रामबहादुर बुढा
स्थान परिचय
यो नेपालको तीन नम्बर प्रदेश (बागमती प्रदेश ) अन्तर्गतको एक जिल्ला हो। नेपाललाई प्रशासनिक रूपमा ७५ जिल्लामा विभाजन गर्नुभन्दा पहिले सिन्धुली जिल्ला पूर्व दुई नम्बर रामेछाप अन्तर्गत पर्दथ्यो। (स्मरणीय छ त्यतिबेला पूर्व १ नम्बर काभ्रे , पूर्व दुई नम्बर रामेछाप, पूर्व ३ नम्बर ओखलढुङ्गा , पूर्व ४ नम्बर भोजपुर र पूर्व ५ नम्बर चैनपुर भन्ने बुझिन्थ्यो ।) त्यसरी सिन्धुली प्रशाननिक रूपले दुई नम्बर रामेछाप अन्तर्गत पर्दथ्यो। २०१८ सालमा देशलाई ७५ जिल्लामा विभाजन गर्दा यो सिन्धुली जिल्ला रामेछापबाट अलग हुन पुगेको हो। यस जिल्लाको पूर्वमा उदयपुर , उत्तरमा रामेछाप, ओखलढुंगा, दक्षिणमा सिराहा, धनुषा, महोत्तरी, सर्लाही , पश्चिममा मकवानपुर र काभ्रेपलाञ्चोक र पश्चिम– दक्षिणमा रौतहट सहित जम्मा १० वटा जिल्लाले सिन्धुली जिल्लालाई छोएका छन्। नेपालमा सबैभन्दा धेरै जिल्लाहरूबाट छोइएको जिल्ला पनि हो यो । हरिहरपुर गढी र मकवानपुर गढी जस्ता ऐतिहासिक स्थलहरू यसै जिल्लामा पर्दछन् । यो जिल्लाका ठूलो भूभाग भित्री मधेशमा पर्दछ। २०७४ को स्थानीय तह पुनर्संरचना अन्तर्गत यस जिल्लामा ७ वटा गाउँपालिका, २ वटा नगरपालिका सहित जम्मा ९ वटा पालिका र ७९ वटा वडाहरु रहेका छन्। (केन्द्रीय तथ्याङ्क विभाग ,तथ्याङ्क कार्यालय सिन्धुली २०७४) सिन्धुली जिल्लाको नामांकरण कसरी रह्यो भन्ने बारेमा मतैक्यता छैन ।
प्रारम्भिक काल
२००८ साल तिर सिन्धुलीमा नेपाल कम्युनिष्ट पार्टीको बासुदेव श्रेष्ठ, भोजराज बराल, दण्डबहादुर कार्की, रामहरी बराल, तीर्थबहादुर चौहान, कृष्ण हरि बराल,कृष्ण अधिकारी सहितको अधिवेशन आयोजक समिति बनेको थियो । सोही कमिटीको आयोजनामा २००९ साल कार्तिक १५ र १६ गते नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनले वासुदेव श्रेष्ठको नेतृत्वमा दण्डबहादुर कार्की,तीर्थबहादुर चौहान, रामहरी बराल, भोजराज बराल, कृष्ण हरि बराल, कृष्णहरि अधिकारी, एस.वि.राई लगायत रहेको जिल्ला कमिटी निर्माण गरेको थियो । तत्कालीन मातृकाप्रसाद कोइरालाको सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि २००८ साल माघ १६ गते सिन्धुलीको बागेश्वर गाउँ पंचायतको देउराली गाउँमा किसानहरुलाई भेला गराएर अखिल नेपाल किसान सङ्घ जिल्ला समिति गठन गरी किसान सङ्घको तर्फबाट गतिविधि गरिएको थियो ।(अधिकारी, २०७४)
२०१७ को फौजीकाण्ड
राजा महेन्द्रले २०१७ साल पौष १ गते घटाएको फौजीकाण्ड पछि नेकपा सिन्धुलीका नेताहरु बासुदेव श्रेष्ठ, कृष्णहरि अधिकारी लगायतले तत्कालीन पार्टी महासचिव केशरजंग रायमाझीको विचारलाई पछ्याउँदै राजा महेन्द्रको कदमलाई स्वागत गरे र उनीहरु पंचायती व्यवस्था भित्रै प्रवेश गरे । बासुदेव श्रेष्ठ राष्ट्रिय पंचायतको उपाध्यक्ष समेत भए, कृष्णहरि अधिकारी गाउँ फर्क राष्ट्रिय अभियान जनकपुर अञ्चलको अध्यक्ष बने । (अधिकारी, २०८३) २०१७ मा राजा महेन्द्रको फौजीकाण्डपछि नेकपा सिन्धुलीको जिल्ला कमिटी स्वतः विघटन भएको थियो । त्यस अवस्थामा ऋषि देवकोटा आजाद, काठमाडौं त्रिचन्द्र कलेजमा अध्ययन गर्न गएका सी.पी. गजुरेल, शंकरनाथ शर्मा लगायत कम्युनिस्ट पार्टीको राजनीतिप्रति प्रभावित भएपछि सिन्धुलीमा कम्युनिस्ट पार्टी नयाँ सिराबाट पुनर्गठन गर्ने कार्य भयो ।
चौम धार
२०३१ सालको चौथो महाधिवेशन भन्दा पहिले पार्टीले महाधिवेशनमा जानेबारे नेकपाको सिन्धुली जिल्ला समितिमा छलफल भएको थियो । त्यसबारे सी.पी. गजुरेल भन्नुहुन्छ,“नेकपाको सिन्धुली जिल्ला पार्टीमा हामी कुन धारमा लाग्ने भनेर छलफल भयो । ऋषि देवकोटा आजाद सेक्रेटरी हुनुहुन्थ्यो । जिल्ला बैठकमा पुष्पलाल, झापाली धार तिर लाग्दा के हुन्छ भनेर छलफल भयो तर अन्ततः न्यूक्लियसतर्फ नै लाग्ने र चौथो महाधिवेशनमा जाने भनेर हामी जिल्ला पार्टीमा निर्णय ग¥यौँ । त्यो निर्णय केन्द्रमा पठाएपछि चौथो महाधिवेशनका लागि २ जना प्रतिनिधि २ जना पर्यवेक्षक गरी ४ जना उपस्थितिको हामीले अनुमति पायौँ । त्यस अनुसार सिन्धुलीबाट ऋषि देवकोटा आजाद र म (सी.पी. गजुरेल) प्रतिनिधि तथा ठगेन्द्रराज घिमिरे र भुवन फुँयाल पर्यवेक्षकका रुपमा चौथो महाधिवेशनमा उपस्थित भएका थियौँ ।”(हाँक टुडे, २०८२ मंसिर २०) चौथो महाधिवेशनबाट आजाद पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बन्नुभयो । तर अधिकारी (२०८३) ले ऋषि देवकोटा र मोहन घिमिरे चौथो महाधिवेशनमा प्रतिनिधि गएको बताएकाछन् । गजुरेल र अधिकारीको भनाईमा भिन्नता देखिएकाले थप सोधीखोजी जरुरी छ ।
पछि आजाद कार्वाहीमा परे । आजादको कार्वाहीबारे सी.पी. गजुरेलको भनाई यस्तो छ–“ महोत्तरीको हात्तीलेट भन्दा उत्तरतर्फको जङ्गलमा आजादजीले पार्टीको अनुमति विनै हतियार सहितको तालिम गराउनुभयो । त्यसलाई पार्टीले उग्रवामपन्थी गतिविधि भन्यो । प्रशासनले त्यो कुरा थाहा पायो निकै ठूलो दमन ग¥यो ।
गोरखपुरमा पार्टीको केन्द्रीय समितिको बैठक बस्दै थियो । बैठकमा जान्छु भनेका कामरेड आजादजीलाई हाम्रो पार्टीका जिल्ला सदस्य मोहन घिमिरेले दरभङ्गातिर रेलमा भेट्नु भएछ । हैन, तपाई किन बैठकमा जानु भएन र ? भनेर मोहनजीले सोध्नु भएछ । २०३७ तिरको कुरा हो । “बैठक, सैठक छाडे मैले” भन्दै “मैले पार्टीबाट किन विद्रोह गरें” भन्ने शीर्षकको पर्चा मोहनजीलाई पनि दिनु भएछ । मोहन जी दरभङ्गाबाट नेपाल फर्कंदै हुनुहुन्थ्यो । यो पर्चाको जानकारी पार्टीलाई दिनुपर्छ भनेर रेलबाट ओर्लिएर दरभङ्गामा हाम्रो सेल्टरमा आउनुभयो । तुरुन्तै यो कुरा पार्टीलाई जानकारी गराउनु पर्दछ भनेर दरभङ्गामा सेल्टरमा सल्लाह ग¥यौँ र मलाई साथीहरूले गोरखपुर पठाउनु भयो । गोखरपुरमा पार्टी केन्द्रको बैठक चल्दै थियो । मैले त्यो पर्चा दिएँ र उहाँलाई त्यसै बैठकले पार्टीबाट निस्कासन ग¥यो ।” (उही) २०३२ सालको पर्चा काण्डमा सिन्धुलीमा सरकारले दमन भयो । सरकारले दमन ग¥यो । रसबहादुर कार्की, विष्णुबहादुर श्रेष्ठ लगायतलाई सिन्धुलीमा पक्राउ गरेको थियो । (हाँक टुडे २०८० मंसिर २० )
मशालधार
२०४० सालमा सम्पन्न नेकपा (मशाल)को गोरखपुरमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनमा सिन्धुली जिल्लाबाट ३ जनाले प्रतिनिधित्व गरेका थिए –ईश्वरी दाहाल (असारेकाका), मोहन घिमिरे र हरिबोल गजुरेल ।सीपी गजुरेल २०३७ सालमै केन्द्रीय समितिमा नियुक्त भएका थिए । २०४१ साल मङ्सिरमा सम्पन्न नेकपा (मशाल)को पाँचौं महाधिवेशनमा सिन्धुलीबाट ईश्वरी दाहाल, हरिबोल गजुरेल लगायतले प्रतिनिधित्व गरेका थिए । त्यस महाधिवेशनबाट सिपी गजुरेल नेकपा (मशाल)को पोलिट ब्युरो सदस्य बनेका थिए। २०४२ मा नेकपा (मशाल) विभाजित भएर नेकपा मशाल र नेकपा मसाल बन्यो । विभाजनमा नेकपा मशालको ठूलो हिस्सा पातलो मसालतर्फ समाहित भए। (गजुरेल, २०८३)
मसाल धार
नेकपा (मशाल) मा विभाजन भएर २०४२ सालमा नेकपा (मसाल) अस्तित्वमा आयो । नेकपा (मसाल)को केन्द्रीय समितिमा हरिबोल गजुरेलले २०४४ सालमै नोट अफ डिसेन्ट राखेका थिए। उनले पार्टी महामन्त्री मोहनविक्रम सिंहको नियत नै खराब भएकाले खराब नियत भएको मान्छेले क्रान्तिको नेतृत्व गर्न सक्दैन भनेर स्पष्ट रुपमा आफ्नो मत पार्टीमा दर्ज गराई नोट अफ डिसेन्ट राखेका थिए । २०४७ मा हरिबोल गजुरेलको नेतृत्वमा नेकपा (मसाल)बाट विद्रोह गरी विद्रोही मसाल बनाएर नेकपा एकता केन्द्रमा संलग्न हुने काम भएको थियो । प्रथम, २०४६ सालको जनआन्दोलनमा सहभागी हुनुपर्छ भन्ने हरिबोल गजुरेल–बाबुराम भट्टराई लगायतको धारणा थियो। विदेशीहरूको इशारामा यो आन्दोलन भएको भन्ने मोहनविक्रम सिंहको भनाइ भएपनि त्यो आन्दोलनमा सहभागी बन्नुपर्छ भन्नेमा उनीहरुको जोड थियो । दोस्रो, २०४८ सालमा हुन गइरहेको संसदीय चुनावलाई उपयोग गर्नुपर्छ र तेस्रो, माओवाद/ माओविचारधारा मान्ने शक्तिहरूको बीचमा पार्टी एकता हुनुपर्छ भन्ने थियो। यी कुराहरुलाई मोहनविक्रम सिंहले स्वीकार गर्न नसकेपछि हरिबोल गजुरेल–बाबुराम भट्टराई लगायतको व्यक्तिहरूले पार्टी विभाजित गरेका थिए। त्यसरी २०४७ सालमा पार्टी विभाजन हुँदा एकता केन्द्रमा एकता प्रक्रियामा संलग्न हुने सिन्धुलीका पातलो मसालका व्यक्तिहरू हरिबोल गजुरेल (शीतलकुमार), महेन्द्र श्रेष्ठ, दीर्घराज श्रेष्ठ, ध्रुव देवकोटा लगायत थिए । जिल्ला पार्टीका करिव सबै निस्केर एकताकेन्द्रतिर गएपछि विभिन्न मोर्चामा बनेका तल्लो कमिटीका वीर बहादुर गोले, चित्रबहादुर गोले, ढकप्रसाद देवकोटा लगायतले सिन्धुलीमा मसालको राजनीतिलाई अगाडि बढाए । (बुढा, २०७८)
माले–एमाले धार
२०३५ सालतिर मालेधारका ईश्वर पोख्रेल सिन्धुली गई भेटघाट र सम्पर्क बढाएका थिए । २०३६ सालमा सुरेश कार्की इन्चार्ज रहेको नेकपा (मा.ले) सिन्धुली जिल्ला सम्पर्क कमिटी गठन गरिएको थियो । जसमा शंकरनाथ शर्मा सचिव, सदस्यहरु विष्णुकुमार श्रेष्ठ, गोविन्द गजुरेल, फाल्गुणी शर्मा, कृष्णप्रसाद ढकाल, शम्भुप्रसाद बस्नेत र केदार कोइराला थिए । (अधिकारी, २०७४) २०४७ मा माले र माक्र्सवादी एकता भएपछि सिन्धुलीमा नेकपा (एमाले) बन्यो, जसको सचिव शंकरनाथ शर्मा नै भए । २०५० पुष १ देखि ३ गतेसम्म नेकपा (एमाले) सिन्धुलीको प्रथम जिल्ला सम्मेलन भयो । सम्मेलनको उद्घाटन महासचिव माधव नेपालले गरेका थिए । अधिवेशनबाट शंकरनाथ शर्मा सचिव र गंगाप्रसाद नेपाल उपसचिव सहित १५ सदस्यीय जिल्ला कमिटी बनेको थियो । । (उही)
भोटको राजनीति
२०४८ सालमा संसदीय निर्वाचनमा नेकपा एमाले र संयुक्त जनमोर्चा नेपालले चुनावी तालमेल गरी सिन्धुलीमा चुनावी तालमेल गरेका थिए। जसमा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका मदन ढुंगेल र क्षेत्र नम्बर २ बाट संयुक्त जनमोर्चा नेपालका राम कार्की र क्षेत्र नम्बर ३ बाट संयुक्त जनमोर्चा नेपालकै कमलजंग राई उम्मेदवार बनेका थिए । र २०५६ सालको संसदीय निर्वाचनमा पनि सिन्धुली क्षेत्र नं. ३ बाट संयुक्त जनमोर्चा नेपालका लिलामणि पोखरेललाई विजय गराउन तत्कालीन नेकपा मसाल पक्षको वैधानिक मोर्चाका उम्मेदवार ढकप्रसाद देवकोटाले उम्मेदवारी फिर्ता गरेर संजमोका लिलामणिलाई सहयोग गरे । एमालेले पनि पोख्रेललाई सहयोग ग¥यो । संयुक्त जनमोर्चा नेपालले २०५६ सालमा एकमात्र सिट हासिल गरेको थियो । २०६४ को संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा माओवादीका सीपी गजुरेलले ३ बाट निरु दर्लामीले र १ बाट एमालेका विषमलाल अधिकारीले विजय प्राप्त गरेका थिए ।
जनयुद्ध
२०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको सशस्त्र जनयुद्धका क्रममा सिन्धुलीलाई पूर्वी नेपालको मुख्य आधारक्षेत्र मानिएको थियो । हरिबोल गजुरेल, मणि थापा, रबिन्द्र श्रेष्ठ लगायत दर्जन भन्दा बढी माओवादी लडाकुहरुले लगायतले सिन्धुलीगढीको प्रहरी चौकी कब्जा गरेका थिए र त्यस आक्रमणमा प्रहरीहरू सबैले आत्मसमर्पण गरेकाले कसैको पनि विद्रोही पक्ष र सत्ता पक्ष कसैको पनि हत्या भएको थिएन, प्रहरीहरुसँग भएका पेस्टोल र केही बन्दोबस्तीका सामानहरु उनीहरुले कब्जा गरेका थिए ।
वर्ग सङ्घर्षको लामो इतिहास
सिन्धुलीमा वर्गसंघर्षको लामो इतिहास छ । २००९ देखि २०१३ सम्म सिन्धुलीमा किसान आन्दोलन चलेको थियो । रघुनाथ कोइरालाको हत्या अभियोगमा २०३६ साल कार्तिक १६ गते दुर्गा सुवेदीलाई जलेश्वरबाट पक्राउ गरी २०३६ साल कार्तिक १७ गते भिमानको भलुवाई खोलामा हातखुट्टा काटेर गोली हानी प्रहरीले हत्या ग¥यो । त्यही अभियोगमा दलबहादुर रजनमगर २०३६ साल कार्तिक १२ गते रानीबास गाउँपंचायतको मडाहामा घर घेरा हाली हत्या गरे र २०३७ साल फागुन ११ गते ऋषि देवकोटालाई गिरफ्तार गरी भिमानको जंगलमा लगेर क्रुर तरिकाले हत्या गरेका थिए । (भण्डारी, २०६०)
सन्दर्भ
१) केन्द्रीय तथ्याङ्क विभाग तथ्याङ्क कार्यालय सिन्धुली (२०७४) सिन्धुलीका स्थानीय तह वस्तुगत विवरण ।
२) अधिकारी, शंकरनाथ शर्मा, (२०७४), सिन्धुली आवाज, नेकपा (एमाले) सिन्धुली–काठमाडौं सम्पर्क मञ्च ।
३) बुढा,रामबहादुर (२०७८),जीवनी संग्रह (भाग–१)
४) भण्डारी ,लेखनाथ (२०६०), आजादको हत्या अघोषित मृत्युदण्ड, वैकल्पिक समूह
अन्तर्वार्ता
सीपी गजुरेल । २०८०
हरिबोल गजुरेल । २०८३ जेष्ठ २६
शंकरनाथ शर्मा । २०८३ जेष्ठ २६
ढक देवकोटा । २०८३ जेष्ठ ९

