धनी राष्ट्रहरुबाट नेपालले क्षतिपूर्ति पाउनुपर्दछ

– रामसिंह श्रीस, स्थायी समिति सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले रसुवाको बाढी प्रभावित क्षेत्रको अध्ययन गर्न समिति बनाएको जानकारी प्राप्त भएको थियो । त्यस समितिले के के कार्य ग¥यो ?
–क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयले भाद्र ११ गते मेरो संयोजकत्वमा रमेश पौडेल, अमृत अधिकारी, बद्री चापागाई, अर्जुनलाल श्रेष्ठ, राजेन्द्र कोइराला सम्मिलित “बाढी प्रभावित क्षेत्रको निरिक्षण तथा अध्ययन गर्न बनेको समिति” बनाएको थियो । त्यस समितिका साथीहरुलेनुवाकोट, धादिङ र आंशिकरुपमा रसुवासमेतको बाढी प्रभावित क्षेत्रमा गएर  रिपोर्ट ल्याउनुभयो । प्राप्त रिपोर्ट माथि हामीले व्यापक छलफल गरेर पार्टी कार्यालयलाई भाद्र १७ गते प्रतिवेदन बुझाएका छौं ।

० प्रतिवेदनको मूलभूत कुराहरु के हुन ?
–हाम्रो समितिले बुझाएको प्रतिवेदनको मूलभूत पक्ष यसप्रकार छ (१) बाढी प्रभावित क्षेत्रमा केन्द्र सरकारले स्थानीय तहसँग पर्याप्त समन्वय गर्न सकेन । जसले गर्दा उद्धार र राहत कार्य प्रभावकारी हुन सकेन। २) एकद्वारा प्रणालीबाट मात्र राहतवितरण गर्ने निर्णय सरकारले ग¥यो । जसले गर्दा समयमै बाढी पीडितहरुले राहत पाउन सकेनन् ।
३) सरकारले आफू भन्दा बाहिरका अर्थात् विदेशी विज्ञ समेत विशेषज्ञहरुलाई समयमै आउन दिएन । ७ दिन पछि हामीले सकेनौं भनेर हात झिक्यो । बेलैमा विज्ञहरुलाई आउन दिएको भए धेरै मानिसको ज्यान जोगिन सक्थ्यो । सरकारको लापर्वाहीका कारण अनाहकमा धेरैको ज्यान गयो । ४) सरकारले विस्थापितहरुको पुनर्वासका लागि मुख्य ध्यान दिनुपर्दछ । (५) अत्याधिक कार्वन उत्सर्जन गरेर पर्यावरण प्रदुषित गर्ने धनी राष्ट्रहरुबाट नेपालले क्षति पूर्ति पाउनु पर्दछ ।

० यसपटकको भोटेकोशी बाढीका सन्दर्भमा सरकार असफल भएको हो र ?
–सरकार यसमा असफल भयो । यस्ता प्राकृतिक विपत्तिमा उद्धार र राहत २४ घण्टामा पुग्नु पर्दछ । तर सरकारले ७ दिनसम्म बाह्य उद्धारकर्तालाई घटनास्थलमा प्रवेश गर्न दिएन। जनताका अनाहकमा ज्यान जानुमा सरकार जिम्मेवार छ। सरकारले त पार्टीहरुलाई बोलाएर छलफल गर्नुपर्दथ्यो । पर्याप्त समन्वय गर्न सकेन ।

०प्राकृतिक विपत्तिसम्बन्धी थप केही निर्णय गर्नु भएको छ कि ?
–प्राकृतिक विपत्तिसम्बन्धी पार्टीको अवधारणा प्रकाशमा ल्याउँदै छौं । अहिलेको बाढी पीडितहरुको समस्या समाधान गर्ने र दीर्घकालीन रुपमा प्राकृतिक विपत्तिका समस्याहरु कसरी समाधान गरिनु पर्दछ भन्ने बारेमा पार्टीको अवधारणा प्रकाशमा ल्याउँदै छौं ।

० रसुवा बाढी पीडितहरुको सम्बन्धमा थप पार्टीको तर्फबाट के गर्दै हुनुहुन्छ ?
–मैले भनिसके कि यसभन्दा पहिले हामीले बाढी प्रभावित क्षेत्रको अध्ययन गरेर पार्टी हेर्डक्वाटरमा प्रतिवेदन बुझाइसकेका छौं । अर्को कुरा, पार्टीको तर्फबाट नुवाकोटमा केही स्थानमा राहत र उद्धारका कार्य सम्पन्न गरेका छौं । व्यक्तिगत रुपमा पनि पार्टीका साथीहरु आफ्नो छरछिमेकमा राहत र उद्धार कार्यमा जोडिएका छन् । अब आगामी दिनमा कसरी जानेबारे छिट्टै निश्कर्षमा जानेछौं ।

० पार्टीले आर्थिक अभियान चलाउँदै छ भन्ने सुनिएको छ । कहिलेदेखि यो अभियाना चलाउँदै हुनुहुन्छ ?
–हाम्रो पार्टीको केन्द्रीय समितिले पार्टीको आर्थिक सम्मेलन गर्ने निर्णय गरेको थियो । गत असारमा आर्थिक विभागका सदस्यहरु र जिल्ला सेक्रेटरीहरु समेत सम्मिलित आर्थिक सम्मेलन सम्पन्न ग¥यौं । आर्थिक सम्मेलनले गरेमा निर्णयहरु अनुसार २०८३ भाद्र १५ देखि असोज १५ सम्म पहिलो चरणको आर्थिक अभियान र २०८३ को माघ र फागुनमा दोस्रो चरणको आर्थिक अभियान संचालन गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा पार्टी भित्रका पार्टी सदस्यहरुका बीचमा आर्थिक अभियान संचालन गरिनेछ । दोस्रो चरणमा पार्टी भन्दा बाहिरका हाम्रा समर्थक शुभचिन्तकहरुका बीचमा आर्थिक अभियान संचालन गरिनेछ ।

० आर्थिक अभियानको उद्देश्य के हो ?
–आर्थिक अभियानको उद्देश्य पार्टीको आर्थिक व्यवस्थापन गर्नु पहिलो उद्देश्य हो। र, दोस्रो कुरा, पार्टी र पार्टीका साथीहरुलाई उत्पादन कार्यमा जोड्नु हो ।

० वर्तमान राजनीतिक परिस्थितिलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
–देशको राजनीति झन पछि झन असहज बन्दै गएको छ । जनताको जीवनस्तर झन भन्दा झन् कमजोर बन्दै गएको छ । महंगीले आकाश छोएको छ । ग्याँस अभावले गर्दा जनताले चुल्हो नजल्ने स्थिति बनिरहेको छ ।  हरेक चीजमा अत्यधिक कर लगाएर सर्वसाधारण जनताले गरिखान नसक्ने अवस्था सरकारले नै सिर्जना गरिरहेको छ । सरकारको प्राथमिकता केमा छ र यो सरकार कसको हो भन्ने कुरा व्यवहारबाटै प्रष्ट भइसकेको छ ।
सरकार गठन भएपछिको पहिलो प्राथमिकता सुकुम्बासीहरुको वस्तीमा डोजर लगाउनु रहेछ भन्ने देखियो । यो सरकारले जुन बजेट ल्याएको छ, त्यो किसान मारा र गरिब जनतामारा बजेट छ । त्यसमा दुई करोड भन्दा बढी लगानी गर्नेहरुलाई मात्र सहुलियत दिने भनिएको छ । यसको अर्थ साना व्यवसायी, गरिब, किसानहरुलाई त यो सरकारले सहुलियत पनि नदिने भयो । भारतलाई खुशी पार्ने गरी “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भनेर संसदमा प्रधानमन्त्री बालेन बोले । समग्र रुपमा यो सरकार दलाल पुँजीपति वर्ग र साम्राज्यवादको एजेण्ट हो भन्ने स्पष्ट छ ।

० के क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राष्ट्रिय एकता महाधिवेशनले पारित गरेको कार्य दिशामा अगाडि बढ्दैछ ?
–अवश्य पनि । यसका दुईटा पक्ष छन्– एउटा राजनीतिक कार्यदिशा देश नवउपनिवेशीकरणको दिशामा अगाडि बढिरहेको छ भन्ने हाम्रो निश्कर्ष हो । राष्ट्रघाती एमसीसी सम्झौता, कथित जेनजी विद्रोह, देश तीब्र नवउदारवादीकरणको दिशामा जानुले हाम्रो विश्लेषणलाई सही सावित गरेको छ । त्यसका निम्ति हामीले संघर्षलाई अगाडि बढाउन एकल र मोर्चागत रुपमा अगाडि बढिरहेका छौं । र अर्को कुरा त्यसका निम्ति संगठनलाई व्यवस्थित बनाउन हामीले सुदृढीकरण अभियान चलाइरहेका छौं । त्यसलाइ शुद्धीकरण अभियान चलाउने छौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित