शब्दार्थ

-शेषमणि आचार्य

प्रजातान्त्रिक समाजवाद
दोस्रो अन्तर्राष्ट्रियमा लेनिनसँग मतभेद भएपछि त्यसबेलाका काउत्स्की र वर्नस्टीन भन्ने नेताहरुले समाजवादको वैज्ञानिक रुपलाई परिवर्तन गर्न खोजे । उनीहरु शान्तिपूर्ण उपायद्वारा नै समाजवाद ल्याउन सकिन्छ भनी हिंड्न थाले । उनीहरुले सन् १९१९ मा जर्मनीको बर्नमा एक अर्को ‘अन्तर्राष्ट्रिय’ गठन गरे । यही अन्तर्राष्ट्रियको गठनपछि प्रजातान्कि समाजवादको नारा देखा पर्न थाल्यो । अहिले यूरोप र एसियाका केही पुँजीवादी पार्टीहरुले आफूलाई ‘प्रजातान्त्रिक समाजवादी’ भन्छन् । उनीहरु कार्लमाक्र्सलाई त मान्ने तर लेनिनलाई नमान्ने कुरा गर्दछन् । ‘समाजवाद’ र ‘पुँजीवाद’ दुवैभन्दा फरक व्यवस्था ‘प्रजातान्त्रिक समाजवाद’ हो भन्दछन् । यिनीहरुको कार्यक्रम वास्तवमा एक सामान्य सुधार मात्र हो ।

सर्वहारा अधिनायकत्व
शासन सत्तामा सर्वहारा (मजदुर) वर्गको प्रमुख अधिकारलाई सर्वहारा अधिनायकत्व भनिन्छ ।
समाजवादी समाजमा सत्ताबाट हटाइएका शोषक वर्गका मानिसहरुले पुनः सत्ताकब्जा गरी पुँजीवाद नै उल्ट्याउन नसकुन् भनेर सर्वहारा अधिनायकत्व कायम गरिएको हुन्छ । यसलाई पुँजीवादीहरु प्रजातन्त्र विरोधी भनेर प्रचार गर्छन् । तर, बहुसंख्यक जनताले ठूलो कष्ट र बलिदान सहेर ल्याएको व्यवस्थामा शोषक वर्ग शान्तिपूर्ण जीवन बिताउनुको सट्टा अनेक षडयन्त्र गरी क्रान्तिलाई नै असफल गराउन खोज्छन् भने त्यसबेला मजदुरवर्गले कडाईका साथ शान्ति सुव्यवस्था कायम गरी क्रान्तिको रक्षा गर्न अघि सर्नुपर्दछ । यस्तो कामलाई नै सर्वहारा अधिनायकत्व भनिएको हो । निर्दोष वर्ग वा व्यक्ति अथवा जनताका अधिकारहरु दबाउन होइन, बरु ती सबै अधिकारहरुलाई दुष्ट शोषकहरुले खोसेर एकलौटी पार्न नसकुन भनेर नै हो । यसबाट कुनै पनि साँचो प्रजातन्त्रवादी र समाजवादीले डराउनु पर्दैन । बरु यसलाई प्रयोग गर्दा गल्तीहरु हुन सक्छन् । यसको निम्ति एंगेल्सले सर्वहारा अधिनायकत्व सबै देशमा एकै किसिमबाट लागु नगरी आ–आफ्नो परिस्थितिअनुसार प्रयोग गर्नुपर्छ भन्नुभएको छ । चीनमा यसलाई ‘जनताको जनवादी अधिनायकत्व’ भनिएको छ । जनतालाई प्रजातन्त्र र बदमास शोषक (जो व्यवस्था नै पल्टाउन षडयन्त्र गर्छन्) माथि अधिनायकत्व यसको उद्देश्य हो । कार्लमाक्र्सले ‘गोथा कार्यक्रमको आलोचना’ नामक रचनामा यसको पुष्टि गर्नुभएको छ ।

कोलोन कम्युनिस्ट मुद्दा
सन् १८५२ मा जर्मनीको ‘कोलोन’ भन्ने ठाउँमा कम्युनिष्टहरुको विरोधमा ठूलो मुद्दा चलेको थियो । यस मुद्दामा तत्कालीन प्रतिक्रियावादी सरकारले कम्युनिस्टहरुलाई झुठा आरोप लगाएर दबाउने षडयन्त्र गरेको थियो । त्यसबेला कार्लमाक्र्सले थुनुवाहरुको सहयोगको निम्ति आफ्नो कोट समेत बेच्नु परेको थियो । यसैलाई ‘कोलोन कम्युनिस्ट मुद्दा’ भनिन्छ ।

तीन विश्वको सिद्धान्त
जनवादी गणतन्त्र चीन्ले संयुक्त राष्ट्र संघको सदस्यता पुनः पाएपछि आफ्नो नीतिको व्याख्याको रुपमा यस सिद्धान्तलाई अघि सारेको हो, जसअनुसार त्यसबेला विश्वलाई तीन भागमा बाँडियो । पहिलो, दोस्रो र तेस्रो विश्व । पहिलो विश्वभित्र रुस र अमेरिका जस्ता अति बलिया राष्ट्रलाई राखियो, दोस्रो विश्वमा यूरोपीय देशहरु तथा अष्टे«लिया एवं जापान जस्ता विकसित राष्ट्र र तेस्रो विश्वमा एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका अविकसित देशहरु तथा अन्य समाजवादी देशहरुलाई राखियो ।
पहिलो विश्वले दोस्रो विश्वलाई दबाब दिने र तेस्रो विश्वलाई शोषण गर्ने गरेको छ । विश्वको ३० प्रतिशत भाग पहिलो विश्वमा पर्दछ तर संसारको सम्पत्तिको ७० प्रतिशत भाग त्यसले हडप्छ जब कि दोस्रो र तेस्रो विश्व मिलाएर ७० प्रतिशत भाग बन्दछ र त्यसले सम्पत्ति भने ३० प्रतिशत मात्र भोग गर्न पाउँछ । यसरी ७० प्रतिशत कमाउनेले ३० प्रतिशत मात्र भोग गर्न पाउँछ भने तिनीहरुले विकास गर्ने कुरा सम्भव छैन ।यही विश्लेषणलाई तीन विश्वको सिद्धान्तको रुपमा मानिएको छ ।

नासाकोम
यो शब्द इन्डोनेशियाली क्रान्तिको शब्दकोषबाट प्रयोगमा आएको हो । यसमाNationality  and coam शब्दहरुको संयोजन रहेको छ ।यसलाई राष्ट्रियता, समाजवाद र धर्मको अर्थमा लिइएको थियो । त्यहाँको कम्युनिस्ट पार्टीले इन्डोनेशियाली क्रान्तिको कार्यक्रम तय गर्दा, इन्डोनेशियाली परिस्थितिमा राष्ट्रियता, समाजवाद र मुस्लिम धर्मलाई सामन्जस्य राखेर चल्नुपर्छ भन्ने सोच देखा प¥यो । यस कार्यक्रम अनुसार चल्दा इन्डोनेशियाली कम्युनिस्ट पार्टीले त्यसबेला सुरुमा धेरै प्रगति गरेको देखियो तर १९६५ मा भएको घटनाले पार्टीलाई छिन्नभिन्न पा¥यो, लाखौं कम्युनिस्टको हत्या भयो । तात्कालीन राष्ट्रपति सुकार्नोको पनि पतन भयो । सुहार्तो जस्ता तानाशाहहरुको उदय भयो, जसले तीन दशकभन्दा बढी समय राइँदाइँ गर्न सक्यो । यस सिद्धान्तका प्रतिपादक तात्कालीन पार्टी अध्यक्ष डि.एन. आइदित थिए ।

यूरो कम्युनिज्म
दोस्रो विश्ययुद्धको समाप्तिपछि यूरोपका केही देशमा मजदुर वर्गीय कम्युनिस्ट आन्दोलनमा एक प्रकारको सोच देखा पर्न थाल्यो । इटाली, स्पेन, फ्रान्स जस्ता कम्युनिस्ट पार्टीका नेताहरुले सर्वहारा अन्तर्राष्ट्रवादको नारा छोडेर समाजवादी राष्ट्रवादको नारा दिन थाले । यिनीहरुले यूरोपका देशहरुमा शान्तिपूर्ण संसदीय बाटोमा हिंड्ने काम गर्न थाले, समाजवादी विश्वबाट स्वतन्त्र र पुँजीवादबाट पनि टाढा रही आफ्नै देशको समाजवादको नारा दिए, जसलाई यूरो कम्युनिज्म भनियो ।

अडिट फर्मूला
कुनै बेला इन्डोनेसियाको कम्युनिस्ट पार्टी १९६५ (इ.सन्) सम्म शासनसत्ताबाट बाहिर रहेका मजदुर पार्टीहरु मध्ये सबभन्दा ठुलो पार्टीको रुपमा चिनिन्थ्यो । यस पार्टीका अध्यक्ष डि.एन, अडिट थिए । उनले इन्डोनेशियाका राष्ट्रवादी नेता सुकार्नोसँग मित्रता कायम गरी राष्ट्रवादी र साम्यवादी शक्तिबीच सहकार्य बढाएका थिए । सरकारमा कम्युनिस्ट पार्टीका नेताहरुलाई पनि समावेश गरियो । सुकार्नो कम्युनिस्ट थिएनन तर उनले आफ्नो देशलाई डच उपनिवेशवादबाट मुक्ति दिलाउन नेतृत्व गरेका थिए । उपनिवेशवाद विरोधी क्रान्तिका एक नेताको हैसियतले कम्युनिस्टहरुले उनीसँग एकताको हात बढाए तर तात्कालीन पुँजीवादी–साम्राज्यवादी शक्तिहरुलाई यो सह्य भएन । सुहार्तो र नाशुशन नाम गरेका दुई सैनिक जर्नेलहरुलाई हात लिएर इन्डोनेशियामा कम्युनिस्टहरुको आम नरसंहार गरे ।
यस घटनालाई उदाहरण बनाएर नेपालमा स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाले पंचायती शासनको अन्त्य गर्न कम्युनिस्ट कांग्रेसको संयुक्त आन्दोलन हुनुपर्छ भन्ने विचारको विरोध गरे । उनले जसरी इन्डोनेशियामा सुकार्नोको साथमा कम्युनिस्टहरु रहे, त्यसरी नै नेपालमा राजा महेन्द्रको साथमा कम्युनिस्टहरु रहेका छन् भन्दै पंचायतमा प्रवेश गरेका पूर्व कम्युनिस्टहरुलाई देखाउन थाले । अडिटले सुकार्नोको प्रशंसा गरेर शासनमा घुस्ने काम गरे जस्तै नेपालका कम्युनिस्टहरु पनि त्यसरी नै योजनाबद्ध रुपमा लागेका छन् । उनीहरुले यो काम अडिटको निर्देशनअनुसार भएको छ भन्दै त्यसैलाइ ‘अडिट फर्मूला’भने ।

हिट एण्ड रन
२०१७ सालको फौजीकाण्डको विरोधमा नेपाली कांग्रेसका नेता सुवर्ण शमसेरको नेतृत्वमा भारतबाट नेपालमा सशस्त्र संघर्ष संचालन भयो । यस संघर्षको दौरानमा नेपाली कांग्रेसका सशस्त्र छापामारहरुले नेपालभित्र धेरै असफल सैनिक अभ्यास गरे । भरतपुरमा हवाई मैदान जोत्ने काम भयो । यो सशस्त्र संघर्षको दौरानमा कांग्रेसले राजाका सेनामाथि आफ्ना लडाकुहरुलाई आक्रमण गर्ने र भाग्ने कार्यनीति अपनाउन लगाएको थियो । यो युद्धकार्यनीतिलाई “हिट एण्ड रन (हिर्काऊ र भाग)” भनिन्छ ।

(उल्लेखित शब्दार्थहरु लेखक शेषमणि आचार्यको पुस्तक “केही पारिभाषिक शब्द” –२०६७ बाट लिइएको हो )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित