काठमाण्डौ । विना विकल्प होल्ठिङ सेन्टर खाली नगराउन केन्द्रीय संयुक्त संघर्ष समितिले सरकारलाई चेनावनी दिएको छ । केन्द्रीय संयुक्त संघर्ष समितिको आयेजनामा असार १२ गते काठमाण्डौको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै समितिका नेताहरुले सो चेतावनी दिनु भएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता केदार खतिवडा , नेकपा (बहुमत)का नेता बाबुराम गजमेर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता रेशम थापामगर र नेकपाका नेता कृष्णहरि भट्टले सरकारले विना विकल्प होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरुलाई खाली गर्न अल्टिमेटम दिएर उनीहरुलाई होल्डिङ सेन्टरबाट पनि लखेट्न चाहेको बताउनु भयो । सरकारको यो रवैया हेर्दा सरकार भूमिहीन, किसान, सुकुम्बासीको पक्षमा नभइ मध्यम वर्गको पक्षमा रहेको समेत खुलाशा गर्नु भयो । नेताहरुले वैज्ञानिक समाजवादी व्यवस्था नआउँदासम्म कुनै पनि हालतमा सुशासन नहुने प्रष्ट पार्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन सबै किसान मजदुर भूमिहीन सुकुम्बासीलाई संघर्षमा आमबद्ध हुन अनुरोध समेत गर्नु भयो । वहाँहरुले पुराना संसदवादी दलहरुले सुकुम्बासीको समस्या समाधान गर्छौं भन्दै आश्वासन बाँडे पनि सुकुम्बासीलाई वास्तविक रुपमा समस्या परेको बेलामा संघर्षमा नआएको बताउँदै उनीहरुलाई पनि सुकुम्बासीहरुको संघर्षमा आउन अनुरोध गर्नु भयो । नेताहरुले मध्यम वर्गले अहिले चुप लागेर सुकुम्बासीहरुले भोगिरहेको घरबारविहीनताको समस्यालाई कुनै समस्या नै नठानी बसिरहँदा भोलि यस्तो समस्या सबैलाई पर्न सक्ने भन्दै सबैले साथ दिएर सुकुम्बासीहरुलाई बासको व्यवस्थापन गर्न सरकारलाई दबाब दिनु पर्ने धारणा राख्नु भयो । झरी वर्षातको समय भएकाले यो समयमा बास पनि नपाउने हो भने उनीहरुको कस्तो अवस्था होला ? यो अवस्थामा होल्डिङ सेन्टरबाट लखेट्न खोज्नु सरकार सुकुम्बासीको पक्षमा छैन भन्ने प्रष्ट भएको समेत उहाँहरुको भनाइ रहेको थियो ।
कार्यक्रममा दलाल बालेन्द्र सरकार मुर्दावाद, होल्डिङ सेन्टरबाट हटाउने सूचना फिर्ता गर, विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई क्षतिपूर्तिसहित स्थायी बसोबासको ग्यारेन्टी गर, सुकुम्बासीमाथिको बर्बरतापूर्वक राज्य आतंक बन्द गर, राष्टि«य स्वाधीनता रक्षा गरौं , लगायतका नाराहरु लगाइएको थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता कमला चन्दको संचालनमा सम्पन्न भएको थियो ।

