सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न पाँच दिने अल्टिमेटम

काठमाण्डौ । होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारलाई पाँच दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आगामी शुक्रबारभित्र स्व–व्यवस्थापन गरी सेन्टर खाली गर्न अल्टिमेटम दिएको हो ।होल्डिङ सेन्टर खोला किनारमा रहेकाले बाढी तथा डुबानको जोखिम बढेको भन्दै समितिले स्वव्यवस्थापन गर्न आग्रह गरेको जनाएको छ ।
नगरकोट, बनेपा, कीर्तिपुर, बोडे कृषि तालिम केन्द्र, खरिपाटी, बालुजुका विभिन्न होटल र इचंगु नारायणमा रहेका ३८८ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनिएको हो। सुकुम्बासी बस्ती भत्काएर होल्डिङ सेन्टरमा राखेका सुकुम्बासी परिवारलाई त्यहाँबाट लखेटेर आफै बस्ने व्यवस्थापन गर्न भनिएको छ ।
प्रत्येक परिवारलाई कोठा खोज्न तथा प्रारम्भिक व्यवस्थापनका लागि एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने, वास्तविक सुकुमबासी तथा घरबारविहीन प्रमाणित परिवारलाई स्थायी व्यवस्थापन नहुँदासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा सहयोग गर्ने बताएको छ । सरकारले विना विकल्प घर भत्काएर सुकुम्बासी परिवारको विचिल्ली पारेको छ । निर्वाचनको समयमा मत माग्दा सुकुम्बासी समस्या समाधान गर्ने बाचा गरेको रास्वपा सरकारले बलजफ्ती घर भत्काएर सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेर अहिले फेरी होल्डिङ सेन्टर पनि खाली गर्न भनेको छ । यो अवस्थामा सरकार सुकुम्बासीको वास्तविक रुपमा समस्या समाधान गर्न भन्दा पनि गलाउने ,थकाउने र भगाउने दाउमा छ भन्ने देखिन्छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित