घोराही । वामपन्थी चिन्तक रोशन जनकपुरीले अन्धविश्वास र अज्ञानताको सबैभन्दा पोषण राज्यले गरेको छ भन्नु भएकमो छ । भौतिकवादी समाज दाङको आयोजनामा गत असार ६ गते “भौतिकवाद के हो र भौतिकवादी किन बन्ने” विषयक विचार गोष्ठीमा जनकपुरीले सो विचार व्यक्त गर्नु भएको हो । । प्रमुख वक्ता वामपन्थी चिन्तक रोशन जनकपुरीले नियम, कानुन, विधि–विधान बनाउने राज्यले हो । परापूर्वकालदेखि अहिलेसम्म अन्धविश्वासको पोषक राज्य भएको पुष्टि हुन्छ भन्नुभयो । । उहाँले भौतिकवादीहरुले पनि पश्चिमा वा विदेशीको मात्रै उदाहरण दिन नहुने बताउनुभयो । उहाँका अनुसार पुर्वीय दर्शनमा पनि भौतिकवादी थिए । चारवाक सिद्धान्त भौतिकवादी छ । शंकरआचार्यमा पनि भौतिकवाद खोज्न सकिन्छ । बुद्धमा पनि भौतिकवाद छ । यसरी यहाँका कसैको नाम नलिने पश्चिमाको मात्रै उदाहरण दिदा पश्चिमा भन्ने आरोप लाग्यो ।
यसैगरी कार्यपत्रमा टिप्पणी गर्दै वाम विश्लेषक शशिधर भण्डारीले समाज तर्क, तथ्य र प्रमाणका आधारमा चल्नुपर्ने बताउनुभयो । अर्का वक्ता सम्झना विकले बोली र व्यवहारमा मेल नखाने ठूलो समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमोद धितालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समाजका उपाध्यक्ष सुदृष्टि लक्ष्मीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सचिव विष्णु हमालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन समाजका अध्यक्ष पदमप्रसाद पोख्रेलले गर्नुभएको थियो ।

