लोकप्रियतावादको उभार र कम्युनिस्ट आन्दोलनको दिशा

 

प्रस्तावना
विश्व राजनीति अहिले गहिरो संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । नवउदारवादी पुँजीवादी संरचनाले उत्पादन सम्बन्धलाई अस्थिर बनाउँदै असमानता, श्रम असुरक्षा र सामाजिक ध्रुवीकरण तीव्र बनाएको छ । यही प्रक्रियाबाट उत्पन्न प्रतिनिधित्व संकटको राजनीतिक अभिव्यक्तिका रूपमा लोकप्रियतावाद विश्वव्यापी रूपमा उदाएको देखिन्छ । निजीकरण, वित्तीयकरण र सेवा–निर्भर अर्थतन्त्रको विस्तारसँगै प्रतिनिधिमूलक लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुँदै गएको छ भने पुँजीवादी राज्यको वैधता संकट गहिरिँदै गएको छ ।

नेपाल पनि यस प्रक्रियाबाट अछुतो छैन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि राजनीतिक अस्थिरता, नीतिगत असंगति, संस्थागत भ्रष्टाचार, कमजोर उत्पादन संरचना र बेरोजगारी संकटले व्यापक जनअसन्तोष पैदा गरेको छ । राष्ट्रिय अर्थतन्त्र क्रमशः आयात, रेमिटेन्स र सेवा–निर्भर संरचनामा सीमित हुँदै गएको छ । जसले नेपालको अर्थतन्त्रलाई अझ गहिरो रूपमा निर्भर तथा दलाल चरित्रतर्फ धकेलिएको छ । यही पृष्ठभूमिमा भाद्र २३/२४ को जेनजी आन्दोलनको नाममा भएको विध्वंस, २०८२ को निर्वाचनमा पुराना संसदीय तथा बुर्जुवा गणतान्त्रिक संस्थापन शक्तिहरूप्रतिको घट्दो जनविश्वास र राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले राजनीतिक वैधताको संकटलाई थप उजागर गरेको छ ।
यसरी लोकप्रियतावादको उभारलाई केवल आकस्मिक राजनीतिक प्रतिक्रियाका रूपमा होइन, वर्तमान सामाजिक–आर्थिक संकट र शक्ति सम्बन्धको अभिव्यक्तिका रूपमा विश्लेषण गर्न आवश्यक छ ।

१. वैचारिक पृष्ठभूमि
लोकप्रियतावाद कुनै संगठित वा एकीकृत सिद्धान्तमा आधारित विचारधारा होइन । यो पुँजीवादी संकटभित्र विकसित राजनीतिक तर्क हो । ऐतिहासिक भौतिकवादी दृष्टिले हेर्दा कुनै पनि राजनीतिक प्रवृत्ति समाजको उत्पादन सम्बन्ध, वर्गीय शक्ति सन्तुलन र आर्थिक संरचनाबाट पृथक् रूपमा विकसित हुँदैन । लोकप्रियतावाद पनि नवउदारवादी पुँजीवाद, जनविश्वासको संकट र वर्गीय असन्तोषको ऐतिहासिक भौतिक अभिव्यक्ति हो । यसले समाजलाई “जनता र अभिजात वर्ग” बीचको नैतिक–राजनीतिक विभाजनका रूपमा प्रस्तुत गर्दै वर्गीय संरचनाको वास्तविक अन्तर्विरोधलाई ओझेलमा पार्छ ।
समाजको राजनीतिक र वैचारिक संरचना उत्पादन सम्बन्धमा आधारित आर्थिक आधार (Base) र त्यसबाट विकसित हुने वैचारिक–राजनीतिक अधिरचना (Superstructure) बीचको द्वन्द्वात्मक सम्बन्धद्वारा निर्धारण हुन्छ । राज्य, कानून, प्रतिनिधिमूलक प्रणाली र विचारधारा स्वतन्त्र संरचना नभई विद्यमान उत्पादन सम्बन्धको प्रतिबिम्ब हुन् । नवउदारवादी पुँजीवाद अन्तर्गत उत्पादन सम्बन्धमा आएको अस्थिरता, श्रमको लचिलोपन र वित्तीयकरणले राजनीतिक वैधता र राज्यसत्ताप्रतिको संकटलाई गहिरो बनाएको छ । यही संकटले लोकप्रियतावादलाई जन्म दिन्छ, जसले वर्गीय अन्तर्विरोधलाई समाधान नगरी भावनात्मक भाष्यमा पुनः संयोजन गर्छ ।

लोकप्रियतावाद स्वयंमा स्वतन्त्र वर्गीय विचारधारा होइन । यसको चरित्र कुन वर्गीय शक्तिले नेतृत्व गरिरहेको छ भन्ने कुराले निर्धारण गर्छ । ऐतिहासिक रूपमा यसको प्रारम्भिक १९औँ शताब्दीको अन्त्यतिर अमेरिका र रुसका किसान आन्दोलनहरूमा देखिन्छ भने २०औँ शताब्दीमा ल्याटिन अमेरिकी देशहरूमा यसले व्यापक प्रभाव विस्तार ग¥यो । २१औँ शताब्दीमा नवउदारवादी पुँजीवाद र वित्तीयकरणको गहिरिँदो प्रभावसँगै राज्य र राजनीतिक वैधताप्रतिको संकट तीव्र हुँदै जाँदा लोकप्रियतावाद पुनः विश्वव्यापी रूपमा विस्तार भएको छ ।

वर्तमान राजनीतिमा दक्षिणपन्थी, वामपन्थी र सर्वसत्तावादी लोकप्रियतावादका विभिन्न रूप देखिन्छन् । यद्यपि तिनको साझा आधार राजनीतिक वैधताको संकट र प्रतिनिधित्वप्रतिको असन्तोष हो । तर अधिकांश अवस्थामा यी प्रवृत्तिहरूले उत्पादन सम्बन्ध, राज्यसत्ता र वर्गीय शक्ति संरचनालाई चुनौती दिनुको सट्टा असन्तोषलाई व्यवस्थाभित्रै पुनः समायोजन गर्ने काम गर्छन् । यस प्रक्रियाले राज्य–बजार सम्बन्धलाई पुनर्संरचना गर्दै वर्गीय असन्तोषलाई नयाँ राजनीतिक अभिव्यक्तिको रूप दिएको छ ।
यसरी लोकप्रियतावादलाई केवल सतही राजनीतिक अभिव्यक्तिका रूपमा होइन बरु पुँजीवादी संकट, उत्पादन सम्बन्धको अन्तर्विरोध र वर्गीय शक्ति संरचनाको ऐतिहासिक–भौतिक परिणामका रूपमा विश्लेषण गर्नु आवश्यक हुन्छ ।

२. नेपालको राजनीतिक सन्दर्भ
नेपालको राजनीतिक संक्रमण गहिरो संरचनात्मक संकटबाट गुज्रिरहेको छ । नेपालको राजनीतिक–आर्थिक संरचना औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भए पनि यसको आर्थिक आधार अझै अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती विशेषतासहित नवऔपनिवेशिक निर्भरतामा आधारित छ । आयातमुखी बजार विस्तार, रेमिटेन्स–आश्रित अर्थतन्त्र, वित्तीय तथा व्यापारिक पुँजीको प्रभुत्व तथा वैदेशिक शक्ति केन्द्रहरूमाथिको नीतिगत आश्रयले नेपालको सत्तासंरचनालाई झन् निर्भर, दलाल र जनविमुख बनाउँदै लगिरहेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि राज्यले उत्पादनमुखी अर्थतन्त्र विकास गर्न सकेको छैन । अर्थतन्त्र क्रमशः आयात, रेमिटेन्स र सेवा–निर्भरतामा सीमित हुँदै गएको छ । जसले व्यापारिक पुँजी, भूमि–दलाल पुँजी र उपभोग केन्द्रित अर्थतन्त्रलाई मजबुत बनाएको छ । नेपालको न्म्ए मा सेवा क्षेत्रको योगदान करिब ६२% पुगेको छ भने उद्योग क्षेत्रको योगदान करिब १४% मात्र रहेको छ । कृषि क्षेत्रले अझै करिब २४% योगदान गरिरहेको भए पनि यसको उत्पादकत्व कमजोर छ र कृषि उत्पादन निर्वाहमुखी चरित्रमै सीमित बन्दै गएको छ । अर्कोतर्फ कुल अर्थतन्त्रको करिब २५% हिस्सा रेमिटेन्समा निर्भर रहेको छ, जसले घरेलु उत्पादन आधारलाई थप कमजोर बनाएको छ ।
यसै संरचनात्मक परिवर्तनसँगै प्लेटफर्म–आधारित डिजिटल श्रम, गिग अर्थतन्त्र (Gig Economy) र वैदेशिक श्रम प्रवासनले युवा श्रमिक वर्गलाई अस्थायी, असुरक्षित र विखण्डित श्रम सम्बन्धमा धकेलेको छ । राजनीतिक स्तरमा बारम्बार सरकार परिवर्तन र सत्ता समीकरणको अस्थिरता, नीतिगत असंगति र संस्थागत भ्रष्टाचारले जनविश्वासको संकटलाई अझ गहिरो बनाएको छ । भाद्र २३/२४ को जेनजी आन्दोलन, २०८२ को निर्वाचन परिणाम र नयाँ राजनीतिक शक्तिहरूको उदयले स्थापित दलहरूप्रतिको विश्वास क्षय भएको देखिन्छ । यो केवल नेतृत्व संकट होइन बरु प्रतिनिधिमूलक लोकतान्त्रिक संरचनाको विफलता हो ।
यसै पृष्ठभूमिमा डिजिटल पुँजीवाद निर्णायक बन्दै गएको छ । डिजिटल प्लेटफर्म, निगरानी पूँजीवाद (Survelliance Capitilism ) र ध्यान अर्थतन्त्र (Attention Economy) ले डेटा, सूचना र मानव ध्यानमाथि नियन्त्रण विस्तार गर्दै राजनीतिक बहसलाई गहिरो वर्गीय विश्लेषणभन्दा तात्कालिक, व्यक्ति केन्द्रित र भावनात्मक प्रतिक्रियातर्फ मोडिरहेका छन् ।
यस सम्पूर्ण प्रक्रियालाई मालेमावादी दृष्टिले हेर्दा नेपालको वैचारिक तथा राजनीतिक व्यवस्था देशको आर्थिक आधार र उत्पादन सम्बन्धसँग गहिरो रूपमा जोडिएको छ । कमजोर उत्पादन ढाँचा, आयात–निर्भर अर्थतन्त्र र रेमिटेन्स–केन्द्रित विकास मोडेलले राज्यलाई विद्यमान पुँजीवादी प्रणालीको व्यवस्थापक बनाएको छ । यसरी नेपालमा लोकप्रियतावाद कुनै आकस्मिक राजनीतिक घटना होइन बरु आर्थिक आधार, श्रम सम्बन्ध, राज्यप्रतिको राजनीतिक अविश्वास र डिजिटल पुँजीवादको संयुक्त परिणाम हो ।

३. लोकप्रियतावादको वर्गीय विश्लेषण
लोकप्रियतावादले सामाजिक असन्तोषलाई पूर्ण रूपमा अस्वीकार गर्दैन, तर त्यसलाई वर्गीय पक्षधरताबाट अलग गर्दै नैतिक, भावनात्मक र व्यक्ति–केन्द्रित राजनीतिक धारामा रूपान्तरण गर्छ । यसरी यो वर्गीय अन्तर्विरोधको समाधान नभई त्यसको वैचारिक व्यवस्थापन गर्ने राजनीतिक संयन्त्रका रूपमा कार्य गर्छ । यस प्रक्रियामा दलाल तथा नोकरशाही वर्गले निर्णायक भूमिका निर्वाह गर्छ, जसले अर्ध–औपनिवेशिक तथा नवऔपनिवेशिक निर्भरतामा आधारित आर्थिक संरचनाभित्र आफ्नो प्रभुत्वलाई निरन्तर पुनरुत्पादन गरिरहेको हुन्छ ।

अर्ध–औपनिवेशिक तथा नवऔपनिवेशिक निर्भरतामा आधारित आर्थिक व्यवस्थाभित्र विकसित दलाल तथा नोकरशाही पुँजीले राष्ट्रिय उत्पादन प्रणालीभन्दा आयात, वित्तीय मध्यस्थता र वैदेशिक पुँजीसँगको गठबन्धनमार्फत आफ्नो प्रभुत्व कायम राखेको छ । राज्यसत्ता, नीति निर्माण र आर्थिक स्रोतमाथिको नियन्त्रणका आधारमा यस वर्गले जनअसन्तोषलाई व्यवस्थापकीय भाष्यमा ढाल्दै विद्यमान शक्ति संरचनालाई पुनः वैधता प्रदान गर्छ । परिणामस्वरूप, लोकप्रियतावादले पुँजीवादी उत्पादन सम्बन्धलाई चुनौती दिनुको सट्टा त्यसको वैचारिक पुनर्संरचनामा सहयोग पु¥याउँछ ।
मध्यम वर्ग लोकप्रियतावादको प्रमुख सामाजिक आधार हो । आर्थिक असुरक्षा, सामाजिक गतिशीलताको संकुचन र डिजिटल सूचना प्रवाहको तीव्रताले यसको राजनीतिक व्यवहारलाई अस्थिर र प्रतिक्रियात्मक बनाएको छ । यस वर्गको राजनीतिक झुकाव दीर्घकालीन वर्गीय दृष्टिकोणभन्दा तात्कालिक असन्तोष, प्रतीकात्मक राजनीति र व्यक्ति केन्द्रित नेतृत्वतर्फ बढी लगाव हुन्छ । यसले लोकप्रियतावादी तर्कलाई सहज सामाजिक आधार प्रदान गर्छ ।
मजदुर तथा किसान वर्ग उत्पादन सम्बन्धसँग प्रत्यक्ष रूपमा जोडिएको भए पनि असंगठित श्रम, गिग अर्थतन्त्र र वैदेशिक रोजगारीका कारण यसको वर्गीय अभिव्यक्ति विखण्डित बनेको छ । उत्पादन प्रक्रियासँग प्रत्यक्ष सम्बन्ध भए पनि राजनीतिक रूपमा यो वर्ग विखण्डित अवस्थामा रहँदा संगठित वर्गचेतना निर्माण कठिन हुँदै गईरहेको छ । यही कारण लोकप्रियतावादले यस वर्गको असन्तोषलाई पनि वर्गीय रूपान्तरण नगरी भावनात्मक प्रतिक्रियामा सीमित गर्छ ।
यसरी लोकप्रियतावादले विभिन्न वर्गहरूमा विद्यमान असन्तोषलाई एउटै ‘जनता विरुद्ध अभिजात वर्ग’ भन्ने धारणा स्थापित गर्छ । यस वैचारिक निर्माणमार्फत वास्तविक उत्पादन सम्बन्ध र वर्गीय अन्तरविरोधलाई अदृश्य बनाउँदै सामाजिक विरोधलाई व्यवस्थाभित्रै सुरक्षित रूपमा पुनः समायोजन गर्छ ।

४. लोकप्रियतावाद र क्रान्तिकारी आन्दोलनबीच अन्तरविरोध
लोकप्रियतावाद र कम्युनिस्ट आन्दोलन दुवै विद्यमान समाजिक असन्तोषबाट उत्पन्न भए पनि तिनको वर्गीय आधार, राजनीतिक दृष्टिकोण र ऐतिहासिक गन्तव्य एकअर्कासँग पूर्णतः विपरीत छन् । यी दुई प्रवृत्तिहरू एउटै सामाजिक संकटप्रति विकसित दुई भिन्न ऐतिहासिक वर्गीय प्रतिक्रिया हुन् ।
वैचारिक आधार ः लोकप्रियतावादले समाजलाई जनता र अभिजात वर्गबीचको भावनात्मक विभाजनका रूपमा प्रस्तुत गर्छ । यस प्रक्रियामा यसले जटिल वर्गीय संरचनालाई केवल दुई विपरीत पक्षमा सीमित गरी राजनीतिक अन्तरविरोधलाई भावनात्मक प्रतिक्रिया र आक्रोशमा रूपान्तरण गर्छ । यसको विपरीत, कम्युनिस्ट आन्दोलन ऐतिहासिक भौतिकवादमा आधारित द्वन्द्वात्मक विश्लेषण प्रयोग गर्दै उत्पादन सम्बन्ध, वर्ग संघर्ष र राज्यसत्ताको वास्तविक चरित्रलाई स्पष्ट रूपमा उजागर गर्छ ।
राजनीतिक संगठन ः लोकप्रियतावाद करिश्माटिक नेतृत्व र तात्कालिक जनउत्तेजनामा आधारित हुन्छ, जसको संगठनात्मक आधार अस्थिर र प्रतिक्रियात्मक हुन्छ । यसको विपरीत, कम्युनिस्ट आन्दोलन दीर्घकालीन वर्गीय संगठन, अनुशासित पार्टी संरचना र सामूहिक नेतृत्वमा आधारित हुन्छ, जसले असन्तोषलाई स्थायी राजनीतिक शक्तिमा रूपान्तरण गर्छ ।
राज्यप्रतिको दृष्टिकोण ः लोकप्रियतावादले राज्यलाई विद्यमान प्रणालीभित्रै सुधारयोग्य मानेर जनअसन्तोषलाई चुनावी समर्थन र तात्कालिक लाभमा रूपान्तरण गर्छ । यसको विपरीत, कम्युनिस्ट आन्दोलन राज्यसत्तालाई वर्गीय प्रभुत्वको साधन मान्दै जनअसन्तोषलाई वर्गचेतना र सामाजिक रूपान्तरणको दिशामा संगठित गर्छ ।
ऐतिहासिक परिणाम ः लोकप्रियतावादको अन्तिम परिणाम प्रणालीगत परिवर्तन होइन बरु संकट व्यवस्थापन हो । जसले पुँजीवादी सम्बन्धलाई पुनः स्थायित्व दिन्छ । यसको विपरीत, कम्युनिस्ट आन्दोलन उत्पादन सम्बन्ध, राज्य संरचना र सामाजिक शक्ति सम्बन्धको गुणात्मक रूपान्तरणतर्फ अग्रसर हुन्छ ।
यसरी लोकप्रियतावाद र कम्युनिस्ट आन्दोलन एउटै ऐतिहासिक संकटका दुई विपरीत राजनीतिक प्रतिक्रिया हुन् –एकले संकटलाई विद्यमान व्यवस्थाभित्र स्थिरता खोज्छ अर्कोले त्यसलाई ऐतिहासिक परिवर्तनको गतिशील ऊर्जामा रूपान्तरण गर्छ ।

५. क्रान्तिकारी आन्दोलनका चुनौतीहरू
वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलन बहुआयामिक र संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको छ । जसले यसको वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र जनआधारसँगको सम्बन्धलाई प्रत्यक्ष रूपमा प्रभावित गरेको छ । यी चुनौतीहरू केवल बाह्य परिस्थितिका परिणाम मात्र होइनन् बरु वर्गसंघर्ष कमजोर हुँदै गएको ऐतिहासिक अवस्था र कम्युनिस्ट राजनीतिलाई विद्यमान व्यवस्थाभित्र क्रमशः समाहित गर्ने निरन्तर दबाबका उपज हुन् । यसले आन्दोलनलाई वैचारिक अस्पष्टता, संगठनात्मक शिथिलता र राजनीतिक दिशाहीनताको खतराको संकेत हो । यस प्रक्रियाको प्रारम्भिक अभिव्यक्ति वैचारिक क्षेत्रमा देखिन्छ, जहाँ वैज्ञानिक वर्ग विश्लेषण क्रमशः कमजोर हुँदै गएको छ । यसको स्थानमा नारा केन्द्रित र अवसरवादी प्रवृत्तिहरू हावी हुँदै जाँदा आन्दोलनको सैद्धान्तिक गहिराइलाई न्यूनीकरण गर्ने र लोकप्रियतावादमा रमाउने चिन्तन हावी हुँदै गएको छ ।

यस वैचारिक क्षयको प्रभाव क्रमशः संगठनात्मक संरचनामा विस्तार हुँदै गएको छ । जसले संगठन र जनआधारबीचको सम्बन्धलाई खुकुलो बनाउँदै वर्गीय आधारलाई कमजोर पारेको छ । परिणामस्वरूप आन्दोलनको समग्र राजनीतिक दिशा अनिश्चित र संगठनात्मक संरचना असंगठित बन्दै गएको छ । यसै सन्दर्भमा पार्टी संयन्त्र पनि क्रमशः कमजोर हुँदै गएको देखिन्छ, जहाँ अत्यधिक केन्द्रीकृत निर्णय प्रक्रिया र तल्लो तहको निष्क्रियताले संगठनलाई जनमुखी र गतिशील बन्नबाट रोकेको छ । साथै निर्वाचन केन्द्रित प्रतिस्पर्धा, सुधारवाद र गैरसरकारी संस्थामुखी अभ्यासको विस्तारले वर्गसंघर्षको तीव्रतालाई थप कमजोर बनाउँदै वर्गीय राजनीतिलाई संस्थागत सीमाभित्र संकुचित गरेको छ ।

यससँगै सांस्कृतिक तथा डिजिटल संरचनामा आएको परिवर्तनले आन्दोलनको दीर्घकालीन वैचारिक आधारलाई अझ गहिरो रूपमा प्रभावित गरेको छ । ध्यान अर्थतन्त्रको प्रभुत्व, गिग श्रमको अस्थिरता, उपभोक्तावादी संस्कृति र वैदेशिक श्रम प्रवासनले वैचारिक प्रतिबद्धता र वर्गचेतना दुवैलाई कमजोर बनाएको छ । यी सबै अन्तरसम्बन्धित प्रक्रियाहरूको संयुक्त प्रभावले अन्ततः कम्युनिस्ट आन्दोलनलाई वर्गीय रूपान्तरणको दिशाबाट व्यवस्थाभित्र सीमित राजनीतिक अस्तित्वतर्फ धकेल्ने खतरा सिर्जना गरेको छ ।

६. कार्यदिशा
लोकप्रियतावादको उभार र संरचनागत संकटको सन्दर्भमा कम्युनिस्ट आन्दोलनका लागि स्पष्ट, वैज्ञानिक र दीर्घकालीन कार्यदिशा आवश्यक हुन्छ । यसको केन्द्र चुनावी प्रतिस्पर्धा वा तात्कालिक राजनीतिक लाभ होइन बरु उत्पादन सम्बन्धको रूपान्तरणमार्फत नयाँ सामाजिक शक्ति सम्बन्ध निर्माण गर्ने ऐतिहासिक पहलकदमी आवश्यकता छ ।
यसका लागि जन तथा वर्गीय संगठनलाई सुदृढ गर्दै उत्पादन, सेवा तथा डिजिटल क्षेत्रमा रहेका श्रमिक वर्गलाई वर्गीय रूपमा संगठित गर्नुपर्छ । असंगठित श्रमलाई सामूहिक राजनीतिक शक्तिमा रूपान्तरण नगरी जनसंघर्ष, जनप्रतिरोध संघर्ष र वर्गसंघर्षलाई प्रभावकारी दिशामा अघि बढाउन सकिँदैन ।

डिजिटल पुँजीवादद्वारा निर्मित सूचना आधारित राजनीतिक वातावरणमा वैचारिक संघर्ष झन् पेचिलो बन्दै छ । त्यसैले डिजिटल प्लेटफर्मलाई केवल प्रचारको माध्यम नभई संगठनात्मक तथा वैचारिक संघर्षको सक्रिय मोर्चाका रूपमा विकास गर्न आवश्यक छ । एल्गोरिदमिक प्रभाव, ध्यान अर्थतन्त्र र भावनात्मक राजनीतिको प्रभुत्वविरुद्ध वैकल्पिक वैचारिक सामग्री र जनसंचार माध्यम निर्माण गर्नु आजको महत्वपूर्ण कार्यभार हो । यसले राजनीतिक चेतनालाई तात्कालिक प्रतिक्रियाबाट उठाएर वर्गचेतनातर्फ उन्मुख गर्न मद्दत गर्छ ।

आयात–निर्भर अर्थतन्त्रको विकल्पका रूपमा स्थानीय उत्पादन, कृषि र सहकारी–आधारित आर्थिक अभ्यासलाई सुदृढ गर्दै आर्थिक संघर्षलाई वर्गीय राजनीतिक संघर्षसँग जोड्नुपर्छ । साथै जातीय, क्षेत्रीय र पहिचानसम्बन्धी अन्तरविरोधलाई वर्गीय आन्दोलनसँग एकीकृत गर्दै समावेशी राजनीतिक दिशा निर्माण गर्नु आवश्यक छ । यस प्रक्रियाले विभाजित असन्तोषलाई संगठित वर्गीय राजनीतिक शक्ति सुदृढीकरणमा मद्दत गर्छ ।

अन्ततः क्रान्तिकारी कार्यदिशाको केन्द्र राज्यसत्ता, उत्पादन साधन र सामाजिक शक्ति सम्बन्धमाथिको वर्गीय नियन्त्रणको प्रश्न हो । उत्पादन सम्बन्धको रूपान्तरणबिना सामाजिक असमानता र राजनीतिक संकटको समाधान सम्भव छैन । त्यसैले किसान–मजदुर एकतामा आधारित संगठित वर्गचेतनाका बलमा जनसंघर्ष र वर्गसंघर्षलाई नयाँ जनवादी तथा समाजवादी संक्रमणको ऐतिहासिक दिशासँग जोड्नु आजको मुख्य राजनीतिक कार्यभार हो ।

निष्कर्ष
लोकप्रियतावाद पुँजीवादी संकटको राजनीतिक अभिव्यक्ति हो, जसले उत्पादन सम्बन्धको असन्तुलन र श्रम–पुँजी अन्तरविरोधबाट उत्पन्न असन्तोषलाई वर्गीय रूपान्तरणबाट विच्छेद गरी भावनात्मक तथा व्यक्ति–केन्द्रित राजनीतिक दायरामा सीमित गर्छ । नेपालजस्तो अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक विशेषतासहितको नवऔपनिवेशिक संरचनामा दलाल तथा नोकरशाही पुँजीको प्रभुत्वले राज्यलाई जनअसन्तोष व्यवस्थापन गर्ने संयन्त्रमा रूपान्तरण गरेको छ ।
यस अवस्थाको वैकल्पिक दिशा उत्पादन सम्बन्ध र सामाजिक शक्ति संरचनामा निहित अन्तर्विरोधहरूको गुणात्मक परिवर्तनमा आधारित हुन्छ, जुन संगठित वर्गचेतनामा आधारित जनआन्दोलन र वर्गसंघर्षमार्फत मात्र सम्भव छ । यस प्रक्रियाले छरिएको असन्तोषलाई एकीकृत गर्दै जनसंघर्षलाई नयाँ जनवादी तथा समाजवादी रूपान्तरणतर्फ अग्रसर गराउँछ ।
यसै आधारमा क्रान्तिकारी कार्यदिशाको केन्द्र राज्यसत्ता, उत्पादन साधन र सामाजिक शक्ति सम्बन्धमाथिको वर्गीय नियन्त्रणमा निहित हुन्छ । यिनै आधारहरूमा आधारित संरचनात्मक परिवर्तनमार्फत मात्र विद्यमान शक्ति संरचनाको आमूल पुनर्संरचना सम्भव हुन्छ, जसले वर्तमान राजनीतिक संकटको दीर्घकालीन समाधान र भविष्यको राजनीतिक दिशालाई स्पष्ट गर्छ ।

सन्दर्भ सामाग्री (References)
कम्युनिस्ट घोषणा पत्र – माक्र्स –एंगेल्स

एकता महाधिवेशनको दस्तावेज – क्रान्तिकारी कम्युनिस्ट कम्युनिस्ट पार्टी नेपाल

“ Designing  Organizations For  An Information (च्ष्अज ध्यचमि” ९ज्ञढठज्ञ० (ज्भचदभचत ब्। क्ष्mयल
त्जभ ब्नभ या क्गचखभष्ििबलअभ ऋबउष्तबष्किm (क्जयकजबलब श्गदयाा
त्जभ एयउगष्कित च्भबकयल – भ्चलभकतय ीबअबिग
क्ष्ीइ ( म्यअ

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित