साहित्यकार जगदीशचन्द्र भण्डारी र माया ठकुरी सम्मानित

 

फोटो ः जय दाहाल

काठमाण्डौ । साहित्य सदन नेपालले कवि एवम् समालोचक डा. जगदीश चन्द्र भण्डारी तथा कथाकार माया ठकुरी प्रतिवर्ष प्रदान गर्दै आएको गोपाल प्रसाद रिमाल साहित्य पुस्कार २०८३ तथा पारिजात साहित्य सम्मान २०८३ बाट सम्मानित हुनु भएको छ । प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा साहित्य सदनका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार पत्रकार ,समाजसेवीको उपस्थिति रहेको थियो । २०८३ जेठ १७ गते साहित्य सदन नेपालको प्रेक्षालय रामहीटि, बौद्धमा भएको सम्मान कार्यक्रममा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी , सदनका उपाध्यक्ष मित्रलाल पंज्ञानी , जिवेन्द्रदेव गिरी , पूर्व मन्त्री शान्ता मानवी , प्राध्यापक कोषराज न्यौपाने , रामकृष्ण दुवाल ,नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय ,प्राडा दयाराम श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकारद्वयको नेपाली साहित्यमा पु¥याउनु भएको अतुलनीय योगदानको चर्चा गर्दै सम्मानपत्र, दोसल्ला र ३० ,३० हजारको नगद राशिले प्रमुख अतिथि ,अध्यक्षबाट सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिले सम्मानित दुइ साहित्यकारहरुको कार्यको उच्च प्रसंशा गर्नुहुँदै सम्मानित हुनु भएकोमा हार्दिक बधाइ दिनु भयो र उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । वहाँले वर्तमान सरकारले साहित्य सदन नेपाल सहित विभिन्न प्रतिष्ठानहरु, साहित्यिक संस्थाहरुप्रति कस्तो नीति अपनाउने हो भन्ने अझै स्पष्ट नभइसकेको भन्नु हुँदै विना विकल्प घरहरुमा डोजर चले जस्तै साहित्यिक संस्थाहरुमा पनि हुन सक्ने औंल्याउँदै त्यसको शुरुमै कानुनी लडाइँ लड्नु पर्ने, जनतालाई सचेत गराउनु पर्ने कुरामा जोड दिनु भयो । वहाँले अब विचलित नभैकनै कानुनी रुपमा प्रतिरोध गर्न साहित्यकारहरुसँग आग्ह गर्नु भयो । साहित्यिक संस्थाहरु जनता र राज्यको सहयोगी संस्था हुनेछ भनेर सरकारले निर्णय गरेर भोगाधिकार दिएको संस्थाहरु रहेको भन्दै संस्थाका भोगाधिकार अतिक्रमण हुँदैनन् भन्नु भयो । कार्यक्रममा सम्मानित प्राडा जगदीशचन्द्र भण्डारीले आफुलाई सबै पुरस्कारहरु प्रीय नलागेको र खोजी खोजी नहिँडेको बताउँदै गोपालप्रसाद रिमाल एक क्रान्तिकारी र क्रान्तिको सपना देख्ने साहित्यकार भएकोले वहाँको नामको पुरस्कार स्वीकार गरेको बताउनु भयो । वहाँले वर्तमानमा पश्चगामीहरु ,अग्रगामी चेतनाका अवरोधकहरु ,धोकेवाजहरु भयावह पुरुष बनेर देखापरेको बताउँदै अहिले इच्छुक साँस्कृतिक प्रतिष्ठान सहित साहित्यिक संस्थाहरुका किताब , कुर्चीहरु कहाँ सार्ने भन्ने स्थितिमा आइपुगेको बताउँदै त्यसको विरोधमा साहित्यकारहरुको आवाज वुलन्द हुनु पर्ने कुरामा जोड दिनु भयो । अर्का सम्मानित साहित्यकार माया ठकुरीले आफ्नो जीवन भोगाइलाई सुनाउँदै जस्तो सुकै अवस्थामा पनि आफु विचलित नभैकनै लेखन कर्ममा लागेको बताउनु भयो र पारिजात जस्तो संघर्षशील र चेतनशील साहित्यकारको नाममा स्थापित पुरस्कार प्राप्त गर्न पाएकोमा आफुलाई निकै खुशी लागेको बताउनु भयो । पूर्व मन्त्री तथा लेखक शान्ता मानवीले सम्मानित साहित्यकारहरुलाई बधाइ ज्ञापन गर्नु भयो ।
कार्यक्रममा उपाध्यक्ष मित्रलाल पंज्ञानीले सम्मानित दुवै साहित्यकारहरुको साहित्यिक योगदानको चर्चा गर्नुभयो । सदनका सदस्य सुनिता बुढाथोकीले पारिजात रचित ‘मानुषी ’कविता वाचन गर्नु भयो । विमल अर्यालले गोपाल प्रसाद रिमाल रचित ‘आमाको सपना’शीर्षकको कविता वाचन गर्नु भयो । प्राडा राजेन्द्र प्रसाद अधिकारीले ‘पानी र पारिजात’ शीर्षकमा कविता वाचन गर्नु भयो । साहित्यकारहरु रामकृष्ण दुवाल र आशिष दुवालले गोपाल प्रसाद रिमालको एक जुगमा एक दिन एकचोटी आउँछ ,कायापलट उथल पुथल हलचल ल्याउँछ भन्नै गीत गाउनु भएको थियो । कार्यक्रममा अध्यक्षले सम्मानित साहित्यकारहरुलाई बधाइ दिँदै साहित्य सदन नेपालको स्थापनाको गौरवपूर्ण इतिहास, स्थापनामा साहित्यकारहरुले पु¥याउनु भएको योगदानको चर्चा गर्दै २०४३ सालमा स्थापना भएको साहित्य सदनले नयाँ प्रतिभाहरु ल्याउन कविता महोत्सव आयोजना गर्ने गरेको बताउनु भयो । सदनले हृदय स्मृति साहित्य सम्मान ,अमिर थापा साहित्य सम्मान ,गोपाल प्रसाद रिमाल साहित्य सम्मान, पािरजात साहित्य सम्मान जस्ता साहित्य सम्मानहरु स्थापना गरेको जानकारी गराउनु भयो । स्थापनादेखि अहिलेसम्म आउँदा साहित्यकारहरुको अत्यन्तै ठूलो योगदानका कारण संस्था बाँच्न सफल भएको बताउँदै कार्यक्रमको समापन गर्नुभयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित