सुस्ताको सीमा विवाद : निःशस्त्र नागरिकको साहस र राज्यको परीक्षा

नरेन्द्रबहादुर थापा

नेपाल–भारत सम्बन्धलाई प्रायः ‘विशेष सम्बन्ध’ भनिन्छ। खुला सीमा, सांस्कृतिक निकटता, आर्थिक अन्तरनिर्भरता र ऐतिहासिक सम्बन्धका कारण दुई देशबीचको सम्बन्ध दक्षिण एसियामै विशिष्ट प्रकारको रहेको मानिन्छ। तर यही सम्बन्धभित्र पटक–पटक सीमा विवाद सम्बन्धी झगडा हुने गरेको छ । भारतले हाम्रो भूमि बारम्बार अतिक्रमण गर्ने गरेको छ , र स्थानीय स्तरका कतिपय तनावपूर्ण घटनाहरू पनि दोहोरिने गरेका छन्। पछिल्लो पटक पश्चिम नवलपरासीको सुस्तामा देखिएको घटनाले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ । नेपालको सीमाको रक्षा अन्ततः कसले गरिरहेको छ ? यो कुरा हामी नेपाली जनताले बुझ्न जरुरी छ ।

१.उपलब्ध समाचारका आधारमा हेर्दा
२०८३ साल जेठ २९ गते शुक्रबार अर्थात् १२ तारीख जुन २०२६ को बिहान सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (SSB) का जवानहरू नेपाली भूमितर्फ प्रवेश गरे । सशस्त्र बलका ती जवानहरुलाई नेपाल प्रवेशको कारण खोज्दै स्थानीय बासिन्दाले विरोध जनाए । खेत बारीमा काम गरिरहेका स्थानीयले उनीहरूलाई ‘आफ्नो भूमितर्फ फर्किन’ आग्रह गरे। उनीहरूले अटेर गरेपछि उनीहरूसँग सीमा क्षेत्रका निस्शस्त्र देशभक्त नेपाली जनताको केही समय विवादको स्थिति सिर्जना भयो । अन्ततः वीर गोर्खालीका सन्तान नेपाली निस्शस्त्र नागरिकहरुले ती सशस्त्र (SSB) का भारतीय टोलीलाई लाठी, ढुंगा र मुढा प्रहार गरेर लखेटेको भिडियो संजाल सार्वजनिक गरिएको छ। यसरी लखेटेर ती सशस्त्र जवानहरू भारत तर्फ फर्किएको विभिन्न भारतीय संचार माध्यमहरु समेतद्वारा पनि बताइएको छ। नेपाली सुरक्षा निकाय घटनास्थलमा पुगेपछि स्थिति सामान्य बनेको प्रशासनले जनाए तापनि सुस्ता गाउँ पालिका अध्यक्षले त्यहाँ घटना स्थलमा नेपाली सुरक्षा निकायबाट कोही नपुगेको बताएका छन् । नेपाली सुरक्षाकर्मी त्यहाँ पुगेको भन्ने कुनै पनि प्रमाण भेटिएको छैन । त्यसैले नेपाली सुरक्षा निकाय त्यहाँ त्यस समयमा पुगेको कुरा सही नभएको कुरा बुझ्न सकिन्छ ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जेसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सेना छिरेपछि स्थानीय जनताले प्रतिकार गर्दा केही समय विवाद भएको थियो । हतियार सहित उनीहरू नेपाल छिरेपछि निस्शस्त्र सुस्तावासी जनताले लाठी, ढुङ्गा, मुढाद्वारा प्रतिकार गरेपछि उनीहरु भारततिर लखेटिएको कुरा नीज जेसवालले पनि बताएका छन् ।
यो सीमा विवाद कुनै एक दिनको आकस्मिक घटना मात्र होइन। यसको पृष्ठभूमिमा सुस्तावासीको भारतसँगको दशकौँ लामो सीमा विवाद रहँदै आएको कुरा हो । उक्त सीमा विवादमा नारायणी नदीको बहाव परिवर्तन, सीमा स्तम्भको समस्या र स्थानीय बासिन्दाको निरन्तर संघर्ष जोडिएको छ र यो क्षेत्र अत्यन्तै संबेदनसिल अवस्थामा रहेको छ ।

२.सुस्ता किन संवेदनशील छ ?
सुस्ता क्षेत्र नेपाल–भारत सीमाको सबैभन्दा जटिल र संबेदनसिल क्षेत्रहरु मध्ये एक हो। किनभने नारायणी नदीले पटक–पटक धार परिवर्तन गर्दछ । यसो हुँदा नदी वारी र पारीको भूगोल बदलिरहने गर्दछ । यही परिवर्तनलाई आधार बनाएर दुवै देशले पटकपटक फरक–फरक दाबी गर्ने गरेका हुन्छन् । यतिमात्र होइन कि योभन्दा बाहेक बारम्बार सीमा स्तम्भहरू हराउने, नदीले बगाउने वा स्थानान्तरण हुने पनि गर्दछन् । यो समस्या यहाँको पुरानै समस्या हो। अहिलेसम्म पनि यो प्रक्रियाको निरन्तरता जारी नै रहँदै आइरहेको छ । खासगरी यस्तो समस्यामा भारतीय पक्षबाट बढी विवाद र अतिक्रमण हुने गर्दछ ।
स्थानीय बासिन्दाको भनाइ अनुसार सुस्ताको ठूलो भूभाग वर्षौंदेखि भारतीय पक्षबाट अतिक्रमीत भइसकेको छ । बाँकी रहेको थोरै भूभाग पनि यस्तै विवादमा छ। कतिपय क्षेत्रमा नेपाली किसानले खेती गर्दै आएका छन् भने भारतीय पक्षले पनि आफ्नो दाबी कायम राख्दै आएको छ। यसले समय– समयमा तनाव सिर्जना गर्ने गरेको छ।

३.तटबन्ध निर्माण र एसएसबीको आपत्ति
यस घटनाको अर्को महत्वपूर्ण पाटो नारायणी नदी किनारमा निर्माण भइरहेको तटबन्ध हो। नेपाल सरकारले नदी कटान रोक्न १४ करोड भन्दा बढी रुपैयाँको लागतमा तटबन्ध निर्माणाधीन रहेको छ। तर केही दिनअघि भारतीय एसएसबीले उक्त कार्यमा अवरोध पुर्‍याएको समाचार सार्वजनिक भएको थियो। भारतीय पक्षले उक्त क्षेत्र विवादित भएको दाबी गर्दै काम रोक्न आग्रह गरेको बताइएको छ। नेपालका बहालवाला प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ १७ गते संसदमा ‘ नेपालले पनि भारतको जग्गा मिचेको छ ’ भनी अभिव्यक्ति प्रकट गरेपछि भारतीय पक्षले यो विवाद पुनः अगाडि बढाएको छ ।
नेपालका स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूले विवादको यो घटनालाई भारतीय पक्षबाट नेपालको विकास तथा भूमि संरक्षण कार्यमा अनावश्यक हस्तक्षेपका रूपमा हेरेका छन्।

४.निःशस्त्र नागरिकको देशभक्ति भावना
सुस्तामा भएको जेठ २९ को पछिल्लो घटनामा सबैभन्दा उल्लेखनीय पक्ष भनेको स्थानीय जनताको महत्त्वपूर्ण भूमिका हो। उनीहरूसँग बन्दुक थिएन, राज्यसत्ताको शक्ति थिएन, कुनै कूटनीतिक अधिकार पनि थिएन। तर उनीहरूसँग आफ्नो भूमिप्रतिको गहिरो प्रेम, स्वामित्वबोध र राष्ट्रिय आत्मसम्मान थियो।
जब सीमा क्षेत्रमा बस्ने नागरिकहरू स्वयं सीमाका पहिलो रक्षक बन्छन्, त्यो कुनै सामान्य कुरा होइन। इतिहासले देखाएको छ कि सीमाको रक्षा केवल सैनिक चौकीले मात्र गर्दैनस सीमामा बस्ने जनताले पनि गर्छन्। सुस्ताका किसान, मजदुर र सर्वसाधारणले तमाम देशवासीलाई यही सन्देश दिएका छन्।
तर यसलाई केवल भावनात्मक राष्ट्रवादको विषय बनाएर मात्र पुग्दैन। यदि प्रत्येक पटक स्थानीय जनता नै सीमा विवादको पहिलो प्रतिकारकर्ता बन्नुपर्ने अवस्था रहन्छ भने राज्यको उपस्थिति र प्रभावकारितामाथि प्रश्न उठ्नु पर्ने कुरा स्वाभाविक नै हुन्छ।आजको अत्याधुनिक हतियारको विकसित युगमा पनि सशस्त्र सेनाका विरुद्ध निस्शस्त्र देशभक्त स्थानीय नागरिकले ढुङ्गे युगमा जस्तै ढुङ्गाले लडेर के संभव होला रु यसबारे सरकारको प्रतिक्रिया के छ रु सरकारको स्पष्ट धारणा किन आउँदैन रु कि प्रधानमन्त्रीले सँधै भारतको पक्षमा नै वकालत गरिरहने हो र?

५.सरकारको जिम्मेवारी
घटनापछि सरकारले कूटनीतिक माध्यमबाट आवश्यक पहल गर्ने कुरा जनाएको बताइए पनि ब्यवहारमा अझैसम्म त्यस सम्बन्धमा केही पनि काम गरेको देखिएको छैन । सरकारका प्रवक्ताले सुस्ताका नागरिकहरूले दशकौँदेखि भूमि जोगाउँदै आएको भन्दै उनीहरूको योगदानको प्रशंसा गरेका छन्।
तर राज्यले सुस्तावासी नागरिकहरुको योगदानको प्रशंसा गर्नु मात्र पर्याप्त हुँदैन। यहाँ गर्नुपर्ने आवश्यक कुरा भनेको स्पष्ट राष्ट्रिय नीति, प्रभावकारी सीमा व्यवस्थापन, हराएका सीमा स्तम्भहरूको पुनर्स्थापना, स्थानीय सुरक्षाको सुदृढीकरण र भारतसँग भएको सीमा विवादको समस्यामा कूटनीतिक रूपमा तथ्यमा आधारित समाधान खोज्नु हो।
सीमा विवादको यस विषयमा नेपालले न त अनावश्यक उत्तेजना फैलाउनु आवश्यक छ, न त राष्ट्रिय हितका विषयमा मौन बस्नु उचित हुन्छ। दुई देश बीचको सीमा सम्बन्धी विषयहरूका बारेमा इतिहास, नक्सा, सन्धि र अन्तर्राष्ट्रिय मान्यताका आधारमा समाधान हुनुपर्छ।

६.सुस्ताको इतिहास र आजको चुनौती
सुस्ता नदीले बगाएको सिमा कि बगाउन खोजिएको राष्ट्रियता ?
नेपालको नक्सामा सुस्ता एउटा लामो भूभाग मात्र देखिन सक्छ, तर राष्ट्रिय सार्वभौमसत्ता र सीमा सुरक्षाको दृष्टिले यो अत्यन्त संवेदनशील क्षेत्र हो। सुस्ताको विवाद कुनै हिजो आजको विषय होइन, यसको जरो करिब दुई शताब्दी पुरानो छ,जुन अगाडि बताइँदैछ।

७.सुगौली सन्धिले के भन्छ ?
सन् १८१६ को सुगौली सन्धि अनुसार पश्चिमतर्फ काली९महाकाली ० नदी र पूर्वतर्फ मेची नदीको बिचको भूभाग नेपालको मानिदै आएको छ।हालको बाँके , बर्दिया , कैलाली र कंचनपुर क्षेत्र भने सन् १८६० को सन्धिबाट नयाँ मुलुकको रूपमा फिर्ता आएको भूभाग हो । सुस्ताको क्षेत्र भित्र गण्डक (नारायणी ) नदी सन् १८१६ कै सन्धिको आधारमा नेपालको भूभाग मानिन्छ। तर समस्या त्यहाँबाट सुरु भयो, जहाँ नदीले आफ्नो धार परिवर्तन गर्‍यो।
अन्तर्राष्ट्रिय सीमा निर्धारणको एउटा मान्यता छ। यदि नदीले प्राकृतिक रूपमा धार परिवर्तन गर्यो भने सीमा स्वतस् परिवर्तन हुँदैन। मूलधारलाई आधार मान्नुपर्छ। नेपालले यही तर्क प्रस्तुत गर्दै आएको छ, तर व्यवहारमा सीमा व्यवस्थापन र नियन्त्रणको प्रश्नले विवादलाई जटिल बनाएको छ।

८.सुस्ताको वास्तविक पीडा
काठमाडौँबाट हेर्दा सुस्ता एउटा समाचार हो। तर सुस्तावासीका लागि यो दैनिक जीवनको संघर्ष हो।
त्यहाँका किसानले वर्षौंदेखि आफ्नो जमिनमा खेती गरेका छन् । कतिपयले नागरिकता, लालपुर्जा र कर तिरेको प्रमाण देखाउँछन्। तर कहिलेकाहीँ उनीहरुलाई आफ्नै जमिनमा पुग्न कठिनाइ हुने गरेको गुनासो सुनिन्छ ।
सीमा विवाद केवल नक्साको विवाद होइन, यो नागरिकको जीवन सुरक्षामा , उत्पादनमा र अस्तित्वसँग अडिएको प्रश्न हो।
सुस्ताको वास्तविक समस्या १४हजार हेक्टर जमिन भारतले अतिक्रमण गरिसकेको छ। १४ हजार हेक्टर जमिन अतिक्रमणको कुरा मात्र होइन । अझ ठूलो समस्या भनेको झण्डै २० हजार हेक्टर भूमि दशकौँदेखि विवादित भूमिको नाममा उपयोगविहीन बन्नु हो। कुल ४०, हजार ९८० हेक्टर क्षेत्रफल मध्ये स्थानीयले आज जम्मा ७००० देखि ७ हजार ५ शय हेक्टरमा मात्र खेती गर्न पाउनु सुस्ता विवादको सबैभन्दा पीडादायी यथार्थ हो।

९.किन दोहोरिन्छन् यस्ता घटना ?
यस्ता प्रकारका घटनाहरु दोहोरिनुका केही मुख्य कारणहरू छन् ।ती कारणहरु निम्न छन् ।
अ. सीमा स्तम्भहरूको अभाव वा क्षति
धेरै स्तम्भहरू नदी कटानले बगाएका छन्। कतिपय स्थानमा स्तम्भहरू स्पष्ट छैनन्।
आ. नदीको बदलिँदो धार
नारायणी नदीले बारम्बार मार्ग परिवर्तन गर्ने गरेको छ। भौगोलिक परिवर्तनले प्रशासनिक जटिलता थपिएको छ।
इ. स्थायी समाधानको अभाव
नेपाल भारत संयुक्त सीमा समितिले पटकपटक अध्ययन गरेपनि पूर्ण समाधान हुन सकेको छैन।
ई.राज्यको कमजोर उपस्थिति
सीमा क्षेत्रमा विकास, सुरक्षा र प्रशासनिक उपस्थितिको कमीले स्थानीयलाई असुरक्षित महसुस गराउँछ।

१०.सुस्ताका जनता नेपालका अदृश्य सीमा रक्षक
नेपालका अधिकांश नागरिकले सीमा सुरक्षालाई सेना वा सशस्त्र प्रहरीसँग मात्र जोडेर हेर्दछन् । तर सुस्ताको वास्तविकता फरक छ।
त्यहाँका किसान, मजदुर, शिक्षक र स्थानीय बासिन्दा नै सीमाका पहिलो पहरेदार हुन् । उनीहरुले दैनिक रुपमा आफ्नो उपस्थितिबाट भूमि जोगाइरहेका छन्।
जब कुनै विदेशी सुरक्षा बलको टोली प्रवेश गरेको खबर आउँछ, त्यसको पहिलो प्रतिकार स्थानीय जनताले नै गर्दछन्। यो केवल साहस मात्र होइन, राष्ट्रिय चेतनाको उदाहरण पनि हो।

११.राष्ट्रिय प्रश्न
सुस्ताको प्रश्न केवल भारत प्रवेश गर्‍यो कि गरेन भन्ने मात्र होइन। मुख्य प्रश्नहरू यस्ता छन्स्
सीमामा राज्यको उपस्थिति किन कमजोर छ रु सीमा विवाद समाधानका लागि नेपालले दीर्घकालीन रणनीति किन बनाउन सकेको छैन रु सिमावर्ती नागरिकलाई राष्ट्रिय साझेदारका रूपमा कसरी सम्मान र संरक्षण गर्ने रु सीमा समस्यालाई चुनावी भाषणभन्दा माथि उठाएर राष्ट्रिय एजेण्डा कहिले बनाउने रु आदि जस्ता प्रश्नहरू उठ्ने गरेका छन् ।

१२.सीमा विवादको दीर्घकालीन समाधान
सुस्ता सीमा विवादको दीर्घकालीन समाधान मोटामोटीरूपमा पहिले नै उल्लेख गरिएको पनि छ । यसलाई अझ जोडदाररूपमा भन्नुपर्दा यसको दीर्घकालीन समाधानको भावनात्मक नाराभन्दा पनि ऐतिहासिक तथ्य, सुगौली सन्धि ,पुराना नक्सा , नदीको मूलधार सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता र नेपाल भारत बीचको कूटनीतिक सहमतिमा आधारित हुनुपर्छ। दुवै देशको संयुक्त प्राविधिक टोलीले पुराना अभिलेख ,नक्सा र भू उपग्रह ९स्याटेलाइट० तथ्याङ्कको अध्ययन गरी सीमा स्पष्ट निर्धारण गर्नुपर्छ। सीमा स्तम्भहरूको पुनःस्थापना , संयुक्त अनुगमन तथा स्थानीय वासिन्दाको भूमि अधिकारको सुनिश्चिततासँग स्थायी समाधान सम्भव छ । अन्ततस् सुस्ताको समाधान न त बल प्रयोगमा छ, न त विवादलाई लम्ब्याउनुमा । यो सत्य तथ्यमा आधारित न्यायपूर्ण सीमा निर्धारण र पारस्परिक सम्मानजनक कूटनीतिक समझदारीमै निहित छ।

१३.अन्त्यमा सुस्ताले सोधेको प्रश्न
कालापानी, लिपुलेक , लिम्पियाधुरा जस्तै सुस्ताले पनि एउटा प्रश्न सोधिरहेको छ।
ूभूमि जोगाउने जिम्मा केवल सीमामा बस्ने नागरिकको हो कि सिंगो राज्यको रुू सुस्ताका निस्शस्त्र नागरिकले आफ्नो उत्तर दिइसकेका छन्। उनीहरू सीमामा उभिएका छन्। कुटनीति, प्रशासन, विकास र राष्ट्रिय अडानमा अब पालो राज्यको हो ।किनभने सीमा केवल माटोको टुक्रा होइन, त्यो राष्ट्रको आत्मसम्मान इतिहास र भविष्यको प्रतीक हो।
सुस्ताको पछिल्लो घटनाले एउटा यथार्थता उजागर गरेको छ ।आफ्नो देशको सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकहरू विगतदेखि अझैसम्म पनि राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको लगि सदा सर्वदा जीवित पहरेदार हुन्। उनीहरूले देखाएको त्यो अदम्य साहस प्रशंसनीय छ। तर सीमा रक्षा सीमा क्षेत्रमा बस्ने नागरिकको मात्र दायित्व होइनस त्यो राज्यको संवैधानिक जिम्मेवारी हो र तमाम नेपालीको पनि दायित्व हो ।

आज सुस्तावासी निःशस्त्र नागरिकहरूले भारतीय सशस्त्र सैनिकका विरुद्धमा आफ्नो भूमिप्रतिको प्रतिबद्धता देखाएका छन्। निस्शस्त्र जनताले मात्र भावनात्मकरूपमा जति ठूलो प्रतिबद्धता देखाए पनि आजको युगमा त्यसले मात्र पुग्दैन । आज यसको जिम्मा राज्यले नै लिनुपर्ने हुन्छ ।अब राज्यले आफ्नो जिम्मेवारी कति दृढतापूर्वक निभाउँछ, त्यो कुरा हेर्ने बेला आएको छ । यो कुराले राज्यले कति जिम्मेवारी पूरा गर्छ वा प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसदमा दिएको अभिव्यक्ति जस्तै विपक्षीलाई सहयोग गर्छ । यो कुरा अब छिट्टै प्रष्ट हुने छ । यो कुराले भविष्यमा सुस्ता मात्र होइन, राज्यवाट देशको सम्पूर्ण सीमाक्षेत्रको सुरक्षा हुन सक्ने वा नसक्ने कुरा स्पष्ट पार्दै राष्ट्रिय आत्मविश्वास निर्धारण गर्नेछ ।साथै राज्यले चाहेमा लेखको १२ नम्बर बुँदामा बताइएको आधारमा सीमा विवादको स्थायी समाधानतर्फ अगाडि बढ्ने छ ।
मिति :२०८३ जेठ ३० गते

सन्दर्भ सामग्री
1. Ekantopur
2.Myrepublica
3.Englishratopati.com

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित