संघर्षको यात्रा

किसन बहादुर वि.क.
संघर्षको बाटोमा हिँड्नेहरू
कहिल्यै थाक्दैनन्,
थाके पनि सपनाको खातिर
फेरि उठ्छन्, फेरि जाग्छन्।

घामले पोल्दैमा
आकाश कहाँ बदलिन्छ र?
आँधीले हुरी ल्याउँदैमा
पहाड कहाँ झुक्छ र ?
हार त जीवनले
धेरैपटक देखाउँछ यहाँ,
तर हिम्मत बोकेका मानिसहरू
कहिल्यै टुट्दैनन्।

दुनियाँलाई नतिजा मात्र हेर्ने बानी छ,
संघर्षका घाउहरू
कसैले गन्दैनन्।

तर ती घाउभित्र लुकेको पीडा
र त्यसभित्र पलाएको साहस
यात्रा गर्नेहरूलाई मात्र थाहा हुन्छ।

एक्लै हिँड्नुपरे पनि
यात्रा कहिल्यै रोकिँदैन,
गन्तव्य चिन्ने पाइलाहरू
कहिल्यै अलमलिँदैनन्।

मौनताभित्र पनि
हजारौँ कथाहरू लुकेका हुन्छन्,
सबै मुस्कानहरू
खुसीका मात्र हुँदैनन्।

कतिपय मुस्कानभित्र
आँसुका समुद्र लुकेका हुन्छन्।
अधुरा सपना
आँखाभरि अधुरा सपना छन्,
मनभित्र हजारौँ चाहना,
पूरा हुन्छन् कि हुँदैनन्—
थाहा छैन,
तर बाँकी छ अझै आशा।

समयले धेरै कुरा खोस्यो,
केही आफ्ना टाढा भए,
केही सम्बन्ध बाटोमै छुटे,
केही सपनाहरू
हिँड्दाहिँड्दै अधुरा रहे।

तर अधुरा सपना भन्दैमा
जिन्दगी कहाँ रोकिन्छ र?
बाटोमा काँडा भए पनि
पाइला कहाँ थाक्छ र ?
हारेर पनि फेरि उठ्ने आँटले
नयाँ बाटो खोलिँदो रहेछ,
टुटेका सपनाका टुक्राहरूबाट पनि
नयाँ सपना बुन्न सकिँदो रहेछ।
समयले सिकाएको सत्य यही हो—
हार अन्त्य होइन,
थकाइ विराम मात्र हो,
अनि अधुरा सपना
जीवनको अन्तिम अध्याय होइनन्।

जब मनमा आशा बाँकी रहन्छ,
जब आँखामा सपना बाँकी रहन्छ,
तबसम्म यात्रा बाँकी रहन्छ,
तबसम्म संघर्ष बाँकी रहन्छ।

हामी लड्दै अघि बढ्नेछौँ,
अँध्यारोसँग उज्यालो खोज्नेछौँ,
हजार चोट सहेर पनि
सपनाको बाटो रोज्नेछौँ।

किनकि
सपना देख्नेहरू हारेर पनि सकिँदैनन्,
संघर्ष गर्नेहरू थाकेर पनि रोकिन्नन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित