काठमाडौँ । संसदमा आइ बोल्न नसकेका प्रधानमन्त्री बालेन चितवन गई बोलका छन् । रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा असार ७ गते उनी बोलेका हुन् । गत जेष्ठ १७ गते संसद्मा बोल्ने क्रममा प्रधानमन्त्री बालेन शाहले “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ”भनेर बोलेका थिए। उक्त अभिव्यक्ति राष्ट्रिय स्वाधीनतामाथिको गम्भीर कमजोरी भन्दै संसदमा विपक्षी दलहरूले रोस्टममा आई जवाफ दिन र माफी माग्न माग गर्दै आएका छन्। संसद बाहिर पनि उनको अभिव्यक्ति विरुद्ध प्रदर्शन भए । त्यस अभिव्यक्तिकै कारण हप्ता दिनभन्दा बढी संसदलाई विपक्षी दलहरुले अवरुद्ध गरेका थिए। परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने गरी सहमति भएपछि संसद अवरुद्ध हटेको थियो। संसदमा बोलेको गैरजिम्मेवार अभिव्यक्तिको जवाफ दिनबाट भागिरहेका प्रधानमन्त्री बालेन शाहले चितवनको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा जवाफ दिने प्रयास गरे तर जतिसुकै जवाफ दिन खोजे पनि उनी उनले त्यो गैर जिम्मेवार अभिव्यक्तिको जवाफ दिन सकेका छैनन् । संसद र संसद बाहिरबाट प्रधानमन्त्री शाहलाई नेपालले भारतको कुन कुन ठाउँमा के कति जग्गा मिचेको छ त्यसको स्पष्टीकरण माग गर्दै आएका छन् । चितवनमा पनि प्रधानमन्त्री शाहले त्यसको जवाफ दिन सकेनन् । संसदमा बोल्ने क्रममा जेष्ठ १७ गते नै प्रधानमन्त्री शाहले नेपालको सीमा विवादमा ब्रिटिसलाई पनि बोलाउँछौं भनेका थिए । तर उनले त्यहाँ तेस्रो पक्ष ब्रिटिसलाई बोलाउँछु भनेका होइनौं कागजपत्र प्रमाण लिएर आउँछौं भनेका हौं भनेर उनले आफ्नो गल्तीलाई बङ्गाएर ढाकछोप गर्न खोजेको देखिन्थ्यो।भारतका विभिन्न नेपाल विज्ञहरूले नेपाल र भारतको सीमा विवादमा तेस्रो पक्ष वा ब्रिटिसलाई ल्याउनु गलत हुन्छ भनेर अभिव्यक्ति दिइरहेको बेलामा प्रधानमन्त्री शाहलेनेपालका र भारत दुवै तर्फका उठिरहेको आवाजलाई जवाफ दिनका निम्ति यो अभिव्यक्ति दिएको बुझ्न सकिन्छ।संसदबाट भागेर पार्टी महाधिवेशनबाट विपक्षीहरूलाई जवाफ दिने बालेन्द्र शाहको तरिका गैर लोकतान्त्रिक भएको पर्यवेक्षकहरूको भनाइ छ।
उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले निकै जोड दिएर गुट नबनाउन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए। अधिवेशन स्थलबाट उद्घाटन समारोहमा दुवै नेताले यति धेरै जोड दिएर गुट नबनाउन आग्रह गर्नुको अर्थ रास्वपा भित्र छोटो समयमै राम्रैसित गुटहरु झ्याँगिसकेको अड्कल गर्न सकिन्छ।राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन र प्रदेश अधिवेशनमा पदका लागि कुटाकुट, हानाहान र लखेटा लखेट भएका प्रशस्तै दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । कुनै न कुनै रुपमा गुट प्रवृत्ति यो महाधिवेशनमा पनिदेखिनेछन्।विभिन्न पार्टीहरूमा अनेकौं प्रकारका सुविधाहरू लिएर अघाएकाहरु थप सुविधा र लाभ प्राप्त गर्नका लागि रास्वपा छिरेका तथा विभिन्न पार्टीहरूमा असन्तुष्ट भएका स्वार्थी समूहहरू पनि जम्मा भएकाले स्वार्थीहरूको जमघट भएका हुँदा पक्कै पनि त्यहाँ स्वार्थको टकराव हुनेछ भन्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई शुभकामना दिन गएका अधिकांश राजनीतिक दलका प्रतिनिधिहरूले संविधान, लोकतन्त्र, मानवअधिकार र कानुनी शासनको मर्यादामा रहन सुझाव दिएका थिए। ६२– ६३ को जनआन्दोलनपछि मधेशलाई नेपालबाट टुक्राउनुपर्छ भन्ने अभियानमा लागेका जनमत पार्टीका नेता सी. के. राउतदेखि राजा फर्काउनुपर्छ भन्ने विचार बोक्ने पार्टी राप्रपाका राजेन्द्र लिङ्देनसम्मले शुभकामना मन्तव्य दिन चितवन पुगेका थिए। महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली,नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन,जनतम पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत अतिथिकारुपमा चितवन गएका थिए।

