ज्याला वृद्धिको माग गर्दै बंगलादेशमा मजदुरहरूको व्यापक प्रदर्शन, ज्याला बोर्ड गठन गर्न सरकार बाध्य

ज्याला वृद्धिको माग गर्दै बंगलादेशमा मजदुरहरूले व्यापक प्रदर्शन गरेका छन् ।
जीवनयापनको खर्च बढेसँगै ज्याला वृद्धिको माग गर्दै औद्योगिक सहरहरूमा मजदुरहरूले शनिवार र आइतवार व्यापक प्रदर्शन गरे। प्रमुख औद्योगिक केन्द्रहरूमा अवरोध पुर्‍याउने गरी भइरहेको आन्दोलनलाई साम्य पार्ने प्रयासस्वरूप, बंगलादेश सरकारले गार्मेन्ट (तयारी पोसाक) कामदारहरूको न्यूनतम ज्याला पुनरावलोकन गर्न एउटा नयाँ ज्याला बोर्ड गठन गरेको छ।

आइतबार गरिएको यस घोषणाका बाबजुद, बढी ज्यालाको माग गरिरहेका हजारौं कामदारहरूले राजधानी ढाकाका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी राखे। यस क्रममा प्रहरीसँग झडप भएको थियो, जसका क्रममा प्रहरीले अश्रुग्यास र साउन्ड ग्रेनेड प्रहार गरेको थियो ।

कपडा उद्योग क्षेत्र बंगलादेशको निर्यातमा आधारित अर्थतन्त्रको मेरुदण्ड हो, जसले लाखौं कामदारलाई रोजगारी प्रदान गर्नुका साथै  विदेशी मुद्रा आर्जन गर्दछ। कामदारहरूले मासिक न्यूनतम ज्याला ३०,००० टाका (२४२ अमेरिकी डलर) हुनुपर्ने माग गरिरहेका छन्, जुन हालको १२,५०० टाका (१०१ अमेरिकी डलर) ज्यालाको दोब्बरभन्दा बढी हो। उनीहरूका अनुसार खाद्य पदार्थ, आवास, यातायात र स्वास्थ्य सेवाको बढ्दो मूल्यले उनीहरूको क्रयशक्तिमा भारी गिरावट ल्याएको छ।

छ सदस्यीय यस बोर्डमा सरकार, श्रमिक र कारखाना मालिकहरूका प्रतिनिधिहरू रहनेछन्। यस बोर्डलाई नयाँ न्यूनतम ज्याला निर्धारण गर्ने जिम्मेवारी दिइएको छ।

श्रम तथा रोजगार मन्त्री अरिफुल हक चौधरीले चेतावनी दिए कि कारखानाहरू लामो समयसम्म बन्द रहँदा र उत्पादन प्रक्रिया अवरुद्ध हुँदा निर्यातका सामान पठाउन तथा अन्तर्राष्ट्रिय खरिदकर्ताहरूबाट भुक्तानी प्राप्त गर्न ढिलाइ हुन सक्छ, जसले उत्पादक र श्रमिक दुवैका लागि थप कठिनाइहरू निम्त्याउन सक्छ।

शनिबार सुरु भएको प्रदर्शनका कारण ढाकाको बाहिरी इलाकामा रहेका करिब ३० वटा गार्मेन्ट (कपडा) कारखानाहरूले बिदा घोषणा गरेका छन्।

चीनपछि बंगलादेशको गार्मेन्ट (कपडा) उद्योग विश्वकै सबैभन्दा ठूलो हो, जसले त्यहाँको कुल गार्हस्थ्य उत्पादन (GDP) मा करिब १० प्रतिशत योगदान पुर्‍याउँछ। तर, उत्पादकहरूका अनुसार यो क्षेत्र बढ्दो चुनौतीहरूको सामना गरिरहेको छ। यसमा उत्पादन लागतमा वृद्धि, बेला-बेलामा हुने ग्यास तथा बिजुलीको अभाव, र मध्यपूर्वमा उत्पन्न तनावका कारण ऊर्जा बजारमा देखिएको अनिश्चितता जस्ता समस्याहरू  छन्।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित