरिया गरोस् भन्ने कुरालाई “कुनै एक छोरोले प्रतिनिधिमूलक रुपमा किरियापुत्री बसेर किरिया गरोस् ।” भन्ने कुरा समयसापेक्ष हुन्छ । विद्रोहबाट परिवर्तन ल्याउनुभन्दा विद्रोह नगरी परिवर्तन ल्याउनु बेस हुन्छ । तसर्थ यसमा परिवर्तन गर्न नितान्त आवश्यक भइसकेको छ । मेरो किरियापुत्री नबस्ने जुन कुरा छ यो त समुद्रमा थोपा जस्तो मात्र छ । यसमा त आमूल परिवर्तनको खाँचो छ । मैले पेस गरेका माथिका कुराहरु उनीहरुले सुने मात्र, सहमति भने जनाएनन् ।
मैले फेरि एक पटक छिमेकीहरुलाई बुझाउन प्रयत्न गरें र मैले भनें कुनै पनि सुधार खास गरी सांस्कृतिक सुधार गर्ने क्रममा पहिलो व्यक्ति प्रायः एक्लो नै पर्ने गर्छ । पहिले इतिहासको अध्ययनले पनि यही नै देखाउँछ । तर यस कार्यमा म नै पहिलो व्यक्ति भने होइन किन कि मैले सुनेको छु, वरिष्ठ राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाले पनि बाबुको किरिया गर्नु भएन रे । त्यस्तै गरी वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले पनि आमाको किरिया नगर्नु भएको कुरा मैले पढेको थिएँ । अरुहरु पनि होलान् । तर यो वा त्यो व्यक्तिले किरिया ग¥यो वा गरेन भन्ने कुरा प्रमुख होइन । प्रमुख कुरा त त्यो हो कि त्यो कार्य गर्न ठीक छ वा छैन ? वस्तुपरक छ वा छैन, समयानुकूल र अधिकांश जनताले धान्न सक्ने छ कि छैन भनने कुरालाई हेरिनुपर्छ । त्यति मात्र होइन, भावी सन्ततिहरुले पनि आत्मसात् गरेर लैजान सक्ने स्थिति र अवस्था छ कि छैन भन्ने कुरामा समेत विचार पु¥याउनु पर्ने हुन्छ । अझ अगाडि भन्ने हो भने त्यसले समाजको विकासलाई अग्रगमनतर्फ लैजान सक्छ कि सक्दैन भन्ने तर्फ पनि ध्यान पु¥याउनु जरुरी हुन्छ । आजको पिंढीले विश्वासै लाग्न नसक्ने वैज्ञानिक चमत्कार देखिरहेको र भोगिरहेको छ । टेलिफोन र टेलिभिजन, मोटर र हवाइजहाज कम्प्यूटर, इमेल र फ्याक्सजस्ता वस्तुहरु उनीहरुका जीवनका महत्वपूर्ण कुराहरु बनिसकेका छन् । चिकित्साविज्ञान, कृषि विज्ञान, अन्तरिक्षविज्ञान, भूगर्भ विज्ञान र अन्य अनेकन् विज्ञानले हाम्रा धर्मशास्त्रले स्थापित गरेका शताब्दीऔं पुराना विचारहरुलाई चुनौती दिइसकेका छन् । तर पनि हामीमा अझै पनि झिंगो टाँस्ने र बिरालो बाँध्ने प्रवृत्ति हावी छ । यसबाट हामी मुक्त हुनुपर्दछ र अरुलाई पनि मुक्त हुन प्रोत्साहित गर्नुपर्छ भन्ने कुरालाई मैले जोडदार रुपमा राखें । तर दुःखको कुरा न त उनीहरु आफू नै मुक्त हुन चाहन्थे न त अरुलाई नै मुक्त हुन दिने पक्षमा देखिन्थे ।
मेरो आग्रहलाई कतिले बुझे, कतिले बुझेनन् त्यहाँ । नबुझ्नेले त बुझेनन्–बुझेनन्, तर बुझ्नेले पनि मलाई साथ दिने साहस गरेनन् । संयोगले त्यस दिन र क्षणमा मेरो क्याम्पसका १०,१२ जना सहपाठी र सहकर्मीहरु मेरी बिरामी आमालाई हेर्न भनेर आमा बित्नुभन्दा करिब एक घण्टा अगाडि मेरो घरमा पाल्नु भएको थियो । म के कुरामा आशान्वित थिएँ भने मेरो विद्रोहमा उहाँहरुको वैचारिक सहयोग र समर्थन पूर्ण रुपमा हुनेछ । म यसमा सफल अवश्य हुनेछु भन्ने लागेको थियो किन भने उहाँहरु पनि यस समाजलाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने प्रगतिशील विचारले युक्त प्रगतिशील खेमामा आबद्ध बुद्धिजीवीहरु हुनुहुन्थ्यो । त्यस क्षणमा उहाँहरुको उपस्थितिले मलाई विद्रोह गर्न भित्रभित्रै अझ उत्साहित गरिरहेको थियो । म अझ ती मित्रहरुबाट बढी उत्साहित भएको थिएँ जो प्रतिशील लेखक संघ मोरङको जिम्मेवार पदमा हुनुहुन्थ्यो । तर अपशोच ! मैले जुन मात्रा र गुणमा सहयोगको अपेक्षा गरेको थिएँ त्यो मेरो सोम शर्माको सातुसरह भयो । मैले सोचेको थिएँ कि उहाँहरुले त्यस जमातलाई हाम्रो धर्म र धर्मशास्त्रमा भएका गलत र रुढीग्रस्त कुराहरुलाई रामै्रसँग बुझाउनुहुनेछ र समाजको विकासका लागि हाम्रो धर्म र परम्परामा परिवर्तन अपरिहार्य भइसकेको छ भनी सहमत गराउनु हुनेछ । उहाँहरुले यसको लागि चुडा सरले जुन प्रयत्न गर्नुभएको छ त्यो सह्रानीय छ र उहाँलाई उहाँको इच्छाअनुसार नै काम गर्न हामीले दिनुपर्छ” भन्नु हुन्छ जस्तो लागेको थियो । यति मात्र होइन, “यदि तपाईहरु उहाँलाई असहयोग गर्नुहुन्छ र मलामी समेत जान्न भन्नुहुन्छ भने हामी उहाँलाई सहयोग गर्न तयार छौं र तपाईहरु मलामी नगए हामी जसरी भए पनि दाहसंस्कार गर्ने छौं” भन्नुुहुन्छ जस्तो लागेको थियो । तर दुःखको कुरा त्यसो भनिएन । बरु उल्टै मलाई नै किरियापुत्री बस्नका लागि बारम्बार अनुरोध गरियो । त्यहाँ प्रकटरुपमा म एक्लो फगत एक्लो भएँ । मैले सोंचे प्रगतिशीलताको कुरा बोलाइ र सहज परिस्थितिमा मात्र उठ्दो रहेछ, असहजमा त्यो मर्दो र मारिंदो रहेछ । आफैले गरेर देखाउनु पर्नेमा, अरुले गर्न प्रयत्न गर्दा समेत असहयोग गरिदोंरहेछ ।
म केही समयसम्म मौन रहें । केही विचारहरु दिमागमा तरंगित हुन थाले । धर्म र परम्परालाई पटक्कै नबुझ्ने व्यक्ति पनि होइन म । मैले धेरथोर यी विधाहरुका बारेमा अध्ययन नगरेको पनि होइन । दिग्गज समाजशास्त्रीहरु इमाइल दुर्खिम, ब्रोनिस्लो म्यालिनोवस्की, ट्यालकोट पार्सन्ज्, म्याक्स वेबर, कार्ल माक्र्स, एडवर्ड बी. टेलर, एफ म्याक्स म्यूलर जस्ता विद्वानहरुले ईश्वर, धर्मर परम्परासम्बन्धमा गरेका व्याख्या र विश्लेषणको अध्ययनले नै ईश्वर र धर्म के हो भन्ने कुराको वास्तविक बोध भयो र पुरानो स्थापित बोधप्रति विद्रोही बनायो मलाई । केही धूर्त, जाली र स्वार्थी पुरेत तथा पण्डितहरुले ईश्वरको अपव्याख्या गरे र त्यसलाई आफ्नो स्वार्थअनुकूल परिभाषित गरे । ईश्वर भन्ने कुरालाई कुनै त्यस्तो अत्यन्तै शक्तिशाली अमूर्त वस्तुको रुपमा व्याख्या गरे जसले चाहेमा जेजस्तो कार्य पनि सजिलै गर्न सक्थ्यो । उसको बास कुनै काल्पनिक स्वर्गलोकमा हुन्छ र यो सारा ब्रम्हाण्ड र ब्रम्हाण्डका सम्पूर्ण वस्तुहरुको सृष्टिकर्ता र संहारकर्ता पनि ऊ ईश्वर नै हो, हामी त उसका केवल सेवक मात्र हौं, उसलाई खुशी बनाउनु नै हाम्रो प्रमुख कार्य हो । ऊ खुशी भएपछि मात्र मानव जीवनबाट मुक्ति मिल्छ र मुक्तिपछि स्वर्गको बास गर्न पाइन्छ भन्ने कुरालाई व्यापक रुपमा प्रचारप्रसार गरे । उनीहरुले मानव जीवनलाई अत्यन्तै क्षणिक कर्कलाको पानीसँग तुलना गरिदिए, “तेरो–मेरो भन्नु व्यर्थ छ, न जन्मिँदा केही लिएर आएका थियौं न त मर्दा केही लिएर जान्छौं, जे हुनुहुन्छ उहाँ प्रभु नै हुनुहुन्छ, उहाँमै आफूलाई लिन गराउनुपर्छ, मानव चोलामा मात्र यो सम्भव हुन्छ । तसर्थ यो चोला (मानव जीवनलाई) केवल प्रभु (ईश्वर) कै सेवामा लगाउनुपर्छ” भन्ने जस्ता कुराको पनि व्यापक प्रचार गरे । यसका लागि व्यापक रुपमा धार्मिक परम्पराहरुलाई प्रचलनमा ल्याए जसको माध्यमबाट प्रभुलाई खुशी बनाउन सकिन्छ ।
तर उनीहरुले जुन रुपमा ईश्वरको अवधारणाको व्यापक प्रचारप्रसार गरे, त्यो सर्वथा झुटो र कपोलकल्पित थियो । हिन्दु धर्मको प्रमुख स्रोतका रुपमा रहेको बेदले पनि पुरेतहरुले भनेको जस्तो (अर्थात् माथि उल्लेख गरे जस्तो) ईश्वरको व्याख्या गरेको छैन । वेदका अनुसार ईश्वर भन्ने वस्तु कुनै अमूर्त वस्तु होइन । यसलाई न त देख्न सकिन्छ, न त छुन, न त अन्य माध्यमहरुबाट नै थाहा पाउन सकिन्छ भन्ने कुरा होइन । ईश्वर त्यो वस्तु पनि होइन जो सधै काल्पनिक स्वर्गमा बास गर्दछ । बेदले त ईश्वरलाई शक्तिको रुपमा व्याख्या गरेको छ । अझ प्रष्ट रुपमा भन्ने हो भने वेदले प्राण शक्तिलाई ईश्वर मानेको छ । यही प्राण शक्तिले नै कुनै पनि वस्तु (प्राणी वा अन्य पनि ) लाई जीवित राख्न सक्छ । अब यो प्राणशक्ति कसरी उत्पन्न हुन्छ त भन्ने कुराको छोटो चर्चा गरौं । उदाहरण मानव शरीरकै लिऊँ, शरीरका जीवित सेलहरुको संयुक्त र उपयुक्त कार्यले एक प्रकारको शक्ति उत्पन्न गर्छ जसलाई प्राणशक्ति भनिन्छ । यसले शरीरको संचालन गर्दछ । यो शक्ति उत्पन्न गर्नका लागि शरीरका सेलहरुमा सम्भाव्य शक्ति वा स्रोत हुन्छ र त्यसले नै शक्तिको अर्थात् आत्माको सिर्जना गर्दछ । तर मृत शरीरमा भने सम्भाव्य शक्तिको सम्भावना नै हुँदैन र शक्ति अर्थात् आत्मा पनि हुँदैन ।
विज्ञानले पनि शक्तिलाई नै ईश्वरको रुपमा लिएको छ । इलोक्ट्रोन र प्रोटोनलार्ई शक्तिको रुपमा विज्ञानले लिएको छ । वैज्ञानिकहरुका अनुसार हाम्रो धर्म ग्रन्थ र पुरेतले भने अनुसारको अलौकिकवस्तु कही कतै ब्रम्हाण्डमा छँदै छैन । हामी जहाँ शुन्य आकाश देख्छौं, त्यहाँ पनि कुनै न कुनै वस्तु छ त्यहाँ हावा छ, हावामा पनि अक्सिजन, कार्वनडाइअक्साइड र नाइट्रोजन छ । यसबाहेक त्यहाँ विभिन्न खालका तरंग र आकर्षणहरु छन् । त्यसैगरी हाम्रो धर्मशास्त्रले जुन तरिकाले मानवको सृष्टि ईश्वरले गरे भनिएको छ , त्यो त्यसरी विल्कुलै भएको छैन । मानवको सृष्टि त महान् वैज्ञानिक चाल्र्स डार्विनको इल तजभ यचष्नष्ल या कउभअष्भक (१८५९) को सिद्धान्त अनुरुप इचष्नष्ल बलम भखयगितष्यल या कउभअष्भक को नियमको परिणामस्वरुप भएकोछ ।
धर्मको पनि गलत ढंगले अर्थ लगाइएको छ । धर्मलाई स्वर्ग जाने भ¥याङको रुपमा व्याख्या गरिएको छ । यो वास्तविक जीव्नलाई काल्पनिक र स्वर्गको काल्पनिक जीवनलाई वास्तविक जीवनको रुपमा पुष्टि गर्ने असफल प्रयत्न गरिए र गरिरहेका छन् । हाम्रा धर्मशास्त्र र धर्मगुरुले जसरी धर्मको व्याख्या गरे र गरिरहेका छन्, त्यो त्रुटिपूर्ण छ ।
महान् दार्शनिक र समाजशास्त्री कार्लमाक्र्स भन्नुहुन्छ, “मानिसले धर्मको सृष्टि गर्छ, धर्मले मानिसको सृष्टि गर्दैन । तर समाजका मानिसहरुले यो कुरा बुझ्दैनन् कि धर्म उनीहरुकै सिर्जना हो । उनीहरुले ईश्वरलाई एउटा बेग्लै स्वतन्त्र शक्तिको रुपमा लिन्छन् । जसले उनीहरुको सम्पूर्ण क्रियाकलापहरुलाई परिचालित गर्ने गर्दछ । मानिस जति बढी धर्ममा लिप्त हुन्छ, उति नै उसले आफ्नो अस्तित्व गुमाउँछ ।” यसलाई अझ प्रष्ट पार्दै उहाँ भन्नुहुन्छ, “धर्म एउटा भ्रम मात्र हो । जसले शोषण र दमनद्वारा उत्पन्न भएको दुःखलाई सहज बनाउने गर्दछ । यो मिथकहरुको एउटा पुञ्ज हो । जसले शासित वर्गमाथि शासकवर्गको हैकम र हैसियतलाई प्रमाणित र वैधानिक बनाउँछ । यसले वास्तविक कुरालाई ढाकछोप गरेर शासकवर्ग शासन गर्नकै लागि र शासितवर्ग शासित हुनकै लागि हो भन्ने गलत धारणा दिन्छ ।”
स्पार्टाकस, जर्दानो ब्रुनो, सुकरात, ग्यालिलियो, बुद्ध, चार्वाक आदिले परिस्थितिको प्रतिकूलता छँदाछँदै पनि सत्य र न्याय, परिवर्तन र प्रगतिका पक्षमा लडिरहे । लाखौंलाख दासहरुको मुक्तिका खातिर विद्रोह गर्ने स्पार्टाकसले विद्रोहमै सहादत प्राप्त गरे । सत्यको वकालत गर्ने बु्रनोलाई पनि कट्टरपन्थी धर्मगुरुले फाँसीमा झुण्डाए र सहादत प्राप्त गरे । सत्यवादी र यथार्थवादी दार्शनिक सुकरातले पनि विष सेवन गरेर भए पनि कट्टरपन्थीहरुलाई चुनौती दिएका थिए । त्यसैगरी ग्यालिलियोले पनि धर्मशास्त्रले भनेको, “सूर्यले पृथ्वीको परिक्रमा गर्छ” भन्ने मान्यता विरुद्ध “पृथ्वीले सूर्यको परिक्रमा गर्छ ।” भन्ने मान्यतालाई अगाडि सारे तर धर्मभीरुहरुले उनको मान्यता धर्मविरुद्ध भयो भने र उनले भनेको कुरा झुटा हो भन्न दबाब दिए । उनीहरुले नत्र उनलाई फाँसीको सजाय हुने बताए। तत्कालीन समयमा राज्ययन्त्रमा धर्मगुरुहरुको राम्रो पकड हुन्थ्यो र उनीहरुले जे भन्थे त्यही गर्न सक्थे । ग्यालिलियोले केही क्षणका लागि अदालतका सामु “मैले भनेको कुरा गलत हो ।” भने । तर अदालतबाट निस्कँदै उनले भने, “मैले सूर्यले पृथ्वीलाई घुम्छ भनेर के गर्नु पृथ्वीले सूर्यलाई घुम्न छाड्दैन” भनेका थिए । त्यसैगरी बुद्धले जुन समय र परिस्थितिमा दरबारको सुख सयल र राजाको पद्वी त्यागेर हिंडे, त्यो परिस्थितिको प्रतिकूलता नै थियो । चार्वाक, जो महाभारतका एक भौतिकवादी ऋषि थिए, उनले परिस्थितिको प्रतिकूलतामा पनि वास्तविक कुराको वकालत गरे र अन्त्यमा उनलाई कट्टरपन्थी पुरेत वा ऋषिहरुले ढुंगाले हिर्काएर मारे ।
यी कुराको स्मरणले मेरो विद्रोहको आगोमा घ्यू थप्ने काम ग¥यो । मैले फेरि सोचें, त्यो समय र समाज त युगौं पुरानो र अवैज्ञानिक थियो, तर यो समय र समाज त विकसित र वैज्ञानिक समाज हो । कट्टरपन्थीहरुले कसरी कुनै भौतिक दण्ड वा सजाय मलाई गर्न सक्छन् र ! फेरि मनमनै मैले भनें, यस समाजलाई कसरी वैज्ञानिक समाज भनौं, जहाँ बोक्सीको आरोपमा ताता पनिउँले डामेको र खुर्सानीको धुँवा धूलो लगाएका समाचारहरु सुनिन्छन्, जहाँ बोक्सी बकाउने नाममा रनमाया परिवारजस्ता सीधासाधा महिलालाई कुटीकुटी मारेका समाचारहरु सुनिन्छन् । म थोरै झस्कन्छु कतै मलाई पनि त यस्तै कुनै कार्वाही नहोला । किन भने यहाँ पनि त तिनैको वर्चस्व रहेछ जो बोक्सी भूतप्रेतमा विश्वास गर्दछन्, जो स्वर्ग र नर्कमा विश्वास गर्दछन्, जो इहलोकलाई मिथ्या र परलोकलाई वास्तविक ठान्दछन् र यथास्थितिलाई कायम राख्न भरमग्दुर प्रयत्न गर्दछन् ।
म विज्ञानमा विश्वास गर्ने हुँदा गरुड पुराणले भनेजस्तो स्वर्ग र नर्कमा विश्वास गर्दिन । पिण्डले मानव शरीर बन्ने र यहाँ दिएका पिण्ड पितृले स्वर्गमा पाउने कुरामा मेरो विश्वास छैन । गरुडपुराणले भने जस्तो पतिको चितामा पत्नीले पनि जलेर मर्नुपर्ने (सती जानुपर्ने) कुरालाई म पटक्कै मान्न तयार छैन । बरु पतिको मृत्युपश्चात् पत्नीले आवश्यकता महशुस गरेमा सम्मानजनक रुपमा विवाह गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता छ । यी र यस्तै गरुडपुराणले भनेका अनेकांै कुराहरुलाई विश्वास नगर्नु र नमान्नु नै मेरो व्यक्तिगत मानव अधिकारको कुरो हो । इहलोकलाई मान्नु र परलोकलाई नमान्नु मेरो विश्वासको कुरो हो । जीवित आमाबाबुको सेवा श्रद्धा गर्नु मेरो धर्म र कर्मशास्त्रको प्रधान कुरा हो भने मृत आमा बाबुको काजकिरिया गर्नु नगर्नु मेरो शास्त्रको गौण कुरा हो । तिमीहरुको धर्म र कर्मशास्त्रमा मृत्युपछिको किरिया प्रधान रहेछ, तर मेरो शास्त्रमा मृत्यु पछिको किरिया (मरेपछि गरिने कार्य) प्रधान हैन ।
भागवत गीताको नवौं अध्यायमा कृष्णले प्रष्ट रुपमा भनेका छन् कि शारीरिक रुपमा न त ज ात हुन्छ, न त अछूत । त्यसैगरी प्रसिद्ध शिक्षाविद् युकिची फुकुजावा भन्नुहुन्छ, “ईश्वरले सृष्टि गर्दा कुनै पनि मानवलाई उँचो वा नीच बनाएको हुँदैन । कुनै व्यक्ति बुद्धिमान वा मूर्ख, धनी वा गरिब बन्ने कुरा त कसले कस्तो प्रकारको शिक्षाको अवसर पाउँछ त्यसमा निर्भर गर्छ ।” तर हाम्रो धर्मशास्त्रले उच्च जाति भनेर मानेका कतिपय ब्राम्हणहरु पनि नीच काम गर्नेर गरिब पनि छन् भने नीच जाति भनेर मानिएकाहरु पनि विश्वविद्यालयमा प्राध्यापन गर्ने जस्तो असल उच्च काम गर्ने र धनी पनि छन् । भारतका भू.पू. राष्ट्रपति के.आर. नारायणन पनि हिन्दुशास्त्रका नजरमा नीच जातिका मानिनुहुन्छ । तर पनि उहाँ राष्ट्रपतिजस्तो सम्मानित र गरिमामय पदमा आसिन हुन सक्नुभयो ।
त्यसै गरी रामप्रित पासवान पनि यो शास्त्रका नजरमा नीच नै ठानिनुहुन्छ, तर उहाँ पनि राष्ट्रिय सभाको उपाध्यक्ष जस्तो गरिमामय पदमा आसीन हुन सक्नुभयो । हिन्दु धर्मशास्त्रमा उल्लेख गरिएको नीच र अछुत जाति भन्ने, “शब्दावली” लाई हटाउनु आजको अनिवार्यता भइसकेको छ । हिन्दुधर्मका प्रकाण्ड विद्वान स्वामी विवेकानन्दले त कस्तोसम्म भन्नुभएको छ भने ु क्ष गलतयगअजबदष्तिथ ष्खिभक, ज्ष्लमगष्कm धष्िि मष्भू हाम्रै महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भन्नुभएको छ, “मानिस ठूलो दिदले हुन्छ, जातले हुँदैन ।” त्यसैगरी मलाई पनि यहाँ भन्न मन लाग्यो, “मानिस ठूलो कर्मले हुन्छ, धर्मले हुँदैन ।” यहाँ धर्म परम्परागत रुढी विशेषलाई भनिएको हो ।
स्मराण्ीय कुरा यो छ कि जसले धर्मको नाममा जातिभेद, लिंगभेद, रंगभेद र वर्गभेदजस्ता कुरा ल्याएर समाजलाई विखण्डन गरे, शोषण र दमन, अत्याचार र पाप गरे उनीहरुले आफूलाई आर्यको संज्ञा दिए भने जसले शोषण होइन श्रम गथ्र्यो, अत्याचार गर्ने होइन अत्याचार सहने गथ्र्यो, पाप होइन पुण्य गथ्र्यो उनीहरुलाई अनार्यको संज्ञा दिइयो । आज पनि विश्वमा अनार्यको काम गर्नेहरु कुर्लीकुर्ली आफूलाई नम्बरी आर्यको उद्घोषण गरिरहेका छन् भने आर्यको काम गर्नेहरुलाई चाहिं अनार्यको बिल्ला जवरजस्त रुपमा भिराउँछन् ।
अहिलेसम्मको इतिहासले के प्रष्ट पारेको छ भने सबैभन्दा बढी मानिसको हत्या धर्मको कारणबाटै भएको छ । धर्मकै कारणले गर्दा विगतमा ठूलठूला संघर्षहरु भए तर ती संघर्षहरुमा ठूलो संख्यामा मानव संहार भयो । धेरै अगाडिका घटनाहरुलाई छाडेर केही दशक अगाडिका घटनाहरुलाई मात्र हेर्दा पनि यो कुराको पुष्टि हुन्छ । जस्तैः सन् १९४७ मा भारत हिन्दु र मुसलमान धार्मिक सम्प्रदायका कारणले नै भारत र पाकिस्तान विभाजित भयो र यो विभाजनमा ठूलो मानव संहार भयो । यसले मानव संहार मात्र गरेन देशलाई समेत टुक्रायो । त्यसैगरी सन् १९९० मा बंगलादेशमा मुसलमानहरुले हिन्दुहरुमाथि गरेको लुटपाट, आगजनी र काटमारले समेत ठुलो धनजनको विनास ग¥यो । त्यसैगरी सन् १९९२ डिसेम्बर ६ मा भारतको अयोध्यामा बाबरी मस्जिद्का कारसेवकहरु (भारतीय जनता पार्टीका समर्थक धार्मिक कट्टरपन्थी स्वयंसेवक) ले भत्काए । त्यसबाट हिन्दु र मुसलमानबीचमा ठूलो दंगा फैलियो र हजारौं हताहत भए ।
टाढाको कुरा मात्र किन गर्ने? केही वर्ष अगाडि हाम्रै देशको नेपालगन्जमा हिन्दु र मुसलमानबीचमा भएको संघर्षलाई पनि लिन सकिन्छ । यस कुराहरुबाट योे प्रष्ट हुन्छ कि धर्मले राष्ट्रलाई विखण्डन गर्न सक्छ । राष्ट्रराष्ट्रबीचमा विद्वेष र संघर्ष पैदा गर्न सक्छ । अझ अगाडि भन्ने हो भने यसले समाजलाई समेत विखण्डन गर्छ । त्यतिमात्र होइन, यसले परिवार–परिवारबीचमा पनि विद्वेष र संघर्ष पैदा गर्न सक्छ ।
धर्मले मानवीय विचार र भावनालाई भन्दा धार्मिक कट्टरपन्थी विचारलाई बढी जोड दिने भएकाले समाजलाई संगठित गर्नेभन्दा विखण्डन बढी गर्छ । त्यसमा पनि जतिजति मानवीय चेतना र बुद्धिको विकास हुँदै जान्छ, उतिउति समानताका कुराहरु उठ्दै जान्छन् । तर धर्म समानताको बीचमा तगारो भइदिन्छ । सहज र सरल रुपमा धार्मिक मान्यताहरुलाई धार्मिक कट्टरपन्थीहरुले छोड्न चाहँदैनन् र नछोडी पनि समानता आउँदैन । यसका लागि एउटै माध्यम मात्र बाँकी रहन्छ, त्यो हो “विद्रोह” । अछुत भनिएकाले मन्दिरभित्र पस्न विद्रोह गरे । पहिले छूतहरुले अछुतको विद्रोहलाई दबाउन भरमग्दुर प्रयत्न गरे । दमनले विद्रोह झन्झन् बढ्यो ।
अझै पनि हामीहरु धेरै कुरामा रुढीग्रस्त छौं । तथ्यका आधारमा सत्य नखोज्ने, कुनै पनि विषयलाई वस्तुपरक ढंगले विश्लेषण नगर्ने र कागले कान लग्यो भन्दा कान नछामी कागका पछाडि दौडने हामी अधिकांशको प्रवृत्ति छ । यही प्रवृत्ति भएकै कारणले यस युगमा पनि हामी स्वर्गका पितृलाई पिण्ड दिंदैछौं, गाईबाछी दान गर्दैछौं, शुद्धिका लागि गाउँत खाने र अभिषेक गर्ने गर्दछौं, मानव मानवमा उचनीचको भेद गर्दैछौं र अर्कै स्वर्ग र नर्कमा विश्वास गर्दै छौं। विश्वास गर्नुको पनि त हद र सीमा हुन्छ नि । म त यी कुरालाई पटक्कै विश्वास गर्दिनँ र मान्दिनँ पनि ।
जसरी पृथ्वीका हरेक वस्तुहरु परिवर्तनशील छन् । त्यसैगरी संस्कृति पनि परिवर्तनशील हुन्छ । एउटाको ठाउँ अर्काले लिन्छ । उदाहरण किरियाविधिकै लिऊँ । गरुडपुराणमा मासुको पिण्ड दिनुपर्ने उल्लेख छ र पहिले पहिले त्यसै गरिन्थ्यो अरे । तर अहिले मासुको पिण्ड दिइँदैन, खीरको पिण्ड दिइन्छ ।
त्यसैगरी पहिले पहिले आमाबाबुको बरखी १३ वर्षसम्म बारिन्थ्यो अरे । तर अहिले १ वर्षसम्म मात्र बारिन्छ । पहिले किरियापुत्री छोराले नै बस्नुपर्नेमा अहिले कथित ब्राम्हणलाई किरियापुत्री राखेर किरिया गर्ने चलन पनि छ । पहिले पति मर्दा पत्नीले पतिसँगै सती जानुपथ्र्यो, तर अहिले पर्दैन । पहिले छोरीलाई पढाउन हुँदैन, पढायो भने बोक्सी हुन्छन् भन्ने चलन थियो अरे, तर अहिले त्यसो भन्नेहरु कोही छैनन् । लौ, अब तपाई नै भन्नुहोस्, संस्कृतिको संरक्षण र पहिचानको नाममा सती प्रथा चलाउनै पर्छ भन्नुहुन्छ ? छोरीलाई पढाउनै हुँदैन भन्नुहुन्छ ? अवश्य पनि भन्नुहुन्न, किनभने ती संस्कारहरु गलत थिए । हो, त्यस्तै गलत संस्कारलाई हटाउनुपर्छ । संस्कार (वा संस्कृति) भनेको मानिसले नै चलाएको हो, मानिसले नै त्यसलाई छोड्न वा परिवर्तन गर्न सक्छ । तसर्थ मानवविना संस्कारको आफ्नै स्वतन्त्र अस्तित्व हुँदैन । यो मानिसमा अन्तर्निहित हुन्छ ।
मानिस छ र संस्कृति पनि छ । यदि मानिस नहुँदो हो त संस्कृति पनि हुँदैन थियो । संस्कृतिको सृष्टिकर्ता नै मानिस हो । तसर्थ मानिसले नै पुरानो संस्कृति छाडेर नयाँ संस्कृति सिर्जना गर्न सक्छ । हाम्रो संस्कृति वा परम्पराअनुसार जसरी हामी काजकिरिया गरिरहेका छौं त्यो पुरानो परम्परा हो । त्यो परम्परा हामीलाई गलत लागेमा अर्को नयाँ परम्पराको सिर्जना गर्न सकिन्छ र त्यही अनुरुप काजकिरिया गर्न सकिन्छ । मेरो विश्लेषणमा यो परम्परा अति नै पुरानो, रुढीग्रस्त, अव्यवहारिक र असान्दर्भिक छ। त्यसैले यसको विकल्प खोज्नुपर्छ भन्ने हो ।
गरुडपुराणले पुजापाठ गर्ने, दानदक्षिणा दिने, भगवानको नाम जप्ने, तुलसीको मोठमा प्राण जाने, प्राण जाँदा मुखमा तिलकुशको पानी छर्ने, सुनको पानी पर्ने, रामनाम जप्दाजप्दै प्राण जाने सीधै स्वर्ग पुग्दछन्, केही गर्नुपर्दैन भन्छ । तर त्यस्ताको पनि अझ बढी दानदक्षिणा दिएर, अझ बढी विधिविधान गरेर किरिया गरेको देखिन्छ । तर पुरेतहरु किन त्यस्ता व्यक्तिको किरिया गर्नुपर्दैन भन्दैनन् ? किनभने उनीहरुको यसमा स्वार्थ छ ।
स्वार्थ आर्थिक र मनोवैज्ञानिक पक्षमा छ । मृतकको नाममा दिइने दानदक्षिणा उनीहरुको आर्थिक स्वार्थ हो भने गुरु÷पूरोहित हुन, अरु भन्दा श्रेष्ठ, पवित्र र विद्वान ठानिन र उनीहरुलाई मान सम्मान र आदर सत्कार गर्नुपर्दछ भन्ने धारणाको विकास गराउन खोज्नु चाहिं मनोवैज्ञानिक स्वार्थ हो । यही मनोवैज्ञानिक कारणले गर्दा पुरेतका पाउमा यजमानका माथले सहज रुपमा साष्टाङ्ग दण्डवत गर्छ चाहे यजमान पुरेतभन्दा विद्वानै र उच्च पदस्थै किन नहोस् वा उमेरमा पचासै वर्ष जेठो नै किन नहोस् । यसरी आफूलाई आर्थिक रुपमा समृद्ध र सामाजिक रुपमा प्रतिष्ठत बनाउने गलत र स्वार्थी परम्पराको विरोध गरेर किन आफ्ना खुट्टामा आफै बन्चरो हान्थे र पुरेतहरु !
उनीहरु यतिसम्म स्वार्थी र लालची छन् कि आर्थिक लाभका निम्ति काट्टो खाने जस्तो नीच कार्य गर्न समेत हिच्किचाउँदैनन् । किरियाविधि अनुसार पुरेतले एघारौं दिनमा काट्टो खान्छन् । काट्टो खानु भनेको नरमांस खानुसरह हो किनभने काट्टोमा मृतकको अस्तु घोटेर खाद्य पदार्थमा मिसाएर पुरेतलाई खान दिइन्छ । तसर्थ काट्टो खानु भनेको नरमांस (प्रतिकात्मक रुपमा ) खानुसरहको हो ।

काट्टो खाने कार्यले पुरेतहरुलाई पनि इदी अमिन दादाकै श्रेणीमा पु¥याएको छ भन्दा अत्युक्ति नहोला । फरक यसमा मात्र छ कि इदि अमिन दादा (जो इस्वी संवत १९७१ देखि १९७९ सम्म युगान्डाका राष्ट्रपति थिए) जिउँदा मानिसहरुलाई (आफ्ना विरोधीहरुलाई ) मार्न लगाएर उनीहरुको मासु नै पकाएर खान्थे भने हाम्रा पुरेतहरु मरेका मित्रजनहरुको अस्तु घोटेर झोल खानामा मिसाएर खान्छन् । यो जसरी , जे नाममा, जुन मात्रा र भावमा खाए पनि आखिर नरमांस खाएकै ठहर्छ, जसरी सियो वा फाली चोरे पनि आखिर चोर, चोरै ठहर्छ ।
काट्टो खाने कम ज्यादै काम हुन्छ । यसको प्रमुख कारण पुरेत काट्टो खान तयार नभएर नभई जजमानले धेरै दान दिन नसकेर वा दान दिन तत्पर नभएर हो । यदि धेरै दान दिइयो भने उनीहरु सहजै काट्टो खान तयार भएका थुप्रै उदाहरणहरु छन् । यदि यो साँच्चै नै धार्मिक नियम र संस्कार हो भने धेरै दान नलिईकनै पुरेतहरुले सबैको काट्टो खानुपर्ने हो । होइन, यो सम्पत्ति आर्जनको माध्यम मात्र हो भने यसलाई धार्मिक नियम र संस्कृतिको रुपमा लिइनु हुँदैन । धार्मिक संस्कारलाई सम्पत्ति आर्जनको माध्यम बनाइनु हुँदैन । यो सबैका लागि शास्वत हुनुपर्छ ।
काट्टो संस्कारले पुरेतहरुको अपमान गरेको छ । काट्टो खाएवापत वापत ‘काट्टे बाहुन’ को संज्ञा दिइन्छ । यसबाहेक उनीहरुलाई पुरेत्याईबाट हटक गरिन्छ । उनीहरुलाई नीच दृष्टिले हेरिन्छ र यहाँसम्म कि समाजबाटै बहिष्कार गर्ने गरिन्छ । यसको ज्वलन्त उदाहरण हो–राजा वीरेन्द्रको काट्टो खाने पुरेतलाई काठमाडौं उपत्यकाबाटै निकाल्न गपरिएको प्रयास । यसबाट पुरेतहरु कति धेरै अपमानित र लज्जित हुन्छन् तर पनि यो संस्कारलाई उनीहरु गलत संस्कार हो भन्न चाहँदैनन् र छोड्न पनि चाहँदैनन्, यसको प्रमुख कारण हो उनीहरुको सम्पत्तिप्रतिको लालची प्रवृत्ति । सम्पत्ति पाए जे पनि गर्न तत्पर हुने स्वार्थी प्रवृत्तिको विकास यो संस्कृतिले गरेको छ । धर्म र संस्कृतिका नाउँमा मानवलाई मानवकै मासु (मानव–रस) खुवाउने यो संस्कृति अत्यन्तै अमानवीय छ । तसर्थ यो संस्कृतिको अन्त्यका लागि सबैबाट प्रयास हुनु अत्यन्तै जरुरी छ ।
तसर्थमाथि उल्लिखित कुराहरुले के पुष्टि गर्छन् भने यो किरियाविधि गर्नाको कुनै औचित्य छैन । यो त्यही साधुको जस्तो देखावटी धर्म हो । बरु यसका स्थानमा सकिन्छ भने मृतकका नाममा पुरस्कारको व्यवस्था गर्ने, स्कूल, बाटो, धारो र अस्पतालजस्ता कुराहरु बनाउन सहयोग गर्ने, कुनै परोपकारी संस्था तथा स्वास्थ्य शिविर संचालन गर्ने वा संचालन गर्न सहयोग गर्ने जस्ता किरिया गर्नुपर्छ । मृतकका आँखा, मृगौला र अन्य अंगहरु सम्भव भए दान दिनुपर्छ । यी बाहेक मृतकका नाममा ७ दिनभित्रमा एक श्रद्धाञ्जली सभाको आयोजना अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । यसलाई नै किरियाविधिका रुपमा स्थापित गर्नुपर्छ । यही नै हाम्रो परम्परा बन्छ । यही नै हाम्रो संस्कृति बन्छ, यसैले हाम्रो पहिचान दिन्छ ।अस्तु !

