अभिलेख
चन्द मन्त्रि परिषद्को गठनको लगत्तैदेखि काण्डैकाण्डले मुछिएको वर्तमान मन्त्री परिषद्को कृषि र भूमिसुधार मन्त्रीले पम्पसेट, ट्युबवेल, खाद्य, अनियमित निर्देशकको नियुक्ति कृषि मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा आफ्ना मानिसहरुका नियुक्ति र अन्त्यमा गर्नु भएको चन्दा शाल र माधुरी आलेको चिरहरण जस्ता एकै मन्त्रीबाट गरिएका यत्रा काण्डहरु एकातर्फ छन् भने अर्कोतर्फ वर्तमान मन्त्री परिषद्का अन्य मन्त्रीहरुको सुरजपूरा, लाहान, पिस्कर, भल्लारी, एयरपोर्ट, वन–जंगल, संचार–सूचनाको बजेट हडप्ने र रातारात वितरण गर्ने जस्ता विभिन्न काण्ड जुन चतुर्मुखी ब्रह्माले त वर्णन गर्न सक्दैनन् भने हाम्रा पत्रिकाका संवाददाताले के कति वर्णन गर्ने भन्ने एउटा गहकिलो चिन्तनको विषय भएको कुरा हाम्रा सम्वाददाताले बताएका छन् ।
महाभारतको भन्दा बढी काण्ड रच्न सक्ने चन्द मन्त्रिपरिषद् यही रुपले टिकेमा कति काण्डीय महाभारत हामीले हेर्न र पढ्न पाउने हो र के कस्ता काण्ड अब आउने हुन् ? यस विषयमा बुद्धिजीवी, टिप्पणीकार पर्यवेक्षक र जनताले सोच्न थालेका छन् ।
जे जति काण्ड भए तापनित “काग कराउँदै गर्छ–पिना ससुक्दै गर्छ” भनने चन्द मन्त्रि परिषद्को भावना जनताले बुझिसकेको हुँदा यस विषयमा छलफल गरी समय बिताउनु भन्दा कुरै नकोट्याउनु वेश हुन्छ– भनी पर्यवेक्षकहरु भन्छन् ?
(नोटः प्रस्तुत सामग्री हाँक साप्ताहिक वर्ष १, अंक ३७ २०४१ असार २१ गते बुधबारमा प्रकाशित भएको थियो ।)

